२०८३ असार ५
२०८३ असार ५

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले १९औं दिनको आन्दोलन कार्यालय समयमा माइतीघर-नयाँ बानेश्वर सडकमा गरेको छ। गत चैत २० गतेदेखि सुरु आन्दोलन १२ देखि ३ बजेसम्म सोही ठाउँमा भएको थियो। कार्यालय समयमा शैक्षिक आन्दोलन हुँदा यातायात प्रभावित बनेको छ।

कार्यालय समयमा आन्दोलन गर्दा सरकारलाई थप दबाब पर्ने महासंघका एक केन्द्रीय समिति सदस्यले जानकारी दिए।

उनले भने,‘हामीले १८ दिनसम्म १२ देखि ३ बजेसम्म आन्दोलन गर्‍याैं। यो समयमा आन्दोलन गर्दा सर्वसाधरणलाई मात्रै दुःख भयो। विशेषगरी सरकारी कर्मचारीलाई कुनै अवरोध भएन। उहाँहरूले निर्धक्क काम गर्नुभयो। नेता, सांसद, मन्त्रीलाई पनि अवरोध भएन। कतिपय निजी विद्यालयले महासंघको अनुरोध स्वीकार गरेनन्। कार्यालय समयमा प्रदर्शन गर्दा यी सबैलाई प्रभाव पार्ने उद्देश्यले ९–१२ आन्दोलन गरेका हौं।’

त्यसैगरी, उनले आजै माइतीघर मण्डलामा राप्रपाको आन्दोलन हुने भएकाले पनि महासंघले आन्दोलनको समय तालिका परिवर्तन गरेको जानकारी दिए।

अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग महासंघको छ।

हिमाल प्रेस

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०२ गते बैशाख ।

नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो ।
कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी विच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताउनु भयो ।

‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने विषयमा वहस, छलफलहरु हुने बताइएको छ ।
‘नेक अल्मुनाई मिट’ आयोजनाका लागि कलेजले आर्किटेक्चर पोषण थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा इ. अङ्गलाल रोकाया, आ. विश्व शाक्य, इ. उमेश के.सी., इ. प्रेम के.सी., इ. नारायण प्रसाद आचार्य, विष्णु प्रसाद भण्डारी रहेका छन् ।
नेक सभाहलमा हुने कार्यक्रममा सयौंको संख्यामा पूर्वविद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । कलेजले हालसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेकोले ‘नेक अल्मुनाई मिट’मा उल्लेखनीय विद्यार्थीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।

सन् १९९४ मा स्थापना भएको कलेजमा इन्जियिरिङ विधाका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर मापन गरेर नेपाल इन्जिनियरिङ परिषद्ले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०२ गते बैशाख । 

माया पनि किसिम किसिमका हुन्छन्, मन देखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मन देखि गरेको मायामा छल, कपट र भ्रम हुदैन । मनदेखि गरेको माया निःस्वार्थ, साँचो र गहिरो हुन्छ जहाँ स्वार्थ, लालच, वा बनावटीपन रहदैन ।  यस्तो माया निःस्वार्थ हुन्छ एकअर्का प्रति केही आशा  अनि अपेक्षा रहदैन । मन देखि गरेको मायामा समर्पण हुन्छ, इमानदारिता हुन्छ, हर परिस्थितिमा साथ दिने भाव हुन्छ मनदेखि गरेको  माया साँचो मायाको अर्को नाम हो जुन कुनै शर्तमा आधारित हुँदैन, मन देखि गरेको मायामा दुई आत्मा गाँसिएको हुन्छ जुन माया कहिल्यै मर्दैन, कहिल्यै कमि हुदैन अनि कहिल्यै डग्मउदैन, मन देखि लाएको माया अजम्मरी हुन्छ ।

यसरी गहिरो भाव र सच्चा मनबाट गरेको माया तर त्यो मायाको कदर वा मूल्यांकन भएन अर्थात्, जसलाई माया गरियो, उसले त्यो मायालाई सम्मान दिएन या बुझेन, वा त्यसको उचित प्रतिक्रिया गरेन, जब यस्तो अनुभव भयो, तब उसको मनमा अव फेरि कसैलाई माया गर्ने चाहना नै हरायो । उसले आफूले गरेको मनै देखिको मायामा विफलता वा अपमानित अनुभूति पछि माया गर्ने रहर नै मरेको छ ।

