माघ २६ रौतहट ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्।
नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्रमुखले छानविन नै नगरी आफूलाई बदनाम गर्ने उद्देश्यले आफ्नो गल्ती ढाक छोप गर्न अफवाह फैलाएको उनको आरोप छ।
शुक्रबार वडा कार्यलयमा सञ्चारकर्मीसँग कुरो गर्दै वडा नम्बर ९ का नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष साहले नगर प्रमुखले आफ्नो नजिकको व्यक्तिलाई वडाको सिफारिश बिना रकम दिने तथा गरिव असहायलाई सिफारिश गरेर पठाउँदा फाइल नै गायव गरिदिएको आरोप लगाएका छन्।
बैठकमा सादा पानामा हस्ताक्षर गराएर मनोमानी ढंगबाट योजना लेख्ने गरेको बताउँदै आवाज उठाउँदा धम्कि दिने गरेको गुनासो गरे। आर्थिक वर्ष २०७९/८० मा आर्थिक सहयोगको लागि गरेको सिफारिशसहितको फाइल नै गायव गरिदिएको स्थानीय ठगा साहले बताए।
एक वर्ष पहिला नै छोरीको बिबाह गरेको र सहयोगको लागि निवेदन दिएकोमा अहिलेसम्म रकम नपाएको गुनासो गरे।
वडा नम्बर ८ का स्वतन्त्र निर्वाचित भएका वडा अध्यक्ष शिव प्रसन यादवलाई समेत उपेक्षित गर्ने मेयर रिना साहले आफ्नो पक्षको सम्पन्न व्यक्तिलाई सोझै आर्थिक सहयोग दिने गरेको स्थानीयले बताए। स्थानीय नरेश यादवले एक वर्षदेखि दौड धुप गरे पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे।न्युज कारखाना
महोत्तरी, २६ माघ ।
भएको उर्बर जग्गा रातु नदीले कटान गरेपछि ९ वर्ष अगाडि बर्दिवास–९ का श्रवण महतो साउदी अरब पुगेका थिए । एकातिर सिँचाइको समस्या र अर्कोतिर भएको जग्गा नै बाढीको कारण बगरमा परिणत भएपछि पारिवारिक भरणपोषणको लागि साउदी पुगेका महतोले कमाउनुभन्दा पनि धेरै गुमाएर फर्किए ।
‘घरमा आउँदा श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्,’ उनले भने, ‘बचेको जग्गा पनि कटानको थप चपेटामा परेको थियो ।’

९ वर्षपछि निकै आशा बोकेर घर फर्किएका महतोले कुनै परिवर्तन भएको पाएनन् । अवैध उत्त्खननकै कारण सिँचाइमा समस्या बनेपछि परदेश गएका महतोले अहिले त नीतिगतरुपमा नै उत्त्खननलाई प्रोत्साहन गरेको महसुस गरेका छन् ।
अव्यवहारिक र अवैज्ञानिक उत्त्खननका कारण पानीका सतहहरु भासिएकै कारण खेतीपातीमा समस्या बनिरहेको उनको बुझाइ छ । नेपालमा नै केही गर्ने मनसाय वोकेर आए पनि महतो अहिले विरक्तिएका छन् ।
‘नवनिर्वाचित यो स्थानीय सरकारले पो केही गर्ला कि भनेको त अघिल्लो सरकारभन्दा पनि गैरजिम्मेवार देखियो,’ उनले भने । अब पुनः विदेश नै फर्किने महतोले तरखर गरेका छन् । आम्दानीको मुख्य स्रोत कृषि नै भए पनि खोला दोहनबाट कृषि क्षेत्रलाई असर गरिरहेको छ । तर, यसलाई रोक्ने प्रयास स्थानीय सरकारले नगरेकाले फेरि विदेश जाने तयारी गरिरहेको महतो बताउँछन् ।
उनीमाथि मात्र होइन अरु युवा पनि विदेश जाने तरखरमा छन् । बर्सेनि किसानहरुको बिघाँै जग्गा बगाएर बेघर बनाउँदा पनि स्थानीय सरकारको भूमिका स्वार्थसिद्धमा नै केन्द्रित देखिएको स्थानीय युवा चेतनारायण महतो बताउँछन् ।
विशेषगरी अवैज्ञानिक तवरबाट रातु नदी उत्त्खनन गाउँवासीहरुको लागि मुख्य चिन्ताको विषय बनेको उनको भनाइ छ ।‘यसैपालि ईनारमा पानी सुकेर जलेश्वरसम्म नै हाहाकारको स्थिति बन्यो,’ उनले भने, ‘स्थानीय सरकार जनताको समस्या समाधानमा कहिले लाग्छन् ?’

