काठमाडौ, २४ असोज ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ । यससँगै सूचक १८९०.०४ अंकमा आएको छ । १७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ४७ सय ३ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल १ सय ६६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ३ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौ, २४ असोज ।
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलमा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि बुधबार तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको मूल्य नै कामय हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, २४ असोज ।
ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयको मातहतमा रहने गरी पाँच लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो।
अक्षयकोषको संरक्षकमा स्वर्गीय ललितबहादुरकी पत्नी चन्द्रा राज्यलक्ष्मी शाही रहने छिन्। ललितबहादुरका छोरा अरुणबहादुर शाही, दीपक शाही र छोरी शान्ति राणा, हेमन्ती राणा, बसन्ती बस्नेतलगायतले अक्षयकोषका लागि रकम प्रदान गरेका हुन्।
मंगलबार काठमाडौंमा एक समारोहकाबीच विद्यालयका प्राधानाध्यापक तेजबहादुर सिंहलाई परिवारका सदस्यले अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेका छन्।
अरुणबहादुर शाहीले बुवाको नामबाट अक्षयकोष राख्न पाउँदा निकै खुसी लागेको बताए। यस्तै दीपक शाहीले आफ्ना पिताले सिभिल इन्जिनियरका रूपमा सुदूरश्चिममा गरेको सेवाको स्मरण गर्दै यो सानो प्रयासले उनको योगदानको जिवन्ततामा इट्टा थप्ने विश्वास व्यक्त गरे। उनले आफ्नी आमाको इच्छा अनुसार अक्षयकोष स्थापना गरिएको जानकारी दिए।
ललितबहादुरको जन्म डडेलधुरामा भएको थियो। पछि उनी धनगढी-२ मा बसाइ सरेका थिए। त्यही वडामा शारदा स्कुल रहेकाले आफूहरूको पहिलो रोजाइ बनेको परिवारले जनाएको छ।
प्रधानाध्यापक सिंहले तीन जना छात्र र तीन जना छात्रालाई अक्षयकोषको व्याजबाट आउने रकमले प्रत्येक वर्ष छात्रवृतिका रूपमा प्रदान गरिने जानकारी दिए। गरिव र जेहन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिने उनले बताए।
विद्यालयमा अन्य व्यक्तिले पनि यस्ता खाले छात्रवृति स्थापना गरेको र विद्यालयले पारदर्शी रूपमा प्रत्येक वर्ष छात्रवृति प्रदान गर्दै आएको उनले बताएका छन्। हाल विद्यालयमा २३ लाख १२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष पुगेको उनी बताउँछन्।
यसका साथै उनले आफू विद्यालयको गुणस्तर अभिवृद्धिमा समेत केन्द्रित रहेको जानकारी दिए। अहिले विद्यालयमा करिव दुई हजार विद्यार्थी रहेको र नतिजा पनि सन्तोषजनक रहेको उनको भनाइ छ।
झापा, २३ असोज ।
झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो ।
हात्ती मरेको हो या मारिएको खुल्न बाँकी रहेको छ ।
काठमाडौं, २४ असोज ।
काठमाडौंका बानेश्वरस्थित बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । बागमदी खोला किनारमा बुधबार बिहान काठमाडौं शंखमुलका २० वर्षीय विकास महराको शव फेला परेको हो ।
मृतक युवकको साथबाट खाली सिरिञ्जको कभर थान एक, मोबाइल थान एक फेला परेको छ । जसकारण उनी लागुऔषध प्रयोगकर्ता भएको हुन नसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
काठमाडौं, २४ असोज ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर गरेको छ ।
इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजनाविरूद्ध बुधबार मुद्दा दायर गरेको हो । चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् ।
पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौंको नागार्जुन लोकेन्द्रकुमार पौडेल र बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरूङ फरार छन्।
उनीहरूविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।
भक्तपुर, २४ असाेज ।
भक्तपुर नगरपालिका-२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले विभिन्न सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा देकोचाबाट कालोपाटीमोडतर्फ जाँदै गरेको बा. प्रदेश ०२–०३४ प. २३२५ नं. को स्कुटी चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने वर्ष २८ को सुशान्त अवाललाई पक्राउ गरेको हो ।
उनको स्कुटीको डिकीबाट नोर्फिन – ४५ एम्पुल, डाईजोपाम – ४५ एम्पुल, फेनेरागन – ४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज – १ थान र प्रयोग भएको सिरिन्ज – ६ थान फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध फेलापारी स्कुटीसहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको परिसरका सूचना अधकिृत बसन्त पाठकले बताए ।
काठमाडौं, २४ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटबार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आज सो अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
काठमाडौ, २४ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
चितवन जिल्लाका रास्वपाका पुर्व सभापति धर्मेन्द्र सापकोटा आज आम जनता पार्टीमा प्रवेश गरेका हुन ।
आजपाका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।
उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ बर्ष देखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रुपमा परिचित रहेका छन ।
विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
काठमाडौं, २४ असोज ।
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् ।
झन्डै दुइ साता अमेरिकामा बिताएका अध्यक्ष यादव मंगलबार राती स्वदेश फर्किएका हुन् । अध्यक्ष यादव गत असोज १२ गते अमेरिका गएका थिए ।

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुनका लागि उनी अमेरिका गएको जसपा नेपालले जनाएको थियो । तर, अमेरिकामा रहेको सो कार्यक्रम बिबादित बनेको थियो, त्यस संस्थामा आबद्ध एउटा पक्षले भने बिरोध र आपत्ति जनाएको थियो । यद्धपी, अध्यक्ष यादवले निमन्त्रणा अनुसारको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका हुन ।
अमेरिकास्थित बिभिन्न संघ संस्थाले आयोजना गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा पनि उनको सहभागीता रहेको थियो ।