२०८३ बैशाख २७
२०८३ बैशाख २७

आरके श्रीवास्तव,रौतहट,०४ गते असार ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ को आज वडा भेला सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागि गरुडा नगरपालिका अन्तर्गत वडा नम्बर ५ ले वडा परिषद सकाएको छ । सो वडाले आगार्मी वर्षका लागि नगरपालिकाको बजेट अनुसारको योजना छानेको हो ।
मंगलवार आगामी आर्थिक बर्षका लागि योजना छनौट सहित बजेट बिनियोजनका लागि वडा परिषद गरिएको हो । गरुडा नगरपालिका अन्तर्गत वडा नम्वर ५ ले ५० लाख बराबरको योजनाहरु वडा परिषदबाट छनौट गरेको वडा अध्यक्ष रामबिनोद साहले जानकारी गराएका हुन् ।
उनले भने,यसपालिको वडाको बजेटमा कृषि र शिक्षालाइ विशेष जोड दिएका छौं । गत वर्ष १ करोड ८९ लाखको काम गरेको जानकारी गराए । यस वर्ष किसानहरु लक्षित कृषि मिटरको विजुली बिल वडाले तिरिदिने बताए । यस्तै वडामा रहेको ६ वटा सामुदायिक बिधालयको लागि आवश्यक बजेट विनियोजन गरिएको बताए ।

आफनो वडामा रहेको प्रसिद्ध शिवनगर महादेव मन्दिरका लागि पनि बजेट छुुट्टयाइएको उनको भनाइ छ । यस्तै स्वास्थ्य क्षेत्रलाइपनि प्राथमिकतामा राखिएको बताए । वडाको बजेटमा समावेश गर्न नसकिएका बिभिन्न योजनाहरु बजेट ब्यवस्थापनका लागि नगरपालिका, प्रदेश र संघीय सरकारका सम्वन्धित निकायहरुमा सिफरिस गरी पठाईने वडाध्यक्ष साहको भनाई रहेको छ ।
सो वडा परिषदको अवसरमा गरुडा नगरपालिकाका मेयर प्रत्यासी द्धय ब्रिजकिशोर यादव, विपिन जयसवाल,वडा सदस्यहरु वडामा क्रियाशिल राजनीतिक दल, बुद्धिजिवी, पत्रकार, संघ संस्थाका प्रतिनिधी, स्वास्थ्यकर्मी, शिक्षक र वडावासीको उपस्थिती रहेको थियो ।

 

 रौतहट ४ असार । रौतहटस्थित आफ्नै जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एकजना प्रहरीको फन्दामा परेका छन् ।

जेठी श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा राजापुर नगरपालिका ५ मदनी चौक बस्ने फिदा हुसैन लहेरीको छोरा बर्ष ३४ को मसुद आलम लहेरिलाई प्रहरीले पक्राउ गरेको हो । लहेरीमाथि ज्यान सम्बन्धी मुद्दा कर्तब्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

लहेरीले गत जेठ ३२ गते आफ्नै फुसको छाना भएको घरमा सुतिरहेकी अवस्थामा बिहान साढे ४ बजेको समयमा जेठी श्रीमती बर्ष ३७ की नजाबुन नेसाको लहेरीले घाँटी थिचेर हत्या गरेका थिए ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट एकजना प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरिलाई सोधबुझ गर्दा उनले हत्या गरेको स्वीकार गरेको  जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
न्युज कारखाना

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा रोकिएको छ ।

आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड  ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले, विन नेपाल  लघुवित्तको ६.२०, दिव्यश्वरी हाइड्रोपावरको ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा बरुण हाइड्रोपावरको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ । यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९-९ करोड मूल्य बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् ।

जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेर ५१ जनालाई बचाएको बताएको छ ।

चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ जसमध्ये २६ बालबालिका रहेको आशंका गरिएको छ ।

यो डुङ्गा लिबिया र टर्कीका आप्रवासीहरू लिएर गएको संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् ।

लाम्पेडुसा नजिकै दुर्घटनामा परेका जहाजबाट उद्धार गरिएका मानिसहरूलाई इटालियन कोस्ट गार्डलाई हस्तान्तरण गरिएको छ र मृत्यु भएकाहरूलाई समुद्र तटमा पठाइएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसङ्घको मानवअधिकार सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बाल निकाय युनिसेफले एक संयुक्त विज्ञप्तिमा “लिबियाको तटबाट निस्किएको यो जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका मानिसहरू सवार थिए’ भनेका छन् ।