पुनः अहिले स्थानीय सरकारले नदीको पथलैया खण्ड, जुरे टोल खण्ड, किसाननगर खण्ड र फूलबारी टोल खण्डमा ठेक्का लगाएको छ । यही क्रममा ठेक्केदार कम्पनीले गरेको उत्त्खननलाई लिएर आलोचना भए पनि नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले यसलाई बेवास्ता गरिरहेको स्थानीयको आरोप छ ।
‘अहिले निकै गहिरा खाल्डा खनिएका छन्,’ वडा–६ का दधिराम काफ्लेले भने, ‘कयौपटक जेसिभीको चावी नै खोस्न पनि गयौँ, तर नगरप्रमुखले अटेर गर्दै दोहनलाई प्रोत्साहन गरिरहेका छन् ।’
विज्ञको चासो
पछिल्लो समय उत्त्खननको वैधतामाथि प्रश्न उठिरहेको बेला चुरे विज्ञहरुले चिन्ता व्यक्त गरेका छन । नदी उत्त्खननबारे सार्वजनिक समाचार हेर्दा निकै भयावह अवस्था देखिएको बताउँदै पर्यावरणविद डा. नागेन्द्र यादवले रातुको उत्त्खननको विषयमा स्थानीय सरकार सचेत हुनुपर्ने सुझाव दिए । ‘चुरेमा पछिल्लो समय देखिएको पानीको अभाव दोहन नै मुख्य कारक हो,’ उनले भने ।
२०७८ जेठमा गरिएको आईई रिपोर्टले हरेक खण्डबाट १२१५०० घनमिटर मात्र उत्त्खनन गर्न सकिने बताएको छ । तर, ठेकेदार कम्पनिले उक्त समयमा सम्झौताभन्दा ७ गुणा बढी उत्त्खनन गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो ।

नगरले बनाएको प्राविधिक नापजाँच उपसमितिले गरेको छानबिनले सम्झौताभन्दा बढी १२ करोड बराबरको नदीजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।
विज्ञहरुले यसैको आधारमा पनि आईई रिपोर्टमाथि आशंका गरेका हुन् । अर्का चुरे विज्ञ डा. विजय सिंहका अनुसार आईई रिपोर्ट मात्र उत्त्खननमा प्रधान नभएको बताउछन । नेपालका धेरैजसो ठाउँमा आईई रिपोर्टलाई नै देखाएर उत्त्खनन हुने गरेको बताउदै उनले कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको बताए ।
उत्त्खनन रोक्न राजनीतिक दलहरु एकजुट
रातु नदी उत्खननविरुद्ध राजनीतिक दलहरू एकजुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले नदी उत्खनन गरेको भन्दै उनीहरू संरक्षणको पक्षमा उभिएका हुन् । गत ६ पुसमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, जनमतसहित दलले नगरले अवैध ढंगले गरेको उत्खनन रोक्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।
उत्त्खननको मुद्दा अदालतमा विचाराधीन
अघिल्लोपटक अर्थात् आर्थिक बर्ष २०७७÷७८ मा लगाएको ठेक्काकै कारण अहिले ठेक्का लगाएका खण्डहरु विवादित छन् । वातावरणीय प्रभाव मूल्यांकनअनुसार २०७८ सालमा रातु नदीका किसाननगर, पतलैया, जुरेटोल र फूलवारी टोल खण्ड गरि ४ खण्डबाट १ लाख २१ हजार ५०० घनमिटर नदीजन्य वस्तु उत्खनन गर्ने सम्झौता भएको थियो ।
तर, नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन गर्ने जिम्मा पाएको उद्योग पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डबाट सम्झौताभन्दा १ लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट १ लाख ६३ हजार ९६५ घनमिटर बढी उत्खनन गरेको थियो ।
यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रा.लि.ले फूलबारी खण्डबाट सम्झौतामा उल्लेख गरेभन्दा १ लाख ७२ हजार ३६० घनमिटर र दिव्यांशु बिल्डर्स प्रा.लि.ले पथलैया खण्डबाट सम्झौता गरेभन्दा २ लाख ९९ हजार ८४५ घनमिटर उत्खनन गरेको छ ।
पञ्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको २ करोड ७५ लाख रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी छ भने जुरेटोल खण्डको २ करोड ६१ लाख रुपैयाँ राजस्व नगरलाई दिन बाँकी छ ।
शिवम् कन्स्ट्रक्सनले २ करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले ४ करोड ७८ लाख रुपैयाँ दिन बाँकी देखिएको छ । हरेक खण्डबाट ४ दशमलव ५२ रुपैयाँ प्रतिघनमिटर राजस्व निर्धारण गरिएको थियो ।
ढुंगा, गिटी, बालुवा बिक्री–वितरण तथा व्यवस्थापनसम्बन्धी ऐन, २०७७ को समेत धज्जी उडाउँदै उत्खनन भएपछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
जनकपुर उच्च अदालतमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा नगरले लगाएको ठेक्काको वैधतामाीथ नै प्रश्न चिन्ह खडा भएका छन ।
मापदण्डविपरीत भएको पाइएमा तुरुन्त बन्द हुन्छ : नगर प्रमुख
नदी उत्त्खनन विषयमा नगरप्रमुख प्रल्हाद क्षेत्री भने मापदण्डविपरीत नभएको बताउँछन् । यदी मापदण्डविपरीत भएको पाइएमा तुरुन्त बन्द उनले बताए । रातु नदीमा भईरहेको उत्त्खननलाई लिएर जिल्ला समन्वय समितिले समेत आपत्ति जनाएको छ । उत्त्खननका क्रममा मापदण्डविपरीत देखिएपछि समितिले तत्काललाई उत्खनन गर्न रोक समेत लगाएको छ ।
अघिल्लो पटक भएको उत्त्खननको नापजाँच नगरी पुनः उत्त्खनन गर्न खोजे त्यसलाई रोक्ने समन्वय समितिको जनाएको छ । गत मंगलबारसमेत प्रक्रियाविपरीत खोला उत्त्खनन गर्न ठेकेदारहरु गएपछि समन्वय समितिले रोकेको थियो ।न्युज कारखाना
सर्लाही, २५ माघ ।
भारतीय बजारसँग सिमा जोडिएको सर्लाहीमा लागूऔषधको कारोबारी बढेको छ ।
खुला सीमानाका कारण सर्लाही लागूऔषधको ट्रान्जिट बनेको छ । लागूऔषध नियन्त्रणका लागि सर्लाही प्रहरीको मात्र भर छ । लागूऔषध नियन्त्रणमा स्थानीय सरकारले सक्रियता देखाएको छैन । लागूऔषधको कारोबारमा पहाडी जिल्लाबाट समेत सर्लाहीलाई ट्रान्जिट प्वाइन्ट बनाएका छन् ।
लागूऔषधको कारोबारीहरू खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागूऔषध खरिद गरी पहाडी क्षेत्रमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपय पहाडी जिल्लाबाट आएकाहरू सिधै सीमा पारी लागूऔषध खरिद गर्न पुग्छन । कतिपय कारोबारीले लागूऔषधमा संलग्न स्थानीयमार्फत कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर लुकाइछिपाई तस्करहरुले भारतीय बजारमा पु¥याउने गरेका छन् । सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ । खोलाको बाटो हुँदै लुकाइछिपाई लगिएको गाँजा भारतीय सीमामा लगेर महङ्गो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका सर्लाही प्रहरीले जनाएको छ ।
लागूऔषधको कारोबारी तस्करलाई गोप्य सूचनाका आधारमा सर्लाहीको जिल्लाको उत्तरी क्षेत्रमा रहेको बयलबास ,लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरि अनुसन्धान गरि कारवाही गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी दिपन्द्र पजियार थारुले जानकारी दिए ।
