२०८३ बैशाख २७
२०८३ बैशाख २७

काठमाडौँ । जारी युरोकपमा अस्ट्रियाविरुद्धको खेलमा नाक फ्याक्चर भएपछि किलीयन एम्बप्पेले मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रान्सले १-० गोलले जितेको खेलमा एम्बाप्पेको नाकमा चोट लागेको थियो । खेलपछि उनको नाक फ्याक्चर भएको पाइएपछि अब उनले बाँकी खेल मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रेन्च फुटबल फेडेरेसनले तत्काल एम्बाप्पेको नाकको कुनै सर्जरी नहुने स्पष्ट गर्दै उनकोलागि मास्क बनाइने बताएको छ ।

फेडेरेसनले अहिले उनको नाकको उपचार जारी रहेको र उनी मास्क लगाएर खेल्ने जानकारी दिएको छ ।

फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्ड फ्लूबाट आउन सक्ने दाबी गरेका छन् ।

बेलायतको मिडिया हाउस इन्डिपेन्डेन्टका अनुसार एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा रोबर्ट रेडफिल्डले कोरोनाभन्दा बर्ड फ्लुको मृत्युदर बढी रहेको बताए । उनले कोरोनामा मृत्युदर ०.६ प्रतिशत रहेको बताए भने यो दर २५ देखि ५० प्रतिशत रहेको बताए ।

चिकित्सकका अनुसार बर्ड फ्लुको एच५एन१ भाइरस मानिसमा फैलिरहेको छ । एच५ एच५ एन१ ले १० मध्ये ६ जनाको ज्यान लिन्छ । यद्यपि, रोबर्ट रेडफिल्डले बर्ड फ्लू कहिले महामारीमा परिणत हुन्छ भनेर भने भनेनन् ।

बर्ड फ्लू के हो?

बर्ड फ्लु इन्फ्लुएन्जा भाइरसबाट हुने संक्रमण हो । यो सामान्यतया चरा र जनावरहरूमा फैलिन्छ । कहिलेकाहीँ यो संक्रमित जनावरहरू मार्फत मानिसमा पनि फैलिन सक्छ । बर्ड फ्लूका धेरै प्रकारहरू धेरै घातक हुन्छन् । यद्यपि, एच ९ एन २ को मामलामा धेरै गम्भीर समस्याहरू देखिएका छैनन् ।

इन्फ्लुएन्जा भाइरस चार प्रकारका हुन्छन्, इन्फ्लुएन्जा ए, बी, सी र डी । यी धेरैजसो एभियन इन्फ्लुएन्जा भाइरसहरूले मानिसहरूलाई संक्रमित गर्दैनन् । तर, मानिसमा ए (एच ५ एन १) र ए (एच ७ एन ९) बाट संक्रमित हुने जोखिम हुन्छ । अब ए (एच ९ एन २ ) नयाँ खतराको रूपमा देखा परेको छ।

बर्डफ्लुका लक्षणहरू-

बर्डफ्लुले सबैभन्दा बढी श्वासप्रश्वास प्रणालीलाई असर गर्छ । यसका प्रमुख लक्षणमा खोकी लाग्ने, पेट खराब हुने, डायरिया हुने, श्वास फेर्न मुश्किल हुने, ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने, थकान या कमजोरी महसुस हुने, नाकबाट सिगान आउने र गलामा चिलाउने, आँखा रातो हुने जस्ता लक्षणहरू देखिन्छन् ।

बर्ड फ्लू कसरी सर्छ?

बर्डफ्लु चराहरूमा पाइने इन्फ्लुएन्जा भाइरसबाट सर्छ। अहिलेसम्म यो एक व्यक्तिबाट अर्को मानिसमा सरेको कुनै घटना भएको छैन। तैपनि, विज्ञहरू डराउँछन् कि कुनै पनि समयमा एक उत्परिवर्ती उत्पन्न हुन सक्छ जुन मानिसबाट मानिसमा फैलिन सक्छ।

बर्ड फ्लू कति खतरनाक छ?

