आरके श्रीवास्तव,राैतहट,१८ गते वैशाख ।
लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघले ७ जनालाई केन्द्रीय सदस्यमा मनाेनयन गरेको छ । केन्द्रीय अध्यक्ष रामहरी तिवारीले एक पत्रजारी गरि विभिन्न जिल्लाबाट केन्द्रीय सदस्यमा मनाेनित हुनेहरूकाे नामावली सार्वजनिक गरेका हुन् ।

केन्द्रीय सदस्यमा मनाेनित हुनेहरूमा महाेत्तरीका माेतीलाल साह,विरेन्द्र महासेठ,धनुषाका भाेगेन्द्र साह,डा.अजित मिकरानी रहेका छन् । त्यस्तै सर्लाहीका गाैतम कुमार साह,सुनसरीका विजय यादव,र सिन्धुलीका नितेश चाैधरी रहेका छन् ।
लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघकाे अन्तरिम विधान अनुसार वहाँहरू मनाेनयन गरिएको अध्यक्ष तिवारीले बताएका छन् । स्वास्थ्य व्यवसायीहरूकाे हितमा मनाेनित हुनेहरूकाे कार्यकाल उपलब्धिमूलक हने विश्वास लिइएको छ ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौं,१८ गते वैशाख । २०८२
चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्लेअफ दौडबाट बाहिरिएको छ। बुधबार पञ्जाब किङ्ससँग ४ विकेटले पराजित भएपछि चेन्नई ४ खेल अगावै प्रतियोगिताबाट लगभग बाहिरिएको हो।

यो सिजन चेन्नईका लागि निराशाजनक रह्यो। पञ्जाबसँगको हारपछि उसले १० खेलमा आठौं हार बेहोर्यो। पञ्जाबले भने छैटौं जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

चेन्नईका बलरमध्ये मथिसा पथिराना र खलील अहमदले २-२ विकेट लिँदा नूर अहमद र रविन्द्र जडेजाले १-१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो। कुनै समय २०० रन नजिक देखिएको चेन्नई अन्त्यतिर लगातार विकेट गुमाउँदा ४ बल अगावै अलआउट भयो।
साम करानले सर्वाधिक ८८ रनको योगदान दिए भने डेवाल्ड ब्रेभिसले ३२, रविन्द्र जडेजाले १७ रन बनाए। १८औं ओभरमा करान आउट भएपछि क्रिजमा आएका एमएस धोनीले एक चौका र एक छक्का प्रहार गरे तर चहलको बलमा क्याचआउट भए।

त्यसपछि चहलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले ४ ओभरमा २९ रन दिँदै ४ विकेट लिए। अर्शदीप सिंह र मार्को यानसेनले २-२ तथा हरप्रीत ब्रार र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए।
जितसँगै पञ्जाब १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा पुगेको छ। चेन्नई भने १० खेलमा ४ अंक मात्र जोड्दै अंकतालिकाको पुछारमा रहेको छ।
चक्र प्रसाद पोखरेल काठमाडौंः
अन्तर्राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित समाज सुधारक, कवि, साहित्यकार महानन्द सापकोटाको वार्षिक जन्मजयन्ती भर्चुअल समारोह भव्यताले सम्पन्न गरिएको छ ।
गत शनिबार महानन्द सापकोटाको १२९ औं जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र र जर्जिया च्याप्टरको संयुक्त आयोजनामा जुममार्फत विशेष कार्यक्रम सम्पन्न भएको हो ।
अनेसास अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सापकोटाको साहित्यिक तथा समाजिक व्यक्तित्वमाथि चर्चा गरिएको थियो ।

कार्यक्रमा प्रमुख अतिथिको रुपमा प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेल रहेका थिए भने अतिथिमा पदम विश्वकर्मा, महेशप्रसाद आर्डी, तीर्थ अधिकारी, राहिनी शर्मा सापकोटा, लालगोपाल सुवेदी, रमेश दाहाललगायतका थुप्रै साहित्यकारहरुको उपस्थिति रहेको थियो । साथै महानन्द सापकोटाका परिवारका सदस्य महेश पर्साई, लुना सिटौला र डा सञ्जीव सापकोटाको समेत सहभागिता थियो ।
प्रत्येक वर्ष जस्तै अनेसास केन्द्र कार्यालय र यसको जर्जिया च्याप्टरले अप्रिल २६ मा शनिबार सापकोटाको विरासत, राष्ट्रप्रतिको योगदान र आजको समाजले उनका धेरै कार्यहरूबाट के कसरी लाभ उठाउन सकिन्छ भन्ने कुरा मनाउन उक्त कार्यक्रम आयोजना गरिएको अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले बताए ।