यस शेरमा दुःख, निराशा, र गहिरो चोटको अनुभूति छ — एक पटक साँचो माया गर्दा त्यसले चोट दियो भने, मन फेरि त्यस्तो भावना दोहोर्‍याउन डराउँछ वा इन्कार भन्ने भाव यस शेरको रहेको छ ।

आफै तर्किन खोज्यौ रहेन गुनासो
धोखेवाज भन्छौ भन्ने डर भएन

आँफूले मनै देखि लाएको मायालाई कदर नगरेर, लत्याएर, घुर्क्याएर आफै तर्किन खोज्नेलाई किन पो गुनासो गर्नु र ? आफै तर्किए पछि एउटा पाटो सजिलो पनि बन्यो, आँफूलाई धोखेवाजको आरोप आउला भन्ने डर पनि भएन । मन देखि गरेको मायाको कदर नभएर माया गर्ने रहर मरेको बेला उनी तर्किन खोज्नुलाई कुचोले बढार्नु पर्ने धुलो हावाले उडायो भने झैं उसले सहज महशुष गरेको छ ।

दोष कस्लाई दिनु भाग्य नै उस्तै हो
त्यसैले कहि सफल सफर भएन ।

आँफूले मन देखि लाएको मायाको कदर नहुनुमा उसले उनलाई दोष लगाएको पनि छैन । भाग्यमा विश्वास गर्ने ऊ उनी तर्किनु, आफ्‌नो मन देखिको मायाको सम्मान नहुनु र उनी संग विछोडिनुको कारण आफ्‌नै भाग्यलाई सम्झन्छन् । लेखेको मात्र पाइन्छ देखेको पाइन्न भने झैं आफ्‌नो भाग्य नै खोटो भए पछि भाग्यमा नै नलेखिए पछि मनले चाहदैमा प्राप्ति हुदैन भन्ने उसको ठहर छ साथै आफ्‌ना हरेक सफर सफल नभएको उ स्वीकार गर्दछ । सबै दोष ऊ आफ्‌नै भाग्यलाई दिन्छ, छोडेर गए पनि उनी संग उ गुनासो गरिरहदैन, आफ्‌नै भाग्य दोषी ठान्दछ ।

सरोज ‘संगम’ रावलका गजलका शेरहरुले यस्तै भाव बोलेका छन् । उनका गजलका यी शेरहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गजलको भिडियोमा बबिना आफै फिचर्ड छिन् ।  गजलको  ऐरेन्ज किरण कँडेलले गरेका छन्, गीतमा हारमोनियम र तवलाको धुन पनि उनैले भरेका छन् भने सुनिल अर्यालले ढोलक बजाएका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको उक्त गजलको रेकर्ड,  मिक्सिङ र मास्टरिङ शम्भु कुमार तण्डुकारको रहेको छ । गजलको भिडियो ऐ.जे. अजुको निर्देशन र छायाकंनमा निर्माण भएको छ । भिडियोको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् । गायिका तथा संगीतका बबिना भट्टराई बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । बबिना आफै फिचर्ड भएकी भिडियोमा यमुना पाण्डेले श्रृङ्गार सहित उपेन्द्र लिम्वु कि बोर्ड,दिपक सापकोटा तवला तथा जय वि.के गितार मा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी  छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्,  श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने  उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

चन्दन यादव, रौतहट २ बैशाख ।

रौतहटमा भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ परेको प्रहरीले जानकारी गराएका हुन् । प्रहरी गस्ती टोलीले रौतहटको सदरमुकाम गौर स्थित बसपार्कमा भन्सार छलीको अबैध सामान बोकेको टेम्पो संगै चालक लाई पक्राउ गरेको प्रहरीले बताए ।

सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली गरी ल्याएको ४ लाख २९ हजार ९२० रुपैया बराबरको कपडा, किराना, भाँडा बर्तन बोकेको ना २ ह ४६६० नम्बरको टेम्पो सहित चालक परोहा नगरपालिका ४ का ३० बर्षीय उमेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। बरामद भन्सार छलीको सामान सहित टेम्पो र चालक यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी नियन्त्रण अभियान अन्तर्गत करोडौँको भन्सार छलीको सामान, दर्जनौ सवारी साधन र तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको छ । प्रहरीको सक्रियताले बिगतको तुलनामा रौतहटमा भारतीय सामानको तस्करी न्यून प्रायः भएको जानकारहरुले बताएका छन्।

