२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, १२ असोज । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको बैठकले चिकित्सकलाई कुटििपट गर्नोई कारबाही गर्न निर्देशन दिएको हो । चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि बैठकले दोषीलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने र गृहमन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

साथै बैठकले वार्ताबाट सहमति खोज्न आन्दोलनरत चिकित्सक र सरकारलाई आग्रह गरेको छ ।

समिति सभापति जोशी र समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती)को हस्ताक्षर रहेको निर्णयसहितको निर्देशनको पूर्णपाठ :

संघीय संसद प्रतिनिधि सभा
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

मिति २०८०/०६/१२

निर्णय
बैठक संख्या – १६

१. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक समितिको सभापति मा. भानुभक्त जोशीको सभापतित्वमा बस्यो । समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री मोहन बस्नेत, गृह मन्त्रालयका सचिव, स्वास्थ्य सेवासम्बन्धी नेपाल मेडिकल काउन्सिल, नेपाल डेन्टल एसोसियसन, नेपाल सरकारी चिकित्सक संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेसनल रेजिडेन्ट डक्टर एसोसियसन, नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ परिषदलगायत विविध सरोकारवाला संघसंस्थाहरुको प्रतिनिधिको समेत उपस्थिति थियो । चिकित्सकहरुमाथि भएको दुर्व्यवहार एवम् अनपेक्षित घटनावारे बैठकमा मा. मन्त्री, सचिव एवम् सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो धारणा राख्नुभयो ।

चिकित्सकहरुमाथि भएको यस प्रकारको दुर्व्यवहारप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको र यस्तो घटनाप्रति दुःखपूर्ण खेद प्रकट गर्दै,

दोषीउपर नियमानुसारको कारवाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवम् मैत्रीपूर्ण वनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देश गर्ने ।

२. चिकित्सकहरु एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्तामार्फत गर्न र चिकित्सकहरु पेशागत क्षेत्रमा नियमित हुने वातावरण सृजना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने, ३.स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्ने । समितिको अर्को बैठक सूचना जारी भएपछि बस्ने गरी आजको बैठक स्थगित भयो ।

कराँची, १२ असोज । पाकिस्तानको मस्तुङमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पाकिस्तानमा आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको एक मस्जिद नजिकै शुक्रबार पैगम्बर मुहम्मदको जन्मोत्सव मनाउन जम्मा भएका मानिसहरूको भिडमा विस्फोट भएको हो । विस्फोटपछि बलुचिस्तानका अधिकारीहरूले संकटकाल घोषणा गरेका छन्। आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

बलुचिस्तान सहर मस्तुङको घटनास्थलको फुटेजमा आपतकालीन उद्धारकर्ता र स्थानीयले घाइतेहरूलाई उद्धार गरिरहेको देखाइएको छ। बलुचिस्तानका प्रहरी प्रमुख अब्दुल खालिक शेखले विस्फोट आत्मघाती विस्फोट भएको पुष्टि गरेका छन् । उनले आक्रमणकारीलाई रोक्न खोज्दा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको बताए ।

 

यसैबीच, खैबर पख्तुनख्वा प्रान्तको पेशावर शहर नजिकैको मस्जिदमा छुट्टै विस्फोट भएको छ । पेशावर नजिकैको हांगुमा रहेको मस्जिदमा मृत्यु हुनेको संख्या नखुले पनि मानिसहरु भग्नावशेषमा फसेको प्रहरीले जनाएको छ ।हांगुको मस्जिद ४० देखि ५० जनासम्मको क्षमता भएको प्रहरीले जनाएको छ ।

 

पाकिस्तानका आन्तरिक मन्त्री सरफराज बुग्तीले बलुचिस्तान र हांगुमा भएको आक्रमणलाई आतंकवादी हमला भन्दै निन्दा गरेका छन् ।

 

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । यहाँ बारम्बार तेहरिक–ए तालिबान पाकिस्तान वा पाकिस्तानी तालिबान र इस्लामिक स्टेट समूह लगायत सशस्त्र लडाकूहरूले आक्रमण गरेको छ ।

 

यद्यपि टीटीपीले शुक्रबारको विष्फोटमा संलग्नता अस्वीकार गरेको छ र एक विज्ञप्तिमा यस्तो आक्रमण आफ्नो नीतिको विरुद्ध भएको बताएको छ ।यस महिनाको सुरुमा सोही जिल्लामा एक प्रमुख मुस्लिम नेतासहित कम्तीमा ११ जना घाइते भएका थिए।

