२०८३ असार ५
२०८३ असार ५

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न समिति गठन गरेको छ । क्यानले दुई बर्ष कार्यकाल रहेका पाँच समिति गठन गरेको हो ।

क्यानले दिवाकर घलेको संयोजकत्वमा प्रतियोगिता समिति, सुदीप शर्माको संयोजकत्वमा अनुशासन समिति, धिरेन्द्र सावदको संयोजकत्वमा विकास समिति, विक्रम विष्टको संयोजकत्वमा प्राविधिक समिति र प्रदिप मझगैयाको संयोजकत्वमा महिला क्रिकेट विकास समिति बनाएको हो । न्युज कारखाना

पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

२०७९ बैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्धा दर्ता गराएका थिए ।

त्यस नगरपालिकामा नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्युज कारखाना

काठमाडौँ । युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन युद्धमा करिब २ हजार बालबालिकाको मृत्यु भएको जनाएको छ ।

युरोप र मध्य एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालयले युक्रेन युद्धमा अहिलेसम्म १९९३ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो ।

युनिसेफका अनुसार युक्रेन युद्धमा हरेक दिन औसत दुई बालबालिका हिंसाको सिकार भएका छन् । युक्रेनका धेरै भागहरूमा अझै पनि आक्रमणहरू जारी छन्, जसले बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ ।

युनिसेफका अनुसार युक्रेनका करिब ५० प्रतिशत किशोरकिशोरीहरूले सुत्न कठिनाइको सामना गरिरहेका छन् र प्रत्येक पाँचमध्ये एक बालबालिका मानसिक तनावबाट गुज्रिरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ- बच्चाहरूले आफ्नो जीवन, सुरक्षा र भविष्य दाउमा लगाएर वयस्कहरूको लापरवाह निर्णयको मूल्य तिरिरहेका छन् । युक्रेनमा बालबालिकाको शिक्षामा पनि नराम्रो असर परेको छ र करिब ५० प्रतिशत बालबालिका निजी विद्यालयमा गएर पढ्न पाएका छैनन् । निजी विद्यालय नजाने बालबालिकाको संख्या १० लाखको हाराहारीमा छ ।

युनिसेफको सहयोगमा युक्रेनी बालबालिकालाई अनलाइन माध्यमबाट शिक्षा दिने प्रयास भइरहेको छ । २०२३ सम्म, संयुक्त राष्ट्र संघले १.३ मिलियन बालबालिकाको शिक्षालाई औपचारिक र अनौपचारिक रूपमा समर्थन गर्नेछ, र २.५ मिलियन बालबालिकाको हेरचाह र मानसिक स्वास्थ्य सुधार गर्नेछ ।

युनिसेफले वर्तमान अवस्थालाई ध्यानमा राख्दै युक्रेनमा बालबालिकाको संरक्षणका लागि जतिसक्दो चाँडो युद्धविराम लागू गर्नुपर्ने बताएको छ । यसबाट बालबालिका प्रभावित हुने भएकाले घनघोर जनसङ्ख्या, नागरिक प्रतिष्ठान र पूर्वाधारमा विस्फोटक हतियारको प्रयोग रोक्न आवश्यक छ । युनिसेफले युक्रेनी बालबालिकालाई सबैभन्दा बढी शान्ति चाहिने बताएको छ । २०२४ सम्म, बालबालिका र तिनीहरूका परिवारहरूलाई सहयोग गर्न मानवीय र रिकभरी कार्यक्रमहरूको लागि २५० मिलियन डलर आवश्यक छ । न्युज कारखाना

काठमाडौँ । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन प्राप्त भएको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिनुभएको हो ।

२०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन् ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक बर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य छ ।

‘आवेदकले अनलाइनबाट र कागजमा फाराम भरेर आवेदन दिनुभएको छ ।’ आवेदकहरुको संख्याका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ । यसपछि सिप मेलाको तालिममा सहभागी गराउन आवेदन दिनुभएका तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउँछौँ । यो तालिम पनि निःशुल्क हो । यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन् ।’

झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आउनु भएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे । त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म त्यसदिन पछाडि १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिनुभयो । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।

सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरू स्टलमा रहनुहुनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने छन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्ने छन् ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।न्युज कारखाना

काठमाडौँ । बलिउड अभिनेता नसिरुद्दीन शाह भारतीय सिनेमामा एक महान अभिनेता हुन् । विगत चार दशकमा उनले चलचित्र, थिएटर र टेलिभिजनमा आफ्नो प्रतिष्ठित प्रदर्शनको साथ छाप छोडेका छन् । नसिरुद्दीन शाह आफ्नो उत्कृष्ट अभिनयका साथै आफ्नो बोल्ने शैलीका लागि परिचित छन् । उनको भनाइलाई लिएर पटकपटक विवाद हुने गरेको छ ।

