२०८३ बैशाख १०
२०८३ बैशाख १०

काठमाडौं, २९ चैत ।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन ।

 

शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गर्नुभएको छ। पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा आएको र कतिपय सुझाव अझै पनि कार्यान्वयनमा आउन बाँकी नै रहेकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।

सामाजिक सञ्जालहरूबाट प्रतिक्रिया दिँदै उहाँले दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन पनि अनुरोध गरेका छन । महामन्त्री थापाले लेखेका छन, ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद ।’

 

आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु  नै आफैमा सकारात्मक रहेको उहाँको भनाइ छ।

महामन्त्री थापाले प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा रहेको र त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

 

‘प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ पनि रहने प्रतिबद्धता छ,’ पूर्व स्वास्थ्य मन्त्री थापाले भने ।न्युज कारखाना

काठमाडौं, २९ कार्तिक ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताएका छन ।

नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताएका हुन ।

 

नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताए । उनले भने,  ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन ।’

 

कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नु पर्ने पनि उनको भनाइ छ । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उनले स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ जिल्ला विकास निर्माणको हिसाबले निक्कै पछि परेकोले सो क्षेत्रमा धेरै काम गर्न जोड दिएका छन । जिल्लामा निर्माणाधीन धेरै सडकको काम बजेट अभावको कारण रोकिएका उनको भनाइ छ ।

 

अहिलेको सरकारमा नेकपा एमाले सहभागी भएकोले छिट्टै बजेट विनियोजन गरी विकासको काम अघि बढाउनु पर्ने भट्टराईले बताउनुभयो । जनप्रतिनिधिको हिसाबले आफू ती काममा निरन्तर लागिरहने उनको प्रतिबद्धता छ ।न्युज कारखाना

काठमाडौं, २९ चैत ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताएका छन ।

बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा नेकपा एमाले पनि भएकोले देशलाई ओरालो लाग्न नदिने बताएका हुन ।

एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकाले देशलाई बरबादीमा जानबाट भने जोगाएको ओलीले दाबी गरे ।  ‘अब ओरालो लाग्ने क्रम रोकियो देशको, त्यो ओरालो लाग्ने क्रम रोकिएको छ, अब देश ओरालो लाग्दैन’, ओलीले भने ।

हिजो गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएका बताउँदै ओलीले ती काम अब अगाडि बढ्ने आश्वासन दिनुभयो । सरकारले रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाउने ओलीले बताए ।

एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको ओलीले बताए । ‘हामीलाई सरकारबाट हटाउने जुन तिकडम भयो, षडयन्त्र भयो, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो’, ओलीले भने ।

ओलीले मिसन २०८४ बाट एमालेलाई राष्ट्रिय शक्ति बनाउनु पर्ने बताए । त्यसले राष्ट्रियतालाई बलियो बनाउने र विकास र समृद्धिको गति अघि बढ्ने उनको भनाइ छ । एमालेलाई सानदार बहुमतसहितको निर्णायक शक्तिको रूपमा अघि बढाउनु पर्नेमा उनको जोड रहेको छ ।

एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भू–भागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गर्ने, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उनले स्मरण गरे ।

 

राष्ट्रियता, विकास, सुशासनको गति रोक्न एमाले विरुद्ध षडयन्त्र भएको बताउँदै ओलीले त्यसलाई एमालेले असफल गराइदिएकोसमेत उनले बताए । उनले बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालले जित्ने र जित्नु पर्ने बताए । अब एमालेले सबै ठाउँमा जित्दै जाने उनको दाबी रहेको छ ।

एमाले नेता कार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न पनि ओलीको आग्रह रहेको छ । त्यसो गरियो भने मात्र मिसन २०८४ सफल हुने ओलीको भनाई छ ।न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरुले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेशा नभइ सेवाको रुपमा अवलम्वन गर्नुभयो ।’

उनले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको बताएका छन् ।न्युज कारखाना

काठमाडौँ ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक भएको बताएका हुन् ।

उनले भनेका छन्- ‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु  नै आफैमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।’