नेपाली भाषा साहित्यलाई माथि उठाउनमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति हुन् महानन्द सापकोटा । उनले जीवनभर नेपाली भाषाको सेवा गरिरहे । शिक्षा र चेतनाले मात्रै राष्ट्रको विकास हुने कुरा उनले बुझेका थिए । उनका साहित्यले पनि मुलुकको मौलिक चिन्तन र राष्ट्रिय भावना बोलेका छन् । प्रकृति चित्रण, राष्ट्रप्रेम र समाज सुधार उनका मुख्य विषय हुन् । कुसंस्कार कुरीति, अन्धविश्वास, असमानता एवम् लैङ्गिक र जातीय विभेद बिरुद्ध उनी लागिरहे ।
नारी उत्थान र शोषित पीडितको पक्षमा उनी सधैँ लागिरहे । समाज सुधारका लागि पनि उनी अहोरात्र खटिइरहे । मान्छे मान्छेबिच अमानवीय भेदभाव वा छुवाछुत विरुद्ध पूर्वमा चेतना जगाउने काम महानन्दले गरे । उनी जातीय अन्यायको निडर समर्थक थिए । उनी जातीय भेदभावलाई घृणा गर्थे । उनले विद्यालय बनाए र समाजले तल्लो जात ठान्ने मानिसहरूलाई भर्ना दिए । यसले उच्च जात ठान्नेहरूलाई रिस उठायो । तर यसले उनलाई कुनै फरक पारेन । उनले तेह्रथुम, इलाम, झापा, धरान, धनकुटामा जहाँ जहाँ बसे, सबै ठाउँमा विद्यालय बनाए ।

वि.सं १९५३ वैशाख ३० गते इलामको इरौँटार गा.वि.स. देवानछापमा पिता रामचन्द्र सापकोटा र आमा सरस्वतीका तेस्रो सन्तानका रूपमा जन्मिएका महानन्द सापकोटाको न्वारनको नाम जगन्नाथ हो । कसै कसैले यज्ञनिधि पनि भन्ने गरेको पाइन्छ ।
महानन्द नेपाली आकाशको एक चम्किलो तारा हुन् । नेपाल सरकारले उनको सम्मानमा हुलाक टिकट जारी गरेको छ । अन्तर्राष्ट्रिय ब्रह्माण्ड समाजले बुध ग्रहमा रहेको एउटा खाडललाई उनको नाममा सापकोटा खाडलको नाम दिएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै जर्जिया च्याप्टरका सचीव तीर्थ तिमल्सिनाले भने, ‘तत्कालीन समयमा नेपाली भाषा कम प्रयोगमा आउँथ्यो । संस्कृत र हिन्दी भाषाको बढी प्रभाव थियो । भाषाको मौलिकताका लागि झर्रो नेपाली भाषाको प्रयोगमा उनले सर्वप्रथम जोड दिएका हुन् । उनी भाषालाई सर्वमान्य बनाउन व्याकरण खुकुलो हुनुपर्छ भन्थे । आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति जिउँदो जागरुकता ल्याउने उनी पहिलो नेपाली भाषाशास्त्री हुन् ।’