पछिल्लो समय हिन्दी सिनेमामा बनिरहेका चलचित्रका बारेमा अभिनेताले खुलेर कुरा गरेका छन् । नसिरुद्दीन शाह बलिउड फिल्मभन्दा कोरियन फिल्म सय गुणा राम्रो हुने बताएका छन् । हालै एक कुराकानीका क्रममा उनले बलिउड र यस उद्योगमा बनेका फिल्मका बारेमा खुलेर कुरा गर्दै भारतीय सिनेमाभन्दा अन्य सिनेमा राम्रो रहेको बताए ।

यसबारे कुरा गर्दै उनले भने, ‘भारतीय फिल्मभन्दा कोरियन फिल्म १०० गुणा राम्रो हुन्छ । हाम्रा फिल्महरू उत्कृष्ट छन् भनेर विश्वसामु घमण्ड गरिरहेका छौं। मलाई बलिउडको प्रेमकथा मन पर्छ भनेर म भन्न चाहन्न ।’

उनले थपे, ‘हलिउड हाम्रो एक मात्र सन्दर्भ बिन्दु हो । जसरी भारतीय खाना खाइन्छ, त्यसरी नै हाम्रा फिल्महरू पनि हेरिन्छन् । तर, भारतीय खानामा कम्तिमा अलिकति स्वाद हुन्छ । हिन्दी बुलबुला एक दिन फुट्छ र म त्यसमा ढुक्क छु । अबदेखि हिन्दी फिल्ममा सार्थकता नभएकाले नयाँ रणनीति अपनाउनुपर्छ ।’

नसिरुद्दीन आफ्नो बयानलाई लिएर गम्भीर समस्यामा परेका छन् । अभिनेता सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाई कोरियामा मात्रै बस्नु पर्छ।’ अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘यिनीहरू त्यही हुन् जो देशमा बसेर देशको खराब कुरा गर्छन्।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमीले पनि अबदेखि कोरियन फिल्ममा मात्र काम गर्नुपर्छ।’

नसिरुद्दीन शाहले आफ्नो अतुलनीय प्रतिभा र कामले दर्शकहरूलाई मोहित पारेका छन् । उनी पछिल्लो पटक आस्मान भारद्वाज निर्देशित ‘कुट्टी’ मा देखिएका थिए । फिल्ममा तब्बु, अर्जुन कपूर, राधिका मदन, कोंकणा सेन शर्मा र कुमुद मिश्रा पनि महत्वपूर्ण भूमिकामा थिए ।न्युज कारखाना

काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।

बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।

गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।

नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ ।

आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमिका निभाएकी छन् । प्रदीप भने दमाई चरित्रमा छन् । उनको मगर समुदायकी परीक्षा लिम्बूसँग माया बसेको छ । फिल्ममा पलको सानो भूमिका भएपनि जातीय विभेदविरुद्ध लड्ने युवाको रहेको छ ।

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा मोहन निरौला, शङ्कर आचार्य, प्रेम सुब्बा, तारा शर्मा, सुवास गजुरेल, लोकेन्द्र लेखक, विद्या कार्की, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । न्युज कारखाना

गीतको लिंक- https://www.youtube.com/watch?v=e-1n5Pb6Shs

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेपछि म्यानचेस्टर सिटी लिगको उपाधि जित नजिक पुगेको छ ।

म्यानचेस्टर सिटीको जितमा दुवै गोल इर्लिंग हालाण्डले गरेका थिए । अब लिगको अन्तिम खेलमा जित हासिल गरेमा यस सिजनको लिगको उपाधि म्यानचेस्टर सिटीले जित्ने छ ।

म्यानचेस्टर सिटीले अब अन्तिम खेल आगामी मे १९ मा वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ ।

म्यानचेस्टर सिटीको यो जितपछि लिगमा ३७ खेलमा ८८ अंक भएको छ र लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको आर्सनलको ३७ खेलमा ८६ अंक रहेको छ ।

त्यसैगरी यो हारपछि टोटनह्याम आउदो सिजनमा च्याम्पियन्समा छनौट हुन असफल भएको छ । टोटनह्यामको ३७ खेलमा ६३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ । आउदो सिजनका लागि म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने निश्चित भएको छ ।न्युज कारखाना

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुने छ । आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।

त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।

यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण टिम बाहिर रहेका छन् र उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन्  । पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।   न्युज कारखाना

काठमाडौँ । राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् ।

नेतिपर्ण सानेसाङ्खोमलाई ‘थालुबाङ्’ भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरुले बताएका छन् ।

नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा थिइन् । उनीविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुईवटा घटना राजतन्त्रको अपमानसँग सम्बन्धित थिए ।

नेतिपार्नले थाइल्याण्डको न्यायिक प्रणालीमा सुधारको माग गर्दै आएएकी थिइन् । उनी हिरासतमा भएदेखि नै आन्दोलनमा थिइन् ।

थाइल्याण्ड विश्वका ती देशहरूमध्ये एक हो जहाँ राजतन्त्रको अपमान गर्नेलाई निकै कठोर सजाय दिइन्छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।