२०८३ भाद्र ४
२०८३ भाद्र ४

कञ्चनपुर, २९ असोज :

जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पु¥याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो । हात्ती प्रभावित वडा नं ५, ६, ९ र १० मा बत्ती जडान भइरहेको वडा नं ५ का अध्यक्ष चक्रबहादुर खडकाले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित वडा कार्यालयले बजेटको व्यवस्था गरी बत्ती जडान गर्न थालेका हुन् । वडा नं ५ मा ३०, वडा नं ६ मा ६०, वडा नं ९ मा १६ र वडा नं १० मा ४० वटा बत्ती जडान भइरहेको अध्यक्ष खडकाले जानकारी दिनुभयो । जडान गरिएका बत्ती दुई वर्षभित्र बिग्रिएमा मर्मत गर्ने गरी आपूर्तिकर्तासँग सम्झौता गरिएको उहाँले बताउनुभयो । “स्थानीय किसानको माग अनुसार प्राथमिकताका आधारमा बत्ती जडानको कार्य गरिरहेका छौँ”ं, वडाध्यक्ष खडकाले भन्नुभयो, “गत वर्ष रू दुई लाख ५० हजारमा बजेटमा ४० वटा बत्ती जडान गरेका थियौँ । यस वर्ष रू दुई लाख बजेटमा ३० वटा बत्ती जडान गरिरहेका छौँ ।” वडा नं ६ मा रू चार लाख बजेटमा ६० बत्ती खरिद गरी जडान भइरहेको उहाँको भनाइ थियो । “उज्यालो देखेपछि हात्ती खेतबारीमा नछिर्ने भएकाले बत्ती जडान गर्न थालिएको हो” वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले भन्नुभयो, “सेन्सरयुक्त बत्ती उज्यालो हुनासाथ आझै निभ्छ । राति हुन थालेपछि आफै जल्छ ।” बत्ती जडानपछि स्थानीयलाई ओहरदोहर गर्न सहज हुनाका साथै हात्तीलाई टाढैबाट देख्न सकिने भएकाले सजग हुने, भगाउन सक्ने तथा रातिका बेला हुने चोरीका घटनामा कमी आउने ऐरको भनाइ थियो । रासस

काठमाडौँ, २९ असोज :

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना ः लोकतन्त्र र प्रेस स्वन्तत्रामा चुनौती’ विषयक कार्यक्रममा उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रवद्र्धन गर्न संवैधानिक र कानुनी प्रबन्ध गरिएको बताउनभुयो । “नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख हुनु र मौलिक हकअन्तर्गत सञ्चार र सूचनाको हकलाई प्राथमिकता साथ व्यवस्था गरिनुले राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ भन्ने स्पष्ट हुन्छ, यी हक अधिकारको सही, सन्तुलित, निष्पक्ष र जिम्मेवारीपूर्ण प्रयोगमा हामी सबै प्रतिबद्ध हुनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । उहाँले संविधानमा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रताको अवधारणालाई प्रभावकारी तवरमा व्यवहारमा उतार्न आवश्यक कानुनी र राजनीतिक वातावरण निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर भइरहेका सूचना प्रवाहले उपभोक्तालाई समेत सही सूचना पाउन वञ्चित गरेको यथार्थ नकार्न नमिल्ने जनाउँदै उहाँले सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै इन्टरनेट प्लेटफर्मलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जीवन उपयोगी बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो । “संविधानले निर्दिष्ट गरेको नागरिकका अधिकार सही रूपमा सदुपयोग होस् भन्नेमा सरकार सदैव सचेत र सजग छ, यसका लागि सरकारले नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला संस्थासँग समन्वय र परामर्श गरेर आवश्यकताअनुसार नीति र कानुन निर्माण तथा परिमार्जन गर्ने विश्वास दिलाउन चाहन्छु”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । लोकतन्त्र रहेमात्र प्रेस स्वतन्त्रता रहने उल्लेख गर्दै उहाँले इन्टरनेटको विस्तारका लागि पनि हरेक देशमा लोकतान्त्रिक वातावरण आवश्यक रहेको बताउनुभयो । “लोकतन्त्र नभएको मुलुकमा न प्रेस स्वतन्त्रता हुन्छ, न इन्टरनेटको विकासले गति लिन सक्छ । नेपाल इन्टरनेटले प्रदान गरेका अवसर उपभोग गर्नमात्र होइन, इन्टरनेटलाई जनजीवनसँग जोड्ने उदार मुलुकमा पर्दछ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार यो नीतिबाट दायाँबायाँ हुँदैन । सरकार सूचना–प्रविधिलाई विकास, आर्थिक रूपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन, योजना बनाउँदै अघि बढ्छ ।” राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष तपबहादुर मगरले इन्टरनेटको प्रयोगले दैनिकी सहज भए पनि सीमाविहीन प्रयोगले चुनौती थपेको बताउनुभयो । उहाँले मिथ्या, गलत तथा भ्रमपूर्ण सूचनाले सामाजिक, धार्मिक द्वन्द्व निम्त्याएको उल्लेख गर्दै उहाँले सही र गलत सूचना छुट्याउन नसक्दा समाजमा ठूलो भ्रम पर्ने गरेको उल्लेख गर्नुभयो । “मिथ्या सूचनाले नागरिकको सही सूचना पाउने अधिकारको उल्लङ्घन गरेको छ, भ्रमपूर्ण सूचना रोक्न सबैको ध्यान जानुपर्छ”, अध्यक्ष मगरले भन्नुभयो, “मिथ्या र भ्रामक सूचनाबाट सूचनाको प्रयोगकर्ता मात्र नभई सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेका छन् ।” नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले पत्रकारले राजनीतिक तथा सामाजिक क्षेत्रमा आलोचनात्मक ढङ्गबाट कलम चलाउनुपर्नेमा जोड दिँदै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले विकृति–विसङ्गतिविरुद्ध पत्रकारले सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सङ्कटका बेला मिथ्या सूचनाको प्रवाह बढ्ने गरेको उल्लेख गर्दै सही सूचना के हो भन्नेमा सबै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले नागरिक समाज, सञ्चारमाध्यम तथा सीमान्तकृत समुदायका नागरिकलाई मिथ्या सूचनाका सम्बन्धमा सचेत गराउन दूतावासले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । रासस

