२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौँ, २८ असोज :

सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाउनुभएका उहाँका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट समानुपातिक सांसद बन्नुभएका झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्नुहुन्छ । उहाँ सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । सांसदसँग राससका लागि संवाद गर्नेका क्रममा सांसद झा सदनमार्फत सार्वजनिक महत्वका विषयमा जनतालाई सुनाउनका लागि मात्रै बोल्नेभन्दा पनि नीतिगत तहमा कसरी प्रभाव पार्ने भन्ने उद्देश्य लिएर अभ्यास गर्नुपर्ने भनाइ राख्नुहुन्छ । उहाँ सदनमा केही सांसदले भाषण गर्दा ‘असीमित समय’ पाउने अभ्यासप्रति पनि असहमत हुनुहुन्छ । “अहिले पनि पूर्वप्रधानमन्त्री सदनमा आउनुहुन्छ र साढे तीन घण्टासम्म भाषण गरेर जानुहुन्छ । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन”, उहाँले भन्नुभयो, “एक जना सांसदले त भाषण सकिएपछि उहाँले के बोल्नुभयो भनेर अर्को सांसदले सोधेको घटना पनि छ ।” स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका झासँग विज्ञापन, व्यवस्थापन, नीति र बजार अनुसन्धानका क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । संसदीय अभ्यासलाई बाहिरबाटै नियालिरहनुभएका आफूसँग १० महिनाअघि सांसद हुँदै गर्दा धेरै हौसला, जिम्मेवारी र काम गर्ने चाहना भएको उहाँले सुनाउनुभयो । “गत वर्ष पुस ७ मा सांसदका रुपमा सपथ लिँदै गर्दा धेरै काम गर्छु भन्ने लागेको थियो । सबैतिरबाट प्राप्त हौसलाले आफ्नो जिम्मेवारी बढेको महसुस भएको थियो”, उहाँले भन्नुभयो, “त्यसको केही समयमै देखिएको राजनीतिमा बदलिँदो समीकरणले उत्साहले मलजल पाएन ।” सांसद झा विधायिकामा अध्ययन र विषयप्रतिको चिन्तनमा कमी भएको देख्नुहुन्छ । “सांसदहरु त सबैका लागि रोल मोडल बन्न सक्नुपर्ने हो, केही उदाहरणीय सांसद पनि हुनुहुन्छ तर त्यो सङ्ख्या निकै कम छ”, उहाँले भन्नुभयो, “त्यो सङ्ख्या दुई सय ७५ मा २५ मात्रै होला ।” उहाँ केही सांसदहरु होहल्ला गर्ने, साइड टक गर्ने, हाजिर गरेर लबिमा बस्ने, चिया खाने र गफ मात्रै गर्ने र आफ्नो नेताले जे बोले पनि टेबुल ठोकिहाल्ने जिम्मेवारीमा मात्रै सीमित भएकामा विमति राख्नुहुन्छ । कुराकानीका क्रममा जनताका प्रतिनिधिलाई पनि सदनमा ‘असाइनमेन्ट’ दिने अभ्यास सुरु गर्नुपर्ने धारणा राख्नुभयो । जनताले आफ्नो अमूल्य मत दिएकाले त्यसको सम्मानका लागि पनि सांसदमा पर्याप्त अध्ययन र असाइनमेन्ट जरुरी भएको उहाँको तर्क छ । “सांसद बन्नु र कुनै विषयमा गहनरुपमा जानकार हुनु फरक हो, सांसदले आफूले कुनै विषयमा नीतिगत तहमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनैपर्छ”, उहाँले भन्नुभयो । सार्वजनिक लेखा समितिका सदस्यसमेत रहनुभएका सांसद झाले समितिको असल अभ्यास सदनमा समेत लागू गर्नुपर्ने