भूमध्यसागर संसारको सबैभन्दा खतरनाक मार्गहरू मध्ये एक मानिन्छ । संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१४ यता यस रुटमा २३ हजार ५०० व्यक्ति या त मरेका वा बेपत्ता भएका छन् ।न्युज कारखाना

 

४ असार, महोत्तरी 

आर्थिक बर्ष २०७९/८० मा महोत्तरीको बर्दिवास नगरपालिकाले स्वभाविक खर्च गरेको देखिएको छ ।
माहालेखा परिक्षकको रिपोर्टले आधारहरु पुष्टि नहुनेगरी गरिएको खर्चलाई अनियमित र सैद्धान्तिक बेरुजुकोको रुपमा प्रस्तुत गरेको छ ।

दरबन्दी बाहिर जताभावी कर्मचारी भर्ना गरेर खर्च

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८३(८) मा स्थानिय तहले कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ ।

तर महोत्तरीको बर्दिवास नगरपालिकाले दरवन्दी बाहिरको करार कर्मचारी नियुक्त गरि १ बर्षको अवधीमा २३ लाख ५८ हजार ६ सय ६३ रुपैया अनियमित गरेको खुलासा भएको छ ।

माहालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको रिपोर्टअनुसार कानुनी सल्लाहकार समेत नियुक्त गरि उक्त रकम अनियमित भएको ठहर गरेको हो ।

कर्मचारी नियुक्ति देखि नगरले विभिन्न सिर्षकमा अपचलन, अनियमितता र आन्तरिक राजस्वमा आर्थिक बर्ष २०७९/८० मा  व्यापक दुरुपयोग भएको देखिएको  माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ ।

खाजा नास्तामा लाखौ खर्च

आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व निमावली २०७७ को नियम ३९ अनुसार खर्चको उपदेयता प्रमाणित हुनेगरी मात्र खर्च गर्नुपर्ने प्रावधान छ तर नगरले आर्थिक बर्ष २०७९/८० मा मात्र कुल आन्तरिक आयको ८ प्रतिशत खाजा, नास्ताको नाममा खर्च गरेको देखिएको छ यो खर्च वडा कार्यालय वाहेकको हो ।

उक्त आर्थिक बर्षमा ३ करोड ६३ लाख ७५ हजार ४८ रुपैया आन्तरिक आयमध्ये २९ लाख ८ हजार ५ सय ७३ रुपैया खाजा, नास्ता र विविध सिर्षकमा खर्च गरेको माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ । १ बर्षको अवधीमा यति ठुलो रकम खाजा नास्तामा कसरी खर्च भयो भन्ने बिषय यतिवेला नगर क्षेत्रमा चर्चा र चासोको विषय वनेको छ । यस्लाई माहालेखा परिक्षकले सैद्धान्तिक वेरुजुकोरुपमा उल्लेख गरेको छ ।

विकास निर्माणका काममा भन्दा प्रशासनिकको नाममा व्यापक खर्च

त्यस्तै माहालेखा परिक्षकको प्रतिवेदनअनुसार  विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हुन आउँछ । पदाधिकारी सुबिधामा मात्र १ करोड ३० लाख ७९ हजार खर्च भएको माहालेखा परिक्षकको कार्यालयले जनाएको छ । खर्च अधिक देखिएपछि  नगरलाई प्रशासनिक खर्च कम गरि विकास निर्माणका काम गर्न माहालेखाले सुझाव दिएको छ ।

अनुगमनमा गरिएको खर्च अनियमित

२०८० असार १८ गते योजनाहरु अनुगमन गरेवापत सवारीसाधन भाडा, विविध खर्च गरी  २ लाख ६८ हजार २ सय ५० खर्च लेखेको छ ।

जुन योजनाहरुको लागत तयारी गरि भुक्तानी गरेको देखिएको छ ।  जस्लाई माहालेखाले अनियमित भएको उल्लेख गरेको छ ।

अझ सैक्षिक साखावाट विद्यालय अनुगमन गर्दा प्रतिवेदन नै पेश नगरी अनुगमन भत्ता लिएको खुलासा भएको छ ।

खडग वहादुर सिंह, भोला खडका, युवराज पोखरेल, बुद्ध प्रसाद पोखरेल र गणेश प्रसाद दाहालले १ लाख १५ हजार नियम विपरित लिएको खुलेको हो ।

माहालेखाले उक्त रकम असुल गर्नुपर्ने र  आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व निमावली २०७७ अनुसार कार्यान्वयन गर्न सुझाव दिएको छ ।

सवारी इन्धनमा मात्र २३ लाख खर्च

नगरपालिकाले इन्धन बापत मापदण्ड विपरित १८ लाख ४५ हजार ४ सय ९१ रुपैया खर्च गरेको खुलासा भएको छ ।

