काठमाडौँ, २८ असोज :
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ । भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र इलाम जिल्ला समिति आज पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलाञ्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान, धादिङमा इमानसिंह तामाङको अध्यक्षतामा जिल्ला समिति रुपान्तरण गरिएको छ । पुनर्गठित जिल्ला समिति २१ सदस्यीय रहेको सो पार्टीले जनाएको छ । आजै इलाम जिल्ला समिति पनि पुनर्गठन भएको छ । छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित समिति ३१ सदस्यीय रहेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।रासस
भादगाउँ (भक्तपुर), २८ असोज :
आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ । नवरात्रको समयमा नौ दिनसम्म क्रमशः भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । नवरात्रका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजको दिन घरघरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पाँगो माटो र खोलाको जल लिन भक्तजनको घुइँचो लागेको हो । आजैदेखि शक्तिपिठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र काठमाडौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ । रासस
मनाङ, २८ असोज :
विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो । “वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।” यसले गर्दा पर्यटकलाई नै इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उहाँले बताउनुभयो । होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको बताउनुभयो । “पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहजरुपमा सम्पर्कमा आउन सक्नेछन्”, उहाँले भन्नुभयो । उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमनको समय सुरु हुनासाथ इन्टरनेटको पहुँच पु¥याएर सहज बनाइएको व्यवसायी बताउँछन् । तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताउनुभयो । यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उहाँको भनाइ छ । मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । पर्यटकीय समयमा दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङ धारापानीका पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनभुयो । उहाँका अनुसार दसैँ र तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् । यस पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकीन तथ्याङ्क भने छैन । यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन् । पर्यटकलाई लेक लागेमा स्वास्थ्य उपचारका लागि मनाङ ङिस्याङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको समन्वयमा अस्थायी स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिरहेको छ । एक्यापले तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ जाने पर्यटकलाई स्वास्थ्य तथा सूचना र यात्राका क्रममा हुनसक्ने जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको छ ।रासस
कञ्चनपुर, २८ असोज :
शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गर्नुभएको छ । उहाँले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडनुभएको छ । “दसैँका बेला मेरो खातामा तलब आइपुग्यो”, उहाँले भन्नुभयो, “आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलब पछि सोध भर्ना हुनेगरी बाँडिदिए ।” “दसैँको बिदा हुनै लाग्दा निजी स्रोतका शिक्षक तलब नपाइएपछि खाली हात घर जान थाले, भावुक भएर हेर्न थाले”, प्रधानाध्यापक भण्डारीले भन्नुभयो, “मुटु भक्कानियो, मन थाम्न सकिन, त्यसपछि आफ्नै तलबबाट रकम बाँड्ने निधो गरे, बाँडे ।” तलब नपाएर हैरान भएकाबेला प्रधानाध्यापकले आफ्नै तलबबाट दसैँ खर्चका लागि रकम उपलब्ध गराएपछि निकै सहज भएको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताउनुभयो । थोरै रकम पाए पनि दसैँका लागि खर्च गर्न पुग्ने भएकाले खुसी भएको उहाँले बताउनुभयो । “स्थायी शिक्षक जस्तै हामीले पनि विद्यालयमा पठनपाठनको काम गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन समितिले राखेकाले उसैले तलब व्यहोरोस् भनेर नगरपालिकाले पठाउने अनुदान रोक्दा निकै हैरान छौँ, हतास मनस्थितिमा पनि छौँ ।” “गुणस्तरीय शिक्षाको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले नगर शिक्षक राख्ने बहानामा विद्यालयमा वर्षौंदेखि पठनपाठनको काम गर्दै आएका शिक्षकलाई विस्थापन गराउन तलब रोक्ने निर्णय कतिको ठिक हो”, उहाँ भन्नुहुन्छ । