२०८३ आश्विन ३०
२०८३ आश्विन ३०

भैरहवा । भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।

भन्सारको कामसँगै तस्करी नियन्त्रणमा उत्रेको भन्सारले सूचनाको आधारमा उललेख मात्रामा अवैध सामान बरामद गर्दै आएको छ । विशेष सूचनालाई आधार बनाई कार्यालय प्रमुख नारद गौतम सहितको टोली सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिइरहेको छ ।

शुक्रबार विहान ११ बजेको समयमा भन्सारकै नेतृत्वमा रुपन्देहीको सिद्धार्थनगर ८ लुम्बिनी रोड यादव चोकको भित्र बाट १६२ बोरा चिनी बरामद गरेको छ । नेपाली चिनीको बोरामा प्याक गरि गोदामबाट ट्रकमा लोड गरेको अवस्थामा ५० किलो परिमाणको १६५ बोरा अर्थात ८ हजार एक सय किलो चिनी बरामद गरिएको हो । ट्रकमा लोड गरिएको चिनीको साथमा इलेक्ट्रीक तराजु, र महोत्तरीमा रहेको सुगर मिलको २०० वटा खाली बोरा समेत बरामद गरिएको छ । जस्को मुल्य करिब ११ लाख रहेको छ ।

असारको २७ गते पनि भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर भन्सार कार्यालयले बरामद गरेको थियो । अवैध रुपमा भित्रिएको गल्लामण्डीको सुगर मिल क्षेत्रबाट ट्रकमा लोड गरिरहेको अवस्थामा ५ लाख ७४ हजार रुपैयाँ बराबरको एक सय तीस बोरा (६५०० किलो) चिनी र ६८ बोरा (१७०० किलो) केराउ मटर बरामद गरिएको थियो ।

भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । यस अघि गत जेठ २९ मा भैरहवा भन्सार कार्यालयले लु १ च ४७९२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिई अवैधरुपमा भित्र्याइएको १७ लाख बढीको बेल्ट, ब्रा र मोजा बरामद गरेको थिया, गाडी जफत गरि चालक अब्दुल अन्सारी अहिले थुनामा छन् ।

यस्तै भन्सारले जेठ १ गते २४ टन अवैध प्याजसहित ना ५ ख ५२७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । ९ लाख ६० हजार बराबरको उक्त प्याज र १२ लाख ट्रकको मूल्य कायम गरेर जफत गरिएकोमा थियो ।

असार ३१ गते भैरहवाको बुद्धचोकबाट कार्यालयको गस्ती टोलीले आठ लाख ६० हजार बराबरको धुलो सुर्ति २८० केजी, कलासिक चुरोट १०१ प्याकेट, कुल लिप समेतको तयारी सुर्ति १०८५ प्याकेट भण्डारण गरिरहेको अवस्थामा बरामद गरेको थियो ।

पछिल्लो समय सेवाप्रबाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिए देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । ‘हामीले जसरी हुन्छ अवैध निकासी–पैठारी रोक्ने भनेर काम गरिरहेका छौं, यसका लागि हाम्रो संयन्त्र परिचालन गरेका छौं, विभिन्न ठाउँबाट आउने सूचनाहरुलाई ‘क्विक रेस्पोन्स’ गर्ने गरिरहेका छौं’, भन्सार प्रमुख गौतमले भने ।

कार्यालयले अभियान नै चलाएर तीव्र रूपमा भन्सार छलेर भित्राइएका सामग्रीहरू नियन्त्रण लिइरहेको छ । भन्सार छलेर निर्यात गर्न लागिएको र आयात गरिएको अवस्थामा प्रयोग भएको गाडी तथा मानिससहित सामग्रीहरू नियन्त्रणमा लिने क्रम बढेको छ । गौतमले भन्सार प्रमुख भएर आएको छ नौ महिनामा भन्सार छली गरी अवैध बाटोबाट भित्र्याइएको र भारततर्फ लैजान लागिएको करिब ४ करोडको सामान बरामद भएको छ । ‘अवैध सामान ओसारपसारमा प्रयोग भएका ट्रक, मिनी ट्रक, पिकअप र कार गरी करिब २ दर्जन ढुवानीका साधन नियन्त्रणमा लिइएको छ । मोटरसाइकल र स्कुटर पनि जफत भएका छन’, उनले भने, ‘यीमध्ये जफत गरिएका ढुवानीका साधनबाट २ करोड रुपैयाँ राज्यकोषमा जम्मा भएको छ ।’

भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो । सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । अवैध पैठारीमा संलग्न ७ जना थुनामा छन् भने पाँचजना फरार छन् । केही धरौटीमा छुटेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा भन्सारले आफ्नै सक्रियतामा ६० बढी मुद्दा दर्ता गरेको छ ।

भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले साइकलमा भन्सार छलेर थोरै–थोरै परिमाणमा चिनी, मटर लगायत सामग्री भित्राएर डम्प गर्ने गर्दछन् । परिमाण धेरै भएपछि नक्कली बीजक जारी गरेर गाडीमा मुलुकका विभिन्न स्थानमा पठाउने गर्ने गरेका छन् ।

तस्करहरुले त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली लगायतका नाकाबाट मर्चवार हुदै बनगाई सम्म अवैध सामान ल्याउने गरेका छन । यस्तै सेमरपानी, मैनिहवा, भगवानपुर, बुची वरवा, पिपरहवा धकधई हुदै हुलाकी राजमार्ग सम्म तस्करीका सामान आउने गरेका छन । भन्सारकै पछाडि  मेउडिहवा, नौडिहवा, फरेनिया ,भ्ुजौली, पिपरहिया, केवटिलया, शंकरपुर लगायतका नाकाबाट पनि साइकल मोटरसाइकल र गाडीमै पनि तस्करी भइरहेका छन ।

मुख्य नाकामा चेकजाँच कडाई गरेपनि रुपन्देहीका यि भित्री नाकातर्फ तस्करहरु सक्रिय भएका छन । सिमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुदा हुदै पनि तस्करका सामान निर्वाध भित्रि रहनु सुरक्षा निकाय माथी नै प्रश्न चिन्ह छ । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको संलग्नता छ कि? भन्ने पनि छ  । तस्करी रोक्नकै लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार गस्ती टोलीको ठूलो जनशक्ति परिचालन भएपनि तस्करहरु विभिन्न नाकाबाट अझै पनि तस्करी गरिरहेका छन, सिमति स्रोत साधन र जनशक्ति भएको भन्सारले निरन्तर यस्ता अवैध बस्तु नियन्त्रण गरिरहेकै छ ।

पछिल्लो समय दैनिक उपभोग्य बस्तु, कपडा मात्रै होइन हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेका छन । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा पठाउने गरेका छन । चौकीको अगाडिबाट नै तस्करीका सामानहरु निर्धक्क साथ जाने गरेको छ । खुला सिमाबाट जे जस्तो अवस्थामा ल्याएपनि ति सामानहरु प्रहरी पोस्टकै अगाडीबाट जादा समेत प्रहरीले वास्ता नगर्नु प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको छ ।न्युज कारखाना

काठमाडौँ । भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड दुर्घटनामा मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन् । यस घटनामा दुई सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन् ।

वायनाडमा पीडितहरूका लागि ९३ राहत शिविरहरू पनि निर्माण गरिएका छन्, जसमा हाल १० हजारभन्दा बढी मानिसहरूले आश्रय लिएका छन्।

त्यस्तै अहिलेसम्म ६७ शवको पहिचान हुन सकेको छैन । सेनाले अहिले पनि ठूलो मात्रामा उद्धार र राहत कार्य गरिरहेको छ ।

गत बुधबार भएको बर्षा र भूस्खलनमा परेकाको उद्धार कार्य अहिले पनि जारी रहेको बताइएको छ ।

न्युज कारखाना

काठमाडौँ ।

बलिवुड अभिनेता सिद्धान्त चतुर्वेदी र नव्या नवेली नन्दा लामो समयदेखि रिलेशनशिपमा रहेको हल्ला चलिरहेको थियो । लामो समयदेखि हल्लामै सिमित रहेका सिद्धान्त र नव्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ ।

