२०८३ भाद्र ४
२०८३ भाद्र ४

लमजुङ, २७ असोज :

चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा यतिबेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो । यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताउनभुयो । उहाँका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “पर्यटकको आगमन ठप्प भएसँगै फुर्सदिला बनेका हामी यतिबेला पर्यटक आगमन बढ्न थालेसँगै उनीहरुका लागि व्यस्त भइरहरेका छौँ ।” पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी हर्षित भएको उहाँको भनाइ छ । पर्यटक नआउँदा आम्दानी शून्य जस्तै भए पनि यतिबेला दैनिक रु ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको उहाँले सुनाउनुभयो । त्यस्तै अर्का पर्यटन व्यवसायी मेखबहादुर गुरुङका अनुसार पर्यटक बढेसँगै आम्दानीसमेत वृद्धि हुँदै गइरहेको छ । यतिबेला पर्यटक आगमन बढ्दा दैनिक रु ३०÷३५ हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुनाले पर्यटक यसअघिसम्म आएका थिएनन् । यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् । सो पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकीन तथ्याङ्क भने छैन । यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन् ।रासस

कञ्चनपुर, २७ असोज :

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रु चार करोड १८ लाखको लागतमा भवन निर्माणको कार्य भइरहेको छ । भवन निर्माणको ९० प्रतिशत कार्य पूरा भएको छ । शिक्षालयका प्रमुख दिपकसिंह विष्टका अनुसार तीनतले भवनमा ११ कक्षाकोठा, नौ वटा शौचालय निर्माण गरिएका छन् । “चण्डीदेवी निर्माण सेवाले १० महिनाभित्र भवन निर्माण पूरा गर्नका लागि सम्झौता गरेअनुसार भवन निर्माणको कार्य गरिएको छ”, उहाँले भन्नुभयो, “मङ्सिर मसान्तभित्रै भवन निर्माणका सम्पूर्ण कार्य पूरा हुन्छन् ।” निर्माण भएको भवन हस्तान्तरण भएसँगै पठनपाठनको कार्य सुरु गरिने उहाँले बताउनुभयो । भवन अपाङ्गमैत्रीसँगै भूकम्प प्रतिरोधी रहेको उहाँले जानकारी दिनुभयो । भवन तीन हजार चार सय वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको छ । शिक्षालयको आफ्नो भवन नहुँदा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसको भवनमा कक्षा र कार्यालय सञ्चालन हुँदै आएको छ । शिक्षालयको भौतिक संरचना निर्माणका लागि नौ बिघा सात कट्ठा जग्गा उपलब्ध गराइएको छ । उपलब्ध गराइएको सार्वजनिक जग्गाको स्वामित्व शिक्षालयलाई दिइएको छ । शिक्षालय भवन निर्माणको कार्यसँगै विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि गत वर्ष रु २० लाख ३४ हजारको लागतमा वर्कसप निर्माण गरिएको थियो । वर्क सपमा निर्माणसम्बन्धीका लागि सामग्रीसँगै मेकानिकल मेसिन राखिएको छ । विसं २०७६ मा स्थापना भएको शिक्षालयमा सिभिल, मेकानिकल र अटोमोबाइलका कक्षा सञ्चालन हुँदै आएका छन् । शिक्षालयको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेअनुसार शिक्षालय भवन निर्माण गरिएको प्रमुख विष्टले बताउनुभयो । प्रतिवेदनको बहुवर्षिय योजनाअनुसार शिक्षालयको मुख्य प्रवेशद्वार, गार्ड हाउस, पार्किङस्थल, मुख्य प्रशासकीय भवन, अध्ययन कक्षा–१ र २ एसेम्बली ग्राउन्ड, प्रयोगशाला, पुस्तकालय, चमेनागृह, खुला खेलकुद मैदान र आन्तरिक मार्ग जोडने पुल निर्माण गरिने छ । यसैगरी स्टाफ क्वाटर, छात्राबास, भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, फुटबल ग्राउन्ड, प्रिन्सिपल क्वाटर, ल्याब एन्ड वर्कशप, ट्वाइलेट, बैठक कक्ष, सरस्वती मन्दिर, ओभरहेड पानी ट्याङ्की, इलेक्ट्रिक वर्कशप, मेकानिकल मेसिन एन्ड सिएनसी वर्कशप, मेडिकल फ्रेब्रिकेशन वर्कशप आदि निर्माण गरिनेछन् । त्यसका लागि रु २० करोड खर्च हुने अनुमान गरिएको छ ।रासस

