काठमाडौँ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय संजिब रिजाल र सोही बस्ने संजिब प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दिपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ । भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बनेपछि चीन पुगेका छन् । पुटिन राष्ट्रपति बनेको ९ दिनभित्र चीन पुगेका हुन् । पुटिन चीनमा २ दिन बस्ने बताइएको छ ।
चीन पुगेपछि राष्ट्रपति सी जिनपिङले पुटिनलाई रातो कार्पेटमा स्वागत गरेका थिए । यस अवधिमा सोभियत युगको धुन बजाइएको थियो।
पुटिनले आफ्नो भ्रमणका क्रममा युक्रेन युद्धमा चीनको निरन्तर सहयोगको माग गर्नेछन् । उनले यसअघि अक्टोबर २०२३ मा चीनको भ्रमण गरेका थिए । रुस–युक्रेन युद्धको शुरुवाती दिनमा पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले आपसी साझेदारीको कुनै सीमा नभएको बताएका थिए । मार्च २०२३ मा जिनपिङले मस्को भ्रमण गर्दा यो दुई देशबीचको नयाँ युगको सुरुवात भएको बताए।
जिनपिङले रूसबाट सस्तो मूल्यमा ग्यास आयात गर्ने र साइबेरियाको पावर पाइपलाइनबारे छलफल गर्नेछन् । यो पाइपलाइनमार्फत रुसले साइबेरियाबाट मंगोलिया हुँदै चीनलाई ग्यास आपूर्ति गर्छ । उही समयमा, यस भ्रमणको क्रममा, पुटिनले युक्रेन विरुद्ध आधुनिक हतियार र लामो दूरीको ड्रोनको लागि सम्झौता गर्ने प्रयास गर्नेछन् । तर, दुवै देशले त्यस्तो कुनै पनि कुरा अस्वीकार गर्दै आएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रमा सहयोग र जनतासँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा छलफल हुनेछ। रुसी अधिकारीका अनुसार दुई नेताले वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नेछन् । दुवै नेता रुस–चीन मित्रताको ७५ वर्ष पुगेको अवसरमा आयोजित शाही भोजमा पनि सहभागी हुनेछन् ।
पुटिनले आफ्नो भ्रमण अघि युक्रेन युद्धमा सहयोग गर्न बेइजिङको तत्परताको प्रशंसा गरेका थिए । पुटिनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग पनि भेट गर्नेछन् । उनले व्यापार र लगानी प्रदर्शनीका लागि उत्तरपूर्वी शहर हार्बिनको पनि भ्रमण गर्नेछन्।
चिनियाँ भन्सार तथ्याङ्कका अनुसार युक्रेनमा भएको आक्रमणपछि चीन र रुसबीचको व्यापार बढेको छ । सन् २०२३ मा व्यापार २० लाख करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ, तर मार्च र अप्रिलमा रूसमा चिनीको निर्यात घटेको छ । यसको कारण अमेरिकालाई दिइएको छ । यसपछि चिनियाँ बैंकहरूले रुसी ग्राहकसँगको कारोबार रोकेका वा कम गरेका छन् । न्युज कारखाना
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् ।
आजको विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरुले प्रदेश प्रमुखले संबिधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए ।
आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।
एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् । न्युज कारखाना
काठमाडौँ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना बनाएका छन् ।
युद्धपछि गाजाका लागि के योजना छ भन्ने प्रश्नको जवाफ सरकारले अहिलेसम्म पाउन नसकेको ग्यालेन्ट बताउँछन् ।
गालान्टले नेतान्याहुलाई इजरायलले गाजामा सैन्य शासन लगाउने कुनै मनसाय नभएको सार्वजनिक रूपमा घोषणा गर्न अपील गरेका छन्।
ग्यालेन्टले भने, ‘मैले अक्टोबरदेखि मन्त्रिपरिषद् बैठकमा यो प्रश्न उठाइरहेको छु, तर कुनै जवाफ पाएको छैन ।’ अर्को युद्ध क्याबिनेट मन्त्री, बेनी गान्ट्जले पनि गैलेन्टसँग सहमत भएका छन् । ‘गैलेन्टले सत्य भनेको छ,’ ग्यान्ट्सले भने । कुनै पनि हालतमा देशको लागि जे सही छ त्यो गर्ने जिम्मेवारी नेतृत्वको हो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली कारबाहीका कारण गाजामा ३५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् ।
विहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।
ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि कांग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो ।
देउवाले भने- ‘नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ?’न्युज कारखाना
काठमाडौँ । बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ । न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
विहिबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता र अध्यागमनलाई थप प्रविधिमैत्री बनाउने विषयमा जानकारी लिएका छन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भैइरहेको छ ।
यसअघि बुधबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ६० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको हो ।
१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो ।
सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।
सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।
छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । न्युज कारखाना