मानिसमा एभियन इन्फ्लुएन्जा भाइरसको पहिलो केस सन् १९९७ मा हङकङमा भेटिएको थियो । यो एच ५ एन १ थियो र यसको मृत्यु दर लगभग ६० प्रतिशत थियो, जसको मतलब १० मध्ये ६ जना यसबाट प्रभावित भएका थिए । क्लिभल्याण्ड क्लिनिकका अनुसार बर्ड फ्लू अहिलेसम्मकै सबैभन्दा घातक रोगहरू मध्ये एक हो । संसारमा यसको मृत्यु दर ५० प्रतिशत भन्दा बढी छ । यसको अर्थ बर्डफ्लुबाट संक्रमित १० जनामध्ये ५ जनाको मृत्यु हुन्छ ।

बर्ड फ्लुको नयाँ संस्करण, एच ९ एन २, जसको बारेमा हामीले कुरा गरिरहेका छौं, चराहरूमा मृत्युदर लगभग ६५ प्रतिशत छ । अहिलेसम्म मानिसमा यस्ता धेरै घटनाहरू देखिएका छैनन् । फेला परेका केसहरूमा, यो धेरै घातक साबित भएको छैन ।

बर्ड फ्लुको जोखिम कारक के हो?

इन्फ्लुएन्जा भाइरस धेरै दिनसम्म बाँच्न सक्छ । एच९ एन २ बाट संक्रमित चराहरूले १० दिनसम्म मल र र्याल मार्फत भाइरस फैलाउन सक्छ । संक्रमित सतहहरू छोएर पनि संक्रमण फैलन सक्छ । खासगरी कुखुरा पालक किसान, संक्रमित क्षेत्रम जाने व्यक्ति, संक्रमित पन्क्षीको सम्पर्कमा आएको व्यक्ति, कुखुराको मासु र अन्डा खाने व्यक्ति, संक्रमित विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सम्पर्क व्यक्तिका परिवार यसको संक्रमणमा आउन सक्छन ।

बर्डफ्लुबाट बच्न केहि सावधानी अपनाउन सकिन्छ । जसमा वान्य्जिव क्षेत्र वा पन्क्षी विहार जान बन्द गर्ने, विमार र मृत पन्क्षीलाई छुनबाट बच्ने, खानुभन्दा अगाडी कुखुराको मासु र अण्डालाई राम्रोसँग पकाउने,  पन्क्षीको नजिक गएपछि हात सेनेटाइज गर्ने, पोल्ट्री बजार वा पोल्ट्री फार्म जानबाट बच्ने र हात नधोई अनुहार तर्फ नछुने जस्ता सावधानी अपनाउन सकिन्छ । न्युज कारखाना

काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता अक्षय कुमार बक्स अफिसमा लगतार फिल्म फ्लप भएपछि हित फिल्मको खोजीमा रहेका छन् ।

उनको अघिल्लो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ ले बक्स अफिसमा खराब प्रदर्शन गरेको थियो । यस फिल्मले भारतीय बक्स अफिसमा ५९ करोड मात्र कलेक्सन गरेको थियो । ठुलो बजेटमा बनाइएको बनिएको यो फिल्म फ्लप भएको थियो । यस फिल्मको बजेट साढे ३ सय करोड भारु रहेको बताइएको छ ।

यसअघि उनको २०२३ को अक्टोबरमा रिलिज भएको ‘मिशन रानीगञ्ज’ पनि फ्लप भएको थियो । यस फिल्मले बक्स अफिसमा केवल ३३ करोड मात्र कमाई गरेको थियो । यो फिल्मले पनि आफ्नो लागत उठाउन सकेन । यसको लागत ५५ करोड भारु बताइएको छ ।

त्यसैगरी २०२३ को फेब्रुअरीमा रिलिज भएको फिल्म सेल्फी पनि फ्लप भएको थियो । करिब सय करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा केवल २३ करोड मात्र कमाएको थियो ।

त्यस्तै २०२२ को अक्टोबरमा रिलिज भएको अक्षयकुमारको रामसेतु पनि बक्स अफिसमा फ्लप भएको थियो । १५० करोडको लागतमा बनेको यो फिल्मले केवल ९२ करोड मात्र कमाएको थियो ।

