२०८३ बैशाख १९
२०८३ बैशाख १९

 

हङकङ, २३ भदौं ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन ।

 

एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आगामी कार्यक्रमको लागि अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए ।

 

“एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,” शर्माले हकङकङका एनआरएनए  अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने, “मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन, लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ ।”

 

शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ, उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत सबै अभियन्तालाई अनुरोध गरेका छन् ।

“२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुले पछि दोस्रो कतारमा खुलेको हो,” शर्माले भने, “मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्, सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।”

 

शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले अगाडी बढाएको बताए । उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने भन्दै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए ।

 

अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाउने मिसन बोकेको बताए ।

 

“खाडीका मलेसिया, कोरिया र युरोपमा बस्नेले सिप सिकेर फर्केका छन ,अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेल्थको बारेमा जानकारी छ,” शर्माले भने, “हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने योजना नै हो।”

 

हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए ।

 

शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,” शर्माले थपे, “यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु ।”

 

अहिलेको कार्यसमितिका अध्यक्ष त्रय सम्मानित व्यक्तिहरू रहेकोले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको शर्माले बताए ।

 

एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुदैँ छ । अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका हुन् । शर्माले यस अभियानका क्रममा एसिया, मध्यपुर्व, युरोप, अस्ट्रेलिया, अमेरिका क्षेत्रको स्थलगत अध्ययन गरेर गैर आवासीय नेपालीहरु र अभियन्ताहरुको सल्लाह सुझाव लिएर आगामी नेतृत्वको लागी तयार भएको बताएका छन ।

 

ढाका, २३ भदौ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी  ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् ।

 

त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेको र त्यसका नकारात्मक असर पनि लजवायु परिवर्तनमा देखिन थालेको बताए । पछिल्लो समय नेपालमा बाढी, पहिरोको जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उनको भनाइ थियो । यद्यपि कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत रहेको उनको भनाइ थियो ।

 

सापकोटाले दक्षिण एसिया क्षेत्रका खास गरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने बताए । सापकोटाले नेपालले पूर्वाधार विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी सम्मेलनलाई गराए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ चाहिएको उल्लेख गरे ।

 

सापकोटाले जलवायु परिवर्तनले निम्त्याएका असरहरुबाट प्रभावित दक्षिण एसियाली मुलुकहरुले त्यसका साझा दुस्प्रभाव न्यूनीकरणका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन नेपालका प्रमुख चुनौती रहेको उनको भनाइ थियो । सापकोटाले दिगो विकास लक्ष्य हासिल गर्न विकासका पूर्वाधारको निर्माण गर्नुपर्ने र पर्यावरणीय सन्तुलन पनि कायम राख्नुपर्ने विरोधाभासपूर्ण चुनौतीको सामना गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औंल्याए ।

 

उनले नेपालको धनकुटा र स्याङ्जामा स्थानीय तहहरुले मौलिक रुपमा एकीकृत फोहोर व्यवस्थापन प्रणाली अपनाइहरेको भन्दै त्यो नेपाल स्वयं र अरु मुलुकहरुका लागि पनि नमुनायोग्य हुन सक्ने बताए । जैविक र अजैविक फोहोर छुट्याएर पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई प्रयोग गर्ने र रोजगारी श्रृजनासँगै आर्थिक विकासमा समेत उक्त प्रयोग फलदायी देखिएको चर्चा उनले गरे । सापकोटाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, दिगो पानी व्यवस्थापन र फोहोर व्यवस्थापनमा दक्षिण एसियाली मुलुकहरुबीच साझा प्रयास, अभुभवहरुको आदानप्रदान र सहकार्य जरुरी रहेको औंल्याए ।

 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित काँग्रेसका प्रदीप पौडेल,  एमालेका ठाकुर गैह्रे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम र संसदको पूर्वधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।

बंगलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसदभित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । दक्षिण एसियाका अन्य मुलुकले पनि आफूले जस्तै क्लाइमेट मार्लियामेन्ट निर्माण गरुन भन्ने उद्देश्यले बंगलादेशले उक्त कार्यक्रम आयोजना गरेको सापकोटाले बताए ।

 

‘यहाँ मन्त्री सरहका एक सांसदको नेतृत्वमा क्लाइमेट पार्लियामेन्ट’, गठन गरिएको रहेछ’, ढाकाबाट सापकोटाले भने,  ‘दक्षिण एसियाली मुलुकहरुमा वातावरण प्रदूषण रोक्न, जलवायु परिवर्तनको असर न्यूीकरण गर्न र  चुनौतीको सामूहिक रुपमा फेस गर्न सबै सदस्य राष्ट्रले ‘क्लाइमेट पार्लियामेन्ट’ बनाउनुपर्छ भन्ने लबिङमा उहाँहरु हुनुहुँदोरहेछ ।’
बंगलादेशका सभामुख डा. शिरिन शार्मिन चौधरीले उदघाटन गरेको सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक, जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।

 

हैदाराबाद, २३ भदौं ।

तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् ।

 

प्रहरी अधिकारीले भने कि पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरेको थियो। एसआईटी और सीआईडीका अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो ।

 

सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो।

 

नायडूलाई पठाइएको सूचनामा, सीआडी को आर्थिक अपराध शाखा (ईओडब्ल्यू) का प्रहरी नायब उपरीक्षक एम धनुन्जुयुडुले भने, ‘तपाईलाई जानकारी छ कि तपाईंलाई आरके फंक्शन हल, ज्ञानपुरममा बिहान ६ बजे पक्राउ गरिएको छ।’ सूचना अनुसार आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्रीलाई आईपीसीको सम्बन्धित धारा अन्तर्गत पक्राउ गरिएको हो।

