२०८३ बैशाख २७
२०८३ बैशाख २७

पथरी- सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार (असार १० गते) २० हजार धरौटीमा काफ्लेलाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए।

प्रहरीको नियन्त्रणमा परे पनि आफू पक्राउ नपरेको भन्दै गोपाल काफ्लेले समाजमा भ्रम सिर्जना गर्न खोजेका थिए।

काफ्लेले पटक-पटक अप्रमाणित विषयमा चरित्र हत्या हुने गरी सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन (साइबर) अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।

गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्वप्रमुख दिलीपकुमार राई (किशोर)को फोटो पोष्ट गरेका थिए।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।

साइबर अपराध गरेको दाबीसहितको मुद्दामा पक्राउ परेका काफ्लेलाई एक रात जिल्ला प्रहरीको नियान्त्रणपछि खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको थियो।

नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा काफ्लेविरूद्ध मुद्दा हालेका छन्। उक्त मुद्दामा गोपाल काफ्लेसँगै रकमको बार्गेनिङ गर्ने पत्रकार नरेन्द्र बस्नेतलाई पनि विपक्षी बनाइएको छ।

बस्नेतलाई काफ्लेको सहयोगी बन्दै आचार्यसँग रकमको बार्गेनिङमा संलग्न भएको आरोप आचार्यले लगाएका छन्।

केही महिनाअघि यसैगरी पथरीशनिश्चरे-१ का वडाध्यक्षको बदनाम हुने विषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो विषयमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि  काफ्लेलाई छाडिएको थियो ।

केही वर्षअघि यसैगरी अप्रमाणित विषय लेखेपछि डेरामै गएर एक समूहले काफ्लेलाई कुटपिट गरेका थि । त्यो प्रकणमा नेपाल पत्रकार महासंघ, कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा सम्बद्ध पत्रकारहरू बसेर छलफल गर्दा झुटो प्रमाणित भएको र आगामी दिनमा प्रमाणबिना भ्रामक नलेख्न अनुरोध गरिएको थियो। सो बेला फिटाइबाट घाइते काफ्लेको उपचार खर्च नेपाल पत्रकार महासंघले व्यहोर्ने सहमति भएको थियो।

काफ्लेले समाजिक सञ्जालमार्फत् पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू, विभिन्न ठेकेदार, व्यवसायी, सामाजिक-राजनीतिक व्यक्तिहरूलाई पुष्टि नहुने विषयमा लेखेर पैसा माग्ने गरेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउँछन्।न्युज कारखाना

काठमाडौं । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ ।

पहिरोमा परि ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङको  मृत्यु भएको प्रहरीले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । चीनको मुन मिशन चन्द्रमाको सतहबाट माटो लिएर पृथ्वीमा पुगेको छ । योसँगै चन्द्रमाको अँध्यारो पक्षबाट नमूना ल्याउन सफल भएको पहिलो देश बनेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर क्याप्सुलमा नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो ।

चीनले मे ३ तारिखमा चाङइ–६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस अनुसन्धानको लक्ष्य चन्द्रमाको सबैभन्दा टाढाको भाग (जहाँ अँध्यारो छ) गएर नमूना सङ्कलन गरी पृथ्वीमा पठाउने थियो । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य राखेको छ । यो मिसन पनि त्यही लक्ष्यको हिस्सा हो ।

अहिलेसम्म चन्द्रमामा गएका सबै १० चन्द्र अभियानहरू नजिकैको भागमा मात्र पुगेका छन् । यसमा भारत र अमेरिका पनि परेका छन् । यस्तो अवस्थामा चीनले चन्द्रमाको टाढाको भागबाट नमूना ल्याएर अन्तरिक्ष दौडमा अमेरिकालाई कडा चुनौती दिएको छ ।

सीएनएनका अनुसार चाङ्गे–६ को रि-इन्ट्री मोड्युल चीनको उत्तरी भागमा अवतरण भएको थियो । यसपछि खोजी टोली केही मिनेटमै यस मोड्युलमा पुग्यो । चिनियाँ वैज्ञानिकहरूले मिसन सफल भएको जानकारी दिए।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यो मिसनको सफलता चीनको सपना साकार पार्न कोसेढुङ्गा साबित हुने बताएका छन् । यसबाट चीन अन्तरिक्ष शक्ति बन्ने नजिक पुगेको छ । मानव पठाउनका साथै चीनले सन् २०३० सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान आधार निर्माण गर्न चाहन्छ ।

अहिलेसम्मको अनुसन्धानले चन्द्रमाको यस भागमा बरफको रूपमा पानी रहेको सम्भावना देखाएको छ । अमेरिका पनि चन्द्रमाको यो भागमा आफ्नो बेस बनाउन चाहन्छ । रिपोर्टका अनुसार चाङ्गे–६ मिसनले चन्द्रमाको सतहबाट २ किलोग्राम माटो आफैं लिएर फर्केको छ ।