त्यसैगरी प्रमुख अतिथि प्रा.डा.खगेन्द्र प्रसाद लुइटेलले महानन्दको विषयमा बोल्दै ‘म यदि महानन्दको विषमा मात्र बोलौँ भने दुई घण्टाभन्दा धेरै बोल्न सक्छु तर आज मुख्य कुरा भन्दा महानन्द एक राम्रा कवि हुन् । उनले तत्कालीन समयमा नराम्रोसँग बिग्रिएको भाषा सुधार्नमा महत्त्वपूर्ण काम गरे । मैले उनको विषयमा धेरै वर्षअगाडि नै केही कुराहरु पुस्तकमै लेखेको छु । पढ्नका लागि उमेर घटाएर पढेका महानन्दले प्रशस्त मात्रामा स्वाध्ययन गरेको पाइन्छ । समानता र शिक्षाको विषयमा पनि महानन्दले ठूलो काम गरेका छन् ।
उनी जहाँजहाँ जान्थे, त्यहाँ त्यहाँ विद्यालय खोलेर सबै समुदायका मानिसहरुलाई पढ्न पर्छ भन्ने कुरा सिकाउँथे । पछिल्लो समय उनले पुर्याएको योगदानको चर्चा कम हुन थालेको छ । सरकारले केही गरिदेला वा अन्य सस्थाहरुले केही गरिदेलान् भनेर चुप लागेर नबसी महानन्दको विषयमा एउटा संयुक्त कृति निकाल्नुपर्छ, उनका दुर्लभ पाण्डुलिपि संरक्षण गर्नुपर्छ र त्यसैलाई धेरैको हातमा पुर्याउन पनि जरुरी हुन्छ । बहुमुखी प्रतिभाका धनी महानन्दको विचारलाई अहिलेका पुस्तासामु पुर्याउनु हाम्रो जिम्मेवारी पनि हो ।’
त्यसैगरी महानन्दका नाति महेश प्रसाईले महानन्दमा अटुट मात्रामा राष्ट्रप्रेम रहेको, अशिष्ट शब्दको प्रयोगलाई निरुत्साहित गर्ने गरेको बताए । साथै नेपाली भाषा, संस्कृति जोगाउन पूर्वी नेपालमा बसेर दलित समुदायले पढ्नलेख्न हुँदैन भन्ने गलत प्रचलनलाई हटाई उक्त समुदायका सदस्यलाई पढाउन सुरु गरेको योगदानको चर्चा गरे । महात्मागान्धीको विचारबाट प्रभावित सापकोटा राष्ट्र, राष्ट्रियता, भाषा र संस्कृतिको महत्त्वलाई आत्मसात गर्दै ठुला देशको प्रभावबाट मुक्त रहनुपर्छ भन्ने स्वाभिमानी विचारबाट अभिप्रेरित भएको कुरा बताए ।
त्यसैगरी साहित्यकार पदम विश्वकर्माले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पछिल्लो समय महानन्दको जन्मजयन्ती हरेक वर्ष मनाउन पाउँदा निकै खुसी लागेको बताए । साथै उनले हाल महानन्दको सालिक बनाउन पहल भैरहेको जानकारी दिए ।
सापकोटा कल्याण केन्द्रका अध्यक्ष रमाकान्त सापकोटाले सापकोटाहरुको वंशावली तयार पार्ने क्रममा शिक्षा र साहित्यका चौतारी महानन्द सापकोटा भनी अग्रभागमा राखिएको जानकारी दिए । उनले केन्द्रका ७ शाखाहरू रहने र महानन्दलाई केन्द्रका सबै शाखाहरूमा सापकोटा वंशावलीको रत्नको रूपमा समावेश गरिने बताए ।
कार्यक्रममा डा. सञ्जीव सापकोटाले यस कार्यक्रमको उद्देश्य महानन्दलाई उजागर गर्नु मात्र नभई उनको काम र योगदानले वर्तमान पुस्तालाई कसरी फाइदा पुर्याउँछ भन्ने बारेमा छलफल गर्नु पनि रहेको बताए । उनले नेपाली शब्द परिचयको पुनर्मुद्रण गर्नु, महानन्दमाथि वृत्तचित्र बनाउनु पर्ने विचार व्यक्त गरे ।
्
महानन्दकी नातिनी लुना सिटौलाले राष्ट्रिय व्यक्तित्व (महानन्द) सँग बिताएको बाल्यकालीन सम्झना ताजा रहेको बताइन् । महानन्दले तरकारीमा मसालेदार, मासुको रूपमा लौका मन पराउँथे । उनी सधैं पढ्ने र लेख्ने गर्थे । लेख्दा उनका हात काँप्थे । सिटौलाले उहाँको आत्मकथामा प्रकशित विचार सबै पुस्ताका लागि प्रेरणादायी रहेको बताइन् ।
वरिष्ठ साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष मोहन सिटौलाले उनको साहित्यिक योगदानलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताए । साथै कार्यक्रमका अन्य वक्ताहरूले सापकोटाको सामाजिक न्याय, जातीय समानताको प्रवद्र्धनमा पुर्याएको योगदान तथा कविता र निबन्धात्मक कृतिमाथि चर्चा परिचर्चा गरे ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते वैशाख । २०८२
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले मौलापुरको चौतर्फी चर्चा हुने गरेको छ ।