जुलाईमा, उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धार्मिक राजनीतिक दलको भेलामा आत्मघाती बम विष्फोटमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

वीरगञ्ज, १२ असोज ।  राप्रपा नेपालले असोज १४ गते आइतबार पर्साको वीरगञ्ज सभा गर्ने भएको छ ।

घन्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।

 

‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उनले भने ।

 

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ ।

 

सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।

 

अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन ।

 

हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीकाे सहभागीता रहेकाे थियो । सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्बत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजाे मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन ।

गत भदौं २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । एसियाली खेलकुदको उदघाटनमा सहभागीसमेत भएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने चिनियाँ समकक्षीसँग बेइजिङमा बार्ता गरेका थिए ।

 

उनी गत भदौं ३० गते अमेरिका प्रस्थान गरेका थिए, त्यसको १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।

सुरेशचन्द्र रिजाल 

श्रावणमा मलमास परेकाले ढिलागरी सोह्रस्राद्ध १३ असोज शनिबारदेखि प्रारम्भ भएको छ । देवयोनी र पितृयोनी एउटा यस्तो योनी हो, जसले टाढाबाट भनिएका कुराहरु सुन्ने, पूजा पनि ग्रहण गर्ने र टाढाबाटै गरिएको स्तुतिबाट पनि प्रसन्न हुन्छन् । देवता र पितृहरु सुगन्धित तथा भावबाट नै तृप्त हुन्छन् । जस्तै मनुष्यको आहार भएजस्तै पितृहरुको आहार भनेको अन्नको सारतत्त्व हो । जसरी गौशालामा छुट्टिएर बसेको आमालाई बाच्छीले कुनै न कुनै प्रकारले खोज्छन् भनेजस्तै मन्त्र, आहुति, द्रव्यहरुको पितृहरुले आफू निवास गरिरहेको स्थानमा कुनै न कुनै प्रकारले पुगिरहेका हुन्छ ।

 

आफ्नो पितृहरुको तिथिअनुसार श्राद्ध गरेपछि पितृ प्रसन्न भएर गर्ने परिवारमा उनीहरुको सन्तानको आयु वृद्धि भएर जान्छ भने धनधान्य सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महर्षि याज्ञवल्क्यले आफ्नो याज्ञवल्क्य स्मृतिमा लेखेका छन्– पितृहरु श्राद्धबाट नै तृप्त हुन्छन् र तृप्त आत्माले दिएको आशिर्वादले हाम्रो आयु, धन, विद्या, स्वर्ग, मोक्ष, राज्य एवं अन्य सबै सुखभोग गर्न पाउने छन् ।

 

श्राद्धचन्द्रिका नामक पुस्तकमा कर्मपुराणको मध्यभागमा  श्राद्धभन्दा ठूलो अरु कुनै पनि कुराहरुबाट नहुने उल्लेख गरिएको छ । त्यसैले हरेक मनुष्यले जसरी भए पनि श्राद्धको कर्म गर्नु नै पर्ने कुरा शास्त्रले अह्राएको छ ।
स्कन्दपुराणको नगरखण्डमा बताइएको छ कि– श्राद्धमा प्रयोग भएका कुनै पनि वस्तुहरु व्यर्थ नजाने भएकोले श्राद्ध अवश्य गर्नु पर्ने बताइएको छ । हाम्रो धर्मशास्त्रमा श्राद्धसम्बन्धी कुराहरु यति धेरै विस्तारमा बताइएको छ कि श्राद्धमा गरिने सानोभन्दा सानो कुराको सूक्ष्म मीमांसा र समीक्षा गरिएको छ । श्राद्ध माता, पिता एवं अन्य पूर्वजहरुको निमित्त श्रद्धापूर्वक गरिने दान नै श्राद्ध हो ।