भारतीय मिडियाहरुले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन् ।

यी दुई अहिले अलग भइसकेको र सहज रुपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ । दुवैले अहिलेसम्म आफुहरुको सम्बन्धको बारेमा सार्बजनिक रुपमा टिप्पणी गरेका थिएनन् । सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिंगल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए । उनले अन्तर्वार्तामा युवती चलचित्र क्षेत्रसँग आवद्ध भएपनि अभिनेत्री भने नभएको बताएपछि उनी नव्या भएको अड्कल काटिएको थियो ।

सिद्धान्त चतुर्वेदी हाल बलिवुडका उदयीमान अभिनेता हुने भने नव्या महानायक अमिताभ बच्चनकी नातिनी हुन् । फिल्म क्षेत्र भन्दा बाहिर नव्याले आफ्नो पिताको बिजिनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पोडकाष्ट गर्ने गर्दछिन ।

त्यस्तै सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन् । उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन् । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् ।न्युज कारखाना

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् ।

डेमोक्रेट पार्टीको प्रतिनिधिहरुले मतदान मार्फत ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका लागि छानेका हुन् । अब यसको औपचारिक घोषणा भने यहि अगस्त १९ देखि हुने डेमोक्रेट पार्टीको कन्भेन्सनमा हुने छ ।

ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ।

यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखेर कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि, ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।

कमला ह्यारिस शुक्रबार दिउँसो डेमोक्रेटका ४ हजार मध्ये २३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।

न्युज कारखाना

काठमाडौँ ।

उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारीले किम जोङ उन डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न चाहेको बताएका छन् ।

रि इल क्यू सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुन् । रि इल क्यु सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका अधिकारी हुन् ।

दक्षिण कोरिया भाग्नुअघि रि इल क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए । री इल क्युले बीबीसीसँगको कुराकानीमा किम सामान्य व्यक्ति जस्तै देखिन्छन् तर आफ्नो बाँच्नको लागि उनले जे पनि गर्न सक्छ भन्नेमा कुनै शंका नरहेको बताएका छन् ।

रि इल क्युले ट्रम्प र किम जोङ उनबीच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सक्छ भन्ने महसुस गरेको बताएका छन् ।

डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपतिको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरिसकेका छन् । गत महिना एक र्‍यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन्।’

रि इल क्युले उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको बताएका छन् । तर, गत महिना उत्तर कोरियाले अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो ।

रीले उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने बताएका छन् । बरु, उसले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्ने प्रयास गर्नेछ।

न्युज कारखाना

रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् । न्युज कारखाना

काठमाडौँ । सफलताको धेरै कारण हुन सक्छन् । तर यदि यो सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक के हो भनेर सोधियो भने, जवाफ हुनेछ- आत्मविश्वास । अमेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक ‘द कन्फिडेन्ट माइन्ड’ मा लेखेका छन्, एक व्यक्तिले आफ्नो करियर, सम्बन्ध र सम्पूर्ण जीवनमा कस्तो प्रदर्शन गर्ने भन्ने कुरा उसको आत्मविश्वासमा भर पर्छ ।

अझ के हो भने, हाम्रो आत्मविश्वासको स्तरले पनि अरूले हाम्रो बारेमा के धारणा राख्छन् र उनीहरूले हामीमाथि कति भरोसा राख्छन् भन्ने कुरा निर्धारण गर्दछ । आत्मविश्वास कुनै पनि प्रकारको सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक हो भन्दा अर्को अर्थ लाग्दैन ।

आत्मविश्वास के हो ?

अमेरिकन साइकोलोजिकल एसोसिएशनको एक रिपोर्ट अनुसार, आत्मविश्वास भनेको आफ्नो बारेमा एक वास्तविक र बलियो विश्वास हो । ‘जीवनमा आउने कुनै पनि राम्रो वा नराम्रो परिस्थितिलाई हामीले सम्हाल्नेछौं’ भन्ने सोचले नै आत्मविश्वास देखाउँछ । अर्कोतर्फ, भविष्यको बारेमा चिन्तित हुनु आत्मविश्वासको कमीको संकेत हुन सक्छ ।

डा. नथानिएल जिन्सरले आफ्नो पुस्तकमा लेख्छन्, आफूलाई अरूसँग तुलना गर्दा आत्मविश्वास कमजोर हुन्छ । तर, तुलना गर्नु मानवीय स्वभाव हो । यसलाई पूर्ण रूपमा हटाउन सकिँदैन । तर कतिपय अवस्थामा सामाजिक सञ्जालमा वा आफ्नो वरपर कसैलाई देखेपछि मानिसमा इन्फिरियोरिटी कम्प्लेक्स हुन्छ र उनीहरूको आत्मविश्वास कमजोर हुन्छ ।