चन्द्रमाको सतहबाट नमूना सङ्कलन गर्न ड्रिल र रोबोटिक हातहरू प्रयोग गरिएको थियो । यसमार्फत चन्द्रमामा रहेको ४ अर्ब वर्ष पुरानो क्रेटरबाट माटो निकालिएको थियो । यसपछि नमूनालाई क्याप्सुलमा राखेर पुनः प्रवेश गर्ने गाडीमा सारिएको थियो ।

चिनियाँ वैज्ञानिकहरूले अब नमूनामा अनुसन्धान गर्नेछन् । यस अवधिमा चन्द्रमासँगै पृथ्वी र सौर्यमण्डलको निर्माणबारे अध्ययन गरिनेछ । चीनको अनुसन्धान पूरा भएपछि यसलाई अन्य देशसँग पनि बाँड्नेछ ।

चाङ्गे–६ मे ३ मा दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको थियो । यो चन्द्रमाको तीन ठूला र सबैभन्दा प्रमुख भूमि भागहरू मध्ये एक हो । त्यसैले यसको वैज्ञानिक मूल्य धेरै उच्च छ । यस मिसनमा चीनले अन्य देशबाट पनि पेलोड लिएको थियो । जसमा पाकिस्तान, फ्रान्स, इटाली र युरोपेली स्पेस एजेन्सी सामेल थिए । यसको उद्देश्य यी देशहरूसँग अन्तरिक्ष सहयोग बढाउनु थियो ।

चन्द्रमाको टाढाको भाग कुन हो?

चन्द्रमाको टाढाको भाग त्यो भाग हो जुन पृथ्वीबाट सबैभन्दा टाढा छ र कहिलेकाहीँ चन्द्रमाको अँध्यारो पक्ष भनिन्छ । यो किनभने यो भाग हामीलाई देखिने छैन र यसको बारेमा धेरै कम जानकारी छ।

चीनले सन् २००४ मा आफ्नो चन्द्रमा मिसन सुरु गरेको थियो । २००७ देखि, यसले पाँच रोबोटिक मिसनहरू सुरु गरेको छ । चाङ्गे-५ डिसेम्बर २०२० मा चन्द्रमामा अवतरण गरेको थियो । यस मिसन अन्तर्गत १७३१ ग्राम चन्द्रमाको चट्टान र माटो पृथ्वीमा ल्याउन सकिनेछ । यसलाई उपलब्धि मानिएको छ ।

यसअघि सन् २०१९ मा चन्द्रमाको सुदूर छेउमा गएको चीनको चाङए–४ मिसन पहिलो मिसन थियो । चन्द्रमाको अर्को छेउमा आफ्नो ल्यान्डर पठाउन सफल चीन एक मात्र देश हो।  युटु २ नामको चाङए ४ मिसनको रोभर संसारकै सबैभन्दा ठूलो रोभर हो । न्युज कारखाना

काठमाडौं । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ । आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ ।

गत जेठ २३ गते प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सकिएको थियो । भने आजका लागि फैसला मिती तोकेको थियो । अब स्थगितको सूचीमा परेकाले नयाँ पेशी तोकेर निर्णय सुनाईनेछ ।

यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो । लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन रहेको यो मुद्धामा बहस सकिएपछि आजको लागि फसिला सुनाउने बताएको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारले  दाबी गर्दै रिट दायर गरेको थियो । न्युज कारखाना

कास्की- कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका २ वर्षीय अनमोल सुनार रहेका छन्।

रानाभाटको बुधबार बिहान सवा २ र सुनारको शव ३ बजे मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ।

वर्षाका कारण ब्लक र टिनले बनेको तीन कोठे घरपछाडि माटोको ढिस्को खस्दा कोठामा सुतेका दुई जनामध्ये १३ वर्षीया आयुस्मा पहिरोले पुरिएकी थिइन्।

उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, आरुपाटामा दुई कोठाको कच्ची घर पहिरो आएर भत्किँदा तीन वर्षीय बालक पुरिएका थिए। २७ वर्षीय रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। उनको अवस्था चिन्ताजनक छ। अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ।

यस्तै, लमजुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेसीसहर नगरपालिका-११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका-३ बगुमका रुद्रमान गुरुङ रहेका छन्।न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए । उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

उनले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताए ।न्युज कारखाना

काठमाडौं- कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।

बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका  डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

डगौरालाई बुधबार बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो। आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्‍याउँदा उनको मृत्यु भएको बोहराले बताए।

त्यस्तै, चौधरीलाई बिहान ८ बजे आफ्नै घरनजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेको थियो। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर अन्य ६ जना घाइते रहेका छन्।

घाइते हुनेमा कैलाली जानकी गाउँपालिका-४ बेलपुरकी २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी गाउँपालिका-६ का ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी नगरपालिका-९ बुदेनीकी ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र २० वर्षीया खिमा कडायत रहेका छन्।

कसरी पर्छ चट्याङ?

