वीरगञ्ज, २९ असोज
हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ । राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । वर्तमान परिस्थितिलाई आँकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो । यसअघि नेपालगञ्ज, धरान, सर्लाहीलगायत छिमेकी जिल्लामा भएका घटनालाई लिएर पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दूहरूको मठमन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई स्टेसनको निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ । चाडपर्वमा अधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेट प्रयोग नगर्ने, रातिको समयमा मादकपदार्थ सेवन गरेर हिँड्ने तथा सीमावर्ती जिल्ला बारा पर्सामा भारतीय सवारी साधनको आवतजावतसमेत बाक्लो हुने गर्दछ । रासस
मलेखु (धादिङ), २९ असोज
धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक अनावरण गरिएको छ । स्थानीय टोलवासीले दाताको सहयोगमा सालिक तयार गरिएको थियो । राष्ट्रिय विभूतिको सम्मान गर्ने उद्देश्यले जिल्ला सदरमुकाम धादिङबेँसी बीचबजारको चौतारोमा सालिक स्थापना गरिएको बीचबजार टोल सुधार समितिका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो । सालिकसँगै कलात्मक ढुङ्गेधारा पनि निर्माण गरी सञ्चालनमा ल्याइएको छ । चौतारोमा विश्रामस्थल र गणेश मन्दिर पनि पुनःनिर्माण गरिएको छ । गाउँगाउँबाट सदरमुकाम आइपुगेका सुस्ताउने चौतारो परिसरमा बनेको सालिक, ढुङ्गेधारो र मन्दिरले यो स्थान अहिले निकै सुन्दर बनेको छ । स्थानीय दाताबाट सङ्कलन भएको रु तीन लाख ७५ हजार, बीचबजार टोल सुधार समितिको कोषमा रहेको एकलाख ९४ हजार तीन सय गरी कूल पाँच लाख ६९ हजार चार सय लगानीमा सालिक, ढुङ्गेधारा र विश्रामस्थलको संरचना निर्माण पूरा गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । चौबिसैँ घण्टा तीन वटा धारोबाट पानी प्रयोग गर्न मिल्ने गरी ढुङ्गेधारा निर्माण गरिएको छ । भक्तपुरबाट मिस्त्री ल्याएर कलात्मक धारा र राष्ट्रिय सविभूति शङ्खधर सख्वाको सालिक निर्माण भइरहेको उहाँले बताउनुभयो । चौतारो, ढुङ्गेधारा, सालिक र मन्दिरले पुस्ताको पहिचान झल्काउने विश्वास गरिएको छ । सहयोगी दाताबाट सङ्कलन भएको एक लाख ५४ हजार छ सय र गणेश मन्दिर संरक्षण समितिको कोषबाट दुई लाख ५७ हजार गरी रु चार लाख ११ हजार छ सयबाट मन्दिरको पुनःनिर्माण गरिएको समितिका संरक्षण समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस
काठमाडौँ, २९ असोज
टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको रु १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गर्नुभयो । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । टोखा नगर प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको जनाउँदै सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले छरिएर रहेको सेवालाई नयाँ भवन निर्माणसँगै एकै ठाउँबाट प्रवाह गरिने बताउनुभयो । विसं २०७६ माघ १२ गते सम्झौता भएर विसं २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जग्गा, स्रोत साधनका अभावका कारण समयमै निर्माण सम्पन्न गर्न कठिन भएको जानकारी दिनुभयोे । विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उक्त भवन दुई वर्ष ढिला गरी विस २०८० असार २५ गते सम्पन्न भएको थियो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् ।रासस
बेदकोट (कञ्चनपुर), २९ असोज
ठूला चाडबाड सुरु भएसँगै कञ्चनपुरका गाउँबस्ती खेलमय बनेका छन् । दसैँ तथा तिहारको अवसरमा आयोजना गरिने खेलकुदका गतिविधि बाक्लिँदा गाउँबस्ती खेलमय बनेका हुन् । घरभन्दा टाढा रहेका मानिस चाडबाडको लागि घर फर्किएपछि गाउँमा चहलपहल बढेको छ । जिल्लाका विभिन्न ठाउँमा चाडबाडलाई लक्षित गरेर सानाठूला खेलकुद प्रतियोगिता आयोजना भइरहेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा क्रिकेट प्रतियोगिता चलिरहेको छ । “प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको छ”, आयोजक सुदूर मिडियाका सञ्चालक सुरेश भट्टले भन्नुभयो, “चाडबाडमा खेलको निहुँमा साथीभाइसँग भेटघाट हुन्छ, साथै विभिन्न ठाउँका खेलाडी आउने हुनाले खेलाडीलाई सिक्ने मौका पनि हुन्छ ।” उहाँका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगरका प्रत्येक वडाका एक÷एक टिमसहित १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद रु ७५ हजार र उपविजेतालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ । चाडबाडमा सबै फुर्सदमा हुनाले यस समयमा आयोजना गरिएका खेलले सामाजिक सद्भाव, एकता तथा भाइबन्धुत्वको भावना विकास हुने भीमदत्त नगरपालिका–१२ का अध्यक्ष भूपेन्द्रसिंह रावलले बताउनुभयो । “विद्यार्थीको बिदाको समय छ, चाडबाडले सरकारी कर्मचारी तथा घरबाट टाढा रहेका घर फर्किएका छन्, खेतीपाती सकेर चाडबाडको यो समयमा अधिकतर फुर्सदमा छन्”, उहाँले भन्नुभयो, “त्यसैले चाडबाड लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको छ, खेलले चाडबाडको समयमा फुर्सदमा रहेकालाई जोड्ने काम गरेको छ ।” भीमदत्त नगरपालिकाको वडा नम्बर १२ को कार्यालयले प्रत्येक वर्ष पूर्णा माध्यमिक विद्यालयको खेलमैदानमा क्रिकेट प्रतियागिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा भीमदत्त नगरभित्रका २८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु एक लाख ५१ हजार एक सय एघार र उपविजेताले रु ७७ हजार सात सय ७७ पुरस्कार हात पार्ने छ । विद्यालय बिदा भएर फुर्सदिमा बनेका विद्यार्थी तथा युवायुवती चाडबाडको समयमा कुलतमा फस्ने खतरा हुनाले खेलुकदले कुलतमा फस्नबाट पनि जोगाउन सक्ने उहाँको भनाइ छ । कञ्चनपुरको नौ वटै स्थानीय तहका गाउँबस्ती सहर बजारका युवायुवतीदेखि वृद्धवृद्धासम्म आयोजना गरिएका ‘खसी कप’ तथा नगद धनराशी पुरस्कारका खेलकुद कार्यक्रममा झुमेका छन् । चाडबाड सुरु भएसँगै खेलकुदका गतिविधि ह्वात्तै बढेको हो । कञ्चनपुरको भीमदत्त, दोधारा, बेदकोट, बेलडाँडी, पुनर्वास, बेलौरीलगायतका ठाउँमा क्रिकेट, फुटबल, ब्याडमिन्टर, भलिबललगायतका खेल आयोजना भइरहेका छन् । रासस
राँझा (बाँके), २९ असोज
ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन गर्न थालेका हुन् । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेका जानकारी दिनुभयो । उहाँका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको नेपालगञ्जका अगुवा नन्दलाल वैश्यले बताउनुभयो । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ । नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिनुभयो । रामलीला शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लावासी मिलेर सामाजिक सद्भाव कायम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । रासस
घोराही (दाङ) २८ असोज
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताउनुभएको हो । कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताउनुभयो । घोराहीमा विगत केही वर्षदेखि सञ्चालनमा आएको दिवा सेवा केन्द्र अत्यन्त उपयुक्त रहेको भन्दै यसलाई देशका अन्य सहरी क्षेत्रहरुमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भएपनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेका, वृद्ध आश्रममा लगेर छोडेका घटना आउने गरेको भन्दै त्यस्ता घटनालाई रोक्नका लागि पनि दिवा सेवा केन्द्रले सहयोग पु¥याउने बताउनुभयो । यसका लागि आधारभूत सेवासहितका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्री शर्माले आगामी बजेटमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको हो । उहाँले अव बन्ने दिवा सेवा केन्द्रलाई भेटघाट गर्ने थलोसँगै ज्येष्ठ नागरिकको शारीरिक र मानसिक उपचार गर्ने स्थलका रुपमा विकास गरिनुपर्ने बताउनुभएको थियो । मन्त्री शर्माले सरकार ज्येष्ठ नागरिकको अधिकार रक्षा र सुविधा दिन प्रतिबद्ध रहेको बताउनुभयो । पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सवै निकायले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले दिवा सेवा केन्द्रको पूर्वाधार विकासमा ध्यान दिन र आवश्यक बजेट व्यवस्था गर्न माग गरेका थिए ।रासस
काठमाडौँ, २८ असोज:
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताउनुभएको छ । उच्च अदालत पाटनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्नेमा जोड दिनुभयो । “भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्छ”–प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “नयाँ भवनको उपयोगसँगै अदालतको काम कारबाही उपभोक्ताको लागि सहज हुने र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।” न्यायालयको सुधारमा निरन्तर लागिरहेको र दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको प्रधानन्यायाधीशले बताउनुभयो । “न्यायालयको सुधारका लागि निरन्तर प्रयास भइरहेको छ, रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश नियुक्ति प्रक्रिया प्रारम्भ भएको छ,” उहाँले भन्नुभयो । सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएर न्यायसम्पादनलाई प्रभावकारी बनाउदै न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न उहाँले निर्देशन दिनुभयो । त्यस अवसरमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश डा आनन्दमोहन भट्टराई र सपना मल्लप्रधान, उच्च अदालतका पाटनका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शङ्कर खत्री र पाटन बार एशोसिएशनका अध्यक्ष शान्तिराम खतिवडाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त भवन रु ५८ करोडको लागतमा बनेको हो । भवनमा १२ वटा इजलास कक्ष, न्यायाधीशका लागि २३ वटा कोठाको व्यवस्था गरिएको छ । भवनको २०७२ चैत १० गते तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले शिलान्यास गर्नुभएको थियो ।रासस





काठमाडौँ, २८ असोज :
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस