काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म संसदको गतिरोध अन्त्य बारे बोलाइएका छलफलमा एकीकृत समाजवादीलाई सामेल गराइएको छैन ।
सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ । न्युज कारखाना
काठमाडौँ । तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले ताइवानविरुद्ध यति ठूलो युद्धाभ्यास गरेको यो पहिलो पटक हो ।
यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो । वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो ।
तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए । चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन् ।
चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो । चीनले यस अभ्यासलाई ‘ज्वाइन्ट सोर्ड-२०२४ ए’ नाम दिएको छ । यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउ र डोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ ।
ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । लाइले चीनलाई आफ्नो क्रोध रोक्न र सम्पूर्ण क्षेत्रमा शान्ति कायम गर्न प्रयास गर्न अपील गरेका छन् । लाइका अनुसार अभ्यास भइरहेको टापुहरू ताइवानकै हुन् । साथै, ताइवानी सेनालाई पनि अलर्टमा राखिएको छ, ताकि सम्पूर्ण क्षेत्रमा शान्ति कायम होस् ।
राष्ट्रपति बनेपछि लाइले आफ्नो पहिलो सम्बोधनमा पनि ताइवान एक स्वतन्त्र देश हो, जसले देशको सार्वभौमसत्ता कायम राख्न जे पनि गर्न सक्छ भन्ने कुरा पनि बताए । ताइवान सरकारले आफ्नो लोकतन्त्र र स्वतन्त्रतामा कुनै सम्झौता गर्दैन।
त्यसको भोलिपल्ट चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानको प्रतिवाद गरे । उनले भने, ‘ताइवानका नयाँ राष्ट्रपति लाइ चिङ्-टे र उनका सहयोगीहरूले आफ्नो कार्यले देशलाई मात्र होइन हाम्रा पुर्खाहरूलाई पनि धोका दिएका छन् ।’
चिनियाँ सेनाले ९६ वर्ष पूरा गरेपछि पनि यो अभ्यास भएको हो । यसअघि गत वर्षको अगस्टमा पनि चिनियाँ सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए) का सैनिकहरू ताइवानमा आक्रमणको लागि तालिम लिइरहेको देखिएका थिए ।
अमेरिकाले सन् १९७९ मा चीनसँगको सम्बन्ध पुनर्स्थापित गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । तर, चीनको आपत्तिका बाबजुद अमेरिकाले ताइवानलाई हतियार आपूर्ति जारी राखेको छ । अमेरिकाले पनि दशकौंदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको छ, तर ताइवानको मुद्दामा अस्पष्ट नीति अपनाइरहेको छ।
राष्ट्रपति जो बाइडेन हाल यस नीतिबाट टाढा रहेको देखिन्छ । उनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकालाई बचाउन आउने बताएको छ । बाइडेनले हतियार बिक्री जारी राख्दै ताइवानसँग अमेरिकी अधिकारीहरूको सम्बन्ध बढाएको छ ।
अमेरिकी विश्लेषकहरूको आधारमा चीनको सैन्य क्षमता यति हदसम्म बढेको छ कि ताइवानको रक्षामा अमेरिकी विजय अब ग्यारेन्टी छैन । चीनसँग अहिले विश्वको सबैभन्दा ठूलो नौसेना छ र अमेरिकाले त्यहाँ सीमित जहाज मात्र पठाउन सक्छ ।
यदि चीनले ताइवान कब्जा गर्छ भने, उसले पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व देखाउन थाल्नेछ। यसले गुआम र हवाई टापुहरूमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई पनि खतरामा पार्न सक्छ ।न्युज कारखाना
१० जेठ, महोत्तरी
अवैधानिकरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानियहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन ।
महोत्तरीको बर्दिवास नगरपालिका स्थित निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन ।
ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, ना १ क ७०६७, ना १ क ९५११ नम्बर प्लेटका टिपरहरुलाई रोकेर कागजपत्र माग्दा देखाउन नसकेपछि नियन्त्रणमा लिएर जिम्मा लगाएको स्थानीय निरज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका टिपरहरुको बिषयमा अनुसन्धान भईरहेको इलाका प्रशासन कार्यालय बर्दिवासले जनाएको छ । ‘टिपरहरुको कागजपत्र नभएको र मापदण्डविपरित ओसारपसार गरिरहेको पाइएको छ ।’ इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमन पोखरेलले भने । ‘आज छुट्टी भएको हुनाले नगरपालिकालाई जिम्मा लगाउन पाइएन ।’
उक्त नदीजन्य पदार्थ काँहावाट उत्त्खनन गरिएको भन्ने समेत खुल्न सकेको छैन । पछिल्लो समय नगर क्षेत्रमा अवैधानिक उत्त्खनन भईरहेको वेला रेल्वेले समेत सोत नै पहिचान नगरी माल खरिद गर्नु गलत भएको भन्दै स्थानियहरुले विरोध गरेका छन ।
स्रोत पहिचान विना नदीजन्य पदार्थ विक्रीवितरण गर्न नपाईने व्यवस्था छ तर क्रसर व्यवसायीहरुले समेत स्टक प्रमाणीकरण नगरी निर्माणाधीन रेल्वे स्टेसनमा वेचिरहेको पाईएको छ । राजस्व छली गरेर खुलेआम नदीजन्य पदार्थ विक्रिवितरण हुदा पनि सरोकारवालाहरू मौन रहेको भन्दै स्थानियहरुले खवरदारी गरेका हुन ।
पछिल्लो दुई दिनमा मात्र ७ वटा मालवाहक टिपरलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही प्रक्रिया अगाडी वढाएको छ ।न्युज कारखाना
रौतहट । रौतहट स्थीत ट्राफिक प्रहरी कार्यालयले मात्र २२ दिनको अवधिमा ३३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको पाईएको छ।