विज्ञानशास्त्रका प्राध्यापकका अनुसार चट्याङ ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भन्ने गरिन्छ। तिनै बादल जुधेपछि ठूलो आवाज निस्किने गरेको हो।

‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’

यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ। उनका अनुसार यो जमिनसम्म आउने हो भने सारा सखाप हुन्छ। ‘कुमोलो निम्बस’ नामको बादलबाट उत्पन्न हुने चट्याङ भने यदाकदा जमिनसम्म आउने गर्छ र यसैले गर्ने हो भौतिक र मानवीय क्षति।

‘त्यो आगोको मुस्लो आएर घरहरू सल्किन्छन्,’ अधिकारी भन्छन्, ‘त्यो पानीले निभाउन सकिन्न।’

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू कोही गाईभैंसी चराउन खुला ठाउँमा भएको बखत, कोही खेतबारीमा काम गरिरहेको र खुला ठाउँमा हिँडिरहेको बखत थिए भन्ने विवरण आउने गरेको छ। विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ। ठूला रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ।

चट्याङबाट बच्न के गर्ने?

प्राध्यापक अधिकारीका अनुसार चट्याङबाट बच्ने उपाय सावधानी हो। चट्याङबाट बच्न घरको वायरिङमा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले बाहिरबाट आउने करेन्टलाई परै फाल्दिन्छ। अर्थिङमा एक प्रकारको इलेक्ट्रिक यन्त्र जडान गरिएको हुन्छ।

बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट बच्नु हो। ठूला रूखका फेदमा नबसेको राम्रो हुने अधिकारी बताउँछन्। ‘बिजुली चम्केका बेला इलेक्ट्रिकल यन्त्रहरू प्रयोग गर्नुहुँदैन,’ अधिकारी भन्छन्, ‘घरमा जडित सर्किटहरू बेला-बेला जाँच गरिरहनुपर्छ, कतै सर्किट लिक भएको छ भने चट्याङले हान्छ।’

त्यसैगरी, अग्ला टावरहरू चट्याङका सिकार हुन्। चट्याङबाट जोगाउन ती टावरमा विशेष किसिमले ‘अर्थिङ’ जोडिएको हुन्छ। तैपनि कुनै-कुनै बेला टावरमा क्षति गरिरहेकै हुन्छ चट्याङले। यस्ता टावरको वरपर रहने बस्ती बढी जोखिमपूर्ण हुन्छन्।न्युज कारखाना

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मुल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

 रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका ९ सिन्दुरेघारी गाउँमा आज बिहान १ घरमा भएको आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

बुधवार बिहान साढे ७ बजे चन्द्रपुर ९ सिन्दुरेघारीका धुर्ब बहादुर सापकोटाको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा विद्युत लाईन सर्ट भई आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको छ।

आगलागीबाट घर र घर भित्र रहेका अन्नपात, लत्तकपडा र सिलाई मिसिन पुर्णरुपमा जलेर नष्ट हुँदा पाँच लाख ८८ हजार बराबरको क्षेति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख बिक्रम हुमागाईंले बताएका छन ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट असई कृष्णनन्दन रायको नेतृत्वमा गएको ७ जनाको टोली ,चन्द्रपुर नगरपालिकाको दमकल  र स्थानियहरुको सहयोगमा बिहान ८ बजेर २० मिनेटमा आगलागी पुर्णरुपमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। रौतहट स्थित सशस्त्र प्रहरी प्रमुखमा एस्पी हुमागाईं आएदेखि आगलागी लगायत विपद पीडितको उद्धार कार्यमा सशस्त्र प्रहरी निकैनै सक्रिय देखिएका छन् ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो लामो समयदेखिका प्रेमी जहीर इकबालसँग जुन २३ मा दर्ता विवाह गरेकी छन् । विवाहपछि सोनाक्षी सिन्हाको यो विवाह बारे भारतमा अनेकौं विवाद भएका छन् । हिन्दु- मुश्लिम विवाह भन्दै कैयौं ठाउमा सोनाक्षीको विरोध गरिएको छ ।

यसैबीच सोनाक्षीले एक भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले आफू र जहीरलाई एकताबद्ध गर्न सारा संसार मिलेको महसुस गरेका छन् ।

सोनाक्षी सिन्हाले विवाहपछि पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । उनले भनेकी छन्- ‘कस्तो दिन थियो । हाम्रो परिवार, साथीहरू, टोलीको माया, हाँसो, साथी, उत्साह र न्यानोपन । मायामा परेका दुई व्यक्तिले सधैं चाहेको, आशा गरेको र प्रार्थना गरेको कुरा पूरा गर्न सारा ब्रह्माण्ड एकै ठाउँमा आएको जस्तो लाग्थ्यो । हामी एकअर्कालाई भेट्न पाउँदा र यति धेरै मायाको संरक्षणमा रहन पाउँदा धेरै धन्य महसुस गर्छौं ।’

सोनाक्षीको विवाहलाई लिएर उनको परिवार खुशी नभएको विषय पनि धेरै पहिला देखि मिडियामा चर्चाको विषय बनेको थियो । यद्यपी सो चर्चा विपरित उनका पिता शत्रुघन सिन्हा र आमा सोनाक्षीको विवाहमा सहभागी भएर दुवैलाई आशिर्वाद दिएको देखिएको छ ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।