यस्तो अवस्थाबाट बच्नको लागि, आफैलाई आफैसँग तुलना गर्नु उपयोगी साबित हुन सक्छ । संसारभरका मान्छेहरू कस्तो छन् र के गरिरहेका छन् भन्ने कारणले आफूलाई तल्लो ठान्नुको सट्टा हिजो कहाँ थियौं र आज कहाँ छौं भनेर सोच्नुपर्छ । हिजो र आजको बीचमा हामीले आफूमा केही सकारात्मक परिवर्तन गरेका छौं कि छैनौं । हामीले आफैंले तोकेका लक्ष्यहरू हामीले कति हदसम्म हासिल गर्न सकेका छौं ? भन्ने कुरा हेर्दा आत्मविश्वासमा कमि आउदैन ।

यदि तपाई आफूलाई कुनै पनि परिस्थितिको लागि तयार राख्न चाहनुहुन्छ र आफ्नो आत्मविश्वास पनि कायम राख्न चाहनुहुन्छ भने त्यसका लागि नकारात्मक सोच भएका व्यक्तिहरूबाट टाढा रहनुपर्छ । यो अनिवार्य शर्त जस्तै नै हो ।

वेलनेस कोच स्टेफनी वाकरले आफ्नो पुस्तक ‘रिभ्याम्प योर हेल्थ: गेन स्ट्रेन्थ एन्ड कन्फिडेन्स’ मा लेखेकी छिन्- नकारात्मक व्यक्ति र नकारात्मक विचारहरूले घेरिएको व्यक्तिको आत्मविश्वास बिस्तारै घट्न थाल्छ । उसले आफ्नो बारेमा नकारात्मक सोच्न थाल्छ । मानिसको नकारात्मक सोच समयसँगै आफ्नै सोच बन्न पुग्छ ।

आत्मविश्वासका लागि पुराना कुरालाई बिर्सेर नयाँ सुरुवात गर्न जरुरी हुन्छ ।

प्रायः मानिसहरूमा आत्म-विश्वासको कमी तब हुन्छ जब तिनीहरू पहिले कुनै काममा असफल हुन्छन् र तिनीहरू आफ्नो प्रयासमा फेरि असफल हुन सक्छन् कि भनेर डराउँछन् । पुराना कुराहरूले मानिसलाई नयाँ सुरुवात गर्नबाट रोक्छ र उनीहरूको आत्मविश्वासको स्तर घट्छ ।

यस्तो अवस्थाबाट बच्न हामीले असफलताका तीतो सम्झनाहरू छोडेर नयाँ सुरुवात गर्नुपर्छ । असफलताबाट पाठ सिक्दै हामीले पछिल्लो पटकको जस्तो गल्ती नगर्ने मानसिकता विकास गर्नुपर्छ ।

आत्मविश्वास किन यति महत्त्वपूर्ण छ ?

आखिर, आत्मविश्वास किन यति महत्त्वपूर्ण छ र यदि कोही आत्म-विश्वास छ भने, यसले उसको जीवनमा कस्तो प्रभाव पार्छ ? डा. नथानिएल जिन्सरका अनुसार यदि व्यक्तिमा आत्मविश्वास भरिपूर्ण छ भने उसको जीवनमा यी सकारात्मक परिवर्तन आउन सक्छन्–

राम्रो प्रदर्शन- यदि व्यक्ति आत्मविश्वासले भरिएको छ भने यसको प्रत्यक्ष प्रभाव उसको कार्यसम्पादनमा पर्छ । पढाइ होस् वा करियर वा अन्य कुनै पनि क्षेत्र, आत्मविश्वासका कारण उसको उत्पादकत्व अरूभन्दा बढी हुन्छ ।

स्वस्थ सम्बन्ध- यदि पर्याप्त आत्मविश्वास छ भने, करियर र व्यक्तिगत कल्याण बाहेक, व्यक्ति सम्बन्धको हिसाबले पनि राम्रो स्थितिमा रहन्छ । एक आत्मविश्वासी व्यक्ति आफ्नो पार्टनर र उसको भावनालाई बुझ्न र व्यवहार गर्न राम्रो स्थितिमा हुन्छ ।