बार्षिक २३ लाख ९२ हजार ९ सय ९१ खर्च हुँदै आएको मध्ये उक्त रकम मापदण्ड विपरित खर्च भएको माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ ।

प्रमुख तथा उपप्रमुखले सवारीसाधन र अन्य पदाधिकारीले यातायात सुविधा बापत रकम लिएको समेत देखिएको छ ।

स्थानिय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा समबन्धी ऐन २०७७ अनुसार प्रमुख तथा उपप्रमुखले मासिक १२५ लिटर इन्धन र चौमासिक १० लिटर मोबिल खर्च गर्न पाउने प्रावधान छ ।

त्यस्तै कार्यालय प्रयोजनतर्फ र अन्य प्रयोजन तर्फ पनि ४४ लाख १३ हजार ८५ रुपैया खर्च भएको छ जस्लाई माहालेखा परिक्षकको कार्यालयले अस्वभाविक र मितव्ययी नअपनाएको ठहर गरेको छ ।

सोझै खरिद गरेर ४७ लाख अनियमित

सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सिमित नहुनेगरी खरिद गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै सार्वजनिक खरिद निमावलीको नियम ८५ मा एक आर्थिक बर्षमा एकैपटक वा पटकपटक उल्लेखित सिमा भन्दा बाहिर गएर सोझै खरिद गर्न नसक्ने व्यवस्था छ ।

तर नगरले ४७ लाख भन्दा बढीको सोझै खरिद गरेको छ जुन कानुनविपरित किन गरियो भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

उनिहरुले संजय जनरल सप्लायर्स, सचिन जनरल स्टोर्स सप्लायर्स र चौधरी सप्लायर्सवाट मसलन्द तथा कार्यालय सामाग्रीको नाममा ४७ लाख खर्च गरेको हो ।

तर माहालेखा परिक्षकले निकालेको बेरुजु सैद्धान्तिक मात्र भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले वताए । केही बिषयहरुमा मानविय त्रुटि हुने भएतापनी नगरले मितव्ययी नै अपनाएको र अपनाउने उन्को भनाई छ ।

नियम र कानुनको परिधी भन्दा बाहिर गएर काम नगरेको वताउदै १५ सैया अस्पतालको स्विकृतिमा ५० सैया वनाएको र सोही जिम्मेवारीअनुसार कर्मचारी राख्दा दरवन्दी वाहिर देखिएको उन्को भनाई छ ।

अत्यावश्यक कर्मचारी राख्दा पनि दरवन्दी वाहिरको कर्मचारी राखेर खर्च भयो भन्नू तार्किक नभएको प्रमुख प्रशासकीय अधिकृत जोसीले प्रष्ट वनाए ।

तर अन्य सिर्षकहरुमा पनि नगरले अस्वभाविक खर्च गरेको माहालेखा परिक्षकको रिपोर्टमा उल्लेख छ ।

न्युज कारखाना

काठमाडौँ । बलिवुडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्म ६ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज हुने भएको हो ।फिल्मको निर्माण पक्षले यस अघि अगस्ट १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा रिलिज हुने जानकारी दिएका हुन् ।

निर्माण पक्षले फिल्मको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले रिलिज मिति परिवर्तन गर्नुपरेको बताएको छ ।

फिल्मको गीत र टिजरले नै अहिले दर्शकमात कौतुहलता देखाएको छ । भर्खरै रिलिज भएको फिल्मको ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ गरि दुई गीत युट्युबमा हिट भएका छन् ।

रिलिज मिति परिवर्तनले पनि फिल्मलाई ठूलो नोक्सान पुर्‍याएको रिपोर्टमा बताइएको छ ।

एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्बजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपैयाँसम्म कमाउन सक्ने बताइएको छ ।

यसरी हेर्दा रिलिज मिति परिवर्तनका कारण फिल्मले करिब ३० करोड घाटा बेहोर्नु पर्नेछ । यदि फिल्म १५ अगस्टमा रिलिज भएको भए ४ दिनको लामो साताको विन्डो पाउने थियो ।

चलचित्र पुष्प २ लाई सुकुमारले निर्देशन गर्दैछन् । पहिलो भाग पनि उनले निर्देशन गरेका थिए । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनिरहेको छ । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल देखिनेछन् ।

यसअघि २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३  करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरेको थियो ।  न्युज कारखाना