उहाँले बताउनुभयो । “संसदीय समितिका बैठकमा म पार्टी बिर्सिन्छु । सङ्घीय सदनको पूर्ण बैठकमा पनि हामीले दल बिर्सनुपर्छ, दलका नेता बिर्सिर नीति सम्झनुपर्छ”, उहाँले भन्नुभयो, “सदनमा पनि कुनै विषयमाथि घनिभूत छलफल र अभ्यास गर्न पाए मात्रै सदनलाई प्रभावकारी बनाउन सकिन्थ्यो ।” विधायिकाको भूमिका कानुन निर्माणसँगै सरकारका कामकारबाहीमा पनि हुने उहाँको भनाइ छ । उहाँ जनप्रतिनिधिहरु जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्नेभन्दा पनि मतदाता रिझाउने र ‘स्टन्ड’मार्फत लोकप्रिय हुनेमा केन्द्रित हुनु दुःखद् भएको टिप्पणी गर्नुहुन्छ । “यहाँ त सपथ ग्रहणको भोलिपल्टदेखि अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ताले खाने रहेछ, नीति राम्रो बनाउनेभन्दा पनि कसरी निर्वाचन क्षेत्रमा बजेट बढाउने भन्नेमै ध्यान जाँदा उहाँहरुको भूमिका कमजोर बन्न पुग्छ”, उहाँले भन्नुभयो । “तपाईं हेर्नुभयो भने चैतदेखि असारसम्म निर्वाचनमा बजेट पार्नका लागि आधाभन्दा बढी सांसद सिंहदरबार धाउनुहुन्छ । निर्वाचन क्षेत्रमा बजेट पार्न सकिएन भने अर्को पटक निर्वाचन जित्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “यसले विधायिकाका रुपमा पाएको मुख्य जिम्मेवारीको कमजोर बन्न पुग्छ ।” अन्य राजनीतिक दलसँगै यतिबेला रास्वपा पनि विधायिकाको भूमिका भुलेर ‘मिसन २०८४’मा केन्द्रित भएको हो भन्ने प्रश्नमा सांसद झा त्यो सत्य नभएको बताउनुहुन्छ । “हामीहरु आफ्नो भूमिकाप्रति सचेत छौँ, ‘परिवर्तनका लागि मिसन ०८४’, हाम्रो पार्टीको आधिकारिक दस्तावेजमा पनि छैन, मतदाताबाट आएको यो आवाजलाई हामीले अपनाएको मात्र हो”, उहाँले भन्नुभयो, “यसले हाम्रोे संसद् र संसदीय समितिमा हुने उपस्थिति र प्रस्तुतिमा फरक परेको छैन ।” उहाँले पार्टीभित्र पनि सांसदको भूमिकाबारे निर्ममरुपमा समीक्षा भइरहेको बताउनुभयो । “हाम्रा साथीहरु विदेश भ्रमणमा जान थाल्नुभएको, विदेशका कार्यक्रममा लालचा बढेको वा संसद्मा हाजिर गरेर पार्टीको कार्यक्रम छ भनेर निस्कने अभ्यास बढेको हो कि भनेर हामीले निरन्तर समीक्षा र आत्मसात् गरिरहेका छौँ”, उहाँले भन्नुभयो । सांसद झा कानुन निर्माणमा सदनमा सत्तापक्षले बहुमतको दम्भ देखाउने गरेको बताउनुभयो । “सदनमा सत्तापक्षको बहुमतको दम्भ घातक भइरहेको छ । मैले सदनमार्फत पनि यो कुरा उठान गरिसकेको छु”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ मलाई यो बहस अर्थहीन जस्तो लाग्छ । जति नै तर्कपूर्ण बहस र अध्ययन गरे पनि बहुमतका आधारमा बिल पास भइहाल्छ ।” उहाँले जनताको चाहना र भावनाले संसद्मा स्थान नपाएको गुनासो गर्नुभयो । “जनभावना सुन्ने क्रममा हामी देशका विभिन्न जिल्लामा पुग्यौँ । अहिले जनतामा ‘पोलिटिकल फ्रस्टेसन’ बढेको पायौँ”, उहाँले भन्नुभयो, “त्यसलाई चिर्दै जनतामा आशा, भरोसा र विश्वास जगाउने जिम्मेवारी हाम्रै काँधमा आइपरेको छ । रासस