महोत्तरी, २७ असोज :

असोज कृष्णपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । दसैँ पर्व सुरु हुनअघि पितृहरु (दिवङ्गत आफन्त) लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार महोत्तरीका धार्मिकस्थल र पवित्र जलाशय एकाबिहानै भरिभराउ छन् । मैथिल परम्परामा पितृपक्षभरि धार्मिक महत्वका नदी र तलाउमा पवित्र स्नान गरेर पितृतर्पण तथा पिण्ड दिइने परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिल धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् । यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर (तलाउ) तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिने भरिभराउ छन् । यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिवास नगरपालिका भित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा पितृपक्ष विसर्जन गर्ने श्रद्धालुहरुको जमघट देखिएको छ । पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल हिन्दू जनविश्वास रहेको छ । यजमान (श्राद्ध गर्ने कत्र्ता) को भिड बढेसँगै पुरोहित (कर्मकाण्डि ब्राह्मण) लाई पनि भ्याइनभ्याइ परेको छ । कत्र्तापिच्छे गोत्र, नाउँ र पितृहरुको फरकफरक सङ्कल्प पढ्नु र कर्तालाई अ¥हाइ रहनुपरेको पुरोहित बताउँछन् । मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँशीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँशीका दिन गरिने भएको हुँदा पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने गरेको छ । यसैले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डि ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउनुहुन्छ । दसैैँ, तिहार र छठजस्ता महान् चाडबाड अघि पितृहरुलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् । वर्षका अन्यबेला गरिने गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्बिघ्न सम्पन्न होस् भन्ने गरिने कामना जस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्र्राह्मण बर्दिबास–१ का भागवत काफ्लेको भनाइ छ । हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब वडादसैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ । रासस

गोरखा, २७ असोज :

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोरखा र तनहुँमामा लागू हुनेगरी रु पाँच करोडभन्दा बढीको स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । परियोजनाले चालु आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत स्वीकृत भएर आएको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । दुई जिल्लाका लागि परियोजनाअन्तर्गत चालु आवमा पुँजीगत तथा चालु खर्चका लागि रु पाँच करोड पाँच लाख रकम प्राप्त भएको कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत नयाँ सिँचाइका पूर्वाधार निर्माण गर्न र गत आवमा विस्तार भएका अधुरा सिँचाइ पूर्वाधार निर्माणका लागि रु ९१ लाख प्राप्त भएको उहाँले बताउनुभयो । “बगँैचा सुदृढीकरण कार्यक्रमका लागि यस वर्ष रु २४ लाख विनियोजन भएर आएको छ”, प्रमुख ढुङ्गानाले भन्नुभयो, “रु ४० लाख जोन क्षेत्रमा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरणमा सहयोगका लागि रकम प्राप्त भएको छ ।” सुन्तला जातका फलफूल बगैँचामा खाद्यतत्व, सुस्मतत्व व्यवस्थापन तथा प्रदर्शनीका लागि रु तीन लाख ५० हजार र चक्लाबन्दीमा पकेट, ब्लक, जोन सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा कार्यान्वयन सहयोगका लागि रु ६० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै परियोजनाअन्तर्गत चालु आवमा पुराना चक्लाबन्दी कार्यक्रमको निरन्तरता तथा व्यवस्थापन सहयोगमा रु नौ लाख बराबरको कार्यक्रम रहेको छ । “यस वर्ष सुन्तला जातका फलफूलको नमुना बगैँचा स्थापना कार्यक्रमका लागि रु २१ लाख बजेट विनियोजन भएको छ”, प्रमुख ढुङ्गानाले भन्नुभयो, “प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानमा रु ११ लाख २८ हजार प्राप्त भएको छ ।” परियोजनाले चालु आवमा रु चार लाख १३ हजारको क्षेत्र विस्तार हुने स्थानको माटो परीक्षण सेवा तथा आकस्मिक बाली संरक्षण कार्यक्रम पनि सञ्चालन गर्नेछ । त्यस्तै तरकारी क्षेत्र विस्तार तथा नवीनतम् उन्नत प्रविधि प्रदर्शनका लागि रु सात लाख ५२ हजार, आलु जातीय उत्पादन प्रदर्शनी कार्यक्रमका लागि रु आठ लाख, अनुदानमा पिबिएस÷उन्नत आलुको बीउ वितरणका लागि रु तीन लाख ९२ हजार, धानको बीउ वृद्धि कार्यक्रम÷स्वदेशी हाइब्रिड धान प्रदर्शनका लागि रु छ लाख ४० हजार र धान बालीमा नविन प्रविधि प्रदर्शनका लागि रु आठ लाख ८५ हजार विनियोजन भएर आएको उहाँले जानकारी दिनुभयो । परियोजनाबाट यस वर्ष स्थानीय तहसँगको समन्वयमा नर्सरी स्रोतकेन्द्र स्थापना÷सुदृढीकरणका गर्नका लागि रु छ लाख, अनुदानमा तरकारीको ‘हाइब्रिड’ जातको बीउ वितरणका लागि रु चार लाख, फलपूmलका निजी नर्सरी सुदृढीकरणका लागि रु १० लाख र जोन÷सुपरजोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार (सुन्तला) का लागि रु १३ लाख ५० हजार विनियोजन गरिएको प्रमुख ढुङ्गानाले बताउनुभयो । रासस

