२०८३ जेष्ठ ३१
२०८३ जेष्ठ ३१

काठमाडौं । सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडियाको मात्रै राखेर सहमति गर्न अनुरोध गरेका थिए ।  सभापति देउवा अस्वस्थ बनेपछि प्रधानमन्त्री उनको निवासमै पुगेर छलफल गरेका हुन् ।

तर सभापति देउवाले असहमति जनाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । परियारले सत्तारुढ दलका नेताहरुले चलाखीपूर्ण कुरा गरिरहेको बताउदै उहाँहरुले कम्पनि जवाफदेहि हुने तर व्यक्ति हुने किसिमको कुरा गरिरहेको, जुन आफुहरुलाई स्वीकार्य नभएको बताए ।

त्यसपछि बसेको कांग्रेस शीर्ष नेताको छलफलले आफ्नो अडान नछाड्ने निर्णय गरेको गरेको हो ।

कार्यादेशमा सहमति हुन नसकेपछि आजको संसद बैठकमा कांग्रेसको अवरोध कायमै रहने देखिएको छ । आजको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । न्युज कारखाना

 

काठमाडौँ । भारतको राजकोटस्थित टीआरपी गेम जोनमा शनिबार भएको भीषण आगलागीमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका पनि रहेको प्रहरीले बताएको छ ।

सहरको मावरोडस्थित टीआरपी गेम जोनमा शनिबार आगो लागेको थियो । आगो यति भीषण थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो देखिएको थियो । गेम जोनबाट बाहिर निस्कने बाटो थिएन र धेरै मानिस भित्र फसेको भारतीय मिडियाहरुले बताएका छन् ।

मलको गेम जोनमा वेल्डिङको काम भइरहेकाले स्थानीयले सर्ट सर्किट भएको जानकारी दिएको पनि बताइएको छ । यद्यपी आगलागीको कारण भने आधिकारिक रुपमा खुल्न सकेको छैन ।

प्रहरीले शनिबार अपराह्न ४: ३० बजे प्रहरीको नियन्त्रण कक्षमा आगलागीको पहिलो क्ल आएको र तत्काल दमकल घटनास्थल पुगेर आगो निभाएको बताएको छ ।

गुजरात सरकारले घटनाको छानबिन गर्न एसआईटी गठनको घोषणा गरेको छ । पाँच सदस्यीय एसआईटीको अध्यक्षको जिम्मेवारी सिआइडी क्राइमका प्रहरी महानिर्देशक सुभाष त्रिवेदीलाई दिइएको छ । एसआईटीका अन्य चार सदस्यमा बञ्चनिधि पानी, एच.पी. संघवी, जे.एन. खाडिया र एमबि देसाई रहेका छन् ।

एसआईटीले ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउनेछ। साथै १० दिनभित्र विस्तृत प्रतिवेदन सरकारलाई बुझाउने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत राजकोटमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरेको बताए ।

राज्य सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । न्युज कारखाना

काठमाडौं- झापामा माछा पालन गर्दै आएका एक व्यक्तिमाथि आक्रमण भएको छ।

अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।

अर्जुनधारा नगरपालिका-१ कै ३५ वर्षीय कृष्ण भनिने सन्तोष एक्तेनले टंकबहादुरमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।

प्रहरीका अनुसार टंकबहादुरको अहिले बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।

टंकबहादुरमाथि अर्जुनधारा-६ मा रहेको माछापोखरी को डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका हुन्।

टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ। आफन्तका अनुसार निद्रामा रहेका बेला सन्तोषले आएर एकाएक आक्रमण गरेका थिए।

सन्तोष टंकबहादुरका भतिजा हुन्। उनी झगडालु स्वभावका व्यक्ति हुन्। उनले टंकबहादुरलाई हेप्ने, तर्साउने, गालीगलौज गर्ने, बिनाकारण निहुँ खोज्ने गर्थे।

राति आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले समात्न खोजेका थिए। तर, छुरा देखाएर उनी भागेका थिए।

पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन्।

‘आमा मिर्गौलाको बिरामी हुनुहुन्छ, नियमित उपचारमा लैजानुपर्छ, बुवलाई यसरी घाइते बनाएपछि परिवारको बिचल्ली भएको छ,’ सलिनाले भनिन्, ‘आक्रमण गर्नेमाथि कडा कारबाही होस्, हामीलाई न्याय दिइयोस्।’

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन्। उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

‘फरार भएका व्यक्तिको खोजी भइरहेको छ,’ विष्टले भने। न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि शुक्रबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । न्युज कारखाना

