नयाँदिल्ली, २२ असोज ।
पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ ।
हमासले शनिबार बिहान देखी इजरायलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ ।
पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरायलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि सबै उडान रद्द गरेको छ ।
एयर इन्डियाका प्रवक्ताले आइतवार साँझ भने कि एयरलाइनले तेल अवीव जाने सबै उडानहरू अक्टोबर १४ सम्म रद्द गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्ना चालक दलका सदस्य र सबै यात्रुको सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरेको प्रवक्ताले बताएका छन् । उनले अक्टुबर १४ सम्म कन्फर्म टिकट भएका यात्रुलाई कम्पनीले सक्दो सहयोग गर्ने बताएको छ ।
टाटा समूहको एयरलाइन्स एयर इन्डियाले तेल अवीव र नयाँ दिल्ली बीच साप्ताहिक रूपमा पाँच उडानहरू सञ्चालन गर्दछ। यी उडानहरू सोमबार, मंगलबार, बिहीबार, शनिबार र आइतबार हुदैँ आएका छन्। पछिल्लो घोषणा अघि कम्पनीले हिजो शनिबार पहिलो पटक उडान रद्द भएको जानकारी दिएको थियो । तर, शनिबार ७ अक्टोबरको उडानबारे एक दिनको अपडेट मात्र दिइएको थियो ।
लन्डन, २२ असोज ।
इजिप्टको अलेक्जान्ड्रिया सहरमा दुई इजरायली पर्यटक र उनीहरूका इजिप्टियन गाइडलाई गोली हानी मारिएको छ ।
इजरायली विदेश मन्त्रालयका अनुसार आइतबार बिहानको आक्रमणमा अर्का इजरायली घाइते भएका थिए, जसलाई मन्त्रालयले स्थानीयले गोली हानेर मारेको बताएको हो ।
तर, इजिप्टका अधिकारीहरूबाट तत्काल कुनै पुष्टि भने गरेका छैनन् ।
तर निजी एक्स्ट्रा न्युज टिभी च्यानलले पोम्पीको स्तम्भ भनेर चिनिने पुरातन रोमन साइटको भ्रमण गर्ने समूहमाथि गोली चलाएको उल्लेख गरेको छ ।
आक्रमणकारीले आफ्नो व्यक्तिगत हतियार प्रयोग गरेर सुरुमा फायर गर्यो अनि धमाधम गोली हान्यो, एक सुरक्षा स्रोतलाई उद्धृत गर्दै सो च्यानलले भनेको छ । गोली प्रहार गर्नेलाई तत्काल घटनास्थलबाट पक्राउ गरी हिरासतमा राखिएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको आक्रमण पछिको फुटेजमा कम्तिमा दुई व्यक्ति पुरातात्विक स्थलमा जमिनमा मारिएको देखिन्छ।
इजरायली विदेश मन्त्रालयले इजिप्टका अधिकारीहरूसँग इजिप्टका नागरिकहरूलाई जतिसक्दो चाँडो इजरायल फर्काउन काम गरिरहेको बताएको छ।
धेरैले प्यालेस्टाइनी हमास समुह र इजरायल बिचको युद्धको ‘साइड इफेक्ट’को रुपमा इजिप्टमा दुई इजरायली मारिएको बताएको छ तर त्यसको स्वतन्त्र पुष्टी भने भएको छैन । प्रहरीले गोली हान्ने अपराधीसँग सोधपुछ गरिरहेको समाचारमा जनाईएको छ ।
काठमाडौं, २२ असोज ।
आज देखी काठमाडौंमा पिएचडी (बिद्याबारिधी) फेस्टिबल सुरु हुने भएको छ ।
आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वबिद्यालयले गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं बिद्याबारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।
पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा बिषय बिज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् ।
काठमाडाैं, २२ असाेज ।
प्रतिनिधिसभाकाे बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधयेक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्ताव माथीकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् ।
साथै, सभामुख देवराज घिमिरेले बिधुत बिधयेक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ।
सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने संसद सचिवालयले जनाएकाे छ ।
काठमाडौं, २२ असोज ।
हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। बर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, २१ असोज ।
सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ।
चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।
दसैंको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि बिहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ देखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ।
तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ देखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए ।
चाडपर्वको समयमा सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाइहरुमा समेत बस संचालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ।
धनगढी,२१ असोज ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजि सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।
सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । उनले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताए ।
सरकारले भ्रष्ट्राचारी र तस्करी गराएको अरोप लगाए । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए ।
ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए ।
जनता आर्थिक मन्दिको मार खेपि रहेको वेला प्रधानमन्त्री तृर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीलेका आरोप छ । ‘कहीले गेरु बस्त्र धारी भएका छन्, महिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भने, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन ।’
धनगढी, २१ असोज।
महेन्द्रनगरमा आइतबार सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले जितेको छ।
आइतबार भएको फाइनलमा महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो। उपाधिसँगै १ लाख नगद हात पार्यो।
एसपीएले अपराजित रहदैँ प्रतियोगिताको उपाधि हात पारेको हो। महेन्द्रनगरस्थित क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा एसपीएले पाएको ६४ रनको लक्ष्य १३.४ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो।
एसपीएका आशिष लुहारले ६ बलमा १४ रन, विशाल विष्टले ८ र गौरव मल्लले ११ रन जोडे। लिटिलबुद्धका नरेन्द्र ऐडी ३ विकेट, राजेश ऐरले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटिलबुद्धका लागि पुकार चन्दले २३ र राजेश ऐरले १० रन जोडे। एसपीएका सागर साउदले ४, सौर्य श्रेष्ठ र खगेन्द्र कुँवरले समान ३–३ विकेट लिए।
एसपीए कलेजले यस क्षेत्रमा स्कुल तथा कलेज क्रिकेट कपमा अधिपत्य जनाउँदै आएको छ। कलेजमा ८ जना अन्तर्राष्ट्रिय खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत् छन्।
धनगढी, २१ असोज ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीमरावल जिन्दाबाद भन्दै नारा लगाएका छन् ।
ओली बोल्ने क्रममाफ्लोरबाट भीमरावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागिले शान्त गराएका थिए । मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भन्दै धम्काउने प्रयास गरेका थिए ।
त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षेमागर्ने र काममा फर्काउन सकिने बताए । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले एमाले छोडेर झक्कीएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपिल गरेका छन् ।
काठमाडौं, २१ असोज ।
नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ ।
आइतबार सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जारी गरिएको विज्ञप्तिमा कांग्रेसले ‘नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पु¥याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’ उल्लेख गरिएको छ ।
इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको छ । हमासको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन् ।