काठमाडौं ।

मण्डला थिएटर थापागाउँ, काठमाडौंमा मञ्चन भइरहेको नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल भइरहेको छ । शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वलाई केन्द्रमा राखेर चैत २१ गतेदेखि सुरू भएको यो नाटक यही बैशाख ७ गतेसम्म मात्रै मञ्चन हुने भएको छ । मञ्चन अवधि छोटिन थालेपछि नाटक हेर्नेको भीड नै लाग्ने गरेको हो । आयोजकहरुका अनुसार उक्त नाटकको अधिकांश शो ‘हाउसफूल’ भइरहेको छ ।

यो नाटक सोमबारबाहेक हरेक दिन ५ः१५ बजे हेर्न सकिने छ भने शनिबार दिउँसो १ः१५ बजे अतिरिक्त शो पनि हुने गरेको छ ।
भारतीय लेखक डा. शङ्कर शेषको चर्चित नाटक ‘एक और द्रोणाचार्य’ मा आधारित र प्रेरितयो नाटकलाई सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपाली भाषामा अनुवाद गरी लेकेका हुन् । समाजमा देखिएको नेतृत्वको नैतिक संकट र अधिकारको कुण्ठनलाई नाटकले गहिरो व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।

महाभारतको पृष्ठभूमिमा आधारित यो नाटकमा गुरु द्रोणाचार्यको जीवन, उनको निर्णय र शक्ति–कर्तव्य–नैतिकताको झमेलालाई आधुनिक सन्दर्भसँग गाँसेर देखाइएको छ। विशेष गरी जब द्रोणाचार्य धर्म पाण्डव पक्षमा देख्दादेखै पनि दायित्वका नाममा कौरव पक्ष रोज्छन्, त्यहीँबाट नाटकको कथावस्तु गहिरिँदै जान्छ।

उमेश तामाङले निर्देशन गरको उक्त नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, सनम श्रेष्ठ, अर्जुन दुलाल, आभास भट्टराई, भुवन लोहार, रोशन अधिकारी, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, दिपेस गजुरेल, प्रेम सिल्वाल, स्वर्णिम चाम्लिङलगायतका कलाकारहरुको जिवन्त अभिनय रहेको छ ।
‘अर्को एउटा द्रोणाचार्य’ शक्ति, अधिकार र नैतिकताको गहिरो अन्वेषण हो, जुन महाभारतका प्रसिद्ध गुरु द्रोणाचार्यको पात्रलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको निर्देशक उमेश तामाङले जानकारी दिए ।
यस नाटकले शक्ति र नेतृत्वको स्थानमा रहेका व्यक्तिहरूले भोग्ने नैतिक द्विविधाहरूको चित्रण गर्छ, जहाँ कर्तव्य, निष्ठा र व्यक्तिगत अन्तरआत्माबीचको सीमालाई प्रश्न गरिने निर्देशक तामाङको भनाई छ ।

‘नेपालको सन्दर्भमा हेर्दा, यो नाटक अत्यन्त सान्दर्भिक छ, किनभने देशले लामो समयदेखि राजनीतिक अस्थिरता, नेतृत्वको संकट, भ्रष्टाचार र सुशासन सम्बन्धी चुनौतीहरू झेल्दै आएको छ।’ निर्देशक तामाङले भने– ‘द्रोणाचार्यझैं, नेपाली नेताहरू पनि प्रायः समाजलाई असर गर्ने जटिल निर्णयहरूको सामना गरिरहेका हुन्छन्।’
नाटकले नेताहरूको नैतिक जिम्मेवारी र तिनका कार्यहरूको परिणामबारे सोच्न बाध्य पार्ने माध्यमको रूपमा काम गर्छ, जसले नेपालको राजनीतिक तथा सामाजिक सङ्घर्षमाथि सान्दर्भिक टिप्पणी प्रस्तुत गर्ने उनको भनाई छ ।