रौतहट ४ असार । हिन्दु तथा मुस्लिमहरुको विभिन्न पर्वमा स्थानीय सरकारले महिलाहरुलाई साडी वितरण गर्ने रौतहटमा होडबाजी नै रहेको छ । साडी वितरणको पछाडी स्थानिय सरकारका प्रमुख र प्रमुखप्रशासकियअधिकृतहरुको व्यक्तिगत स्वार्थका कारण पनि यो चलन मौलाएको देखिएको छ ।

रौतहट जिल्लामा रहेका अधिकांस स्थानीयतहले हिन्दु र मुस्लिमहरुको विभिन्नपर्वको नाममालाखौं लाख मुल्यको साडी वितरण गरी आफुलाई विकास पुरुष हो भन्ने छाप छाड्न साडी वितरण गर्ने गरेका र पछि सोहि साडीमा व्यापक भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।
यहाँकाअधिकांस स्थानीय तहले गौरमा रहेको चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्स बाट २५ लाखभन्दामाथि एक एक स्थानीयतहले साडी खरिद गरेको महालेखा परिक्षणको रिपोर्टमा देखिएको छ । माथि उल्लेखित फर्महरुले स्थानीय तहलाई बिक्री गरेको साडिको संख्यालाई हेर्ने हो भने विक्रेताले आयात गरेको संख्याको दोबर भन्दामाथि रहेको गौर भन्सारको तथ्यांकबाट प्रष्ट हुन्छ ।

सदरमुकाम गौर लगायतकाबजारमा रहेका यी फर्महरुले अधिकांस साडी  भारतबाट खरिद गर्ने गरेका छन्,  जुन विभिन्न सिमावर्ती नाकाहरुबाट भन्सार छली गरेर यी व्यापारीक प्रतिष्ठान सम्मआई पुगेका हुन्छन् । यसरी भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४ देखि ६ सय सम्म मुल्यका भारतीय साडीलाई चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्सले १४ सय देखि २ हजार सम्मको बिल बनाई स्थानीयतहका जनप्रतिनिधिहरुसंग मिलेर व्यापक भ्रष्टाचार गरेका पाइएको छ । स्थानीय तहले खरिद गरिएको साडीका यी व्यापारी प्रतिष्ठानहरु फेरी बजारमा खोज्दा कतै नभेटिने गरेको स्थानीयहरूले बताएका छन् ।

कुनै कुनै स्थानीयतहले खरिद गरेको साडीको संख्यालाई विस्तृत रुपमा अनुसंधान गर्ने हो भने सो पालिकामा रहेको महिला संख्याभन्दाअधिक रहेको समेत भेटिएको छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रवक्ता नरहरी घिमिरेले आफुहरु सो विषयमा छानबिन गरी दोषि भेटिए कारवाहि गर्ने प्रतिबद्धता जनाएका छन् ।

न्युज कारखाना

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

उनले भने- यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन् । म यो किताब मन्त्री जीलाई सिधै दिन मिल्दैन । म सभामुख मार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्री जीलाई दिन चाहन्छु । चाहिदैन बजेट ।’ न्युज कारखाना

सिरहा, ४ असार। सिरहामा संचालन भईरहेको प्राविधिक तथा व्यवसायीक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा केन्द्राध्यक्ष कै लापरवाहील सहभागी परीक्षर्थीहरु मर्कामा परेका छन्।

जिल्लाको गोलबजारस्थित रामप्रताप राप्रसाद तामङ्ग जनता बहुमुखि क्याम्पस केन्द्रमा सञ्चालित डिप्लोमाको परीक्षामा सोही क्याम्पसका प्रमुख किशोर कुमार साहकै लापरवाहीले पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाएपछि परीक्षार्थीहरु मार्कामा परेका हुन्।

परीक्षार्थीहरुले परीक्षा सकेपछिमात्र आफूहरुसँग भएको प्रश्नपत्र राम्रोसँग हेर्दा कृषि विज्ञानको प्रश्नपत्र परेको थाहा पाएको बताए। उनीहरुले भने, ‘छोटो समय भएकाले हामी प्रश्नपत्र पाउना साथ लेख्ने ध्याउन्नमा लाग्यौं। बिच बिचमा असहज भईरहेको थियो।

परीक्षा सकेर प्रश्नपत्र नियाल्दा हामी पशुका विद्यार्थीका हातमा कृषिका प्रश्नपत्र रहेछ। त्यसपछि हाम्रो होस हवास नै उड्यो।’

केन्द्रमा खटिएका शिक्षकहरुलाई देखाउँदा उनीहरुले पहिला किन नदेखाएको भन्दै हप्की दप्की गरे।  पछि केन्द्राध्यक्ष साहले हाम्रो मान्छे माथि परीक्षा केन्द्रमा छ। सवै मिलिहाल्छ। तिमीहरुले चिन्ता लिनुपर्दैन, भन्दै घरजान भनेको परीक्षार्थीहरुले बताए।