सर्लाही प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्षमा ०७८/०७९ मा लागुऔषध मुद्दा दर्ता संख्या १२५ रहेको छ भने १८६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ तीन हजार तीन सय ३५ बोतल, लागूऔषध एम्पुल दूई हजार चार सय ७७ एम्पुल , लागू औषध गाँजा आठ सय ८९ किलो , लागू औषध चरेश ११ किलो १०० ग्राम र ३४ थान मोटरसाइकल पक्राउ गरेको छ ।
प्रहरीका अनुसार १७१ पुरुष, २ महिला र १३ जना भारतीय पुरुष रहेका छन् । भने आर्थिक वर्षमा ०७९/०८० मा लागुऔषध मुद्दा दर्ता संख्या १२६ रहेको छ भने १६० जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ एक हजार सात सय ९० बोतल ,हिरोइन तिन कीलो ४८ ग्राम, लागू औषध एम्पुल दूई हजार सात सय २८ एम्पुल , लागू औषध गाँजा चार सय ९९ किलो र पाच सय ४६ ग्राम, लागुऔषध ट्याबलेट सात हजार दूई सय २१ ट्याबलेट, लागुऔषध क्यापसुल ९६ क्यापसुल र २६ थान मोटरसाइकल पक्राउ गरेको छ ।
प्रहरीका अनुसार १५० पुरुष, ४ महिला र ६ जना भारतीय पुरुष रहेका छन् ।
सर्लाही प्रहरीको तथ्यांकमा चालु आर्थिक वर्षमा ०८०/०८१ मा लागुऔषध मुद्दा दर्ता संख्या ९० रहेको छ भने १४१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा लागू औषध सिरफ एक हजार सात सय ५६ बोतल ,हिरोइन कीलो ०.४८ मी ग्राम, लागूऔषध एम्पुल एक सय ४९ एम्पुल, लागूऔषध गाँजा तिन सय ३१ किलो र आठ सय २ ग्राम , लागुऔषध ट्याबलेट सात हजार तिन सय ८१ ट्याबलेट र कार १ थान , ट्राक्टर १थान, २८ थान मोटरसाइकल पक्राउ गरेको छ । प्रहरीका अुसार १२४ पुरुष, ५ महिला र १२ जना भारतीय पुरुष रहेका छन् ।
सर्लाही जिल्लाको ५१ किलोमिटर खुला सिमानाका रहेको छ । नेपालीनागरिकको खेत भारततिर र भारतीय नागरिकको खेत नेपालतिर रहेका कारण पनि गैरकानूनी क्रियाकलाप नियन्त्रणमा केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक प्रविण धितालले बताए ।न्युज कारखाना
बारा, २५ माघ ।
बारा, २५ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसँग पहल गरिदिन सार्वजनिक अपील गरेको छ । ठेकेदार कम्पनी महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पूरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेको हो ।
सूचनामा ‘यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जे.भी.ले निरन्तर र नियमित निर्माण कार्य गरिहेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ’ भनिएको छ ।

समयमै भुक्तानी नपाएको कारण देखाउदै कम्पनीले हाल निर्माणको कामसमेत रोकेको छ । ठेकेदार कम्पनीका सञ्चालकले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाकारी दिए । सम्झौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ५६ प्रतिशतमात्रै काम पूरा भएको हो । सञ्चालकले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत मात्रै गर्नसक्ने गरी काम सम्पन्न गर्ने बताए ।
ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानीका लागि सहयोग गरिदिन निर्माण क्षेत्रमै सार्वजनिक सूचना टाँस गरेको हो ।
ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले पुलको पाईल गर्दा डिजाईन परिवर्तन गर्नुपर्ने देखिएकाले पुनः डिजाईन गर्न सडक विभाग अन्तर्गतका ५ वटा महाशाखाहरु मध्ये पुल महाशाखाले एक वर्ष लगाएको हुदाँ समेत समयमै निमार्ण सम्पन्न हुन नसकेको जानकारी दिए ।
ठेकेदार कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ मा ठेक्का सम्झौता भएर पनि सडक विभागले समयमै बेलिबिज्र नबनाइदिएका कारण ३ वर्षसम्म काम सुरु गर्न नसकेको बताए । २०७९/०८० भित्र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ ।
साविक पुलको पिलर दुई पटक भासिएपछि सडकको चौडाइसंगै दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण गर्न पुरानो पुललाई पूर्णरूपमा भत्काएर १५ करोड १२ लाखमा नयाँ पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा हुदैआएको ढिलासुस्तिले सो क्षेत्र भएर आवतजावत गर्ने सवारी र ढुवानीका साधनहरु समस्यामा पर्ने गरेका छन ।न्युज कारखाना
जनकपुरधाम, २५ माघ ।
स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं। २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भइ जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता अवाले बताए ।
गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता अवाले बताए ।न्युज कारखाना
महोत्तरी, २५ माघ ।
महोत्तरी बर्दिवास-४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ ।
घाखोकी, प्रेसर, सुगर जस्ता रोगहरु लागेपछि सोलीघोप्टे वरपरको जंगलमा गाँउलेहरू जडिबुटीजन्य बनस्पति खोज्न धाउने गरेको पोखरेल अहिले पनि सम्झन्छन । उनलाई अझै पनि अस्पताल र स्वास्थ्य चौकीको बिस्वास नै लाग्दैन, बरु चिकित्सकहरुको लापरवाहीका घटनाहरु र गलत औषधिको प्रयोगले ज्यान गएको समाचार सुन्दा अचम्म लाग्छ ।

‘यो समाज कता जादै छ ? हामी किन हाम्रै घरआगनमा भएका औषधि प्रयोग गर्न हिच्किच्याईरहेका छौ ?’ पोखरेल प्रतिप्रश्न गर्छन ।
६० बर्षीय पोखरेल मात्र हैन बर्दिवास-४ कै अर्का स्थानीय टेक बहादुर डीमडम पनि स्थानीय सरकार तथा सरोकारवाला निकायको वेवास्ताप्रति चिन्ता ब्यक्त गर्छन । ‘हाम्रो सोलीघोप्टे जंगलमा मात्र सय भन्दा बढी जातका जडिवुटी पाईन्छन तर संरक्षणको अभावमा नासिने र अतिक्रमणमा पर्ने क्रम जारि छ,’ डीमडमले भने, ‘जडिवुटी हवको रुपमा विकास गर्न सकिने यस्ता ठाउँ स्थानीय सरकारको वेवास्तामा पर्नुले झन् दु:ख लाग्छ ।’

२०३६ सालदेखी यही ठाँउमा बसोबास गर्दै आएका पुर्व वडा अध्यक्ष तथा स्थानीय दिपवहादुर कार्की रचनात्मक व्यवस्थापन गर्न सक्ने जनप्रतिनिधिको अभावले नै यस्ता ठाउँहरु ओझेलमा परेको वताउँछन । आफु वडा अध्यक्ष हुदा समेत जडीबुटी हवको रुपमा विकास गरी वातावरणीय पर्यटन पर्वद्वंन गर्न निक्कै कोशिस गरेको बताउँदै स्थानीय सरकारको वेवास्ताको सिकार बनेको जिकिर गर्छन ।