नयाँ काम गर्ने उत्साह– आत्मविश्वासी व्यक्तिले आफूलाई धेरै ठाउँमा उपलब्ध गराउन सक्षम हुन्छ । उ अगाडि बढ्न र जिम्मेवारीहरू स्वीकार गर्न र नयाँ चीजहरू गर्न तयार हुन्छ । जसका कारण उसले करियरमा धेरै अवसर पाउँछन् । आत्मविश्वासको कमीका कारण कतिपय मानिस सही अवसरको पर्खाइमा रहन्छन् ।

विश्वसनीयता- राम्रो सामाजिक सम्बन्ध, सामाजिक स्वीकृति र विश्वसनीयताको लागि आत्मविश्वास धेरै महत्त्वपूर्ण हुन्छ। यदि कुनै व्यक्तिले लामो समयसम्म विभिन्न अवसरमा आत्मविश्वास देखाउछ भने घर, अफिस, समाज र सम्बन्धमा उसको बारेमा भावना निर्माण हुन्छ कि यो काम यो व्यक्तिले गर्न सक्छ, उनलाई विश्वास गर्न सकिन्छ ।न्युज कारखाना

काठमाडौँ । जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरु सोमबार हुने छन् ।

क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । क्ल्हेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको लडाई अहिले निकै चर्चामा रहेको छ ।

त्यस्तै अर्को खेलमा इजिप्टले पराग्वेलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी स्पेनले जापानलाई ३-० ले र मोरक्कोले अमेरिकालाई ४-० ले पराजित गरेको थियो ।
न्युज कारखाना

काठमाडौँ । पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलमा ठूलो विवाद उत्पन्न भएको छ । पेरिस ओलम्पिकमा अल्जेरियाकी महिला बक्सर इमान खेलिफसँग खेल्दै आएकी इटालियन महिला बक्सरले ४६ सेकेण्डमा खेल छोडेपछि विवाद सिर्जना भएको हो ।

इटालियन महिला बक्सर एन्जेला कारिनीले रिङमा प्रवेश गरेको ४६ सेकेन्डमै खलिफविरुद्धको खेल छाडिन् । खेलपछि उनले भनिन्- ‘मैले आफ्नो जीवन बचाउनु पर्यो ।’

गत वर्षको विश्व च्याम्पियनसिपमा निर्धारित मापदण्ड पूरा नगरेको कारण सहभागी हुन नपाउने पेरिस ओलम्पिकका दुई खेलाडीमध्ये खेलिफ पनि पर्छिन् । तर यसपटक यी दुवै खेलाडीले पेरिस ओलम्पिक खेल्ने अनुमति पाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले वेल्टरवेट विधामा खेल्ने खालिफको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढेको कारण भारतमा हुने प्रतियोगिताबाट बाहिरिएको बताएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक समिति विश्व च्याम्पियनसिपको आयोजक भने होइन । २५ वर्षीय खेलिफ ओलम्पिक खेलको पहिलो राउण्डमा बाई पाएर रिङमा प्रवेश गर्दा दर्शकमा रहेका अल्जेरियन फ्यानले ताली बजाएर स्वागत गरेका थिए ।

त्यो ४६ सेकेन्डमा के भयो ?

३० सेकेन्डमा, खेलिफले अनुहारमा मुक्का हानेपछि, उनकी प्रतिद्वन्द्वी करिनी आफ्नो हेडगियर समायोजन गर्न कोचसँग पुगिन्। खेल फेरि सुरु भएको केही सेकेन्डमा, उनी आफ्नो कुनामा फर्किन् र लड्न अस्वीकार गरिन् । यसपछि, खलिफलाई विजेता घोषित गर्नेबित्तिकै करिनीले भनिन्- ‘यो ठीक भएन ।’

खेलपछि मिडियालाई सम्बोधन गर्ने क्रममा करिनीको आँखामा आँसु थियो । ‘मैले खेल समाप्त गर्न सकिन,’ करिनीले भनिन्, ‘मेरो नाकमा अत्याधिक पीडा भयो र यो अनुभव पछि मैले आफूलाई महिलाको हैसियतमा भएको अनुभव र परिपक्वताका आधारमा मेरो देशले यसमा कुनै आपत्ति हुदैन तर म रोकिएँ । मैले आफैलाई रोक्न भनें ।’