उनले प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास व्यक्त गर्दै यो सत्प्रयासमा आफुहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले २०७४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको आयोगको प्रतिवेदन बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्बजनिक गरेकी थिइन् । न्युज कारखाना

धनगढी ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ ।  केन्द्रमा सत्ता समीकरणमा रहेका दलहरुबीच भएको सहमति अनुसार नाउपाले सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने भएको हो ।

नाउपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले गर्ने बताइएको छ ।

सुदूरपश्चिममा हाल नाउपाका ६ सांसद रहेका छन् । यस अघि ७ सांसद रहेकोमा अध्यक्ष  रञ्जिताले आफ्नो निर्देशन नमानेको भन्दै इन्दिरा गिरीलाई फिर्ता बोलाएकी थिइन् र प्रदेश सभाले उनी पदमुक्त भएको सूचना समेत सार्बजनिक गरिसकेको छ । ६ सांसद मध्ये अध्यक्षको पक्षमा २ सांसद मात्र रहेका छन् ।

केन्द्रमा भएको सहमति अनुसार मुख्यमन्त्री बाहेक नाउपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपामा अहिले अन्योलता रहेको छ । अध्यक्ष रञ्जिताले सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई कारबाही गरेर कैलाश चौधरीलाई नेता बनाएकी थिइन् । यो विषय पनि विवादमा रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ सांसद रहेका छन् । बहुमतको लागि २६ मत चाहिनेमा हालको सत्ता समिकरणसँग माओवादीका ११, एमालेका १०, नाउपाका ६, एकीकृत समाजवादीका ४ गरि ३१ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा कांग्रेसका १८ राप्रपा १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । न्युज कारखाना

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर १२ पुर्याउने तयारी गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय रहेकोमा दलहरुबीच भागबण्डा पुर्याउन १२ मन्त्रालय बनाउने तयारी गरिएको हो ।

सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबार बसेको मन्त्रपरिषद्को बैठकले मन्त्रालय थप्ने निर्णय गरेको र सो निर्णय संघमा सिफारिस गरिएको छ ।

मुख्यमन्त्री अधिकारी माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सरकार दाबि गर्दा सभामुखलाई समेत समावेश गरेपछि उनको नियुक्ति विवादमा रहेको छ । यो विषय अहिले सर्वोच्चमा छ र सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश समेत दिएको छ । साथै सर्वोच्चले यो विषयको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने बताएको छ ।न्युज कारखाना

विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए ।

सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पारे ।

सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए ।

आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ । बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ ।”

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे । उनले सङ्घीय निजामति ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । न्युज कारखाना

काठमाडौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको त्याग, बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रमाथि पछिल्लो समय अराजक तत्त्वहरूले धावा बोल्न खोजिरहेको आरोप लगाएका छन्। आज काठमाडौंको महाराजगन्जमा जनसम्पर्क समितिहरूसँग उपनिर्वाचनको तयारीका बारेमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतन्त्रले आफ्नो लय समात्न नसकोस् भन्ने चाहना भएका राजनीतिक दलहरूले लोकतन्त्रका पद्धति र सैद्धान्तिक पक्षमाथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए।

‘२००७ सालपछिको ठूलो संघर्षले कांग्रेसले लोकतन्त्र ल्याएर मुलुकलाई अहिलेको स्थानमा पुर्‍याएको हो। आफ्नो लय समात्न नपाउने गरी लोकतन्त्रका पद्धति र सैद्धान्तिक आभारमाथि धावा बोल्ने काम भइरहेको छ। अब लोकतन्त्र प्रेमी जनता र कांग्रेसका लागि यो स्वीकार्य हुँदैन,’ उनले भने।

जनताले आफैँले स्थापित गरेको लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गर्नका लागि अब जनता स्वयम् लड्ने बेला आएको महरले बताए। त्यसका लागि आसन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराएर लोकतन्त्र विरोधीहरूलाई परास्त गर्नुपर्ने महरको धारणा छ।

