२०८३ आश्विन २४
२०८३ आश्विन २४

गौर, चैत २१ गते २०८१।

श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ । विगत भन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको सङ्ख्या वृद्धिसँगै कात्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैती छठ पनि अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको हो ।

शुद्धता र आपसी सदभावको रूपमा चैती छठ पर्व मनाउनका लागि ब्रतालु तैयारीमा जुटेका छन् । छठ पर्वका पहिलो दिन मङ्गलबार ब्रतालुहरू नुहाइधुवाइ चोखो खाना खाई आज दोस्रो दिन अर्थात् बुधबार बेलुका सख्खर हालेको खिर, पुरी, केरा लगायतका प्रसाद चढाएर पूजा गरी त्यही प्रसाद खाएर उपवास बस्ने र बिहीबार अस्ताउँदो सुर्यलाइ र शुक्रबार उदाउँदो सूर्यलाइ अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुने ब्रतालु मिथलेश देवीले बताउनुभयो ।

छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, उखु लगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलस लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ जसलाई शुद्धताको प्रतिकको रूपमा लिने गरिएको ब्रतालु मिथलेश देवीले बताउनुभयो ।

छठ पर्व वर्षमा दुई पटक कात्तिक र चैत महिनामा छठ पर्व मनाउँदै आइरहेको तथा छठ पर्व गर्नाले घरमा सुख शान्ति तथा चर्मरोग निको हुने धार्मिक विश्वास रहेको पण्डित जिवनेश्वर झाले बताउनुभयो ।

छठ पर्वमा सूर्यदेवको पूजा आराधना गर्नाले आपसी सद्भाव र प्रेमका रूपमा पनि लिने गरेको तथा पहिलेभन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको सङ्ख्यामा वृद्धि हुँदै गएको पण्डित झाले जानकारी दिनुभयो । गोरखापत्र

आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।

राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे जिल्ला अधिवेशन हुँदैछ । यसकाे लागि तिव्र रूपमा तयारी भइरहेको छ । आगामी चैत २६ र २७ गते जिल्लाकाे मध्य भाग गरूडा जिल्ला अधिवेशन हुन लागेकाे हाे ।

जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जानकारी गराएका हुन् ।

पार्टीको निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको उनले जनाएका हुन् । जसपा नेपाल राैतहटकाे अधिकांश वडा र पालिकाकाे अधिवेशन पूरा भएकाले चैत २६ गते उद्घाटन र चैत २७ गते नेतृत्व चयन गरिने अध्यक्ष यादवकाे भनाइ छ ।

अधिवेशनका लागि सबै वडा र पालिकाबाट प्रतिनीधि छान्ने काम भइसकेको र नामावली पनि आइसकेको उनले बताएका छन् । जसपा राैतहटमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन आएकाे छ । त्यही अनुसार हामी गर्छाैं ।

यदि सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने निर्देशन भएको छ । जिल्लाकाे पालिकाहरूबाट करिब ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागीता रहने उनले बताएका छन् ।

चन्दन यादव, रौतहट २१ गते चैत ।

रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । २०८१ चैत १९ गते करीब ७ बजेको समयमा कार्यालय तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ४ बसपार्क स्थितमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाए ।

अन्दाजी मुल्य रु. ९९ हजार ९ सय ६० ०रुपैया बराबरको बिभिन्न किसिमको किराना सर सामानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् । उक्त सर सामानहरु अन्दाजी मूल्य रु. ७ लाख रुपैया बरावरको प्र २ ०३ ००१ ज १३१ नम्बरको पिकअप गाडी १ थानगरि जम्मा अन्दाजी मुल्य रु.७ लाख ९९ हजार ९ सय ६० रुपैया बराबरको रहेको प्रहरीले जनाएका हुन् ।

बिभिन्न किराना सर सामानहरु, पिकअप गाडी १ थान र चालक जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नंम्बर ५ मा बस्ने अन्दाजी २२ वर्षको निरज कुमार साह समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायवउपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।

राजेन्द्र महतो सिरहा ।

जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको प्रथम अधिवेशन बाट नागेन्द्र कुमार यादव सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छ्न।

बुधबार सखुवानन्कारकट्टी गाउँपालिकामा सते लाल यादवको अध्यक्षतामा आयोजित गाउँअधिवनेशनलेअध्यक्षमा नागेन्द्र कुमार यादव, उपाध्यक्षमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम सहित ३७ सदस्यी नयाँ कार्यसमिति चयन भएको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिए।