यसरी लगातार फिल्म फ्लप भएपनि उनका नयाँ फिल्म आउने क्रम रोकिएका छैनन् । अक्षय कुमारको आगामी फिल्महरूमा ‘सरफिरा’, ‘खेल खेल में’, ‘वेलकम टु द जङ्गल’ र ‘स्काई फोर्स’ समावेश छन् । त्यस्तै उनी ‘सिंघम अगेन’ मा पनि देखिनेछन्, तर फिल्म मुख्यतया अजय देवगनको चरित्रको वरिपरि घुम्ने भएकाले यसमा उनको भूमिकाका लागि क्रेडिट पाउने सम्भावना देखिदैन ।

सिरफिरा

‘सरफिरा’ जुलाई 12 मा रिलीज हुनेछ । यो फिल्म सूर्या स्टारर फिल्म ‘सूरराई पोत्रु’ को हिन्दी रिमेक हो । यो फिल्म पनि सुधा कोंगाराले नै निर्देशन गरेकी थिइन् भने हिन्दी रिमेक पनि उनले नै निर्देशन गरेकी हुन् । ‘सराफिरा’ मा अक्षय कुमारसँगै राधिका मदान र परेश रावल पनि देखिनेछन् । यो फिल्मले कमल हसनको ‘इन्डियन २’सँग प्रतिस्पर्धा गर्नेछ ।

खेल खेल मे

अक्षय कुमारको अर्को फिल्म ‘खेल खेल मे’ अगस्त १५ मा रिलिज हुदै छ । यस फिल्ममा तापसी पन्नु, वाणी कपूर, फरदीन खान र आदित्य सिलले पनि अभिनय गरेका छन् । यो कमेडी फिल्म हो । यो फिल्मको अगाडिको चुनौती कम छैन, किनकि जोन अब्राहमको ‘वेद’ र राजकुमार राव र श्रद्धा कपूरको ‘स्त्री २’ सँगै रिलिज हुँदैछ ।

स्काई फोर्स

अक्षय कुमारको ‘स्काई फोर्स’ अक्टोबर महिनामा रिलिज हुँदैछ । यो फिल्मलाई सन्दीप केलवानीले निर्देशन गरेका हुन् । यो एक एक्सन फिल्म हो, जुन भारतीय सेनाले गरेको पहिलो हवाई हमलामा आधारित छ । यो अक्टोबर २ मा रिलीज हुने यस फिल्ममा अक्षय कुमारका अलावा वीर पहाडियाले पनि काम गरेका छन् ।

वेलकम टू द जंगल

‘वेलकम टु द जंगल’ वर्षको अन्तिम महिना अर्थात डिसेम्बरमा रिलिज हुनेछ । जसलाई अहमद खानले निर्देशन गरेका हुन् । यो कमेडी फिल्म हो, जुन ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो भाग हो । ‘वेलकम टु द जङ्गल’ मल्टिस्टार फिल्म हो, जसमा अक्षय कुमार बाहेक अर्शद वारसी, लारा दत्त, जोन अब्राहम, परेश रावल, रविना टण्डन र दिशा पटानी लगायतका कलाकारहरु देखिनेछन् । तर, मिडिया रिपोर्टका अनुसार यो फिल्मको रिलिज मिति परिवर्तन गरेर २०२५ मा धकेलिन सक्ने बताइएको छ ।न्युज कारखाना

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीतिक क्रियाकलापमा बढी सक्रिय हुने, नियमित विद्यालयमा उपस्थित नहुने, विद्यार्थीलाई पर्याप्त ज्ञान प्रदान गर्न अल्छी गर्ने आरोप खेप्दै आएका छन्।

तर, कैलालीको धनगढी उपमहानगरपालिका- १२ जुगेडामा रहेको श्री दुर्गा आधारभूत विद्यालय भने शैक्षिक गुणस्तर अभिवृद्धिमा फड्को मार्दै गइरहेको छ। विद्यालयका प्रअ मोहन भण्डारी विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्नेमा तल्लीन देखिन्छन्।