शास्त्रमा भनिएको पनि छ–

देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्त श्राद्धमुदाहृतम् ।।

शास्त्र अनुसार पिताको श्राद्ध पुत्रले नै गर्नुपर्ने बताइएको छ । यदि छोरा नभएको अवस्थामा पत्नीबाट पनि श्राद्ध गर्नु पर्ने नियम बताइएको छ । पत्नी नभएको अवस्थामा भाइ र यदि भाइको पनि अभाव भएमा जामाता (ज्वाईं) पनि श्राद्धका अधिकारी हुन्छन् । आमाको श्राद्ध पिताको श्राद्धसँग नै गर्नुपर्ने हुन्छ ।

 

मत्स्यपुराणका अनुसार श्राद्ध गर्नका लागि सबैभन्दा राम्रो समय मध्याह्नकाललाई मानिन्छ । श्राद्ध गर्ने समयमा तीन कुरा अत्यन्त आवश्यक हुन्छन् । रीस, अपवित्रता र हतारलाई त्याग गरी शुद्धपवित्र भावनासहित गर्नुपर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

श्राद्धकर्ताले ताम्बुलभक्षण, तेलमालिस, उपवास तथा अन्यत्रबाट ल्याइएको अन्न पनि खान निषेध गरिएको छ । श्राद्धभोजन गर्ने व्यक्तिहरुले पनि २ पटक भोजन गर्नु नहुने र श्राद्धको दिन यात्राको लागि पनि वर्जित गरिएको छ ।

 

त्यसैगरी दान लिन, हवन गर्न, हिंसादि कर्ममा लिप्तता पनि शास्त्रनिषिद्ध गरिएका छ । श्राद्धमा प्रयोग गरिने अन्नको बारेमा पनि शास्त्रमा व्यापक रुपमा चर्चा गरिएको छ । श्राद्धको दिन कालो दाल, तील, जौँ, सामा, चामल, दूध, मह, गौँ, चिनी, कपूर, अमला, कटहर, अनार, नरिवल, सुपारी, तुलसी, कागती, पीपल लगायतका वस्तुहरुको प्रयोग गर्नु अत्यन्त राम्रो हुने कुरा उल्लेख गरिएको छ । उक्त पुराणका अनुसार सात्विक अन्न वा फलबाट पितृलाई तृप्त गराउनु पर्ने कुरा बताइएको छ ।

भनिएको पनि छ– श्राद्धका अवसरमा कदम्ब, कबेडा, बेलपत्र, करवीर, रातो तथा कालो रंगका पूmल एवं धेरै बस्ना आउने सबै फूलहरु श्राद्धमा वर्जित गरिएको छ ।

श्राद्धका लागि उपयुक्त मानिएको कमल, मालती, जुही, चम्पाका साथै बास्ना आउने सेतो पूmलहरु तथा तुलसी या भृङ्गराजको प्रयोग गर्न हुने बताइएको छ । श्राद्धचन्द्रिका नामक ग्रन्थमा केराको पातमा भोजन गर्न नहुने तर श्राद्ध बाहेकका अन्य क्रियाकलाप भने गर्न हुने करा उल्लेख  गरिएको छ । श्राद्ध–भोजनका लागि पात्रको रुपमा सुन, चाँदी, काँस, तामा र पातलाई सर्वोपरि मानिएको छ । त्यसैगरी आसनका रुपमा रेसमी वस्त्र, ऊन, काठ, कुशको आसनलाई उत्तम मानिएको छ । निषिद्ध काठका रुपमा पलाँस, वर, पीपल, मौवा आदिको आसनमा बसेर भोजन गर्न नहुने कुरा बताइएको छ ।

 

वैदिक परम्परा अनुसार श्राद्धका चार विधि वर्णन गरिएको छ । ती पिण्डदान, हवन, तर्पण, ब्रह्मण भोजन हुन् । यो नियम अनुसार सम्भव भएमा पिण्डदान र हवन गर्न सकिनेछ । यदि असम्भव अवस्थामा पिण्डदान पनि छाड्न सकिन्छ तर तर्पण र ब्राह्मणभोजन गराउनु पर्ने हुन्छ । तर्पण र ब्राह्मणभोजनलाई मुख्य अंग मानिएको छ । पितृहरुको नाममा कहि पनि गर्न े  नसक्नेले तिथि परेको दिनमा ब्राह्मणभोजन र दक्षिणादान मात्र गरे पनि पितृहरु तृप्त हुन्छन् भन्ने कुरा मार्कण्डेय पुराणमा बताइएको छ । कुनै पनि प्रकारको पितृकार्य नगर्नेहरुका लागि पितृहरुले लाचार भएर उक्त परिवारको रक्तपान गर्दछन् भन्ने कुरा पनि बताइएको छ ।