मौलापुर नगरपालिकाको कार्यालयमा आज आयोजित एक विशेष समारोह मार्फत १५९ घर परिवारलाई ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम अन्तरगत ३०÷३० हजार रुपैयाको चेक हस्तानान्तरण गरिएको छ । यो कार्यक्रम अन्तरगत कानून अनुसार विवाह गर्न उमेर पुगेका छोरीहरुको विवाहमा मौलापुर नगरपालिकाले ३० हजार आर्थिक सहयोग गर्दै आएको छ ।

अहिलेसम्म हजारौं घरपरिवारले यो सेवा पाईसकेको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । मेयर साह आफै छोरीको विवाहमा सहभागि हुदै नगरपालिकाको तर्फबाट चेक हस्तानान्तरण गर्दै आएको तर कुनै कारणले सो रकम पाउन नसकेको परिवारलाई पछि बोलाएर दिने गरिएको उनले जनाएका छन् ।

‘कानून अनुसार छोरीहरुको विवाह गर्ने समयमा नगरपालिकाले ३० हजार सहयोग गर्दै आएको छ । यस अघि पनि यो सेवा हजारौं परिवारले पाईसकेका छन् । बिभिन्न कारणले छुटहुन गएका परिवारलाई आज चेक हस्तानान्तरण गरिएको हो’ साहले भने । छोरीको विवाहको बेलामा नै चेक पाउनुपर्ने तर निवेदन नदिएकाले ढिला हुन गएको, कागजी कार्य पुरा नभएको वा अन्य कारणले ढिलाई हुन गएपछि नगरपालिकाले बोलाएर नै ३० हजारको चेक दिएको विभाकुमारी पटेलले बताईन् ।
‘सबैले पाउँछन्, मैले पनि पाए । छोरीको विवाहको बेला खर्च त बढी नै हुन्छ तर नगरपालिकाले कमसेकम यती सहयोग गर्नु, छोराछोरीको पढाई, परिवारको स्वास्थ्य लगायतका बिषयमा राम्रो काम गरेकाले हामी खुशी छौं’ पटेलले भनिन् । यस्तै चेक पाउने अर्को सुनरीकुमारी यादवले मौलापुर नगरपालिकाको यस्तो काम धेरै नै राम्रो भएको बताईन् ।

‘हुन त यो सानो रकम हो । तर हाम्रो लागि ठुलो हो । हामीलाई यति सहयोग गरेर माया, स्नेह राखिराख्ने मेयर रिना दिदिलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले सधै यस्तै राम्रो काम गर्दै अगाडी बढुन हाम्रो साथसहयोग सधै नै रहन्छ’ यादवले चेक पाएपछि खुशीले गदगद हुँदै भनिन् । यस्तै अर्का सेवाग्राही ममताकुमारी यादवले समेत मेयर रिना साहको तारिफ गरे ।
‘छोरीको विवाह होस् वा मालपोत कर, कुनै प्रकारको सिफारिस । हामीले कुनै पनि किसिमको कर तिर्नुपर्दैन नगरपालिकामा । फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले हामीले खुशी छौं । म त भन्छु यि कार्यक्रम अरु पालिकाका साथै मधेस प्रदेश सरकार र हाम्रो प्रधानमन्त्री केपी ओलीजीले पनि सिकेर देशैभरी लागु गर्नुपर्छ’ यादवले भने ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहलमा ‘बेटीके साथ मेयर’ कार्यक्रमका साथै ‘फ्री बिजुली, फ्री पानी’ लगायतका महत्वपूर्ण कार्यक्रम लागु भएको छ । मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकत्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य करको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् । मधेस प्रदेशकै एक र पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । रौतहटको मौलापुरकी मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौं १७ गते वैशाख । २०८२
आम जनता पार्टी (आजपा)ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गर्दै लोक सेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ । आयोगमा ज्ञापनपत्र बुझाउदै आजपाले आफूहरुको माग सम्बोधनमा कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु लिएर सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । काठमाडौंको कमलपोखरी स्थित लोक सेवा आयोगको कार्यालयमा पुगेर आजपाका नेताहरुले आयोगका अध्यक्ष माधवप्रसार रेग्मीलाई ज्ञापनपत्र बुझाउदै यथाशिघ्र श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गरेका छन् ।

आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले आयोगका प्रमुख रेग्मीलाई ज्ञापनपत्र बुझाउदै आफूहरुको माग यथासिघ्र पुरा नगए कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आजपाको ज्ञापनपत्र बुझदै आयोग आयोगका अध्यक्ष रेग्मीले भने, ‘यो हाम्रो क्षेत्राअधिकारीभित्र पर्दैन् । सरकारले कर्मचारी मागे अनुसार हामीले विज्ञापन खुलाउने हो । तर तपाईहरुको माग जायज छ, यसका लागि म पहल गर्छु ।’ लोक सेवा आयोगले गरिब, निमुखालाई सरकारी स्थायी जागिरबाट बञ्चित गर्न नमिल्ने आजपा नेतृ रञ्जु साहले बताईन् ।
‘लोक सेवा आयोगले १२ कक्षा भन्दा माथिको मात्र बिज्ञापन गर्छ । यो गरिबसंग सरासर विभेद हो । सरकारी जागिरमा गरिबलाई निषेध गर्नु उचित होइन् । गरिबबाट काम गराउने तर स्थायी नगर्नु न्यायोचित होइन्,’आजपा नेतृ साहले भनिन् ।
सरकारी अस्थायी करार तथा ज्यालादारी संघर्ष समितिका अध्यक्ष श्याम सापकोटाले आजपाको पहलकदमी सराहनीय भएको बताए । ‘आजपाको यो कार्य हामी सबैका लागि राम्रो पहलकदमी हो । यसमा समर्थन सहित धन्यवाद छ ।’ ‘विगत लामो समयदेखी सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड (पाले), मालि, मेस्तर, हुलाकी, हलकारा,
सरसफाई कर्मचारी (स्वीपर) जस्ता श्रेणीविहिन तल्लो तहमा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी नगरिदा उहाँहरुको ग्रेड (तह) बृद्धि तथा सेवानिवृत÷पेन्सनको सुविधा वा लाभबाट बञ्चित भई दासत्वको जीवन बाच्न बाध्य हुनुपरेको छ,’ आजपाले आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका नहुँदा जागिर सुरक्षाको अभावले गर्दा मनोवैज्ञानिक तनावमा बृद्धि भई भविष्य नै अन्योल र जीवनयापन कष्टकर एवं दुर्दशापूर्ण बन्ने गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
लामो समयसम्म श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि विज्ञापन नखोलिदा आम श्रमजीवि जनता विभिन्न शोषण एवं विभेदको शिकार बन्नु परेको आजपाले जनाएको छ । ‘यस्ता कर्मचारीहरुले हाकीम तथा नेताको अनुचित चाकडी गर्नुपर्ने, निर्दिष्ट जिम्मेवारीका आलावा पनि थप अतिरिक्त सेवा गर्नुपर्ने, कथित आउटसोर्सिङको नाममा श्रम र पारिश्रमिक दुबैमा व्यापक शोषण हुने, निगाहको भरमा नातागोता, आसेपासे र
असक्षम व्यक्तिहरुले अवसर पाईराख्दा ईमन्दार र सक्षम व्यक्तिहरु अवसरबाट बञ्चित हुनुपर्ने अवहेलना, अपमान सहित विभिन्न किसिमको (शारिरीक, मानसिक, आर्थिक…आदी) शोषण एवं विभेदको शिकार हुनुपर्ने जस्ता नारकीय समस्याहरुको सामना गर्नुपर्ने परिस्थिति खडा भएको छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारकै सेवामा कार्यरत कर्मचारीहरु बीच नै अमानविय एवं आपतीजनक विभेद गर्नु गहिरो चिन्ता एवं खेदको विषय भएको आजपाले जनाएको छ ।
आजपाले श्रेणीविहिन तल्लो तहमा लामो समयदेखी कार्यरत कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने, नयाँ भर्ना भएका हकमा आन्तरिक प्रतिस्पर्धाद्धारा स्थायी गर्नुपर्ने र लामो समयदेखी पारदर्शी, स्वतन्त्र एवं निष्पक्ष नियुक्ति प्रक्रियाबाट बञ्चित आम नेपालीको हकमा यथाशिघ्र आवश्यक तयारी पुरा गरी स्थायी पदपूर्तीका लागि नयाँ विज्ञापन खुलाउन माग गरेको हो ।
‘हाम्रो न्यायोचित मागहरुलाई कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा हामी कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षति एवं परिस्थितिको सम्पूर्ण जिम्मेवारी यस आयोग र नेपाल सरकारकै हुने विषय अग्रिमरुपमा अवगत समेत गराउँन चाहन्छौं,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
देशमा प्रजातन्त्र स्थापनासंगै गठित लोक सेवा आयोगले निजामती लगायतका विभिन्न सरकारी सेवाहरुमा स्थायी पदपूर्तीका लागि क्रियाशिल रहदै आएको छ । तर पछिल्ला केही दशक यता आएर श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपूर्तीका लागि कुनै पनि विज्ञापन नखुलाएको तथा लामो समयदेखी कार्यरत कर्मचारीहरुको भविष्यप्रति कुनै चासो एवं पहलकदमी नलिएकोमा आजपाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
लोक सेवा आयोगमा ज्ञापन बुझाउदै आजपाले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सिंहदरबारलाई समेत बुझाएको प्रवक्ता साहले जनाएका छन् । श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि आयोगले विज्ञापन नखुलाउँदा ति कर्मचारीले आफ्नो दुखेसो पोख्दै आएका छन् । यस बारेमा आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसददेखी सडकसम्म आवाज उठाउदै आएका छन् ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौं १७ गते वैशाख । २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । साँझ ७ बजे आह्वान गरिएको बैठकले शिक्षक आन्दोलनका विषयमा निर्णय लिने बताइएको छ ।

सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने भएपछि बैठक बस्न लागेको हो । वार्ता आज पनि भएको थियो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकसहित शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् ।
शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
बज्जिकाञ्चल संवाददाता,काठमाडौँ , १७ गते वैशाख । २०८२
सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ।
अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको छ । पत्रमा भनिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’

नक्कली पत्रका आधारमा पक्राउ परेका रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदैछन् ।
बज्जिकाञ्चल संवाददाता, भक्तपुर,१७ गते वैशाख । २०८२
नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा परिचालन सामाजिक बैज्ञानिकका रूपमा परिचालन भएका छन् । कलेजका सिभिल इन्जिनियरिङ विभागका २० जना विद्यार्थीहरूलाई सामाजिक वैज्ञानिकको रूपमा छनोट गरिएको हो ।

उनीहरूले सरल उपकरण तथा मोबाइल प्रविधिको प्रयोगमार्फत वर्षा सम्बन्धी तथ्यांक अभाव रहेका क्षेत्रहरू र काठमाडौँ उपत्यका जस्ता अव्यवस्थित शहरी क्षेत्रहरूमा पानीको अध्ययन गर्नेछन् ।
जल स्रोतको दिगो व्यवस्थापनमा युवाहरूको भूमिका सशक्त बनाउने उद्देश्यले स्मार्टफोन फर वाटर नेपालले कलेजमा जानकारीमूलक आउटरीच कार्यक्रम पनि गरेको छ ।
क्द्धध्(नेपालका प्रमुख कार्यकारी अधिकृत डा। सञ्जीव न्यौपानेले अभियानले दिर्घकालिन जलश्रोत व्यवस्थापनमा टेवा दिने बताए । ‘यो परियोजना केवल तथ्यांक सङ्कलन मात्र होइन, युवाहरूमार्फत स्थानीय स्तरमै क्षमता विकास गर्ने अभियान पनि हो । हाम्रो प्रयासले दीर्घकालीन जल स्रोत दिगोपनामा योगदान दिनेछ ।’ न्यौपानेले भने ।
नेपाल इन्जिनियरिङ कलेजकै पूर्वविद्यार्थी समेत रहेका क्द्धध्(नेपालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेको नेतृत्वमा आयोजित कार्यक्रममा परियोजनाको लक्ष्य, कार्यविधि र दीर्घकालीन प्रभावबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख एसोसिएट प्रोफेसर रमेश खनालले बोल्दै भने, ‘हाम्रा आफ्नै पूर्वविद्यार्थी यस्ता सकारात्मक कार्यमा अगाडि देखिनु गर्वको विषय हो । यस्ता कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरूले व्यवहारिक ज्ञान प्राप्त गर्ने मौका पाउँछन्, जुन भविष्यमा उनीहरूको काममा उपयोगी हुन्छ ।’