काठमाडौँ, २८ असोज :

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ । साथै बालबालिकालाई घरमा नै साबुनपानीले हात धुने बानी बसाल्नुपर्दछ । जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस)जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो । साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिने बताइएको छ ।रासस

म्याग्दी, २८ असोज :

चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका राजु लालचनले सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताउनुभयो । “पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “यस याममा प्रतिकिलो रु ९० देखि रु एक सयपर्ने स्याउ चिस्यान गृहमा राख्दा बेमौसममा दोब्बर बढी मूल्य पार्न सकिन्छ ।” चिस्यानगृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका अर्का कृषक विश्व लालचनको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा राजुले यस वर्ष र विश्वले अघिल्लो वर्ष १०÷१० मेट्रिकटन क्षमताको चिस्यानगृह बनाउनुभएको थियो । रु १४ लाख लगानी भएको चिस्यानगृह बनाउन स्याउ जोनले रु ११ लाख अनुदान दिएको थियो । “असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ”, कृषक विश्व लालचनले भन्नुभयो, “चारदेखि पाँच महिना चिस्यान गृहमा राखेको स्याउ दोब्बर बढी मूल्यमा गाउँबाटै बिक्री हुन्छ ।” चिस्यानगृह नहुँदा मुस्ताङका कृषकले घरको कोठा, चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्दथे । यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए । स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन मुस्ताङमा पाँच चिस्यानगृह निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताउनुभयो । “वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यानगृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्”, उहाँले भन्नुभयो, “मुस्ताङमा प्रभावकारी भएकाले चिस्यानगृहको माग बढी छ ।” गत आर्थिक वर्ष २०७९/८० मा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा हाइल्याड एग्रो फार्म र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको खिङ्गामा जिआर अर्गानिक एग्रो स्याउ फार्ममा १०/१० हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको थियो । मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउखेती भएको छ । गत वर्ष मुस्ताङमा छ हजार छ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो । रु ५० करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिकटन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको थियो । बगैँचामा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले स्याउ बिक्री भएको छ । रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउखेती भएको छ । मुुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउने चटारो छ । स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो । यसअघिको वर्षमा मङ्सिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचा रित्तिन थालेका छन् । नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगैँचा नै व्यापारीलाई ठेक्का दिएका थिए । यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्नसक्ने अनुुमान गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताउनुुभयो । “फूल खेलेर परागसेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेको छ”, उहाँले भन्नुुभयो, “यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख, जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन् ।रासस

झापा, २८ असोज :

‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार यात्राको शुभारम्भ गर्नुभयो । आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित यो यात्रा क्रममा कोशी प्रदेशभरका सहयोगापेक्षी सडक मानवको उद्धार गरी विराटनगरस्थित आश्रममा राखिने भएको छ । फाउन्डेशनकी अध्यक्ष डोल्माले असहायको सेवा नै सच्चा मानव सेवा भएको जनाउँदै अभियानमा जोडिन पाउनु जीवनकै सबैभन्दा राम्रो कर्म भएको बताउनुभयो । मेचीनगरका नगरप्रमुख बुढाथोकीले कोही पनि नागरिकले सडकमा कष्टपूर्वक जीवन बिताउनु नपरोस् भनेर मानव सेवा आश्रमले विगतदेखि गरिरहेको प्रयासको सराहना गर्दै यस कार्यमा नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले मुलुकका ४६ जिल्लामा उद्धार यात्रा सञ्चालन हुने जानकारी दिनुभयो । “कसैले पनि सहयोगापेक्षी भएर चाडबाडका बेला सडकमा बस्नु नपरोस् भन्ने हाम्रो अभियानको उद्देश्य हो”, उहाँले भन्नुभयो, “अभियानलाई सफल बनाउन सबैबाट सहयोग मिल्ने अपेक्षा गरेका छौँ ।” झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले सडक मानवको उद्धार अभियानमा नेपाल प्रहरीले आवश्यक सुरक्षा र सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले सडकमा अलपत्र जीवन बिताइरहेका मानवको उद्धारमा सबै पक्षको सहयोग र चासो हुनुपर्ने बताउनुभयो । मानव सेवा आश्रमका अध्यक्ष अधिकारीका अनुसार आज झापास्थित पूर्वपश्चिम राजमार्ग र वरपरका सडकमा अलपत्र अवस्थामा रहेका सहयोगापेक्षी मानवको उद्धार गरिने छ । यस कार्यका लागि आश्रम र आनी छोइङ डोल्मा प्रतिष्ठानमा आबद्ध स्वयंसेवक परिचालन हुनेछ । प्रहरी टोली, एम्बुलेन्स र स्यवंसेवकको प्रयोग गरेर सडक मानवको उद्धार गरिने र बसोबासका लागि विराटनगर लगिने उहाँले जानकारी दिनुभयो । विगतमा पनि मानव सेवा आश्रमले सडक मानवको उद्धार अभियान सञ्चालन गरेको थियो । रासस

काठमाडौँ, २८ असोज :

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । रासस

सिबी अधिकारी/काठमाडौँ, २७ असोज :