भण्डारीको सक्रियतामा शैक्षिक गुणस्तर अभिवृद्धि मात्र भएको छैन, विद्यार्थी संख्या पनि बढ्दै गइरहेको छ। विद्यालयमा वालविकासदेखि ८ कक्षासम्म पठनपाठन हुन्छ। वालविकासदेखि १ कक्षासम्म अंग्रेजी माध्यम र २ देखि ८ कक्षासम्म नेपाली माध्यममा पठनपाठन भइरहेको भण्डारीले बताए।

भण्डारी २०७७ सालमा विद्यालयको प्राचार्यमा नियुक्त भएका हुन्। उक्त समयमा विद्यालयमा भौतिक पूर्वाधारको कमी हुनुका साथै विद्यार्थी संख्या न्यून थियो। यी दुवै कुराले भण्डारीलाई पोलिरहेको थियो। उनी भौतिक संरचना र विद्यार्थी संख्या कसरी बढाउन सकिन्छ भन्नेमा चिन्तित थिए।

प्रअ भएको चार वर्षमा उनले विद्यार्थी संख्या दोब्बर पारेको बताए। ‘म प्राचार्य भएर आइसकेपछि यो चार वर्षमा विद्यार्थी संख्या दोब्बर पारेका छौं। अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेका छौं। यसलाई माथिल्ला कक्षामा बढाउँदै लैजाने योजना छ,’ भण्डारीले भने।

अहिले विद्यालयमा भौतिक संरचना पनि पर्याप्त रहेको उनले बताए। ‘पहिले विद्यार्थीलाई कहाँ राख्ने समस्या खेप्दै आएका थियौं। अहिले ८ कोठे र ४ कोठे दुई नयाँ पक्की भवन बनेका छन्। दिवा खाजाका लागि छुट्टै भान्सा,  वालउद्यान, सरस्वतीको मन्दिर र सवारी पार्किङ स्थल छ। स्कुलको वरिपरि पर्खाल निर्माण गरिएको छ। यसरी हेर्दा हामी पूर्ण व्यवस्थित बन्दै गएका छौं,’ उनले भने।

अहिले आफ्नो विद्यालयमा शैक्षिक जनशक्तिको अभाव हुन नदिनका लागि तीन जना निजी स्रोतबाट राखेर भए पनि विद्यार्थीहरूको पठन पाठनमा बाधा नपुग्नेगरी शिक्षा प्रदानको काम भइरहेको उनले बताए।

‘तीन जना निजी स्रोतसहित हामी १३ जना शिक्षकले  १२ ओटा कक्षालाई अध्यापन गराइरहेका छौं। अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था गर्दा विद्यालयमा विद्यार्थी आकर्षण बढ्दो छ। हामीले सबै शिक्षकलाई सक्रिय पारेका छौं। अंग्रेजी माध्यमको पठन पाठन सुरु गर्नका लागि शिक्षकलाई आवश्यक तालिम प्रदान गरेका थियौं। बेला बखतमा शिक्षकका लागि विभिन्न खाले तालिमको व्यवस्थापन र पहल गरिरहेको हुन्छु,’ उनले भने।

सामुदायिक विद्यालयमा राजनीति बढी हुने र शिक्षकले अध्यापनमा ध्यान नदिने कुरा उठ्ने गरेको प्रति भने भण्डारी सन्तुष्ट देखिन्नन्। समुदायबाट नै विद्यालय व्यवस्थापन समिति हुने र स्थानीय जनप्रतिनिधिले नियमित निगरानी गर्ने भएकाले पनि शिक्षकले लापरबाही गर्न नपाउने र नसक्ने उनको भनाइ छ। अन्य विद्यालयको बारेमा धेरै कुरा जानकारी नभए पनि आफ्नो विद्यालयमा राजनीति र अन्य कुनै बहानाको छायासम्म पर्न नदिएको उनको दाबी छ।

