२०८३ बैशाख १०
२०८३ बैशाख १०

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै  रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।

 

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए ।

 

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए ।

 

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारे ।

 

“यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भने, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।”

 

उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । प्रधानमन्त्री दाहालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्दै उनले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गरेका हुन् ।

 

मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ ।

 

प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । न्युज कारखाना

काठमाडौं, १८ बैशाख । आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ। बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो।

भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानविरुद्ध निर्णायक आन्दोलन गरिने आजपा अध्यक्ष प्रभु शाहले बताए। उनले आजको बैठकले पार्टी संगठन विस्तारको कार्ययोजना समेत निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए।

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउन झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ।न्युज कारखाना

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताए ।

ओलीले आफुले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै आफुले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने बताए ।न्युज कारखाना

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्ने बारे नयाँ शिरा बाट सोच्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको तराई मधेस  र पुर्बान्चल क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकमा बोल्दै थापाले मुलुकले बलियो राष्ट्रबादि प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै अहिलेको मुलुकको दुराबस्थाबाट पार पाउन ठुलो छातिका साथ राष्ट्रबादी शक्ति निर्माणमा जुट्नु पर्ने बताए । पद,प्रतिष्ठा, स्वार्थ र महत्वाकांक्षालाई बिसर्जन गर्दै देश र जनता जोगाउने अभियानमा केन्द्रित हुनुपर्ने समय आएको समेत थापाले बताए ।

वर्तमान भ्रष्ट व्यवस्था प्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने भन्दै उनले आफू र राप्रपा नेपाल त्यसको लागि सकारात्मक भुमिका निर्बाह गर्न तयार रहेको समेत उल्लेख गरे । अहिलेको भ्रष्टतन्त्र र मनपरिलाई रोक्न आन्दोलनले मात्र सक्ने भन्दै थापाले समान बिचार भएका शक्ति एकै ठाउँमा आई आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

ईलाममा पार्टी संगठन कमजोर रहेको ,प्रचार अभियान प्रभावकारी नभएको र साधन श्रोतको अभाबले थोरै भोट आउनु स्वभाविक भएको समेत उनले बताए । बैठकमा पार्टीका बिभिन्न पदाधिकारी र जिल्ला अध्यक्षहरुले आफ्नो धारणा राखेका थिए ।न्युज कारखाना

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।

वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकको निर्णय सुनाउदै उनले भने- ‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।’

उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।
न्युज कारखाना

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त  गरेका हुन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ ।

मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, रणसिंह परियार जलस्रोत तथा उर्जा विकास मन्त्री र वीरबहादुर शाहीलाई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । उर्जा मन्त्री बनेका परियार यसअघि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

त्यसैगरी एमालेबाट विनोद कुमार शाही भूमि व्यवस्था, कृषि तथा सहकारी, शेरबहादुर बुढा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री कँडेलले गमता विकलाई भौतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन् । एमालेले भाग पाएको आन्तरिक मामिला तथा योजना मन्त्रालय कँडेलले आफैसँग राखेका छन् । कर्णालीमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रालय छन् ।न्युज कारखाना

काठमाडौँ ।  सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनासाय जोकोहीबाट पनि प्रकट हुनु गलत भएको ठहर गरेको हो । साथै महासंघले सर्वोच्चको आदेश संविधानको भावनासँग बाझिने रहेको उल्लेख गरेको छ ।

यसले प्रेस स्वतन्त्रतामाथि निरन्तर हमला गर्ने गम्भीर खतरा निम्त्याउन सक्ने तर्फ हामी सचेत हुन जरुरी रहेको महासंघको भनाई छ ।

साथै महासंघले सञ्चारमाध्यममा प्रकाशित/प्रशारित सामग्रीको नियमनको दायित्व प्रेस काउन्सिलको हुनुपर्छ र प्रेस काउन्सिलले यो दायित्व जस्तोसुकै अवस्थामा पनि गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखेको छ ।

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।

इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् ।

एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् ।

सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।न्युज कारखाना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।

मुख्यमन्त्री कार्कीले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर पत्र बुझाउदै गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गरेका हुन् ।

कार्की संविधानको धारा १६८(५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि प्रदेश सभाको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए ।

तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधान विपरित भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्र-
न्युज कारखाना

काठमाडौँ ।  इलाम- २ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुहाङले आफ्ना पिता सुबास नेम्वाङले देखाएको निष्ठाको बाटो र दिएर गएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम :  सुखी इलामेली’ को साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले भनेका छन्-

हार्दिक आभार तथा धन्यवाद !  अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु !

इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ ।

हाम्रा अग्रजहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौं । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा-सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।

सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम :  सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु । इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

तपाईं हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरुले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरुको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।

‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरुले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भबिष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरुका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरु मसँग सुरक्षित छन् । तपाईहरुसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गदर्छु ।

मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यू प्रति आभारी छु ।  नेकपा (एमाले) इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो संकल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरुप्रति आभार व्यक्त गर्दछु ।

म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु ।

हाम्रो सपना र संकल्पलाई जनताका वीचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरु, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

गएको एक महिनायता सफलताको संकल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरु, मत दिनकै लागि प्रवास, काठमाडौंदेखि समेत आइपुग्नुभएका प्रियजनहरुप्रति कृतज्ञ छु ।  स-शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरीबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।

अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरुले परिर्वतनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौं ।’

हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूलहरु मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।

इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद !

१८ वैशाख २०८१
इलाम
उही तपाईंहरुको स्नेही
सुहाङ नेम्वाङ न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।