 

आश्विन कृष्ण पक्षको प्रतिपदादेखि औँसीसम्म ब्रह्माण्डको ऊर्जा तथा त्यो ऊर्जासँग पितृहरुको प्राण पृथ्वीमा व्याप्त हुन्छ । पितृपक्षमा पितृहरु श्राद्ध, तर्पण पाउने आशामा आप्mनो सम्बन्धित श्राद्धकर्ताको घरमा सूक्ष्म शरीरले घुमीरहन्छन् । तसर्थ १६ दिन, ११ दिन, ७ दिन, ५ दिन, ३ दिन अथवा १ दिन श्राद्ध तर्पण गर्ने विधान छ । शक्ति एवं परिस्थितिअनुसार १ दिन त अनिवार्य नै गर्नुपर्दछ ।

अन्यथा पितृहरु श्राद्धकर्ताको पुण्यहरण गरी दारुण नामको श्राप दिएर निरास हुँदै जान्छन् भन्ने कुरा निर्णयसिन्धुमा बताइएको छ ।

वृश्चिके मसतीक्रान्ते पितरौ देवतैः सह ।
निःश्वास्य प्रतिगच्छन्ति श्रापं दत्वा सुदारुणम् ।।

 

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ।)

काठमाडौं, १३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

राती भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङ्गको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

आरके श्रीवास्तव,रौतहट,१२ गते असोज ।
रौतहट । थारु कल्याणकारिणी सभा रौतहटको अब आफनै भवन निर्माण हुने भएको छ । जसको लागि आज जिल्लाको गुजरा नगरपालिकामा सभाहल भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुरमा सभाहल भवनको शिलान्यास गरिएको हो ।


सोही वडाका वडा अध्यक्ष प्रेम चौधरीले शुक्रवार एक कार्यक्रमका बिच विधिवत् रुपमा शिलान्यास गर्नुभएको हो । थारु कल्याणकारीणी सभाको भवन रु. ९० लाख भन्दा बढीको लागतमा निर्माण हुन लागेको थारु कल्याणकारिणी सभा रौतहटका सभापती जगरनाथ चौधरीले जानकारी दिनुभयो । कल्याणकारीणी सभाको भवन नगरपालिका,विभिन्न वडाका वडा अध्यक्ष,सहयोगी चन्दादाताहरुको सहयोगमा भवन निर्माण कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।


रामबाबु चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा भागीरथ चौधरीले स्वागत मन्तव्य राख्दै अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आफनो मन्तव्य राख्दै प्रमुख अतिथी चौधरीले थारु समाजको लागि आज उत्साहजनक र ऐतिहासिक दिन रहेको उल्लेख गर्नु भयो । साथै उनले दयालपुरमा नै थाकसको भवन निर्माण गर्नको लागि पहल गर्नु हुने सम्पूर्ण जनालाइ धन्यवाद ज्ञापन गर्नु भयो ।


साथै कार्यक्रमलाइ समापन गर्नु हुँदै थाकस रौतहटका अध्यक्ष चौधरीले भवन निर्माणमा मात्र थारु समाजको होइन् कि सवै वर्गको सहयोग बाट आज हामीले यो अवसर पाएका छौं । यसलाइ सहि तरिकाले सदुपयोग गर्ने छौं । भवन निर्माणमा सहयोग गर्नु हुने सबै महानुभावहरुलाइ धन्यावाद पनि ज्ञापन गर्नु भयो ।
वि.स.२००५ सालमा स्थापना भएको थाकस रौतहटको भवन विहिन रहेको थियो । वडा अध्यक्ष चौधरी र विभिन्न व्यक्तीत्वहरुको सहयोगमा सो भवन बन्न लागेको हो । वडा अध्यक्ष चौधरीले थाकसको भवन निर्माणको लागि आफनो वडामा रहेको १० कठ्ठा जग्गा उपलब्ध गराए पछि सो भवन बन्न सम्भव भएको हो ।

सो अवसरमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी, थाकसका केन्द्रिय सदस्य चन्द्रपुर नपाका पूर्व नगरप्रमुख रामचन्द्र चौधरी, अधिकलाल चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष रामजीत चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारु,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,पूर्व सभापती रामश्रय चौधरी,दलित अगुवा पूनित राम सहित जिल्ला भरीका थारु समाज अगुवा व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।