उनी आफैले पनि यस जंगलको कयौ जडिबुटीहरुको प्रयोग गरी रोग निको बनाउँदै आएका छन् । पायलस, फिस्टुला, झाडापखाला, पिनास, ज्वरो जस्ता सामान्य रोगको लागी अस्पताल वा स्वास्थ्य चौकी अहिलेसम्म नगएको वताउछन । ‘म मात्र हैन गाँउ नै जडीबुटीको प्रयोग गरेर स्वस्थ बन्दै आएका हुन् ।’ उन्ले भने । ‘अव स्थानीय सरकारले संरक्षित क्षेत्र घोषणा गरी दिगो आयआर्जनको विकास गर्नुपर्छ ।’

आयुवेर्दिक चिकित्सक इन्द्र महतो पनि जडिबुटी नै जडिबुटी पाईने यो क्षेत्रलाई जडिबुटी हवकोरुपमा विकास गर्नुपर्ने तर्क गर्छन । सनिवार बर्दिवास उधोग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागी भएका चिकित्सक महतोले गौशाला नगरपालिकामा रहेको आयुवेर्दिक कलेजलाई सोलीघोप्टे जंगलसँग जोडन सकिने धारणा राखे ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जंगलमा पाईने जडिबुटी र मनोरम प्राकृतिक दृश्यहरुलाई पर्यटनसँग जोडेर पर्यटकीय केंद्रकोरुपमा समेत विकास गर्नुपर्नेमा जोड दिए । ‘सोलीघोप्टे पहाड उक्लेर चुचुरामा पुग्दा छुट्टै आनन्द प्राप्त हुदो रहेछ ।’ उन्ले भने । ‘नजिकै रहेको बहुचर्चित पंचधुरामाई मन्दिरलाई जोडेर चुरे पदयात्राकोरुपमा समेत विकास गर्न सकिने आधारहरु देखियो ।’
बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले केही दिनदेखी पर्यटकीय गन्तव्यको खोजी गरेको वताउदै नगर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाँउहरुको पहिचान गरी प्रतिवेदन समेत तयार गरिरहेको वताए ।
‘सोलीघोप्टे जंगललाई जडिबुटी हवकोरुपमा विकास गर्न सकिने पहिचान गरेका छौ ।’ उन्ले भने । ‘बर्दिवास नगरको उत्तरी क्षेत्रका चुरे काक्षमा हामीले सम्भावनाहरु खोजी गरिरहेका छौ, देखिएका र सम्भावित गन्तव्यहरुलाई कसरि पर्यटनसँग जोडन सकिन्छ भन्ने अर्को गृहकार्य पनि भईरहेको छ ।’
वि.सं. १९९४ सालमा वनस्पति स्रोतको जर्गेना र प्रयोग गर्ने उदेश्यले वनस्पति गोश्वाराको स्थापना भएको थियो । त्यस पश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण तथा दिगो विकास गर्ने उदेश्यले वि.सं. २०१६ सालमा वनस्पति विभागको पनि स्थापना भयो । वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभागका कर्मचारीहरु परिचालन गरि अहिले कार्य सञ्चालन हुदै आएको छ तर उचित ध्यान पुर्र्याउन नसक्दा सोलीघोप्टे जस्ता जंगलहरु संरक्षणको पर्खाईमा छन् ।
अझ प्रकृति संरक्षण एवं सदुपयोगको मान्यताअनुरूप पूजा गर्दा प्राणी, वनस्पतिलगायत सम्पूर्ण चराचर जगतको शान्तिको कामना गर्दै …अन्तरिक्षः शान्तिः, … वनस्पतय शान्तिः…” मन्त्रोच्चारण गर्ने परम्परा छ। जस्ले जडिबुटीजन्य बनस्पतिको महत्व र आवस्यकतालाई प्रमाणित गर्दछ ।
न्युज कारखाना
बारा, २४ माघ ।
बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो।
बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।न्युजकारखाना
महोत्तरी, २४ माघ ।