चन्द्रपुर,१३ जेठ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित वन बनहुअरीमा बनेको वृद्ध आश्रम यतिबेला अलपत्र अवस्थामा परेको छ । नेपाल सरकारको ३ करोडको लागतमा बनेको सो वृद्धाश्रमको भवन यतिबेला अलपत्र अवस्थामा परेको भएपनि सम्बन्धित निकायले कुनै चासो दिएको छैन ।

केही राजनैतिक दलका नेता तथा ठेकेदारको आफ्नै इच्छा अनुसार डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको वन बनबहुअरी सब डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने वनको जग्गामा बनेको सो भवन यतिबेला अलपत्र अवस्थामा परेको हो । केही राजनैतिक दलका नेता तथा वन बनबहुअरीकै ठेकेदार देवराज अधिकारीले आफ्नै मनोमानी तरिकाले जंगलको छेउमा बनाएको वृद्ध आश्रम संचालनमा नआउदा राज्यको तीन करोड स्वाह भएको छ । वनको जग्गामा जंगलको छेउमा ठेकेदार अधिकारीले राज्य संयत्रको सेटिङमा बनाएको बृद्धाआश्रम अहिले भत्कले अवस्थामा पुगेको छ । जंगलको छेउमा भएका कारण समेत त्यहाँ आश्रम संचालनमा समस्या आएको चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

जंगलको छेउमा सघन सहरी विकास मन्त्रालयले ठेकेदार अधिकारी मार्फत तीन करोड खर्च गरेर निर्माण गरेको वृद्धा आश्रम संचालनमा आउन नसकेर अलपत्र अवस्थामा पुगेको स्थानीयले बताए ।

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको खाली जग्गामा बनेको बुद्धा आश्रम नै राज्यको नियम विपरित रहेको र घना वनको छेउमा रहेका कारण संचलनमा ल्याउन समस्या भएको जानकारहरुको भनाइ रहेको छ ।

निर्माण सम्पन्न भएको दुइ बर्ष हुन लाग्दा समेत भवन संचालन आउन सकेन, के कारणले संचालन हुन नसकेको स्थानियले बुझ्m्न नसकेको बताउछछन् । उक्त भवनमा ठेकेदारको ईच्छा अनुसार अनकन्टार स्थानमा निर्माण भएका कारण समेत संचालनमा आँउन नसकेको जानकारहरुको भनाइ रहेको छ ।

करोडौको लागतमा बनेको सो भवन दुइ वर्षदेखी अलपत्र बनेको छ । राज्यको तीन करोड लगानी भएको सो भवन यतीबेला सम्म संचालनमा नआँउदा भवन प्रयोगमा नआँउदै भत्कने अवस्थानमा पुगेको एक स्थानीय बासिन्दाले बताए । न्युज कारखाना

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको  मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो ।  पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने । अहिले सडक भने सञ्चालनमा आएको छ । न्युज कारखाना

 

 

काठमाडौँ । पछिल्लो १० महिनामा बागमती प्रदेशमा सवारी दुर्घटनामा परि ४ सय १० जानाले ज्यान गुमाइसकेका छन् ।

 

बागमती प्रदेशमा सवारी दुर्घटनाको जोखिम घटाउन प्रहरीले कडा कारबाही गर्दै चालु आर्थिक वर्षको बैशाखसम्ममा मात्र करिब ७२ करोड रुपैयाँ जरिबाना असुली गरे पनि सवारी दुर्घटनाका घटनाहरू नरोकिनु नागरिकको चिन्ताको विषय बनेको छ।

 

प्रहरीबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको बैशाखसम्म प्रदेशभरि ८ हजार ८ सय भन्दा बढी व्यक्ति सवारी दुर्घटनाका कारण घाइते भएका छन् भने ७ हजार ९ सय ३५ वटा सवारी दुर्घटनाका घटनाहरू घटेका छन्। यहि अबधिमा, ट्राफिक नियम उल्लङ्घन गर्ने ९ लाख भन्दा बढी सवारी चालकलाई कारबाही गर्दै ७२ भन्दा बढी रुपैयाँ जरिबाना असुल गरिएको छ । यहि आँकडा हेर्दा बागमती प्रदेशमा सानाठुला दुर्घटना गरि दैनिक २० वटा भन्दा बढी सवारी दुर्घटना हुने गरेको देखिन्छ ।

 

“यस्तो जरिबानाले हामीलाई सचेत बनाउँछ तर पर्याप्त छैन,” चितवन-काठमाडौं बस चलाउने सन्तोषकुमार राईले भने, “सडकहरू पुरानै छन्, सङ्केतहरू छैनन्। सवारी चालकहरूलाई शिक्षादीक्षा पनि उत्तिकै आवश्यक छ।” अर्का चालक उमेश लामाले पनि “नगद जरिबाना मात्रै भएर नपुग्ने” बताए।