मनसुन सकिएर पर्यटकीय ‘सिजन’को सुरुआतमा आज भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको छ । व्यवसायीहरु असोज-मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई ‘पिक सिजन’का रुपमा लिन्छन् । “सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले यात्रुको सङ्ख्या पक्कै पनि कम हुन्छ”, सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले भन्नुभयो, “विशेषगरी यस समयमा हेलिकोप्टरको प्रयोग उद्धार उडानका लागि हुन्छ, यो घटनाले व्यवसायमा पक्कै पनि असर पर्छ ।” उहाँका अनुसार हेलिकोप्टरको वर्षभरी हुने कूल आम्दानीको ३० प्रतिशत यही सिजनमा हुन्छ । “वैशाख–जेठमा ३० प्रतिशत र यस सिजनमा ३० प्रतिशत बिजनेश हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी बिजनेश अफ सिजनमा हुन्छ ।” यस सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकले हेलिकोप्टर बढी प्रयोग गर्ने उहाँको भनाइ छ । सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले मुलुकको हवाई क्षेत्रमा नकारात्मक असर परेको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, “मुख्य पर्यटकीय सिजन सुरु भएकाले यतिबेला हेलिकोप्टर पाउनै मुस्किल छ । मौसम सफा भएकाले हेलिकोप्टरको ‘मुभमेन्ट’ बढी भइरहेको समयमा भएको हेलिकोप्टर दुर्घटनाले नकारात्मक सन्देश गएको छ ।” यतिखेर लुक्लाबाट हिमाली क्षेत्रमा जाने यात्रुको मुख्य साधन नै हेलिकोप्टर बनेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लुलगायत क्षेत्रमा हेलिकोप्टरको प्रयोग भइरहेको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक एवं हेली एभरेष्टका उपाध्यक्ष मिङ्मा शेर्पा पनि सिजनमा हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउनुहुन्छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा आज बिहान ७ः२४ बजे दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार दुर्घटनामा घाइते हेलिकोप्टर पाइलट प्रकाशकुमार सेढाईँको हाल काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न तथा हिमाली क्षेत्रमा पर्यटक ओसारपसारमा समेत हेलिकोप्टरको प्रयोग बढ्दो छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार नेपालमा हाल निजी क्षेत्रका १२ वटा हेलिकोप्टर कम्पनीका ३० वटा हेलिकोप्टर व्यावसायिक उडानमा छन् । पर्यटकीय गतिविधि बढेको तथा पर्वतारोहणका लागि आरोहीको सङ्ख्या बढिरहेकाले हेलिकोप्टरको विजनेस राम्रो हुन्छ ।दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वको सङ्घारमा हेलिकोप्टर दुर्घटनाले एकखालको त्रासदी पैदा भएको व्यवसायीको भनाइ छ । तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना पछिल्लो तीन महिनामा मनाङ एयरका दुई हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन् । संयोग नै ती दुवै दुर्घटना सोलुखुम्बुमा भएका छन् । गत असार २६ गते मनाङ एयरको कलसाइन ९एन–एमभी (एएस–५०) कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित हेलिकोप्टरमा सवार छ जनाको मृत्यु भएको थियो । सोलुखुम्बुको सुर्केबाट बिहान काठमाडौँका लागि उडान भरेको उक्त हेलिकोप्टर दिउँसो जिल्लाकै लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । छ महिनामा तीन हेलिकोप्टर दुर्घटना विसं २०८० को छ महिनामा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । गत असार २६ गते भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको तीन महिनामै सोही कम्पनीको अर्को हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । यस्तै गत वैशाख २० गते सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभा दुर्घटना भएको थियो । अरुण तेस्रो आयोजनाको सामान ढुवानीका क्रममा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । त्यसअघि सन् २०१८ र २०१९ मा सोही कम्पनीको समान एक हेलिकोप्टर दुर्घटनामा परेको थियो । मनाङ एयरको छ वर्षमा चार हेलिकोप्टर दुर्घटना भएका छन् । प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट २०२३ का अनुसार नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ९० जनाभन्दा बढीको मृत्यु भएको छ । आजको दुर्घटनासहित नेपालमा हेलिकोप्टरतर्फ मात्रै ४० वटा दुर्घटना भएका छन् । मनाङ एयर निलम्बनमा पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । “मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन् । अब उक्त कम्पनीसँग हेलिकोप्टर पनि छैनन्”, प्रवक्ता भुलले भन्नुभयो, “प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ ।” प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ । रासस

काठमाडौँ, २७ असोज :

नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । आज अल्टरनेटिभ फाउण्डेशनले यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल, २०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद र परिवारवाद, लोभ र छिट्टै धनी बन्ने आकांक्षालाई भ्रष्टाचारको कारण उल्लेख गरेको छ । प्रतिवेदनमा नीतिगत कमजोरी, कर्मचारीतन्त्रको ढिला सुस्ती, अख्तियारवालाको गैरजिम्मेवारीपन, ढिलो न्याय, अनुचित राजनीतिक नियुक्ति, कमजोर विधिको शासन, सांस्कृतिक प्रभाव र नागरिक जागरुकताको कमीलाई पनि भ्रष्टाचारका स्रोतका रुपमा उल्लेख गरिएको छ । फाउण्डेसनले अध्ययनलाई ‘राजनीति र भ्रष्टाचार’ र ‘सरकार र भ्रष्टाचार’ गरी दुई भागमा विभाजन गरेको छ । एक हजार जनामा गरिएको उक्त अध्ययनमा बहुसङ्ख्यक उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र कार्यान्वयन नगरेको बताएको पाइएको छ । अध्ययन प्रतिवेदनमा ७१ दशमलव दुई प्रतिशत उत्तरदाताले राजनीतिक दलले चुनावी घोषणापत्र लागू नगरेको तथा ७१ प्रतिशतले राजनीतिक नेताको व्यवहार र कार्यशैलीलाई उपयुक्त नमानेको उल्लेख छ । साथै ७१ दशमलव सात प्रतिशतले राजनीतिक नेता भ्रष्टाचारमा मुछिएको, ६३ दशमलव सात प्रतिशतले राजनीतिक पार्टीसमेत भ्रष्टाचारमा मुछिएको, ७० दशमलव आठ प्रतिशतले राजनीतिक दल र नेताले समाजमा अपराधको संरक्षण गरेको र ८९ दशमलव एक प्रतिशतले राजनीतिक दलमा रुपान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । भ्रष्टाचारसम्बन्धी अनुभवजन्य नागरिक धारणा सर्वेक्षण, विगतका अध्ययन प्रतिवेदन र तथ्याङ्कको समीक्षा र विश्लेषण तथा सरोकारवालासँगको छलफल र अन्तरक्रियालाई अध्ययन विधिका रुपमा अवलम्बन गरिएको छ । अध्ययन प्रतिवेदनको नतिजाले तीनै तहका सरकार र नागरिकलाई भ्रष्टाचारविरुद्ध गम्भीर बनाउन सहयोग पुग्ने फाउन्डेसनको दाबी छ । प्रतिवेदनले भ्रष्टाचारले मुलुक आक्रान्त भइरहको अहिलेको समयमा राजनीतिक पार्टीको अग्रगामी रुपान्तरण, लोकतान्त्रिक गणतन्त्रको थप सवलीकरण र सूचना–प्रविधिको अनिवार्य प्रयोगमार्फत् सुशासन मजबुद गर्न सके मुलुक विकास तथा राजनीति र राज्यप्रति नागरिक विश्वासमा बढोत्तरी हुने निष्कर्ष निकालेको छ । अध्ययनका संयोजक डा जनकराज साहले नेपालमा भ्रष्टाचारको प्रतिबिम्ब कस्तो छ भन्ने सन्दर्भमा जनता, सरोकारवालाको आवाजलाई सरकार समक्ष पु¥याउन प्रतिवेदनले सहयोग पुग्ने बताउनुभयो । फाउन्डेसनका अध्यक्ष प्रकाश विकल्पले खोज अनुसन्धानकै लागि फाउन्डेसन स्थापित भए पनि मुलुकको आवश्यकताअनुसार भ्रष्टाचारसम्बन्धी तथ्याङ्क र धारणलाई प्रकाश पारेको बताउनुभयो ।रासस

दाङ, २७ असोज :