उनले भनिन्, ‘यो मेरो बाँकी जीवनका लागि अविस्मरणीय खेल हुन सक्थ्यो तर त्यसबेला मैले आफ्नो ज्यान पनि बचाउनु परेको थियो ।’ इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले इटालियन मिडियालाई भनेकी छन्, ‘समानताको आधारमा प्रतिस्पर्धाको अर्थ हुन्छ । मेरो अनुसार यसमा समानताको आधारमा केही थिएन ।’

यस खेलको एक दिनअघि अल्जेरियाको ओलम्पिक कमिटीले खलिफमाथि लागेको आरोपलाई निराधार भएको बताएको थियो ।

को हुन् इमान खेलिफ ?

२५ वर्षीय बक्सर इमान खेलिफ अल्जेरियाको टियारेटकी निवासी हुन् । युनिसेफको ब्रान्ड एम्बेसेडर खलिफले अहिलेसम्म ५० खेल खेलेका छन् र नौ वटा मात्रै हारेका छन् । खेलिफको बुबा सुरुमा उनको बक्सिङको विरुद्धमा हुनुहुन्थ्यो, किनभने उनी महिलाहरू बक्सिङमा प्रवेश गर्ने विरुद्ध थिए । खेलिफले २०१८ मा विश्व च्याम्पियनसिपमा डेब्यु गरेकी थिइन् तर उनी यहाँ १७औं स्थानमा पुगिन् । २०१९ मा, उनी नवौं स्थानमा थिइन्। २०१९ मा, उनी १९औं स्थानमा रहेकी उनी २०२१ टोकियो ओलम्पिकमा उनी क्वार्टरफाइनलमा आयरल्यान्डकी केली ह्यारिङटनसँग पराजित भइन् । एमी ब्रोडथ्रस्टसँग हारेर उनी महिला विश्व बक्सिङ च्याम्पियनसिपमा दोस्रो स्थानमा रहेकी थिइन् । उनले २०२२ अफ्रिकी च्याम्पियनसिप, मेडिटेरेनियन गेम्स र २०२३ अरब खेलहरूमा स्वर्ण पदक जितेकी छिन् ।

खेलिफलाई हटाउँदा नयाँ दिल्लीमा के भयो ?

नयाँ दिल्लीमा भएको च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष ओमर क्रेमलेभले भनेका थिए, ‘डिएनए परीक्षणको आधारमा हामीले च्याम्पियनसिपमा सहभागी धेरै बक्सरहरूले चलाखीपूर्वक आफूलाई महिलाको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए । तर परीक्षणपछि उनीमा एक्सवाई क्रोमोजोम रहेको पाइएको थियो ।  तर, अल्जेरियन ओलम्पिक कमिटीले यस निर्णयमा खेलिफलाई ‘चिकित्सा कारण’ का कारण हटाएको बताएको छ । तर, अल्जेरियन मिडियाले खेलिफको उच्च टेस्टोस्टेरोनका कारण हटाएको विश्वास गरे । यस निर्णयबाट असन्तुष्ट खेलिफले भनेकी थिइन्, ‘केही देशहरू अल्जेरियाले स्वर्ण पदक जितेको चाहँदैनन् । यो ठूलो षड्यन्त्र र षड्यन्त्र हो । यसमा हामी चुप लागेर बस्दैनौँ ।’

अन्तर्राष्ट्रिय ओलम्पिक समितिको जवाफ

सन् २०२३ मा भारतमा भएको महिला विश्व बक्सिङ च्याम्पियनसिपमा खलिफको लिंगको मुद्दा चर्चामा आएको थियो । यस्तै एउटा घटनामा उनको गत वर्षको विश्व च्याम्पियनसिपमा ताइवानकी लिन यु-थिङबाट कास्य पदक खोसिएको थियो । उनी लैङ्गिक योग्यता परीक्षामा फेल भएकी थिइन् । तर शुक्रबार उनले पेरिस ओलम्पिकमा भाग लिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सबै बक्सरहरूले प्रतियोगितामा भाग लिन र प्रवेशका लागि योग्यता मापदण्ड पूरा गरेको बताएको छ ।
अन्तर्राष्ट्रिय बक्सिङ संघद्वारा आयोजित २०२३ विश्व च्याम्पियनसिप जसमा खलिफ र लिन आउट भएका थिए ।

तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले गत जुनमा रुसको नेतृत्वमा रहेको यस संस्थाको विश्व प्रशासकीय निकायको सदस्यता खारेज गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो र पेरिस ओलम्पिकमा बक्सिङको आयोजना गर्दैछ ।

अन्तर्राष्ट्रिय बक्सिङ संघले बुधबार भने कि लिन र खेलिफलाई प्रतियोगिताको पारदर्शिता र विश्वसनीयताको स्तर कायम राख्न विश्व च्याम्पियनसिपबाट हटाइयो तर टेस्टोस्टेरोन परीक्षण भने नगरेको बताएको छ । तर उनका लागि फरक मान्यता प्राप्त परीक्षणहरू सञ्चालन गरिएको र यसको जानकारी गोप्य राखिएको छ ।

यस परीक्षणमा लिन र खेलिफले प्रतियोगितामा सहभागी हुन तोकिएको मापदण्ड पूरा गर्न नसकेको खुलासा बताइयो ।  लिन र खालिफको पहिलो पटक २०२२ मा इस्तानबुलमा भएको विश्व च्याम्पियनसिपमा र २०२३ मा पुनः परीक्षण गरिएको थियो।

इन्टरनेशनल बक्सिङ एसोसिएसनले लिनले यसविरुद्ध अपिल गरेको तर खेलिफले पहिले अपील गरेको तर पछि फिर्ता लिएको बताएको छ । उनले भने, ‘हामीले हाम्रो बक्सिङ परिवारको लागि सही र उपयुक्त निर्णय लियौँ । हामीले फेला पार्‍यौं कि तिनीहरू महिलाको रूपमा भाग लिन योग्य छैनन् ।

तोकिएको योग्यता र परीक्षणको विरुद्धमा एक बक्सर अर्को भन्दा भारी र बलियो भएमा प्रतियोगितामा महिला विधामा लड्न अयोग्य मानिनेछ । मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता मार्क एडम्सले भने, ‘यी खेलाडीहरूले धेरै वर्षअघि पनि लडाइँ गरेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ संघको मनमानी निर्णयको आइओसीले आलोचना गरेको छ । बिहीबार जारी गरिएको नयाँ विज्ञप्तिमा, अन्तर्राष्ट्रिय ओलम्पिक संघको बक्सिङ निकायले आईबीएको आलोचना गरेको छ र खालिफ र लिन आईबीएको हतार र मनमानी निर्णयको शिकार भएको बताएको छ । आईओसीले खलिफ र लिनलाई कुनै विशेष प्रक्रिया बिना नै सन् २०२३ को विश्व च्याम्पियनसिपबाट बाहिर राखिएको जनाएको छ ।

यी दुई खेलाडीविरुद्ध देखिएको आक्रोश अन्तर्राष्ट्रिय बक्सिङ संघको मनमानी निर्णयको परिणाम हो । जुन कुनै उचित प्रक्रिया बिना नै लिइएको थियो । यी खेलाडीहरू धेरै वर्षदेखि ठूला प्रतियोगिताहरूमा भाग लिइरहेका छन् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ।

बक्सिङ विश्लेषकहरुले भने यो घटना बक्सिङका लागि निकै नराम्रो भएको बताएका छन् । ओलम्पिकमा बक्सिङको भविष्यबारे छलफल भइरहेका बेला यस्तो घटना हुनु दुखद भएको छ र यस घटनाले ओलम्पिकमा बक्सिङलाई चोट पुर्याएको उनीहरुको ठहर छ ।

खेलिफको अर्को खेल शनिबार हङ्गेरियन बक्सर अन्ना लुका हमोरीसँग हुनेछ। यदि खलिफाले त्यो खेल जितेमा पेरिस ओलम्पिकमा उनको पदक पक्का हुनेछ ।न्युज कारखाना

 

काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज अपराहन्न ३ बजेदेखि यो खेल शुरु हुने छ ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतले भने इरान र माल्दिभ्सलाई पराजित गरेर ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।