गत बैशाख १६ गते देखि यही जेठ ८ गते सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गरिएको चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने २८ सय १२ जना सवारी चालकहरुलाई सवारी नियम अनुसार कारवाही गरिएको छ। उक्त कार्वाही बाट तेत्तिस लाख एघार हजार राजस्व संकलन भएको ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिएका छन्।
पछिल्लो समयमा रौतहटको सदरमुकाम गौर देखी ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरीले सक्रियता बढाएपछि राजश्व संकलनमा वृद्धि संगै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।
बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा शुरु भएको हो ।
आजको बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट पेस गर्ने र त्यसमा काँग्रेसको सहमति माग्ने सत्ता पक्षको तयारी रहेको छ ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।न्युज कारखाना
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।
कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए । उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे ।
सरकारले अघिल्लो महिनामात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए ।
“मेरो विश्वास छ– उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।”
कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए । उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए । उनले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे ।
यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताए ।
ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत् ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अर्गानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाहरूको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधनस्रोतहरूको अधिकतम उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
“करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामाकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट यस गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”
प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।
तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो ।
बैंककै डेपुटी सीईओ रहेको खनाललाई बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो । सर्ट लिष्टमा खनालसहित कृष्ण बहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत ब्याख्या गर्न नहुने बताएका छन् ।
झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत ब्याख्या उचित नहुने बताए । उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन् ।
उनले भने- ‘त्यसमा विवादका विषय हुन सक्दछन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन । कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।’
उनले टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? भन्दै प्रश्न गरेका छन् । न्युज कारखाना
काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ ।
द टेलिग्राफका अनुसार, बायर्नले कम्पनीलाई आफ्नो नयाँ प्रशिक्षक बनाउन अन्तिम चरणको छलफलमा रहेको छ ।
यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको छ ।
म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनीले आफ्नो प्रशिक्षण टिमसहित बायर्न जाने लगभग निश्चित भएको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।
२०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भएपनि दुई सिजन खेलेपछि फेरी रेलिगेसनमा परेको छ ।
अर्को तर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्ह्सिय कम्पनीलाई भित्र्याउने तयारी गरेको छ । हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने यस अघि नै बताइसकेका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो । न्युज कारखाना
रौतहट । रौतहट स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले लाखौंको अबैध भारतीय मलखाद र भारतीय कुखुरा बरामद गरेको छ।
तस्करहरुले भारतबाट बिभिन्न नाका हुँदै अवैध रुपमा भंसार छलि ल्याएका चार लाख सन्तानब्बे हजार दुई सय सत्तरी रुपैया बराबरको युरीया मल, किराना तथा लत्ताकपडा लगायतका सामानहरु संगै तीनजना तस्करलाई मोटरसाईकल सहीत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।
ना२९ प २८१४,ना३७ प ५३१३ र विआर ३० ई ३४८४ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका कटहरिया नगरपालिका ५ का सिकिन्दर यादव, फतुवा बिजयपुर २ का बीरबल यादव, आदर्श कोतवाल ३ बाराका प्रदीप यादव र बिना चालक बरामद ना४१ प ५५१४ मोटरसाईकल र पक्राउ परेका तीनैजना लाई सामान सहित आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालयमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी सशस्त्र प्रहरी ११ नम्बर गण हेक्वा रौतहट बाट गएको गस्ती टोलीले सीमाक्षेत्र बाट तीन क्विन्टल भन्दा बढी भारतीय कुखुरा बरामद गरेको छ। तस्करहरुले भारतीय बजारबाट अबैध रुपमा ल्याउँदै गरेको ३१५ किलो कुखुरा ९४ हजार ५०० बराबरको परोहा ९ मोतिपुर स्थित बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
बरामद कुखुरा सशस्त्र प्रहरी ११ नम्बर गणको हाता भित्र खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ। रौतहटमा नयाँ एसपिको रुपमा हुमागाईं आएदेखि नै तस्करी नियन्त्रणमा बिशेष सक्रियता देखिएको छ ।न्युज कारखाना