छनोट गरिएका विद्यार्थी तथा सामाजिक वैज्ञानिकहरूलाई तथ्यांक संकलन विधिबारे अभिमुखीकरण गरिएको छ । क्द्धध्(नेपालले नागरिक वैज्ञानिकतालाई प्रोत्साहन गर्दै नेपालमा जल स्रोतसम्बन्धी अनुसन्धान र व्यवस्थापन प्रणालीमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा लिएको छ ।
बज्जिकाञ्चल संवाददाता, १६ गते वैशाख । २०८२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चितवनको सचिवमा रामप्रसाद ढकाल निर्वाचित भएका छन । उमेरले मात्रै २४ टेकेका उनी लोसपाको जिल्ला सचिवमा सर्बसम्मत निर्वाचित भएका हुन ।

चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न जिल्ला भेलाबाट अध्यक्षमा किशोर मण्डल चयन भएका छन । त्यस्तै उपाध्यक्षमा राधा पराजुली, सहसचिवमा सूर्यबहादुर भुजेल, ओमप्रसाद सिम्खडा र कोषाध्यक्षमा राजु भुजेल चयन भएका नवनिर्वाचित सचिब ढकालले जानकारी दिए ।
जिल्ला भेला लोसपाका केन्द्रिय सदस्य सुजनबाबु भट्टराई र हुमकला शर्माको बिशेष उपस्थितीमा सम्पन्न भएको हो । दुबैजना केन्द्रिय सदस्यले नवनिर्वाचित कमिटिलाई बधाई दिदै सशक्त भएर काम गर्न निर्देशन दिएका छन ।
राजिव साह,सर्लाही, १६ गते वैशाख । २०८२
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य तथा सर्लाही क्षेत्र नं. १ का सांसद उपेन्द्र महतोको विशेष पहलमा इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका विभिन्न स्थानहरूमा टावर बत्ती जडान गरिएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न यो योजनाले साँझपख अँध्यारोमा डुब्ने गाउँहरूलाई उज्यालो बनाइदिएको छ।

स्थानीयबासीहरूका अनुसार टावर बत्तीको जडानले गाउँ नै उज्यालो बनेको छ, जसले सुरक्षा र आवागमनमा सहजता ल्याएको छ। इश्वरपुर नगरपालिकाका ९ स्थान र चन्द्रनगर गाउँपालिकाका ९ स्थान जम्मा १८ स्थानमा टावर बत्ती जडान गरिएको प्रदेशसभा सदस्य महतोले जानकारी दिनुभयो।
महतोले भन्नुभयो, “बत्तीको व्यवस्था केवल उज्यालो मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि हो। हामी आगामी दिनहरूमा अझ धेरै स्थानमा यस्ता विकास योजनाहरू अघि बढाउँदैछौं।”
स्थानीय जनप्रतिनिधिहरू तथा सर्वसाधारणले प्रदेशसभा सदस्य महतोको यो प्रयासको प्रशंसा गर्दै आगामी दिनमा यस्ता विकास निर्माणका कार्य निरन्तर भइरहने विश्वास व्यक्त गरेका छन्।