‘जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसक्नु भएको छ। त्यसैले लोकतन्त्रको सुदृद्धिकरणमा चुनौती खडा गर्नेहरू आफैँ परास्त भएर जाने छन्,’ उनले भने, ‘जनताले आफैँले लडेर स्थापना गरेको लोकतन्त्रलाई बलियो पार्न उपनिर्वाचनमा जनता कांग्रेसको पक्षमा उभिनु पर्ने बेला आइसकेको छ। जनताको साथ लोकतन्त्र र कांग्रेसलाई रहने छ भन्नेमा हामी विश्वस्त छौं। लोकतन्त्रभित्र नै पहिचान ,समावेशिता र समानुपातिक सहभागिता छ। लोकतन्त्र भनेको नै पहिचान हो। संघीय समावेशी लोकतन्त्रिक गणतन्त्र सहितको संबिधान निर्माणको नेतृत्व कर्ता कांग्रेस हो। त्यसैले लोकतन्त्रको जितका लागि कांग्रेसको जित आवश्यक छ।’

उनले नेकपाको सरकार हुँदा भएका अलोकतान्त्रिक कदम स्मरण गर्ने बेला आएको छ। ‘उनीहरूका काण्ड र महाकाण्डको स्मरण गरेर उनीहरूले कति लोकतन्त्रलाई कुचल्छन्? कसरी संविधानको उलंघन गर्छन्? भनेर हिजो देखिसकेका छौं। अब हामीले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन,’ महरले भने।

नयाँ आएका राजनीतिक दलको पनि परिस्थिति र चरित्र हेर्दा उनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध नदेखिएको महरको आरोप छ। कुनै क्लियर उद्देश्य र मार्ग नभएका कारण लोकतान्त्रिक व्यवस्था खत्तम हुँदा उनीहरू त्यसमा रमाउने खालका देखिएको महरले बताए।

‘गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने सदनमा कांग्रेसको माग छ। मुलुकको ठूलो दल र प्रमुख प्रतिपक्षीदलको आवाजलाई दबाउने काम भइरहेको छ। संसदीय छानबिन समिति बनाएर जाने हाम्रो सामान्य मागलाई सरकारले व्यवस्था गरिरहेको छ। सरकार यसमा संवेदनशील हुनुपर्छ। एमाले र रास्वपाका धेरै मान्छे सहकारी ठगी प्रकरणमा मुछिने डरले सरकारले छानबिन समिति गठन गर्न आनाकानी गर्नु पनि लोकतन्त्रमाथिको धावा नै हो,’ महरले भने।

गृहमन्त्रीमाथि मात्र नभएर २०४६ साल यताका सबै उच्च पदस्थ व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको प्रस्ट पार्दै महरले सरकारमै रहेका भ्रष्टहरूले शुशासनको खिल्लि उडाएर ,खुट्टा कमाइरहेको आरोप लगाएका छन्। लोकतान्त्रिक प्रणालीमा कम्युनिस्टहरूको ओठे प्रतिबद्धता भए पनि अन्ततः संसारमा कुनै पनि वामपन्थी लोकतान्त्रिक हुन सकेको महरको दाबी छ।  उग्रवामपन्थी र उग्रदक्षिणपन्थी प्रवृत्तिका कारण समग्र लोकतान्त्रिक पद्धतिमा चुनौती थपिएको उनले बताए।न्युज कारखाना

ओखलढुंगा

नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् ।

पार्टीबाट राजीनामा दिदै उनले भनेका छन्- ‘दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड वाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो ।  मैले मेरो ३४ बर्षको राजनैतिक जिवनमा यस्तो विधि र पद्धति बिहिनता अनुभुती गरेको थिइन। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनैतिककर्मिको भविस्य बन्छ ,न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनैतिक न्याय स्थापित गर्न सकिन्छ । यहि कुरालाई महसुस गरि मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज  क.खगेन्द्र राई मार्फत मिति २०८०/१२/२७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजिनामा पढाइ सकेको छु । आजवाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहान्छु ।’

बुधबार सकिएको एमाले ओखलढुंगाको अधिवेशनले ज्ञानबहादुर (जिबी) खड्कालाई अध्यक्षमा चुनेको थियो । उनले हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।