२०८३ बैशाख २०
२०८३ बैशाख २०

 

काठमाडौं, १२ भदौ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई आफ्नो पार्टीले नसघाएको जानकारी दिएका छन् ।

 

मध्य पूर्वी देशको साताव्यापी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।

कोशीमा सत्तारुढ गठबन्धनलाई सघाउने सहमति नभएको बताउँदै उनले मुख्यमन्त्री दिँदा समेत नलिएको राप्रपाले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति नभएको स्पष्ट पारेका छन् ।

‘कोशी प्रदेशको सभामुख त फालाफाल छ । हामीले मुख्यमन्त्री नै अस्वीकार गरेको कुरा कांग्रेसकै मुख्यमन्त्रीले भनिसकेका छन् । सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने सरासर गलत प्रचार हो । हामीले चाह्यौँ भने मुख्यमन्त्री नै पाउन सक्छौँ,’ उनले भने ।

 

काठमाडौं, १२ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी बचाउने काम नभएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए ।

प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उनले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

 

काठमाडौं, १२ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् ।

 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज हुने जानकारी दिएका हुन् ।

 

साउन महिनाको बाढीले मेलम्ची खानेपानीको हेडकवर्कस बगाएको र मेलम्ची बजारदेखि उक्त स्थानसम्म मुग्ने मार्गमा अवरोध भएको प्रधानमन्त्रीको भनाइ छ ।

 

काठमाडौं, १२ भदौ ।

पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई महाधिवेशन केन्द्रित हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आग्रह गरेका छन्। काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल महिला संघ , नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा मनोनीत भएका सुदूर पश्चिम, कर्णाली, लुम्विनी, मधेष र गणडकी प्रदेशबाट प्रतिनिधित्त्व गर्ने केन्द्रीय सदस्यहरूलाई अन्तरक्रियात्मक बधाई ज्ञापन गर्दै नेविसंघ पूर्व अध्यक्षसमेत रहेका नेता महरले महाधिवेशन केन्द्रित हुन निर्देशन दिएका हुन्।

 

‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको गतिशीलता रोकिनु हुँदैन। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ तथा शुभेच्छुक संस्था गतिशील हुनुपर्छ। गतिशीलता प्रदानका लागि पार्टी नेतृत्व पनि गम्भीर बन्नुपर्छ। तपाईंहरूलाई महाधिवेशन केन्द्रित हुन जिम्मेवारी प्रदान गर्दै पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुहोस्, मेरो शुभकामना,’ महरले भने। महाधिवेशन केन्द्रित हुँदा कतै कुनै असहजता भए सहजताका लागि आफूले प्रयास र सहजीकरण गर्नेसमेत महरले प्रतिबद्धता जनाएका छन्।

 

उनले इमानदारितापूर्वक महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिमा मनोनीत भएका सदस्यहरूले नै वातावरण निर्माण गर्नुपर्ने बताए। ‘युवाहरूप्रति जनताको ठूलो अपेक्षा हुन्छ। हामी सबै जना जनताको मन जित्ने कार्यमा लाग्नुपर्छ। संगठनलाई गतिशील बनाउँदै जनताको प्रिय पनि बन्न सक्नुपर्छ’, उनी भन्छन्। गतिशील व्यक्तिमात्र राजनीतिमा सफल हुने महरले बताए।

 

राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन पनि चाँडोभन्दा चाँडो भ्रातृ संस्थाको महाधिवेशनको अपरिहार्यता रहेको महरले औंल्याए। उनले पार्टीका सबै भ्रातृ  सङ‍्गठनमा पदाधिकारीसहितको पूर्ण आकारको निर्वाचित कमिटी आउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताएका छन्।

 

सबै भ्रातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताए। जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबीनै पनि पार्टी आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।

 

‘जिम्मेवारी विहीनले के माग गर्ने? कसलाई काम लगाउने? अहिले धेरै युवा रनभुल्लमा छन्। अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भने। महाधिवेशन भएर निर्वाचित नेतृत्व आउँदा भ्रातृ संस्थालाई सशक्त र पुनर्ताजगी बनाउन सञ्जीवनी बुटीको काम गर्ने उनले बताए।

 

उनले गाउँ-गाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताएका छन्। ‘नेविसंघ कांग्रेसको मुटु हो। तरुण दल युवाहरूको ऊर्जा हो। महिला संघ लगायत भातृ संस्था ज्ञानेन्द्रिय हुन हुन ।यस्ता थुप्रै संगठनको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ। ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,’ महरले भने। त्यसका लागि जिम्मेवारी प्राप्त साथीहरूको प्रतिबद्धता र सक्रियता आवश्यक रहेको महरको भनाइ छ।

 

फरक प्रसंगमा बोल्दै नेता महरले अहिले संविधानमाथि सबै क्षेत्रबाट प्रहार हुने गतिविधि भइरहेको बताएका छन्। यसतर्फ चिन्ता व्यक्त गर्दै नेता महरले युवा वर्ग पनि सचेत रहनु पर्ने धारणा राखेका छन्। ‘निकै ठूलो बलिदानीबाट प्राप्त संविधानको रक्षा हामी सबैको दायित्व हो। संविधान र संघीय व्यवस्थामाथि प्रहार भयो भने पुनः मुलुकमा अस्थिरता निम्तिन्छ। कसैका कुनै असन्तुष्टि भए संवाद र छलफलको माध्यमबाट यहीभित्र समाधान खोज्ने हो। तर, संविधानमाथि नै प्रहार गर्ने गतिविधि गर्नु हुँदैन। यसतर्फ पनि कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्था सचेत हुनुपर्छ,’ उनी भन्छन्।

 

काठमाडौं, १२ भदौ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिचानको कुरा गर्दा अरुको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले कसैको पहिचान र आस्थामा खलल पुर्‍याउन  नपाइने कानुनी व्यवस्था रहेको स्मरण गराए । यदी कानुनविपरीत गतिविधिलाई राज्यले स्वीकार्न नसकिने भन्दै उनले संविधान र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरे ।

 

काठमाडौं, १२ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताएका हुन् ।

साथै, सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित  र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने जानकारी दिए ।

 

काठमाडौं, १२ भदौ ।

प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

 

काठमाडौं, १२ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभरी ज्ञापन पत्र बुझाउने भएको छ ।

 


राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फतप्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार देशैभरी दिउसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ ।

 

 

काठमाडौं, १२ भदौं ।

प्रतिनिधिसभा बैठक बस्दै छ ।

 

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ ।

 

साथै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

 

 

काठमाडौं, ११ भदौ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको समिति बैठकमा जनमत पार्टीका सांसद खान निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

आइतबार मनोनयन दर्ताका क्रममा दुईजनाको उम्मेदवारी परेको थियो । तर, सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।