 

सवारी चाप र सडक अव्यवस्थित हुनुका साथै चालकहरूको सचेतना अभावले गर्दा दुर्घटनाका घटनाहरू बढ्दै गएको प्रहरीको विश्लेषण छ। जरिबानाभन्दा पनि सडक सुरक्षा शिक्षा, सरोकारवाला निकायबीच सहकार्य र नयाँ प्रविधिको प्रयोग जरुरी देखिएको छ।

 

प्रहरी प्रशासनले पनि ट्राफिक नियमको कडाइ, चेकिङ र अनुगमन बढाए पनि दुर्घटनाको खतरा कायमै रहेको स्वीकार गरेको छ। चालु आर्थिक वर्षको बैशाखसम्ममा प्रदेशभर ९ लाख ४३ हजार ५ सय १३ जना बढी सवारी चालकलाई कारबाही गरिए पनि दुर्घटनाको सङ्ख्यामा खासै कमी आउन सकेको छैन। अर्थात् सचेतना हुन्दामात्रै दुर्घटना कमि हुने देखिएन ।

 

सरकारी तथा गैरसरकारी निकायहरूका साथै सर्वसाधारण नागरिकको सहभागितामा सडक सुरक्षा अभियानलाई नयाँ रणनीतिसहित अगाडि बढाउन सकिने विज्ञहरूको विश्लेषण छ।

 

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही

बागमती प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कडा कारबाही गरेको देखिन्छ। चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्याङ्कले यसतर्फ प्रकाश पारेको छ।

 

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशको उपत्यका बाहेकका जिल्लाहरूमा मात्रै १ लाख ८४ हजार १५८ जना ट्राफिक नियम उल्लङ्घनकर्तालाई कारबाही गरिएको छ। यस क्रममा प्रहरीले करिब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको देखिन्छ।

 

जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी ३५ हजार ६ सय ३९ जनालाई कारबाही गरिएको छ भने त्यहाँबाट २ करोड ५८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, मकवानपुरमा २९ हजार ७ सय ११ जना र धादिङमा १८ हजार ७ सय १९ जनालाई कारबाही गरिएको छ। राजस्व सङ्कलनतर्फ मकवानपुरबाट २ करोड २० लाख ८८ हजार र धादिङबाट १ करोड ३५ लाख ६७ हजार रुपैयाँ सङ्कलन भएको छ।

 

यसरी, सवारी चालकमाथि कडा नियम लागू गरिएको देखिन्छ। तर नियम उल्लङ्घनका घटनाहरू अझै बढ्दै गएकाले यसलाई लिएर चिन्ता बढेको छ। सरोकारवालाहरूले शान्त र सुरक्षित यातायात व्यवस्थाको सुनिश्चतताका लागि नियममा थप कडाइ गर्नुपर्ने बताउँछन्।

 

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सजग गराउँदै कारबाही गर्ने उद्देश्यले विभिन्न चेकपोइन्टहरू स्थापना गरिएको बताउँदै सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न सबैले ट्राफिक नियमको पालना गर्नु आवश्यक रहेको नेपाल प्रहरी प्रवक्ता दान बहादुर कार्की बताउँछन्।

 

सरकारी, गैरसरकारी र निजी क्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्लेषकहरूको भनाई छ। सबैको सहयोगमा मात्र दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षित यात्रा सम्भव हुने बताइएको छ। न्युज कारखाना

रौतहट,१३ जेठ । गढीमाइ नगरपालिकाको समनपुर घाट र हरैयाघाटबाट नदीजन्य पदार्थको चरम दोहन भएको भेटिएको छ ।

गढीमाई नगरपालिकाका मेयर र हाकिमकै सेटिङमा बागमती दोहन भएको स्थानीयले आरोप लगाउदै आएकाछन् ।

नगर प्रमुख र हाकिमको साथ पाएका ठेकेदारले ति दुबै घाटमा मापदण्ड बिपरित नदीजन्य पदार्थको उत्खनन गरी चरम दोहन गरिरहेको स्थानियले जानकारी दिएका छन ।

समनपुरको बागमती नदिको पुल उत्तरमा हरैयाघाटको ठेक्का पृथ्बी निमार्ण कम्पनीले लिएको छ भने सोही पुल दक्षिण उमा जयसवाल र दिनेश साहले ठेक्का लिएका छन ।

ति दुबै घाटमा अहिले दिनरात स्काभेटर र टिपर चलिरहेको स्थानियले जानकारी दिए । स्थानियबासीले दिएको जानकारी अनुसार पुल उत्तर ४ वटा स्काभेटर चलेका छन भने पुल दक्षिण पनि ४ वटा स्काभेटरले भकाभक नदी उत्खनन गरिरहेका छन ।