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने विद्यालयमा एक जना स्थायी र एक जना राहतबाहेक अन्य छ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेका छन् । विद्यार्थीको सङ्ख्या एक सय ६२ रहेको छ । नगरपालिकाले निजी स्रोतका शिक्षकको तलब रोके पनि वडा कार्यालयले विद्यालयलाई रु दुई लाख अनुदान रकम उपलब्ध गराउने गरी बजेट विनियोजन गरे पनि खाता सञ्चालन नहुँदा विद्यालयको खातामा रकम आई पुगेको छैन । खातामा रकम नआइपुग्दा निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्ना लुहार विद्यालयमा पढ्नेमध्ये ८० प्रतिशत बढी विद्यार्थी दलित समुदायको रहेको बताउनुहुन्छ । “अभिभावकको आर्थिक अवस्था कमजोर हँुदा निजी स्रोतका शिक्षकको तलब जुटाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाले अनुदान रकम रोक्दा विद्यालय सञ्चालन गर्न निकै अप्ठ्यारो भएको छ”, उहाँ भन्नुहुन्छ, “नगरपालिकाले विद्यालयले निजी स्रोत शिक्षकको तलबबापतको अनुदान रकम रोक्ने हो भने विद्यार्थी अनुपातमा दरबन्दीका शिक्षकको व्यवस्था गर्न सक्नुपर्छ, विद्यालयलाई राजनीति गर्ने थलोका रुपमा विकास नगरी स–साना बालबालिकाको भविष्यका बारेमा सोच्नुपर्छ । रासस
रामपुर (पाल्पा), २८ असोज :
पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् । जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताउनुभयो । गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको छ । सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीय केन्द्रीय लाइनसँग जोडिन पुगेपछि धेरै सहज भएको छ । निस्दी गाउँपालिका र स्थानीयको अथक प्रयासले गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु जानकारी दिनुभयो । पालिकाभित्र बाँकी रहेका स्थानमा केन्द्रीय प्रसारण लाइनको सेवा विस्तार गर्ने उहाँले बताउनुभयो । निस्दीको बेभोके, रोल्लाबास, मदनपुरलगायतका टोलमा विद्युत् विस्तारका लागि खम्बा गाड्ने र तार तान्ने काम भइरहेको छ । विद्युत् सुविधाको पहुँच पुगेपछि गाउँमा बत्ती बाल्न, विद्यार्थीलाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन प्रयोग, कुटानीपिसानी मिल सञ्चालन गर्न सजिलो भएको छ । यसअघि सामुदायिक विद्युत् प्रसारण लाइनबाट निस्दी गाउँपालिकाभित्रका चारघरे, घुल्लीखरक, पोखरीछाप, हुवास र दार्सिङबासमा विद्युत् सेवा पुगिसकेको छ । रासस
भक्तपुर, २८ असोज :
जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ । घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने उहाँले बताउनुभयो । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीकोसमेत तलेजु ल्याएर पूजा गरिन्छ । कुमारीलाई आजै दरबारस्क्वायरस्थित चतुर्ब्रह्म महाविहारमा लगेर पूजा गरी पुनःकुमारी घरमा लगेर विराजमान गराएपछि आजदेखि दशमीसम्म कुमारीको पूजा गर्न सर्वसाधारण आउने तलेजुका मूल नाइके जोशीले बताउनुभयो । दशमीको दिन दिन कुमारीको हातबाट तलेजुका पुजारी, मूल नाइके लगायतलाई साइतको टीका लगाइदिएपछि सर्वसाधारणका लागि कुमारीले टीका लगाइदिने परम्परा छ । सोही दिन कुमारीले कुमारी घरबाट आफ्नै जन्मघर जाने इच्छा प्रकट गरेपछि घर लैजाने परम्परा रहेको छ । त्यसैगरी नेपालकै मूल तलेजुका रुपमा लिइने भक्तपुर तलेजुमा बैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैँघरमा पाञ्चायन निर्णायक समितिले निर्धारण गरेको शुभसाइतमा जमरा राखिन्छ । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल सम्वत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा सुरु भएको तलेजुका मूल नाइके जोशीले बताउनुभयो । घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बलि दिइ कालरात्रि गरी जात्रा मनाइने तलेजुका मूल नाइके जोशीले बताउनुभयो । तलेजुमा मूल पुरोहितले मांशाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी घरमा विराजमान गराई जात्रा मनाउने परम्परा छ ।रासस
फुङ्लिङ (ताप्लेजुङ), २८ असोज :
ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो । अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र आवाजले जोकोहीलाई आनन्दित तुल्याउँछ । वरिपरिका चउरमा फुलेका रङ्गीचङ्गी फूलले सुनमा सुगन्ध थपिए झैँ बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोकक्पेगोलाको बस्तीको विशेषता हो । कहिले पहेंलो फूलले पहेंलपुर बन्छ । कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तौ मौसम उघ्रिदिन्छ । गाउँमा दुःख बिराम नहोस्, अशान्ति नसहोस्, सधैँ सुख शान्ति होस् भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला –५ पापुङका वडाध्यक्ष ग्याञ्जे शेर्पाले बताउनुभयो । भोटे भाषामा ‘लू’ भनिने रहेछ । प्रत्येक घरले पालोपालो गरेर प्रत्येक वर्ष ‘लू’ खेदाउने गरेको उहाँले बताउनुभयो । शेर्पाका अनुसार तीन दिनसम्म लामाले मन्त्र जप गरेर अन्तिम दिनरात परेपछि गाउँका सबै भएर थाल बजाउँदै लू अर्थात् भूत खेदाउने गर्दछन् । बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरुले बाटो बन्द गर्दछन् । लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आवतजावत गर्नु हँुदैन भन्ने जनविश्वास रहिआएको स्थानीयको भनाइ छ । लू खेदाउने समयमा बस्तीमा मान्छे आवतजावत गरियो भने बिरामी हुने । मृत्युसमेत हुनसक्ने स्थानीयको जनविश्वास रहेको तोक्पेगोलाका स्थानीय पासाङ भुटी शेर्पाले