काठमाडौँ, २७ असोज :

बागमती प्रदेशसभा सभामुख भूवनकुमार पाठकले सिक्ने कुराहरु कहिले पनि अन्त्य नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “अध्ययन कार्यको कहिले पनि अन्त्य हुँदैन, कोही मान्छे ‘परफेक्ट’ हुँदैन, हामी राजनीति गर्ने मान्छेहरु भ्रममा बाँचिरहेका हुन्छौँ, महत्वपूर्ण पदमा पुगेपछि हामी जति योग्य र जान्ने कोही छैन भन्ने छ, यसले नकारात्मक प्रभाव पारिरहेको हुन्छ, सानादेखि ठूला नेताहरुको भनाइ र गराइबाट थाहा हुन्छ ।” जागरण मिडिया सेन्टर र युएनडिपीको सहयोगमा संसदीय अभ्यासमा प्रभावकारी प्रस्तुतीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले बागमती प्रदेश तथा सङ्घीयसभा सदस्यमा अध्ययनको कमी रहेको बताउनुभयो । “हामीले समसायिमक वस्तुस्थिति, समसायिमक विषयमा प्रस्तुत गर्नुभन्दा अगाडि अध्ययन गर्ने चलनको कमी छ”, उहाँले भन्नुभयो, “हामीले लेखन गरी भाषण गर्ने बानीको विकास गर्न जरुरी छ, अहिले अध्ययनका लागि गुगलमा सबै विषयको कुरा पाइन्छ, तर त्यसको खोजी गरी अध्ययन गर्नुपर्ने हुन्छ ।” उहाँले अभ्यास, अध्ययन र मेहनतको अभाव रहेको उल्लेख गर्दै हामीले सिक्नुपर्ने र अध्ययन गर्ने कुरा धेरै रहेका बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले भन्नुभयो, “रुकुमपश्चिममा छ जनाको अन्तरजातीय विवाहको निहुँमा हत्या भयो, रुपन्देहीमा अङ्गीरा पासीलाई झुण्ड्याएर हत्या भयो, तर संसद्मा केही मुद्दा उठेन ।” बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईं खत्रीले सीमान्तकृत समुदायका महिला दिदीबहिनीको क्षमता विकासका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले महिलालाई केन्द्रबिन्दु बनाई गर्ने क्रममा प्रदेशसभाको सहयोग रहने बताउनुभयो । संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले बागमती प्रदेशसभाको संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन प्रस्तुतीकरणलाई व्यवस्थित गर्न खाँचो रहेको बताउनुभयो । उहाँले आफ्नो कुरा सुनुवाइ गर्न सञ्चारकलालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभाका महिला तथा सीमान्तकृत समुदायका प्रदेशसभा सदस्यको सहभागिता थियो । कार्यक्रममा सञ्चारकर्मी रुपेश श्रेष्ठले प्रभावकारी प्रस्तुतीकरणसम्बन्धी प्रस्तुति राख्नुभएको थियो । रासस

चितवन, २७ असोज :