कार्यक्रममाजसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता, जसपा नेपालका युवा नेता दिपेश कुमार यादव लगायत स्थानीय जसपा नेपालका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। नव निर्वाचित यादव यस अघि जसपा नेपालको गाउँ कमिटी उपाध्यक्ष तथा समाजवादी युवा संघको मधेश प्रदेश कमिटी सदस्य रहेका थिए ।

काठमाडौँ, २० गते चैत २०८१ ।

भाटभटेनीका संचालक मीन बहादुर गुरुङले चैत्र १५ गतेको राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।

 

बुधबार चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड तुलप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाटभेटनी सुपरमार्केटले सम्मान गर्ने कार्यक्रममा गुरुङले पत्रकार रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

 

भाटभटेनीले चैत्र १५ गते भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख नगद र पाँच ग्रेड बढुवा गरेको हो । त्यस्तै अन्य गार्ड र कर्मचारीहरुलाई २५ हजार नगद र एक ग्रेड प्रमोसन गरेको छ ।

 

सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गरेको हो ।

 

लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । दर्जनौँ संख्यामा रहेका व्यक्तिहरूलाई उनले लिस्टीले कुट्दै भगाएको भिडियो देख्न सकिन्छ ।

 

उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ । उक्त घटनापछि पनि शनिबार बिहानदेखि नै सुपरमार्केट सञ्चालनमा आएको थियो । खरीबोट

काठमाडौं, २० गते चैत २०८१ ।

चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई तितरबितर पारेपछि एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा गएर लुटपाट गरेको थियो ।

लुटपाट गर्ने समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो । सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो फुटेज बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो । बाह्रखरी

बज्जिकाञ्चल संवाददाता, रौतहट १९ गते चैत २०८१ ।

राैतहट । लोकतान्त्रिक पत्रकार संघको रौतहट जिल्ला संयोजकमा राजुकुमार श्रीवास्तवलाई मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधान अनुसार पत्रकार श्रीवास्तवलाई रौतहट संयोजकमा मनोनयन गरेको हो ।

बज्जिकाञ्चल मिडिया प्रालि.का प्रमुख तथा बज्जिकाञ्चल दैनिकको पनि प्रमुख हर्ताकर्ताको रुपमा कार्यरत श्रीवास्तव बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष पनि हुन् । एक दशकभन्दा लामो समयदेखि पत्रकारिता पेसामा रहेका श्रीवास्तव एफएम रेडियो, अनलाइन तथा छापा पत्रकारिता गरी पत्रकारिताका सबै क्षेत्रमा क्रियाशील छन् ।


नेपाली र बज्जिका दुवै भाषाको पत्रकारिता गर्दै आएका श्रीवास्तव मधेश प्रदेशमा आफ्नो पहिचान बनाइसकेका छन् । ग्रामीण क्षेत्रमा रहेर स्थानीय तथा केन्द्रीय सञ्चार माध्यमसम्म पहुँच विस्तार गरेका श्रीवास्तवको नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।

संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले मंगलवार श्रीवास्तवलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा श्रीवास्तवको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।

सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।

पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् ।

वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर  शुभकामना आदानप्रदान गर्दै आएका  छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ ।

वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खाैँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताउनुभयो । “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हँुदै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले सामाजिक सद्भाव र एकता कायम  राख्न मद्दत पु¥याउँदै आएको छ ।”

वीरगञ्ज–२ छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “वीरगञ्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएका छन् । “हामी ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भन्नुभयो, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।”

ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवाअर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन् ।

सभार वर्णन मिडिया

बज्जिकाञ्चल संवाददाता, काठमाडौं १५ गते चैत २०८१ ।

सत्तारुढ दल नेकपा एमालेले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको अराजकताको भर्त्सना गरेको छ। एमाले महासचिव शंकर पोखरेलले राजावदीले प्रदर्शनका नाममा उदण्डता, अराजकता र हिंसा मच्चाइएको आरोप लगाएका छन्।

सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारणका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमा गरिएको आगजनी र लुटपाटले आतंकलाई दुरुत्साहन गरेको आरोप लगाइएको छ।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्। नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ ।

सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ। आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सभार अन्नपुर्ण पोस्ट

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।