‘विद्यालय र शिक्षकलाई विभिन्न आरोप लगाउनुभन्दा सरकारले समय सापेक्ष पाठ्यक्रम परिमार्जन गर्नुपर्छ। आवश्यक सामग्री उपलब्ध गराउनु का साथै अभिभावक शिक्षा कार्यक्रम गर्नुपर्छ। हामी कुनै कुरामा कम छैनौं। स्कुलसँग पर्याप्त स्रोत हुँदैन। सरकारबाट आवश्यक सामग्री र तालिम प्राप्त हुँदैन,’ उनले भने, ‘सामुदायिक विद्यालयमा शिक्षकले तलब बाहेक कुनै सुविधा पाउँदैनन्। ५० वर्ष पहिले  दिने गरेको मासिक प्रअ भत्ता प्रावि २००, निमावि ३००, र मावि ५०० अहिले २०८१ सालसम्म उही नै छ। त्यस्तै २०२८ सालको शिक्षा ऐनबाट नै शिक्षा चलिरहेको छ। मासिक रूपमा सरकारले तलब भत्ता दिन सकेको छैन।  यस्ता हामीले थुप्रै समस्या खेप्दै आएका छौं।’

उनले हाल कक्षा कोठामा विद्यार्थीका लागि आवश्यक पार्ने शैक्षिक सामग्री निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताए। वार्षिक क्यालेन्डर बनाएर नै पठन पाठन र अतिरिक्त क्रियाकलाप थालिएको उनको भनाइ छ। ‘विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप, शिक्षकहरूलाई विभिन्न तालिम, सरसफाइ, समूह विभाजन गरेर विभिन्न क्रियाकलापमा विद्यार्थीको सहभागितालगायत काम गरिरहेका छौं,’ उनले भने।

यस पटक ८ कक्षाको नतिजा पनि ५२ प्रतिशत दिन सफल भएको उनले बताए। त्यसलाई बढाउँदै लगेर शतप्रतिशत नतिजाको लक्ष्यमा आफूहरू रहेको उनले बताए। ‘त्यसका लागि हामीले अहिलेदेखि नै अतिरिक्त कक्षा प्रदान गरिरहेका छौं। बिदाको समयमा पनि थप कक्षा सञ्चालनको योजना बनाएका छौं। त्यसका लागि विद्यार्थी, अभिभावक र शिक्षकसँग सहयोगका लागि अनुरोध गरेका छौं,’ उनले भने।

राज्यले समय सापेक्ष र गुणस्तरमुखी कार्यक्रम ल्याएर सहयोग गरेमा आफूहरू जस्तो सुकै शिक्षा प्रदान गर्न पनि तयार रहेको उनले बताए।न्युज कारखाना

काठमाडौँ । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट  राजीनामा दिने भएका छन् । हालै सम्पन्न निर्वाचनमा राहुलले  उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउबाट चुनाव जितेका थिए

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन् । यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ ।

समाचार एजेन्सी एएनआईलाई अध्यक्ष खड्गेले भने- ‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानून अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौं कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ ।’

राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताए । राहुल गान्धीले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताएका छन् ।न्युज कारखाना

 

महोत्तरी, ४ असार

सर्पको राजधानी भनेर चिनिने बर्दिवास नगरपालिका-३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ।

सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको नि:शुल्क उपचार गरिने वडाध्यक्ष बिराट विष्टले बताए।

सोमबार गौरिडाडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट बन्चित नहुने उनले बताए। सोही कार्यक्रममा पारम्भिक चरणमा ३० हजार बराबरको औषधि र स्वास्थ्य सामाग्रीसमेत वितरण गरिएको छ

वडावासीको चाहना बमोजिम सर्पदंश उपचार नि:शुल्क गरिएको उन्को भनाई छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले अध्यक्ष विष्टले गरेको निर्णय निक्कै सकारात्मक भएको बताउँदै अन्य वडाले पनि यसबाट सिक्नुपर्ने धारणा राखे।

