काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दै छ ।बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शिर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन ।
कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरु उपस्थित रहेका थिए ।
बालुवाटारको छलफलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ । बैठकमा कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएको परियारले बताए ।
उनले भने- ‘सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।’
यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगि भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो ।
आजै बिहान ११ बजे प्रतिनिधिसभाको र साढे ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ । न्युज कारखाना
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २-१ ले नै हारेको बदला यस सिजनमा २-१ ले नै हराएर लिएको छ ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जिटेको छ । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम बर्षा तथा मधेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । न्युज कारखाना
आजमिति २०८१ साल जेठ १३ गते आईतवार तदअनुसार मे २६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु कृष्ण पक्षको तृतिया तिथी, मुल नक्षत्र, । साध्य योग । चन्द्र राशि धनु । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:११
• सुर्यास्त: बेलुका ०६:५२ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः १
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः कालो
शुभ अंक ः ७
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ९
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ६
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ५
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ६
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना
काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।
काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।
‘दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ वर्तमान लुटकारी सत्ताविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए।
बैठकले विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारबाही गर्न/गराउन सशक्त आन्दोलन गर्ने समेत निर्णय गरेको छ।
विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने बैठकले निर्णय गरेको प्रवक्ता साहले जानकारी दिए।
‘भ्रष्टाचार, अनियमितता, कुशासनको विरूद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ साहले भने।
यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप शसक्त प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय बैठकले गरेको छ।
आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका जिल्लाहरूमा विद्यार्थीको अनुपात एवम् विषयगत शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ। सो आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।
‘शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ,’ आजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।न्युज कारखानाच
काठमाडौँ । ‘चपली हाइट’ फेम निर्माता अर्जुन कुमारले सानो संसार नामको फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको छ ।
फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती) ले मुहूर्त सट दिएकी थिइन् ।
सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा सीतादेवीसहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटी आदिको अभिनय रहनेछ । उनीहरु सबैले यही फिल्मबाट डेब्यु गर्दैछन् । यही जेठ अन्तिमबाट काठमाडौं, धादिङ र नुवाकोटमा छायांकन हुने निर्माता अर्जुनले बताए ।
फिल्ममा निर्देशक सिद्धार्थ र सरिष्मा पुडासैनीको संयुक्त लेखन छ । शुभमुहूर्तसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । आगामी दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट फिल्म सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको संयुक्त निर्माण रहने फिल्मले सानो परिवारको कथालाई पेश गर्ने निर्देशक पुडासैनीले बताए । उनले पछिल्लोपटक ‘चपली हाइट ३’ निर्माण गरेका थिए ।न्युज कारखाना
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ ।
शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपालको ईतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जेठ ७ गते सोमबार बिहान १०: २० बजेको समयमा सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहण पश्चात् उनलाई सोलुखुम्बुको लुक्ला विमानस्थलबाट हेलिकप्टरमार्फत सिधै प्रधान कार्यालयमा फिर्ता हुने व्यवस्था मिलाईएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक पौडेललाई संगठनको तर्फबाट आइजी एपीएफ कमेन्डेसनद्वारा सम्मान समेत गरिएको छ ।
इलाइट एक्सपेड नेपाल एपीएफ एभरेष्ट एक्सपेडिसन- २०२४ नामक पर्वतारोही दलको नेतृत्व गर्दै शेर्पा एक्सट्रिम प्रा.लि. मार्फत सशस्त्र प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ गएका थिए । उनले यस बिचमा सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन ।
यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मुल्य मुम्बई इण्डियन्सले पनि चुकायो । यस सिजनको आइपिएलमा पुछारमा रहदै सिजन समाप्त गरेको मुम्बईमा पुन: आगमन हार्दिकका लागि ब्याक फायर बन्यो । यस सिजनमा न त उनको व्यक्तिगत प्रदर्सन राम्रो रह्यो न त उनले टिमलाई नै जितको लागि प्रेरित गर्न सके । अब आइपिएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ ।
उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबि गरिएको छ । रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ । यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन् ।
नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडी पाण्डेय राखेको र हालै आफ्नो नामको पछाडी रहेको पाण्डेय हटाएपछि पनि अड्कलबाजी बढेको बताइएको छ । सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ ।