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । एनआरएनएले अस्पताललाई स्वामित्व हस्तान्तरणसहित प्लान्टको उद्घाटन गरेको छ । एनआरएनएका महासचिव डा केशव पौडेलले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेललाई अक्सिजन प्लान्टको स्वामित्व हस्तान्तरण गर्नुभयो । प्लान्ट छ महिनाअघिदेखि सञ्चालनमा आएको भए पनि हस्तान्तरण भने अहिले गरिएको हो । अस्पतालमा निर्माण गरिएको प्लान्टको लागत रू ९४ लाख रहेको भरतपुर अस्पतालका प्रवक्त डा गोविन्द कँडेलले जानकारी दिनुभयो । अक्सिजनमा परनिर्भर अस्पताल प्लान्ट सञ्चालनमा आएसँगै आत्मनिर्भर बनेको मेडिकल सुपरिडेन्डेन्ट प्रा डा पौडेलले जानकारी दिनुभयो । कोरोनाले अक्सिजनको महत्व सिकाएको बताउँदै उहाँले हाल अस्पतालमा दैनिक दुई सय ५० सिलिन्डर उत्पादन गर्ने क्षमताका प्लान्ट स्थपना गरिएको जानकारी दिनुभयो । कोभिडको समयमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि बिरामीको चाप रहेको भरतपुर अस्पतालमा प्लान्ट स्थापना गरिएको एनआरएनएका महासचिव पौडेलले बताउनुभयो । एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुरुप बागमती प्रदेशमा केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पताललाई छनोट गरेको उहाँको भनाइ थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गैरआवासीय नेपाली सङ्घले अस्पतालप्रति देखाएको चिन्ता र सद्भावका लागि आभार व्यक्त गर्नुभयो । “अस्पतालमा हाल दैनिक प्लान्टबाट एक सय ७५ सिलिन्डर अक्सिजन उत्पादन भइराखेको छ”, उहाँले भन्नुभयो, “यसअघि ५० देखि ७० सिलिन्डर बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहे पनि प्लान्ट सञ्चालनमा आएसँगै परनिर्भरता अन्त्य भएको छ ।” अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक रू ६१ हजार बचत भएको अस्पतालले जनाएको छ । अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ । पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने अवस्थामा अस्पताल पुगेको छ । अस्पतालमा अब लिक्विडसहित तीन अक्सिजन प्लान्ट रहेका छन् । रासस

काठमाडौँ २७ असोज :

नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)मा कला कार्यशाला सुरु भएको छ । सामरी उत्थान सेवाको आयोजना र प्रतिष्ठान हस्तकला विभाग, समसामयिक चित्रकला विभागको सहकार्यमा ‘जातव्यवस्था र यौनिकता ः कला प्रतिरोध’ शीर्षकमा दुईदिने चित्रकला कार्यशाला सुरु भएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भन्नुभयो, “दलित समुदायले विशेष रुपान्तरण खोजेका छन्, कार्यशालामा पक्कै पनि यस्ता प्रकारका विम्ब आउने छन्, कार्यशालाले जनचेतना फैलाउने आशा राख्न सकिन्छ, कलामार्फत समानता र सरलताको स्थान बनाउनुपर्ने र त्यसको सशक्त माध्यम कला हो ।” पूर्वराजदूत पदम सुन्दासले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले यस किसिमको कार्यक्रम गरेकामा खुसी व्यक्त गर्दै कार्यशालाले दलितको भावनालाई समेट्ने बताउनुभयो । उहाँले कलाकारले सोहीअनुसार चित्रको निर्माण गर्नुहुनेछ भन्ने अपेक्षा आफूले राखेको बताउनुभयो प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सामाजिक विभेदका बारेमा कलाले बोल्नुपर्ने र चित्रमार्फत मानव प्रवृत्ति, जात व्यवस्था र यसले समाजमा पारेको प्रभावलाई सम्बोधन गर्ने बताउनुभयो । प्राज्ञपरिषद् सदस्य अरुणा हिङ्माङले दलित र परलैङ्गिक समुदाय पनि यो समाजको हिस्सा भएको तथा उहाँहरुलाई पनि समान व्यवहार गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले उनीहरुका आवाजलाई स्थान दिन आयोजना गरिएको दुईदिने कार्यशाला प्रभावकारी हुने बताउनुभयो । प्राज्ञपरिषद् सदस्य सञ्जय वान्तवाले पानीभित्रका अनेकन विम्ब र त्यसले अवरोध सिर्जना गरेका सामाजिक कूरीति तथा कुसंस्कार धेरै भएको र कलामार्फत कुसंस्कार हटाउने अभियानमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । सामरी उत्थान सेवाका अध्यक्ष विमला गायकले आफूले विभिन्न सङ्घसंस्थामा बसेर काम गर्दा भोगेको तीतो यथार्थ बताउँदै प्रतिष्ठानसँग मिलेर महत्वपूर्ण काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आज समापन हुने कार्यशालामा २५ कलाकारले सहभागिता जनाएका छन् । रासस