 

सर्लाही, ११ असोज । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव चिताबाट बरामद गर्दै तीनजनलाई प्रहरीले नियन्त्रणम लिएको छ ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई घाटबाटै नियन्त्रणमा लिएर अनुुसन्धान गरिएको प्रहरीको भनाइ छ ।

परिवारका सदस्यले छारे रोगबाट पीडित मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् भने प्रहरीले शंकास्पद ठानेर शव बरामद गर्दै परिवारका सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो । संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान र शवको पोष्टमार्टमको रिपोर्टपछि सबै थाहा हुने प्रहरीले भनेको छ ।

 

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ ।

सिरहा ११ असोज। सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम  घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।

नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन्। लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विनाघुस नहुने नाम उल्लेख नगर्ने सर्तमा धनगढीमाई नगरपालिकाका एक सेवाग्राहीले बताए।

उनले भने, ‘म सामान्य कित्ताकाटको लागि सबै प्रक्रिया पुर्‍याएर बिहानै कार्यालाय पुग्दा पनि ४ बजेमात्र कित्ताकाट गरिदिए। ६ घण्टा लगाएर ४ बजेमात्र नक्सा हातमा पर्‍याे ।  तर, सबै कागजात हुँदा र प्रक्रिया पूरा गरेर बुझाउँदा काम गराउन घुस दिनु पर्‍याे । घुस दिएका कारण बल्ल ४ बजे काम भयाे  । घुस नदिएकाे भए काम नै नहुने रहेछ । नापी कार्यालयले समयमा काम नगरिदिँदा जग्गा पासको काम पनि त्यसदिन हुन सकेन।’

गोलबजार नगरपालिका-६ का अर्का सेवाग्राही जग्गा कित्ताकाटकोलागि गत सुक्रवार बिहान १० बजे कार्यालय पुगे पनि कार्यालय बन्दहुने समयमा मात्र नक्सा उनको हातपर्‍याे। तयार भएको नक्सासहितको कागजात लिन अमिन (सर्वेक्षक) गैन महतोलाई घुसबापत दुई हजार रुपैयाँ दिनुपरेकाे  उनकाे आराेप छ ।

‘मेरो भरदिन त्यहि काममा बबित्यो, तर ति सर्वेक्षकले मसँग अतिरिक्त रकम नलिएसम्म कागजात नै दिएन। मैले पनि कति हैरानी झेल्नु भनेर अन्तमा दुई हजार रकम दिएँ,’ उनले न्युज कारखानासँग भने ।

लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन्। उनीहरुले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुनेभन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासाे छ।

घुस खुवाउन नसक्ने सेवाग्राही सेवाबाटै बन्चित हुने स्थिति रहँदा नापी कार्यालय लहानका प्रमुख नापी अधिकृत संजय कुमार सिंह भने पन्छिन खाेजे । कार्यालयमा भएकाे अनियमितता र घुस लेनदेनले सेवाग्राही मर्कामा परेकाे विषयमा आफू जानकार नरहेकाे भन्दै पन्छिएर कर्मचारीमाथि आराेप लगाउँदै सिंहले भने,  ‘उनको (अमिन गैन महताे) व्यवहार अलिक ठिक छैन । तपाईंले मलाई जानकारी गराउनु भयो । म उनलाई सम्झाईदिउँला ।’

 

अधिकृत सिंहकै अभिव्यक्ति र गत ६ भदौमा यस कार्यालयमा कार्यरत अमिन दिपरञ्जन यादव १० हजार घुससहित समातिनुले पनि घुस लेनददेन तथा अनियमिततामा कार्यालय प्रमुखलगायतका मिलोमतो रहेको पुष्टि गर्छ।

सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासाे आउने गरेकाे छ ।

 

काठमाडौं, ११ असोज । महोत्तरीको सोनमा गाउँपालिका–५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलविन्द्र महतो रहेका छन्। उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पेस्तोलसहित सोही पेस्तोलमा लाग्ने गोली एक राउण्ड, किल्ला उक्काउने रड दुई थान र पेचकस एक थान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेको जनाइएको छ।

साथै बीआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाइएको छ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।