नेकपा एमालेको महोत्तरी जिल्ला अधिवेशन सहमतिमा हुन नसकेपछि निर्वाचन प्रक्रियाअगाडि बढाइएको छ । पछिल्लो डेढ दशकयता तदर्थ समितिको भरमा चल्दै आएको एमालेको छैटाैँ अधिवेशन सहमतिमा हुन नसकेपछि २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
माघ २२ गतेबाट सुरु भएको अधिवेशन सहमतिमा गर्नुपर्ने शीर्ष नेताहरुले जोड दिए पनि चुनावी प्रतिस्पर्धा गर्नुपर्ने माहोल सिर्जना भएको निवर्तमान अध्यक्ष कालिचरण साहले जानकारी दिए । अहिले बलिराम यादव र शिवचन्द्र सिंहको प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको छ, जसमा दुईवटा गुटले यादव र सिंहलाई साथ दिएका छन् ।
एमाले महोत्तरीका नेताहरुका अनुसार रामदयाल मण्डल, जुलि महतो, रघुवीर महासेठसहितको एउटा गुटले शिवचन्द्र सिंहलाई र सरोज यादवको अर्को गुटले बलिराम यादवलाई साथ दिएकाे छ ।
एमाले महोत्तरीमा यसअघि निर्धारण भएको अधिवेशनहरु सरोज यादव र रामदयाल मण्डलकै कारण स्थगित भएको थियो ।
दर्जनौँपटक कहिले आन्तरिक कलह त कहिले नेताहरुको निजी स्वार्थको कारण विवादित बन्दै आएको अधिवेशन अहिले भने मनोनयन दर्ता भएसँगै नेता कार्यकर्ताहरूमा उत्साह देखिएको छ । खुलासत्रमा अध्यक्ष केपी सर्मा ओलीले अधिवेशन सहमतिमा नै हुने विस्वास व्यक्त गरेका थिए । तर, तल्लो तहको नेता, कार्यकर्ताहरुको लोकतान्त्रिक प्रक्रियाप्रतिको निष्ठाले महोत्तरी मात्र हैन अन्य जिल्लामा समेत प्रतिरोध हुँदै आएको देखिएको छ ।न्युजकारखाना
बारा, २४ माघ ।
प्रहरीले बाराबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्। उनलाई मंगलबार बेलुका जितपुर सिमरा उपमहानगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोही ठाउँस्थित प्रभु साह कलवारको सूर्ती किराना पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महतोलाई पक्राउ गरेको हो।
उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना
रौतहट, २२ माघ ।
रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाई कुटपिट गरी घरबाट निकालिएको छ।
प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका-७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट सुसरालमा जाँदा कुटपिट गरी घरमा प्रवेश गर्नबाट रोकेका हुन्।
२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवी तेस्रो पटक गर्भवती भएपछि लोग्नेले गर्भ पतन गरेमात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जाँदा कुटपिट गरेको पीडित महिलाको गुनासो छ। सन्चारकर्मीसँग कुरा गर्दै पीडितले दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान श्रीमान्को रहेको दुखेसो गरिन्।
गएको शुक्रबार घरमा जाँदा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रूपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको दाबीसमेत गरेकी छन्।
प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले आफूसँग पटक-पटक १५ लाख रुपैयाँ व्याग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लगेको उनको दाबी छ।
आफूमाथि अन्याय भएको भन्दै महिलाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छन्।न्युजकारखाना