केहि दिनदेखि इन्टरनेटमा चलिरहेको यो खबर बारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
नताशा सर्बियन मोडल र अभिनेत्री हुन् । हार्दिक र नतासाले केहि समयको प्रेमपछि २०२० मा विवाह गरेका थिए । दुवैका एक छोरा छन् । न्युज कारखाना
काठमाडौँ । ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस बर्षको ‘डीएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ ।
यसप्रकारका अवार्ड नेपालका लागि पहिलो हो । लण्डनमा भएको ६२औँ डीएण्डएडी अवार्ड कार्यक्रममा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड पाएको हो । यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो । ६ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपि पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले बताइन् ।
क्यालीजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार यल्लो पेन्सिल मौलिक रचनात्मक उत्कृष्ठताका लागि प्रदान गरिन्छ । अवार्ड प्राप्त गरेपछि नित्या रञ्जना फन्ट मात्र होइन, रञ्जना लिपिले अन्तरराष्ट्रिय स्तरमा पहिचान वृद्धि गरेको छ ।
फाउन्डेसनले रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी ‘एक टाइप’सँग सहकार्य गरेको थियो । यसमा फन्ट विकासकर्ता तथागत बिश्वास, सारंग कुलकर्णी, नुपुर दात्ये रहेका छन् । यसको विकास तथा सिर्जनाका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गरेको छ ।
डीएण्डएडी विश्वव्यापी व्यवसायिक विज्ञापन, डिजाइन, शिल्प र सिर्जनाका क्षेत्रमा प्रदान हुने अवार्ड हो । सन् १९६२ देखि डिजाइन र विज्ञापनका क्षेत्रमा यो अवार्ड प्रदान गरिँदै आएको छ ।
रञ्जना नेपालको मौलिक लिपि हो । मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरुको प्रयोग, प्रवर्धन हुन सकेको थिएन । यसकारण लिपी संरक्षणमा चुनौती बढ्दै थियो ।
यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रवर्धन गर्न युवाहरुले लिपिलाई प्रविधिसँग प्रयोग अनुकुल बनाउने काम थाले । क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपि प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण गरे । यो लिपी गएको चैत ४ गते काठमाडौँको नेपाल कला परिषदमा सार्वजनिक गरिएको थियो । यो लिपि इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ ।
लिपिलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले सम्बन्धित राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत क्षेत्रमा गरिएको अध्ययनबाट पृष्ठपोषण लिइएको थियो ।
फन्टमा आकर्षक अक्षर छन् । स्वर र व्यञ्जन वर्णहरु, विराम र अङ्कहरु तथा लेख्य विकल्पहरु रहेको क्यालिजात्राका अध्यक्ष महर्जनले जानकारी दिए । उनकाअनुसार यस लिपिलाई संस्कृत, पाली र नेपाल भाषा लेखनका लागि प्रयोग गर्न सकिन्छ । न्युज कारखाना
ललितपुर । चीन अन्वेषन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा हङकङ विश्वविद्यालयका प्रमुख अन्वेषक डा. वाङ हाउ म्यानले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने बताएका छन् । स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच हुनुपर्नेमा जोड दिँदै डा. माङले भूराजनीति र विकसित भनिएका देशहरूको संकिर्ण व्यापारिक सोचले त्यस प्रकारका अन्वेषण तथा शोधकार्यबाट प्राप्त ज्ञानमा सिमित व्यक्तिहरूको मात्र पहुँच भएको विचार व्यक्त गरे ।
नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग ललितपुरमा गरेको अन्तरक्रियामा उनले “अन्वेषण पछाडिको विज्ञान“ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । ललितपुरको प्रयागपोखरीस्थित कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा भएको कार्यक्रममा डा. वाङ होउ म्यानले अनुसन्धानको महत्वबारे चर्चा गरे ।
एलो रिभर, याङ्ट्से रिभर र मेकङ रिभरसहित एसियाका ६ वटा प्रमुख नदीहरूको पाँच हजार मिटर भन्दा माथि उचाईमा रहेका मुहानहरू पट्टा लगाई विश्वविख्यात भएका डा. वाङ होउ म्यानले विगतमा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय तथा नासाका अब्बल वैज्ञानिकहरूसँग सहकार्य गरी सेटेलाइट प्रविधिको माध्यमबाट तिव्वतबाट प्रारम्भ भएको एलो रिभरको मुहान पट्टा लगाएका थिए । पछि भूधरातलीय अन्वेषणको लागि अन्य अन्वेषकहरू सहित ती क्षेत्रहरूको भ्रमण गरी गरी उक्त नदीको मूल निक्र्यौल गरेका थिए । अनुसन्धान तथा अन्वेषणको क्रममा उनले विभिन्न देशका आदिवासीहरूको प्रविधिहरू विश्वसामु उजागर गरी ती प्रविधिहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी विश्वका केही लोपोन्मुख जीवहरूको कृतिम गर्भाधानको माध्यमबाट उत्थानमा पनि उनको योगदान उल्लेखनीय छ ।
आफ्नो अन्वेषणको आधारमा तीस वटा पुस्तकहरू लेखिसकेका डा म्यानको कामको विश्वव्यापी महत्वको आधारमा अमेरीकाको सिएनएन न्यूज च्यालनले विभिन्न समयमा १३ पटक अन्तर्वार्ता लिई प्रसारण समेत गरिसकेको छ भने विश्व प्रसिद्ध पत्रिका वालस्ट्रिट जर्नलले पनि उनको कामको विवरण मुखपृष्ठमा छापेको थियो । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. वाङ होउ म्यान विश्वविख्यात व्यक्तित्व हुन् । 
कार्यक्रममा उपस्थित तीस जना विद्यार्थीहरूलाई लक्षित गर्दै डा. वाङ होउ म्यानले अन्वेषण गरी नयाँ कुराहरू पट्टा लगाउँदाको सुखद् क्षणहरूको चर्चा गरेका थिए । उनले विद्यार्थीहरूलाई पनि अन्वेषणमा लाग्न प्रोत्साहन गरे । डा. वाङ होउ म्यान सन् १९८६ मा स्थापित चीन अन्वेषण तथा शोध केन्द्रका अध्यक्ष हुन् ।
कार्यक्रममा कलेजका निवर्तमान प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, कलेजको स्नातकोत्तर अध्ययन केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाही, सोही केन्द्रका उपप्राध्यापक प्रतिक सिंह ठकुरीसहित अन्य शिक्षकहरू पनि सहभागी थिए । 
नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा सम्पन्न कार्यक्रमको आयोजना कलेजका उपप्राध्यापक तथा प्राकृतिक स्रोत व्यवस्थापन विषयका संयोजक डा. नारायण प्रसाद कोजूले गरेका थिए ।
न्युज कारखाना