 

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुई दिनअघि आफूलाई हिरासतमा लिन सकिने बताएका थिए । करोडौं रुपैयाँ घुसखोरी र घोटाला गरेको आरोप उनी माथी रहेको छ ।

 

नयाँ दिल्ली, २३ भदौं ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भारतमा न्यानो स्वागत गरिएको छ ।

 

उनी श्रीमतीसहित भारत आइपुगेका हुन् । नयाँ दिल्लीमा उत्रे लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्रीले धेरै विषयमा खुलेर जवाफ दिएका छन् ।

 

एक सन्दर्भमा नलाई हिन्दू धर्मको बारेमा प्रश्न सोध्दा उनले निकै उत्साहित हुँदै भने,  ‘म हिन्दु हुनुमा गर्व गर्छु ।’ उनले जी २० सम्मेलनमा आएको अवसरमा नजिकैको मन्दिर जाने कुरा पनि गरेका छन ।

 

बेलायतका प्रधानमन्त्री ऋषि सुनक जी २० शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारत आईपुगेका हुन । एएनआईसँग कुरा गर्दै उनले हिन्दू धर्मसँगको आफ्नो सम्बन्धमा भने,  ‘म हिन्दू हुनुमा गर्व गर्छु र म यसरी नै हुर्केको छु। म यस्तै छु। आशा छ कि म यहाँ मेरो बसाइको क्रममा अर्को केही दिन मन्दिरको दर्शन गर्न पनि सक्छु।

 

काठमाडौं, २२ भदौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् ।

 

सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत, सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, विश्व व्यापार संगठन र विश्व स्वास्थ संगठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

 

 

काठमाडौं, २२ भदौ ।

सरकारका तीन सचिवको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

 

काठमाडौं, २२ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रवार आयोजित २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रेड युनियन अधिकारको कुरा कटौती नगरिएको र यसलाई व्यवस्थित गर्ने काम भइरहेको बताए ।

 

सम्बोधनको पूर्णपाठ :

निजामती सेवा दिवस मूल समारोह कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकारका मुख्यसचिवज्यू,
कार्यक्रमका विशिष्ट अतिथि माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू,
नेपाल सरकारका सचिवज्यूहरू,
सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू,
ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरू,
सुरक्षा अंगका प्रमुख एवं प्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू ।

“व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने मूलनारासहित भव्यरूपमा मनाउन लागिएको बीसौं निजामती सेवा दिवसको यस महत्वपूर्ण अवसरमा सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरूको व्यक्तिगत र व्यवसायिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्दछु ।

 

मुलुकका ठूला राजनीतिक परिवर्तनमा तपाई निजामती कर्मचारीहरूको अहम् भूमिका रहिआएको छ । मुलुकको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण, सेवा प्रवाह र संक्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पु¥याएको योगदान महत्वपूर्ण छ । यसका निम्ति तपाईहरू प्रशंसाका पात्र हुनुहुन्छ ।

 

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास, समृद्धि र सुशासनका एजेण्डामा लैजाने हाम्रो मुख्य कार्यभार हो । राजनीतिक परिवर्तनका निम्ति संघर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुबै हामीसामु छ । यसले मात्र लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि हुन सक्दछ । सामाजिक न्याय, सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नुपर्दछ । तसर्थ, गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु यतिबेलाको हाम्रो मुख्य जिम्मेवारी हो ।

 

संविधानको मूल मर्म, भावनालाई आत्मसाथ गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधारका साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको कुरा हामीलाई अवगत नै छ । निरासालाई चिर्दै जनतामा आशाको रक्तसञ्चारहित राष्ट्रको मुहार फेर्ने यस अभियानमा निजामती कर्मचारी साथीहरू मन, वचन र कर्मले दृढतापूर्वक क्रियाशील रहनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

 

राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रूपान्तरण गर्न २०१३ भाद्र २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसाथ गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ । यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्व, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी, व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रवन्ध गर्नुपर्दछ ।

 

 

उल्लेखित तथ्यलाई ध्यान दिँदै लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवा सम्बन्धी विधेयक हिजो मात्र नेपाल सरकार मन्त्रिपरिषद बैठकले संसदमा पठाउने निर्णय गरेको छ । राजनीतिक दलहरूको सहमतिबाट संसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेछ भन्ने विश्वास मैले लिएको छु । सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने नै छ ।

 

मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिवद्ध छ । भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई थप उत्प्रेरित गरिने विश्वाससमेत दिलाउँछु ।

 

अन्तमा, निजामती सेवामा महत्वपूर्ण योगदान पु¥याई आज पुरस्कृत हुनुहुने सबै राष्ट्रसेवक कर्मचारीलाई बधाइ दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा कार्य।रत कर्मचारी साथीहरूको चासो र चिन्तालाई सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गर्दै फेरि एकपटक २० औं निजामती सेवा दिवसको शुभकामनासहित विदा हुन्छु, धन्यवाद ।

 

काठमाडौं, २२ भदौ ।

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे  सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

काठमाडौं, २२ भदौ ।

सत्तारुढ दल कांग्रेकको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।

 

गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।

 

काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा पनि मागेको हो ।

 

काठमाडौं, २२ भदाै ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अंसारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।