भादगाउँ (भक्तपुर), २७ असोज :

भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम पितृपक्षका दिन दिवङ्गत हुनुभएका आफन्तहरुको नाममा पिण्डदान गर्नेको घुइँचो छ । हनुमानघाट क्षेत्रमा मृतकका नाममा पिण्डदान गरे दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले भक्तपुरका नगरवासी हनुमानघाट क्षेत्रमा आई स्रोह्रश्राद्ध गर्न आउने पुरोहित गोविन्दराज राजोपाध्ययले जानकारी दिनुभयो । उहाँले, “पितृपक्षमा गरिने स्रोह्रश्राद्ध हनुमानघाट क्षेत्रमा गरी हनुमन्ते नदीमा पिण्डदान गरी सेलाए आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दूरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई समेत मोक्ष प्राप्त हुन्छ ।” पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्व रहेको छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता अहिले पनि छ । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ । त्रिवेणी घाटका रुपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन त्यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछन् भन्ने धार्मिक विश्वास रहेको छ । रासस

नारायणगढ (चितवन), २७ असोज :

चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो । पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमका लागि पालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म रु २८ लाख ४३ हजार तीन सय बराबरको बीमा भइसकेको छ । नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो । उहाँले भन्नुभयो, “चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो ।” अहिले बीमा भएका परिवारको आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको जनाउँदै उहाँले भन्नुभयो, “विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ ।” नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । स्वस्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ छ । पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो । रासस

बेनी (म्याग्दी), २७ असोज :

प्रवासी म्याग्देलीलाई जिल्लाको विकास र समृद्धिको अभियानमा लगानी भित्र्याउन यहाँका सरोकारवालाले आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचाँै महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताले पर्यटन, कृषि, पशुपालन र जलस्रोतमा अथाह सम्भावना बोकेको म्याग्दीमा पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लामा सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा प्रवासी म्याग्देलीले गरेको सहयोग प्रशंसायोग्य रहेको बताउँदै जिल्लामै रोजगार सिर्जना हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । आर्थिक अवस्था कमजोर रहेकाको उपचार, प्राकृतिक विपत्तिमा परेकाको राहत सहयोगदेखि प्रवासमा अलपत्र परेकाको उद्धारमा मोनाले गरेको काम रचनात्मक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा पूर्वमन्त्री थममाया थापा र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विश्वभर छरिएर रहेका म्याग्देलीलाई एकताबद्ध गर्न मोना प्रयासरत रहेको बताउँदै जिल्लाको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । प्रवासमा आर्जन गरेको सीप, पुँजी र अनुभवलाई जिल्ला र मुलुकको विकास तथा समृद्धिमा टेवा पुग्ने गरी लगानीका रुपमा भित्र्याउन उहाँहरुले प्रवासी म्याग्देलीलाई आग्रह गर्नुभयो । कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी र विमला गौचनले प्रवासमा रहेका म्याग्देलीलाई जिल्लाको पर्यटन, जलविद्युत्, उद्योगलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले मोनाले आपत्विपत्, मानवीय सेवा र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका प्रमुख संरक्षक ओमनारायण जुग्जाली, पूर्वअध्यक्ष प्रकाश पुन र योगेन क्षेत्रीले प्रवासी म्याग्देलीले स्थापनाकालदेखि म्याग्दीमा विभिन्न क्षेत्रमा ठूलो सहयोग पु¥याउँदै आएको बताउनुभयो । मोनाले विश्वका विभिन्न २८ मुलुकमा रहेका म्याग्देलीलाई सङ्गठित गरेको छ । नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष ददीवल खड्का र सल्लाहकार मिम पुर्जाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खड्का जापान र पुर्जा नेदरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ ।रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।