‘निर्देशकको रूपमा मेरो उद्देश्य दर्शकलाई आफ्नै जीवनमा शिक्षक र नेताहरूलाई कसरी हेर्छौं भन्ने बारे सोच्न लगाउनु हो’ उनले भने–‘चाहे त्यो विद्यालयको शिक्षक होस्, कुनै अफिसको बाँसवा आमाबुबा नै किन नहोस्।’
जब कुनै जिम्मेवार व्यक्ति आफ्ना नियम, परम्परा वा कर्तव्यप्रति अत्याधिक केन्द्रित हुन्छन्, त्यसले तिनीहरूलाई आदर्श मान्नेहरूमा कस्तो प्रभाव पार्छ? निर्देशक तामाङले थपे– ‘म चाहन्छु कि मञ्च सादा तर प्रभावशाली देखियोस्। सेट अत्यधिक सजिएको हुने छैन, किनभने म चाहन्छु दर्शकको ध्यान पात्रहरू र तिनीहरूको संघर्षमा केन्द्रित होस्।’

नाटकभरि प्रकाश परिवर्तन हुँदै जान्छ, जसले प्रोफेसर र विद्यार्थीहरूबीचको बदलिँदो मुड र द्वन्द्व देखाउनेछ।
कहिलेकाहीँ प्रकाश गहिरो र तनावपूर्ण हुनेछ, भने कहिलेकाहीँ उज्यालो, जुन समझदारी वा परिवर्तनका क्षणहरूको संकेत दिनेछ।
नाटकको केन्द्रीय विषयवस्तु “गुरुपन” हो । शिक्षक हुनु के हो भन्ने, युवा मनमस्तिष्कमा प्रभाव पार्ने अधिकार राख्नु के हो भन्ने र ती व्यक्तिहरूको भविष्य निर्माणमा कसरी भूमिका खेलिन्छ भन्नेबारे।
यस सन्दर्भमा द्रोणाचार्य केवल महाभारतको पात्र होइनन्, उनी ज्ञान र बुद्धिमत्तामार्फत शक्ति राख्ने सबै व्यक्तिहरूको प्रतिनिधित्व हुन्।

नाटकमा उनका चेलाहरूसँग, विशेष गरेर यस नाटकमा प्रस्तुत चेलो चन्दूसँगको सम्बन्ध, प्रशंसा, रिस, आश्रय, र बगावतजस्ता परतहरूले भरिएको रूपमा प्रस्तुत गरिन्छ ।
उत्कृष्ट निर्देशन, उस्तै कथाबस्तुमा कलाकारहरुको शसक्त अभिनयले पनि यो नाटकले नाटकप्रेमीको मन जित्न सफल भएको छ ।

एक सरल श्रद्धाञ्जली शंकर शेषप्रति – ‘एक और द्रोणाचार्य’का लागि
आज हामी शंकर शेषको अद्भुत प्रतिभा र दृष्टिकोणको सम्मान गर्दैछौं, जो ‘एक और द्रोणाचार्य’ नाटकका लेखक हुन्। यस नाटकमार्फत शेषले एउटा शक्तिशाली कथा प्रस्तुत गरे, जसले विगतलाई वर्तमानसँग जोड्दै द्रोणाचार्यजस्तो प्रसिद्ध पात्रको माध्यमबाट शक्ति, शिक्षा र जीवनका निर्णयहरूबारे गम्भीर प्रश्न उठाउँछ।

शंकर शेषलाई विशेष बनाउने कुरा भनेको, उनले प्राचीन समयमा आधारित कथालाई आजको समयसँग कसरी सजीव र सान्दर्भिक बनाउन सके भन्ने हो। ‘एक और द्रोणाचार्य’ केवल महाभारतको पुरानो गुरुको कथा मात्र होइन। यो त हामी सबैले अनुभव गर्ने अधिकारसँगको संघर्षको कथा हो — चाहे त्यो शिक्षकसँग होस् वा आमाबुबासँग नै नै किन नहोस्।
शंकर शेषले हामीलाई यो सोच्न बाध्य बनाएका छन् — शिक्षकसँग कति शक्ति हुनुपर्छ? मार्गदर्शकले कति प्रभाव पार्न सक्छ? र त्यो शक्तिको परिणामसँग हामी कसरी जुध्ने त ?
कोषा आट्र्सको बारेमा

कोषा आट्र्स थिएटर काठमाडौंमा आधारित एक थिएटर समूह हो, जसमा विविध कलात्मक पृष्ठभूमिबाट आएका कलाकारहरू संलग्न छन्। यस थिएटरले यसअघि ‘मुनमुन’ नामक नाटक सफलतापूर्वक मञ्चन गरिसकेको छ, जसको कथा प्रसिद्ध लेखक तथा कवि बुद्धिसागरको चर्चित उपन्यास “फिरफिरे” बाट प्रेरित गरिएको थियो।