नगरपालिकाले पुल उत्तर १ करोड ५ लाखमा र पुल दक्षिणमा १ करोडमा ठेक्का लगाएको छ ।

दुबै क्षेत्रमा माछा पाल्ने किसिमको ठुल्ठुला पोखरी तथा नदि बगिरहेको ठाउबाट नै बालुवा गिटी निकाल्ने काम भइरहेको पाइएको छ । नदीमा चरम दोहन भएपछि शुक्रबार स्थानियले केही बेर अबरोध पनि गरेका थिए ।

नदीजन्य पदार्थको अनुगमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समितिका पदाधिकारीहरु पनि कानमा तेल हालेर बसेका छन । अनुगमन समितिको गैर जिम्मेबारपनको कारण रौतहटको बिभिन्न खोलाहरुबाट नदीजन्य पदार्थको चरम दोहन भइरहेको छ । यसैबिच गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादवले चाडै नै सो क्षेत्रको अनुगमन गर्ने बताएका छन ।

नदीजन्य पदार्थ निकाशी गर्ने जेठ मसान्त सम्म मात्र रहेको नेपाल सरकारको प्राबधान छ ।

नदीजन्य वस्तुको अवैध उत्खननबाट नगरपालिकाका हाकिम र मेयरलाई धेरै लाभ हुने भएका कारण समय सीमा सकिनु अगाडि नै नियम विपरीत बागमती खोला धमाधम उत्खनन भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुखकै मिलो मतोमा मनोमानी रुपमा बागमती धुन हुँदा वर्षायाममा बागमती गाउँ पस्ने खतरा बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले पटकपटक घडीमाई नगरपालिकाको कार्यालय घेराउ गर्दै आएका छन्  । नगरपालिकाका जनप्रतिनिधिले आफ्नो लाभका लागि मनोमानी रुपमा बागमती उत्खनन गराउँदा आउँदो वर्षायाममा बागमतीको बाढी गाउँमा बस्ने खतरा बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । न्युज कारखाना

काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको हरिकेन्स १८.३ ओभरमा ९६ रन बनाएर अलआउट भएको थियो । त्यस्तै यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो ।

हरिकेन्सविरुद्ध नेपालको यो लगातार दोस्रो जित हो ।

अब नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ ।  नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।   न्युज कारखाना

काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई अराजक गतिबिधि नगर्न चेतावनी दिएको छ ।

महानगरपालिकाका मेयर बालेनले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै सडक डिभिजन कार्यालय काठमाडौँ अघि धुलो खन्याएका थिए ।

उनले विगत १५ वर्षदेखि  काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको उल्लेख गर्दै काठमाडौँ महानगरले अकारण गाली खानु परेको उनले सामाजिक सञ्जालमार्फत बताएका थिए ।
बालेनको सो एक्सनप्रति डिभिजन कार्यालयले भने उनले विषयान्तर गर्न यस्तो कदम चालेको आरोप लगाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौँले शनिबार बिहान न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक खण्डमा खण्डमा सडक डिभिजनको अनुमति बिना सडकको विद्यमान क्यारिजवे घटाउने उद्देश्य अनुरूप सडकको दुवैतर्फ पिच कटर प्रयोग गरी कटिङ गरिरहेको भन्दै उक्त काम रोक्न लगाएको थियो । साथै डिभिजनले मेसिन नियन्त्रणमा लिएर राखेको थियो । सो कार्य काठमाडौँ महानगरपालिकाको कार्यालय अन्तर्गत कार्य भइरहेको जानकारीमा आएपछि आइन्दा अनुमति बिना कार्य नगर्ने सर्तमा उक्त मेसिन फिर्ता बुझाइएको थियो ।

सडकले बालेनले सोही विषयलाई विषयान्तर गरेर डिभिजनसँग सरकार नै नभएको विषयलाई कारण बनाई कानुनी राज्य उपहास गरेको दाबि गरेको छ ।

सडक डिभिजनले भनेको छ- ‘आज मिति २०८१।०२।१२ गते शनिवार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।’

डिभिजन कार्यालयले डिभिजन काठमाडौँले मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।

डिभिजनका अनुसार शुक्रवार मात्र काठमाडौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराएको छ ।

आफ्नो कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाएर यस किसिमका अराजक व्यवहार देखाए आगामी दिनमा किमार्थ सह्य नहुने सडक डिभिजन काठमाडौँले स्पष्ट पारेको छ । यसको प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।