वडा नम्बर ३ मा मात्र झण्डै १३ हजार मानिस बसोबास गर्छन् ।न्युज कारखाना

काठमाडौँ

नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ । सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आम जनताको जीवनस्तरमा फरक पर्ने कम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नयाँ पार्टीले सरकारमा गएको सय दिनमा के गरे भन्ने प्रश्न आम रुपमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त आफ्नो सय दिनको कामको विवरणमा नराम्रो काम केहि नगरेको र नियमित काम मात्र गरेको स्पष्ट रुपमा बताए । गृहमन्त्री बाहेक रास्वपाका अन्य मन्त्रीले पनि सोचे जस्तो र देखिने गरि काम गर्न नसकेपछि आम स्तरबाट आलोचना शुरु भएको छ ।

गृहमन्त्री लामिछाने यस अवधिमा शुरु देखि नै सहकारी प्रकरणले घेराबन्दीमा परेको देखियो । न त उनले यसको कडा प्रतिवाद गरेर आफु निर्दोष छु भन्ने साबित नै गरे न त उनीमाथि ठोस छानबिन हुने संकेत नै देखिएको छ । स्पष्ट रुपमा भन्दा उनी आफ्नो बचाउमा बालकोट र बालुवाटार गर्दैमा सय दिन बिताए । त्यस्तै सत्ता साझेदार एमाले र माओवादीले भने लामिछानेको कमजोरीको फाइदा उठाउदै उनको विषय स्पष्ट छानबिन पनि नगर्ने र आफुहरु साथमै रहेको आभास पनि दिइरहने काम गरे । यसले रास्वपाको २१ मतलाई आफ्नो पक्षमा राखिराख्ने र अन्यथा भए लामिछानेमाथि कुनै पनि बेला छानबिन पनि गर्न सकिने अवस्था कायम राख्न उनीहरु सफल भएको देखियो । यो अवस्था अहिले पनि रहेको छ । रास्वपा पार्टीको रुपमा प्रयोग भयो, जसबाट उसले नत जनताको पक्षमा काम गरेको देखाउन सक्यो न त राजनीतिक फाइदा उठाउन सक्यो । सत्ताको चक्रमा अहिले लामिछाने आफिया फसेको जस्तो देखिएका छन् ।

त्यस्तै अर्का रास्वपाबाट खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठले पनि खेलकुद क्षेत्रमा खासै काम गर्न सकेको देखिएको छैन । उनकै कार्यकालमा नेपालले दशरथ रंगशालाको मान्यता गुमायो र नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल बाहिर खेल्नु पर्यो । यसमा उनी निरिह जस्तै देखिए । हुन त दशरथ रंगशालाको पूर्वाधार बिग्रनुमा उनको भूमिका छैन तर पनि घटनाक्रमलाई आफ्नो हातमा लिएर उनले नेपालमै खेल हुने वातावरण बनाउनु पर्नेमा त्यस्तो गर्न नसकेको देखियो । त्यस्तै क्रिकेटमा नेपालले पाउदै गरेको सफलता अनुसार पूर्वाधार नभएको अवस्थामा अहिलेसम्म पनि स्टेडियम बनाउने, एकेडेमी बनाउने विषय कागजमै सिमित छन् । यसमा ठोस काम अहिलेसम्म पनि अगाडी बढाउन सकेको देखिदैन । मन्त्री श्रेष्ठले देखिने गरि गरेको काम लामो समयदेखि खेलाडीले नपाएको पुरस्कार रकम वितरण गरेका छन् । यसका लागि उनलाई जस जान्छ ।

त्यस्तै रास्वपाका अर्का मन्त्री डोलप्रसाद अर्यालले पनि सोचे अनुसार काम देखाउन सकेका छैन । उनले श्रमधान कार्यक्रम शुरु गरेपनि त्यसको स्पष्ट खाका र विश्वस्त हुने आधार देखिदैन । अलिकति प्रचार मुखी देखिएको कार्यक्रमले रोजगारमा ठोस भूमिका खेल्छ भनेर विश्वास गर्न सकिन्छ ।