बताउनुभयो । यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिँदो जाडो । जुन समयमा पुगे पनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौँ तालतलैया रहेका छन् । सोदो पोखरी, भूत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि । डाँडाकाँडा, पाखा, पखेरा, छाँगा, वन जङ्गल, जडीबुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि तीन सय मिटर दूरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने । स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन हो । गाई, याक तथा चौँरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कंदा याक तथा चौँरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङकुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सीमा जोडिएको छ यो ठाउँ । तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामलबाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्षदेखि नाकाबन्द भएको छ । लामो समयसम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेञ्जिङ शेर्पाले बताउनुभयो । यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको पापुङमा घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात् बेंसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडीबुटी पनि आम्दानीको स्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, “भर्जिन पर्यटकीय क्षेत्र ।” कसरी पुगिन्छ ? सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याकघुल्चुक सहनुपर्छ । सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवा हुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ । सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गए पनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ । दर्जन बढी झोलुङ्गे र काठे पुल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँठाउँमा भेटिएका गाईगोठ नै होटल हो । पर्यटको चहलपहल हुन थालेसँगै तोक्पेगोलामा भने होटल तथा घरबास (होमस्टे) खुल्नेक्रम सुरु भएको छ । रासस
काठमाडौँ, २८ असोज :
नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको भुइँचो लागेको हो । नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताउनुभयो । “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौँ”, उहाँले भन्नुभयो । दसैँँका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताउनुभयो । उहाँले दसैँँका समयमा सहजरुपमा यात्रुलाई गन्तव्यस्थलसम्म पुर्याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको उल्लेख गर्नुभयो । सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उहाँको भनाइ छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुनेछ । रासस
मङ्गलबारे (इलाम), २८ असोज :
भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कविहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन् । पछिल्लो समय उहाँहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ । इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की र लाक्पा लामा ११ दिनपछि परिवारको सम्पर्कमा आएसँगै परिवारमा समेत खुसीयाली छाएको छ । परिवारसँग सम्पर्क गरेको जानकारी प्राप्त भएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँले सम्पर्कविहीन भएका सबैजना स्वदेश फर्किदै गरेको पनि परिवारका सदस्यबाट जानकारी प्राप्त भएको बताउनुभयो । बाढी आएपछि नेपाली बसोबास गर्ने स्थल तथा आसपासमा विद्युत्समेत कटौती भएको थियो । विद्युत् नहुँदा टेलिफोन तथा अन्य सञ्चारका साधनसमेत अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ । पाँच जना नेपालीहरु गएको यही असोज १६ गतेदेखि नै सम्पर्कविहीन भएका थिए । सोही दिन सिक्किमको उत्तरी भेगकोे हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षापछि गएको पहिरो र टिस्टा नदीमा बाढी आउँदा धनजनको क्षति भएको थियो । रासस
काभ्रेपलाञ्चोक, २८ असोज :
काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक जना सङ्क्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजारम अधिकारीले बताउनुभयो । उहाँका अनुसार केही दिन डेङ्गु सङ्क्रमण बढ्नसक्ने अनुमान गरिएको छ । सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेङ्गुबाट सङ्क्रमित भइसकेका छन् । डेङ्गुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गुको उच्च जोखिमका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ । लामखुट्टेले बसोबास गर्नसक्ने गाडीसवारी एवं यातायातका साधन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, पानी जम्ने ठाउँ, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामाग्री, मठ, मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ । लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहोस हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।रासस