कोषा आट्र्स थिएटर गर्वका साथ “अर्को एउटा द्रोणाचार्य” प्रस्तुत गर्दैछ, जुन प्रसिद्ध लेखक डा. शंकर शेषद्वारा लिखित चर्चित नाटक “एक और द्रोणाचार्य” बाट रूपान्तरण गरिएको हो। हामीले यस नाटकलाई नेपालीमा रूपान्तरण गरी मण्डला थिएटरमा मञ्चन गरेका छौं।

आरके श्रीवास्तव,रौतहट,०१ गते वैशाख ।

रौतहट । लोकतान्त्रिक पत्रकार संघ रौतहटको नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । लोसपा निकट पत्रकारको संस्थाको रुपमा रहेको संघले जिल्लाको मध्य भाग गरुडा स्थित रहेको होटेल एनपी स्टारमा आज एक कार्यक्रम आयोजन गरि पत्रकारहरु सँग नयाँ वर्ष मनाएको हो ।


लोकतान्त्रिक पत्रकार संघ रौतहटका संयोजक राजु कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा लोसपाका केन्द्रिय सदस्य रामप्रवेश दास रहनु भएको थियो । संघका संयोजक श्रीवास्तवको नेतृत्वमा पत्रकारहरुलाइ गोलबद्ध गराउने उदेश्यले सो कार्यक्रम आयोजन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै लोसपा नेपालका बरिष्ठ नेता दासले पत्रकारहरुलाइ स्वच्छ रुपमा सम्पूर्ण पक्षको आवाज उठाउन आग्रह गरेका थिए । लोकतान्त्रिक पत्रकार संघ र पार्टीको हकहितमा काम गर्ने विश्वास व्यक्त गरेका थिए । देशमा परिवर्तन आयो त्यसमा पत्रकारको अहम भूमिका रहेको भन्दै अहिले पनि त्यस्तै भूमिकाको खाँचो छ । जुन पत्रकारले निर्वाह गर्नु पर्दछ ।


उनले भने लोकतान्त्रिक पत्रकार संघले रौतहटमा आफनो संयोजकको रुपमा श्रीवास्तवजीलाइ तोकेको छ । म वहाँलाइ बधाइ दिदै लोसपा निकट संस्था भएपनि स्वतन्त्र रुपमा नै पत्रकारिता गर्न उनले सुझाव दिन्छु । कुनै विभेद नगरी कसैको झोलेको रुपमा काम नगरी स्वच्छ रुपमा काम गर्न आग्रह गर्दछु ।


कार्यक्रममा अन्य वक्ताहरु नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष विना राउत श्रीवास्तव,राष्ट्रिय शिक्षक मञ्च रौतहटका उपाध्यक्ष अरुण कुमार सिंह,बज्जिका पत्रकार संघ नेपालका अध्यक्ष राजेश्वर पाण्डे,राष्ट्रिय दलित पत्रकार संघ रौतहटका अध्यक्ष राजेश पासवान निर्माणी,नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्मा,श्रमजीवी पत्रकार संघ रौतहटका उपाध्यक्ष राकेश यादव,प्रेस मञ्चका प्रतिनीधी आरएन पटेल,कायस्थ पत्रकार समाजका केन्द्रिय सदस्य सरिता कुमारी श्रीवास्तव लगायतले लोकतान्त्रिक पत्रकार संघले रौतहको पत्रकारितामा आफनो अहम भूमिका निर्वाह गर्ने छ भनी विश्वास व्यक्त गरेका थिए ।


रौतहटको पत्रकारितामा वर्तमान अवस्थामा देखिएको समस्यालाइ चिर्दै संघले अघि बढनेछ भनी हामी अपेक्षा राख्दछौं । कार्यक्रमलाइ समापन गर्दै संघका संयोजक श्रीवास्तवले नयाँ वर्षमा हामीले नयाँ सुभारम्भ गरेका छौं । नयाँ वर्ष २०८२ ले सम्पूर्ण साथीहरुमा सुख,शान्ति समृद्धी ल्याओस् भनि शुभकामना दिन चाहन्छु । अब आफनो नेतृत्वमा जिल्लाका पत्रकारहरु एवम् सञ्चारकर्मीहरु गोलबद्ध भइ अगाडी बढ्ने बताए ।


कार्यक्रममा उठेलका सवालहरुको सन्र्भमा उनले भने पत्रकारिताको स्तर सुधार्ने,श्रमको उचित मूल्यांकन,तालिम लगायत जति पनि पत्रकारिताको विषयमा सवालहरु उठेका छन् ती सबैलाइ मध्यनजरगरी संघ अगाडी बढने प्रतिबद्धता जनाएका थिए ।


अन्य संगठन भन्दा फरक तवरले हामी हिड्नेछौं भनी विश्वास दिलाउन चाहन्छौं । क्रियाशील सञ्चारकर्मीहरुलाइ संघमा आबद्ध हुन आहवान समेत गरेका छन् । अब छिट्टै रौतहटमा लोकतान्त्रिक पत्रकार संघले पूर्णता पाउने जानकारी समेत गराउनु भएको थियो । जसको लागि भव्य कार्यक्रम आयोजन गरि सार्वजनिक गरिने उनले बताए ।


सञ्चारकर्मी सागर संगम ठाकुरले सञ्चालन गरेको कार्यक्रममा संघको तर्फबाट गुडु यादवले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा जिल्लाभरीमा क्रियाशील दर्जनौं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौँ ३१ गते चैत ।

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।

राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनका छोरा दीपशमशेर जबरा हाल प्रहरी वरिष्ठ उपरीक्षकमा कार्यरत छन् ।

बज्जिकाञ्चल संवाददाता, रौतहट ३१ गते चैत ।

रौतहटको राजदेवी नगरपालिका बाट सशस्त्र प्रहरीको टोलीले शनिबार राति एकजना भारतीय नागरिकलाई पेस्तोल सहित पक्राउ गरेको छ ।

शनिबार राति करिब ९ बजेको समयमा रौतहटको राजदेवी नगरपालिका १० बेलविछवा सीसी क्यामेरा नाका स्थित जैसवाल मदिरा पसल बाहिर मदिरा सेवन गरि दुई समूहले एकआपसमा झगडा गरेको सूचना पाएर बिओपि बेलविछवा बाट सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद यादवको कमाण्डमा गएको टोलीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको हो ।

सप्रनानि यादवको कमाण्डमा ७ जनाको टोली झगडा भएको स्थानमा पुग्दा प्रहरी देखेर भाग्ने क्रममा भारत विहार राज्यको सितामढी जिल्ला नन्दवरा बस्ने अन्दाजी २३ वर्षका किशन कुमारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका किशन कुमार लाई खानतलासी गर्दा उनको साथबाट पेस्तोल १ थान बरामद हुनुका साथै लागुऔषध पनि बरामद भएको बिओपी बेलविछवाले जनाएको छ ।

बिओपी बेलविछवाका अनुसार पक्राउ परेका किशन कुमारको साथबाट लागुऔषध कोरेक्स ३ पीस, नाइट्रोभेट ट्याबलेट ५ पीस, मोबाइल १ थान र हातमा लगाउने बाला बरामद भएको छ । हतियार र लागुऔषध सहित पक्राउ परेका भारतीय नागरिक किशन कुमारलाई थप अनुसन्धानका लाथि जिल्ला पठाईएको बिओपी बेलविछवाले जनाएको छ ।

यसरी मधेशका जिल्लाहरुबाट पटक पटक भारतीय नागरिकहरु हतियार सहित पक्राउ पर्ने गरेका छन् । उनिहरु माथि प्रहरीले अनुसन्धान पनि गर्ने गरेको छ । तर प्रहरीले अनुसन्धान पश्चात हतियार कुन प्रयोजनका लागि नेपालमा लिएर आए भन्ने कुराको जानकारी सार्वजनिक नगर्दा निशानामा पर्ने व्यक्ति असुरक्षित हुँदै गएका छन् ।

पिएसआर खबर

 आरसी यादव,पर्सा,३१ गते चैत ।

बिरगंज । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७.३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी र सुरक्षा निकायका प्रतिनिधीको सहभागीता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकिय अधिकृत दीपक पटेलले बताए । बैठकले शनिबार साँझ वीरगंजमा भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको बताइएको छ ।

वीरगंजमा आइतबार विहान देखि सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्वन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियो प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए । आइतबार विहान देखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले वीरगंजको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरिक्षक लम्सालले बताए । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।