त्यसैगरी शिक्षामन्त्री सुमन श्रेष्ठले केहि सुधारका काम गर्न खोजे पनि उनी उत्तिकै विवादमा पनि परिरहेकी छन् । उनले शिक्षकलाई राजनीतिबाट बाहिर राख्ने महत्वपूर्ण कदम चाल्न खोजेकी छन् तर सत्ता समीकरणमै रहेका प्रमुख दलको साथ पाउन सकेकी छैनन् । तुलनात्मक रुपमा रास्वपाका मन्त्रीहरु मध्ये सुमनाले काम गर्ने खोजेको देखिन्छ ।

रास्वपाले आफ्नो बाचा पत्रमै भ्रष्टाचारका फाइल खोलिने र ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, ‘बेटी पढाउ, बेटी बचाउँ’ का लागि साइकल खरिद काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड, बुढीगण्डकी जलविद्युत आयोजना काण्डलाई विशेष प्राथमिकता दिने उल्लेख छ ।  तर अहिले देशको गृहमन्त्री रहेका लामिछानेले आफ्नो बाचा पत्र बिर्सेका छन् । उनले फाइल खोल्ने कुरा त गर्छन् तर आफ्नो पार्टीको बचापत्रमा भएका काण्ड बारे फर्केर हेरेको पनि देखिदैन ।

यसरी सय दिनमा रास्वपा सहकारीको वरिपरी घुमिरहेको र आफ्नो बचाउमै समय खर्चेको देखिन्छ । कम्तिमा गृह, खेलकुद, श्रम र शिक्षामा आफुले चुनाव अघि गरेका बाचालाई टेबुलमा राखेर काम शुरु मात्र गरेको भएपनि केहि हुदै छ भन्ने आधार हुने थियो । सभापतिले नै नराम्रो काम नगर्नुनै उपलब्धि हो भन्दै सत्ता संचालनमा कमजोर देखिनुले नयाँप्रतिको वितिष्णा बढ्ने भरोसा टुट्ने अवस्था बनेको छ ।न्युज कारखाना

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज विनियोजन विधेयकका विभिन्न शिर्षक माथिको छलफल जारी रहने छ ।

आज तीन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।का विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् ।

त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल जारी रहने र विभिन्न सांसदहरुले निम्न बमोजिम खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको संसदि सचिवालयले जानकारी दिएको छ ।

१- डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

२- सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३- सांसद बुद्धिमान तामाङले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४- सांसद रोशन कार्कीले “विनियोजन विधेयक, २०८१ अर्न्तगत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५- सांसद राजेन्द्र प्रसाद लिङदेनले “विनियोजन विधेयक, २०८१ अर्न्तगत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

६- सांसद ज्ञानबहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अर्न्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

७- संसद ध्रुवबहादुर प्रधानले “विनियोजन विधेयक, २०८१ अर्न्तगत राष्ट्रिय योजना आयोग शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

८- सांसद विना लामाले “विनियोजन विधेयक, २०८१ अर्न्तगत उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।
न्युज कारखाना

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। प्रतिनिधिसभामा सरकारले संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहेको छ।

मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सो मन्त्रालयअन्तर्गतका राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

मंगलबारको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ।

बैठकमा सांसद अमरेशकुमार सिंह, प्रेम सुवाल, बुद्धिमान तामाङ, रोशन कार्की, राजेन्द्रप्रसाद लिङदेन, ज्ञानबहादुर शाही, ध्रुबबहादुर प्रधान र विना लामाले खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।न्युज कारखाना

काठमाडौँ । जारी युरोकपमा बेल्जियम पहिलो खेलमै स्लोभाकियासँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभाकियाको जितमा खेलको सातौँ मिनेटमा इभान चरान्जले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो । यस खेलमा बेल्जियमले पाएका कैयौं अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो ।

यो हारले बेल्जियम नकआउट चरणमा जाने बाटो कठिन बनेको छ ।

समुह इ अन्तर्गत अब बेल्जियमले अर्को खेल जुन २३ मा रोमानियाविरुद्ध खेल्ने छ । त्यस्तै बेल्जियम जस्तो बलियो टिमलाई हराएर महत्वपूर्ण ३ अंक बटुलेको स्लोभाकियाले अर्को खेल जुन २१ मा युक्रेनविरुद्ध खेल्ने छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।