केन्द्रा अध्यक्ष र परीक्षामा खटीएका सीटीइभीटीका प्रतिनिधीले आश्वासन दिएपनि परीक्षार्थीहरु ढुक्क हुन सकेका छैन्। उनीहरु एक वर्ष खेर जाने हो की भन्ने चिन्तामा छन्।

सरस्वती माध्यमिक विद्यालय गोलबजार ३ का प्राविधिक तर्फका संयोजक समेत रहेका डाक्टर ओम प्रकाश साहले परीक्षा सञ्चालकको लापर्वाहीले आफ्नो विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताए। उनले भने, ‘विषय नै फरक भएकाले कसरी कपी काटीन्छ? थाहा छैन। तर, यो उहाँहरुको ठूलो गल्ती हो।’

आज सम्पन्न परीक्षामा डिप्लोमा इन एनिमल साइन्सका विद्यार्थीलाई एग्रिकल्चर विषयको प्रश्नपत्र पर्न गएको परीक्षा केन्द्राध्यक्ष किशोर कुमार साहले बताए। उनले भुलबस पर्न गएको भएपनि त्यस विषयमा माथि छलफल भईरहेको बताए।
उनले भने, ‘खासमा हाम्रो जिम्मेवारी भनेको मर्यादित परीक्षा लिने र ठाउँ उपलब्ध गराउने हो।

प्रश्नपत्र, उत्तरपुस्तीका ल्याउने लाने सवै सीटीइभीटीका प्रतिनधीहरुले गरिरहनु भएको छ। एउटै जस्तो लाग्ने विषय भएकाले भुलवस प्रश्नपत्र तलमाथि परेको रहेछ। हामीले माथि कुरा गरिरहेका छौं। विद्यार्थीलाई मर्का पर्दैन।’

कृषि तर्फमा परीक्षार्थीको प्रश्न पत्र कम भएपछि उनीहरुलाई फोटो कपी गरेर दिएको थियो। फोटो कपी गर्दा लागेको समय थप गरेर परीक्षा लिएको जनाएको छ।

यता सीटीइभीटीका प्रतिनिधीका रुपमा आएका वाहिय् सुरिवेक्षक भोला राय यादव र सुजित रायले भने माथि कुरा भईसकेको छ। हामी मुचुल्का उठाएर पठाउँदै छौं। सवैथोक उत्तैबाट हुने भन्दै थप प्रतिकृया दिन चाहेनन्।

हामीले एउटाको प्रश्नपत्र अर्कै विद्यार्थीकोमा कसरी गयो? भन्ने प्रश्नमा सीटीइभीटीका प्रतिनिधी दुवैजनाले हामीले माथि मिलाई सकेका छौं, अव केही गर्नु पर्दैन  भन्दै थप प्रतिकृया दिन चाहेनन्।

उनीहरुले हामी यहाँबाट मुचुल्का उठाएर पठाउँदै छौं, सवै ठिक भईहाल्छ भन्ने प्रतिकृया दिए।

जिल्लाको जनता माध्यमिका विद्यालय, धनगढीमाई ५ तीनकोनी, जय गोविन्द साह टेक्निकल इन्सिच्युट गोलबजार, सरस्ती माध्यमिक विद्यालय गोलबजार ३ सहित ४ वटा विद्यालयको यस परीक्षा केन्द्रमा परीक्षा भईरहेको छ।न्युज कारखाना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता परिषदको सह–सयोजकमा ब्यवसायी मोहन कटुवाललाई मनोनित गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एक समारोहवीच मनोनयनपत्र हस्तान्तरण गरे । सो अवसरमा उनले चेम्बरको अभियानमा महत्वपूर्ण भुमिका सहितको सहयोग सद्भाव र सुझाब प्राप्त हुने बिस्वास राख्दै सफल कार्यकालको शुभकामना दिए ।

मनोनयपत्र ग्रहणपछि कटुवालले हाल देशमा आर्थिक मन्दिका कारण सकटमा परेका  उध्योगी ब्यवसायीहरुको हित हुने गरी सहज औद्योगिक बाताबरण निर्माण गर्न, असल श्रम सम्बन्ध स्थापित गर्न, रोजगारी सृजना गर्न रोजगारदाता परिषदमा रहेर सकृय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

कटुवाल ग्रील तथा स्टील ब्यवसायी महासघका निबर्तमान अध्यक्ष, नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष एवं सिटिइभिटीमा सेक्ट सेक्टर कमिटिका सदस्य समेत हुन् ।

न्युन कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।