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहो¥याउनुभएको छ । दाङको तुलसीपुर–१९ मा नेकपा (माओवादी केन्द्र)ले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पहिले पहिले ठूलाबडा भनिनेहरुले जे गरे पनि छुट हुने तर सामान्य मानिसलाई मात्र कानुन लाग्ने अवस्था रहेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको बताउनुभयो । अहिले त्यस्तो व्यवस्थाको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब गल्ती गर्ने कोही पनि कानुनभन्दा माथि हुँदैन, सानाठूला सबैलाई गल्तीअनुसारको कारबाही हुन्छ, यो वास्तविकतालाई वर्तमान सरकारले काम गरेर स्थापित गरिसकेको छ, सरकारको कामबाट यो पुष्टि भएको छ ।” “कुनै पनि व्यक्तिले गल्ती गर्ने तर त्यसको दोष भने वर्तमान राजनीतिक व्यवस्थालाई लगाउने गरिएको छ यो प्रवृत्ति अत्यन्त गलत हो”, मन्त्री शर्माले भन्नुभयो, “व्यक्तिले गल्ती गर्न सक्छ तर त्यसको दोष व्यवस्थाले लिन सक्दैन, लिनु पनि हुँदैन ।” उहाँले हिजो पदमा रहँदा गल्ती गरेका अहिले कानुनी कारबाहीको दायरामा आइसकेका दृष्टान्त पेस आज पदमा रहँदा गल्ती गरे पनि जो कोहीले पनि भोलि त्यसको कारबाही भोग्नुपर्ने उहाँको तर्क थियो । कानुनी राज्यको यो वास्तविकता वर्तमान सरकारले स्थापित गरेको सबैका सामु छर्लङ्ग नै देखिएको उहाँले बताउनुभयो । वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दृढ र प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि सरकार र जनताबीच तालमेल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले सेवा प्रभाव र सुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री शर्माले आर्थिक समस्याका कारण धेरै ठाउँमा नयाँ विकास योजना राख्न नसकिएको जानकारी दिँदै भएका विकास योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले विकास योजनाको प्राथमिकता निर्धारण गर्नुपर्ने, कम्तीमा एक वडामा सङ्घबाट एउटा र प्रदेशबाट दुई वटा नघट्ने गरी योजना बनाउनुर्नेमा पनि जोड दिनुभयो । रासस

बैतडी, २७ असोज :

भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । पुल मर्मतका लागि ४५ दिनको ठेक्का दिइएकाले अझै केही दिन आंशिकरूपमै आवतजावत हुने उहाँले बताउनुभयो । प्रजिअ पन्थीका अनुसार पुल मर्मत भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि अपरह्न ४ बजेर १५ मिनेटसम्म आवागमन बन्द हुने गरेको छ । झुलाघाट पुलमा आंशिकरुपमा मात्रै आवतजावत भइरहेकाले दसैँका लागि यो नाका भएर घर फर्कनेलाई केही समस्या भएको प्रजिअ पन्थीले बताउनुभयो । तोकिएको समयमा मात्रै आवतजावत गर्न पाइने उहाँको भनाइ थियो । “भारतीय पक्षले उक्त पुल मर्मत काम गरिरहेको हो । पुलमा काठका नयाँ फल्याक राख्ने, खिया लागेको फलाम बदल्नेलगायत काम भइरहेका छन्”, उहाँले भन्नुभयो । झोलुङ्गे पुल मर्मतका विषयमा सीमा समन्वय बैठकमा सहमति भएको र सोहीअनुसार पुल मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सीमा नाका झुलाघाटमा करिब एक सय ५० वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको उक्त पुलबाट आवतजावत गर्ने गरिएको छ । यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको हो । रासस

काठमाडौँ, २७ असोज:

माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग आज बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त बैङ्कबाट सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा आगामी साता उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले वासिङटनमा प्राविधिक एवं वित्तीय विषयमा केन्द्रित रहेर छलफल गर्ने तयारी गरेको मन्त्रालयले बताएको छ । त्यसैगरी, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औँ बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्रीले गर्नुभएको प्रस्तावप्रति विश्व बैङ्कले सकारात्मक जवाफ दिएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा उहाँहरुले नेपालको प्रस्तावप्रति सकारात्मक जवाफ दिनुभएको हो । गत वर्ष नौ दशमलव दुई प्रतिशतमात्र प्रवाह भएको कर्जाको परिमाण बढाउन मन्त्री महतले जोड दिनुभएको थियो । बैठकमा नयाँ आयोजना निर्माण तथा ठेक्का प्रक्रिया र धेरै क्षेत्रमा छरिएका आयोजनाको एकीकरणबारे पनि उहाँहरुबीच छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी, तीन सय मिलियन अमेरिकी डलर अर्थात् रु ३९ अर्ब बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षबीच सहमति भएको छ । सहमतिअनुसार सार्वजनिक वित्त, वित्तीय क्षेत्र समावेशी विकासका साथै नीतिगत सुधारका काम कार्यान्वयन गरिनेछ । यसैगरी, भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ ढाँचामा सहायता परिचालन गर्न अनुरोध गर्नुभएको छ । उक्त ढाँचाअन्तर्गत स–साना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरणका मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गरिनेछ । बैठकमा अर्थसचिव कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाललगायत उपस्थित हुनुहुन्थ्यो ।रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।