२०८३ बैशाख २६
२०८३ बैशाख २६

काठमाडौं- चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्। राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ।

राईले फेसबुक म्यासेन्जरबाट ती महिलालाई कुराकानी गरी चिनियाँसँग काठमाडौंको ठमेलमा बोलाएकी थिइन्।

ती चिनियाँले महिलालाई बिहे गरेर २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएका थिए।

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ती चिनियाँले १ लाख ५० हजार रुपैयाँमा बेचबिखन गरी नेपाल फर्किएका थिए।

उनले ती महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए।

महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्किने वातावरण मिलाएको थियो।

महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको मिश्रले बताए। घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौं । मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने “ गृष्मकालीन पेरिस ओलम्पिक ” मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनौट हुन सफल भएकी छिन् ।

आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनौट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ । न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन् । अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ ।

कार्यक्रमका फोकल पर्सन ऋषि भुषालका अनुसार, यस अभियानमा ६४ जना स्वास्थ्यकर्मी र सबै (५५८ जना) महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ ।

सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन् । रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको भुषालले जानकारी दिए ।

आकाशे पानी पर्ने मौसम सुरु भएको छ । यसरी परेको पानी सडक र सडक किनाराका खाल्टाखुल्टीमा जम्मा हुन्छ । यस्तै पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखिएको छ ।

लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको गरिएको छ । यो जैविक औषधि हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया) जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

महानगरपालिकाले सञ्चालन गरेको अभियान समुदायिक सचेतनाका लागि हो । डेङ्गीबाट बच्न महानगरपालिकाजत्तिकै महानगरबासी हरेकको समान दायित्व छ । यसका लागि हरेक व्यक्तिले घर तथा आसपासमा पानी जम्न नदिने, पानी जम्ने ठाउँ पुर्ने, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको नियमित सरसफाइ गर्नुपर्छ । सरीर ढाकिने कपडा लगाउनु पर्छ ।

एक्कासी उच्च ज्वरो आउनु डेङ्गीको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सरीरमा विमिरा आउने हुन सक्छ । हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने पनि हुन सक्छ ।  लगातार वान्ता हुनु, वान्तामा रगत देखा पर्नु, धेरै पेट दुख्नु, सास फेर्न गाह्रो हुनु, गिजाबाट रगत बग्नु, बेहोस हुनु डेङ्गीको जटिल अवस्थाका लक्षण हुन् । न्युज कारखाना

 

काठमाडौँ । केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो ।

केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिएका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।’

केन्यामा सरकारको नयाँ वित्त विधेयकलाई लिएर विवाद भएको थियो र धेरै दिनसम्म विरोध प्रदर्शन भएको थियो तर संसदमा पारित हुनेबित्तिकै आन्दोलनले हिंसात्मक रूप लियो ।

गत मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो । राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताएका छन् । देशभर विरोध प्रदर्शन भए पनि केन्याको संसदले विवादास्पद वित्त विधेयक पारित गरेको छ ।

विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रुप लियो र आन्दोलनकारी संसदमा प्रवेश गरी आगजनी समेत गरेका थिए ।

सुरुमा राष्ट्रपति रुटोले पनि यी विरोध प्रदर्शनलाई कडाइका साथ सामना गरिरहेको देखिन्थ्यो । आन्दोलनकारीलाई रोक्न सेनासमेत परिचालन गरिएको थियो । तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गरे ।

सरकारले पेश गरेको विधेयकको उद्देश्य केन्याको वार्षिक करलाई असर गर्ने देशको ८० अर्ब डलरको ऋण घटाउनु थियो । रुटोले नयाँ प्रावधान किसान, विद्यार्थी र शिक्षकका लागि फाइदाजनक साबित हुन सक्ने तर जनता आफूसँगै नरहेको स्वीकार गरे । ‘मैले जनताको नेतृत्व गर्छु र उनीहरुले आफ्नो धारणा राखेका छन्,’ उनले भने ।

केन्यामा सामाजिक सञ्जालमा अहिलेको विरोध प्रदर्शन जारी रहने चर्चा छ। यसअघि यी प्रदर्शनको उद्देश्य विवादास्पद आर्थिक विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्न नहुने भए पनि अहिले राजीनामा दिनुपर्ने माग भइरहेको छ ।न्युज कारखाना

रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पिप्रा पोखरियामा बर्थिङ्ग सेन्टर निर्माण सुरु भएको छ । कटहरिया नगरपालिकाको लगानीमा वडा  स्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ गाउँको  बिच दुवै गाउँका मानिसलाई पाएक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य सुरु भएको हो।

वडा ८ का अध्यक्ष समिस बिक्रम शाहले कुल ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भईरहेको जानकारी छन् । यस आर्थिक बर्षको लगत्तै पुनः नगरपालिका बाट आउने थप बजेट बाट भवन निर्माण सुरु गरिने वडा अध्यक्ष साहले जानकारी दिएका छन्।

यसै बीच कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले बिहीवार निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै समझौता नगर्न वडा अध्यक्ष शाह तथा निर्माणमा कार्यरत मिस्त्री लाई निर्देशन दिएका छन्।

वाल निर्माण पछि आर्थिक बर्षको पहिलो चरणमै नगरपालिका बाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्ष भित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिवद्धता जनाएका छन।

कटहरिया वडा ८ मा बर्थिङ्ग सेन्टर सञ्चालन पछि पिप्रा पोखरीया र बालुवा गाउँका सैयौं महिला सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झट बाट छुटकारा पाउने वडा अध्यक्ष शाहले बताएका छन ।
न्युज कारखाना

 रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगंजले अल्पकालीन आदेश जारी गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोवारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थाई इजलास बिरगंजले अल्पकालिन अन्तरिम आदेश जारी गरेको  हो।

फतुवा  बिजयपुर १ का  बिजय कुमार यादव समेतले दिएको निवेदन पछी उच्च अदालतका जिल्ला न्यायाधीश  भरत प्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको छ।

न्यायाधीश लम्सालको ३ नम्बर ईजलासमा वरिष्ठ अधिवक्ता ईन्द्रदेव प्रसाद चौधरी र  अधिवक्ता विशाल चौधरिले बहस गरेका थिए ।

फतुवा  विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान मिलोमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।

उपसचिव प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका हुन्। फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्।

खातुन कार्यवाहक भएदेखिनै बिभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन् ।

उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृत संग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाउँदै आएका छन ।

२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा समयमा शिक्षक कर्मचारीले तलब पाउनेगरेका छैनन्। जनप्रतिनिधि बिच बजेटकै भागबण्डा नमिलेर यस आर्थिक वर्षको असार १० भित्र फतुवा विजयपुर बजेट ल्याउन असफल भएको छ ।न्युज कारखाना

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् ।

मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए ।

उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिदै सांसद पद खारेज नहुने आदेश दिएको थियो ।

माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।न्युज कारखाना

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

अब उनी केहि समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ ।

गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।न्युज कारखाना

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

एसइईको नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ ।

‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोराएर कक्षा १० मा पढ्नु पर्ने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई वटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।

नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७. ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । त्यस्तै २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । न्युज कारखाना

काठमाडौँ । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ ।

कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर पछिल्ला ६ दिनमा उनीहरुले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ ।

यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि गएको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।

गत आइतबार र बुधवारको बीचमा कराचीको सिभिल अस्पतालमा तातो स्ट्रोकका कारण २६७ जनालाई भर्ना गरिएको थियो । तीमध्ये १२ जनाको पनि मृत्यु भएको आपतकालीन विभागका प्रमुख डा इमरान सरवर शेखले जानकारी दिएका छन् ।

गत साताको अन्त्यमा पाकिस्तानमा बढेको तापक्रमलाई आंशिक गर्मीको लहर पनि भनिएको थियो। जनतालाई राहत प्रदान गर्न गर्मीको लहरबाट जोगाउन शिविर र केन्द्र स्थापना भइरहेका छन् । सहयोगको खाँचोमा परेका धेरै मानिस अस्पतालसम्म पुग्न नसकेको बताइएको छ ।

बढ्दो गर्मी बाहेक, बिजुली कटौती पनि कराचीका जनताको लागि ठूलो समस्या भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना सिन्ध प्रान्तको राजधानी कराँचीमा ५२.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।