पाँचथर, २९ असोजः

पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो । आइतवार दिउँसो १ः४५ बजे ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो । उक्त आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो । शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएकोे छ । प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर सोही कम्पनीमा आबद्ध भई काम गरिरहेका थिए । रासस

मनहरी, २९ असोज 

महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतकोे उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताउनुभयो । कक्षा १ देखि ३ सम्म पढाइ हुने सो विद्यालयमा सिमान्तकृत चेपाङ समुदायका विद्यार्थी अध्ययनरत छन् । विद्यालय पोसाक किन्नसमेत समस्या भोगिरहेका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको कार्कीले बताउनुभयो । यस विद्यालयमा तीन शिक्षक कार्यरत रहेको प्रधानाध्यापक देवराज प्रजाले बताउनुभयो । रासस

चितवन, २९ असोज :

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । पारिवारिक भेटघाटका क्रममा आज यहाँ आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताउनुभयो । “देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ”, अध्यक्ष भट्टराईले भन्नुभयो, “दलका नेताले आफ्नो दल, गुट र सत्तालाई केन्द्रमा राखेर विधि र पद्दतिलाई मिच्ने काम भएको छ ।” यसले लोकतन्त्रको हित नहुने उहाँको भनाइ थियो । हामीले अपनाएको शासकीय प्रणालीले कसैलाई पनि बहुमत नदिने भन्दै भट्टराईले भन्नुभयो, “दलहरुले पहिलेनै समझदारी गरेर निश्चित अवधिको निम्ति गठबन्धन टिकाउने काम गर्नुपर्‍यो, कि त निर्वाचन प्रणाली बदल्नु पर्‍यो ।” अहिलेको गठबन्धनले गठबन्धनको मर्मअनुसार काम गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “गठबन्धनको जुन मर्म छ त्यस अनुसार गठबन्धनमा रहेका दल र नेतृत्व गरेको सरकार चल्न सकेको देखिँदैन ।” अहिले देशको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै अध्यक्ष भट्टराईले सरकारले गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । देशलाई तीव्र औद्योगीक विकासको गतिमा लान नसक्दा अर्थतन्त्र कमजोर बन्दै गएको उहाँको भनाइ थियो । रासस

गण्डकी, २९ असोज :

नवदुर्गाको अवसरमा पोखरा आसपासका ऐतिहासिक कोट तथा मन्दिरमा घटस्थापना गरिएको छ । परापूर्वकालदेखि अस्तित्वमा आएका कास्कीकोटस्थित गुप्तकालिका मन्दिर, भरतपोखरीस्थित कोटभैरव मन्दिर, कालिकास्थित ठूलाकोट, निर्मल पोखरीस्थित फोक्सिङकोट, रुपास्थित रुपाकोटलगायत मठमन्दिरमा नवदुर्गाको पूजाका लागि घटस्थापना गरिएको हो । पोखरा आसपासमा रहेका कोट प्रत्येकको आ–आफ्नै विशिष्ट महत्व रहिआएको छ । नेपालका शाहवंशीय राजाको उद्गमस्थलका रूपमा रहेको कास्कीकोटदेखि मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको भरतपोखरीको कोटभैरव मन्दिरहरू यस क्षेत्रको बस्ती विकाससँगै अस्तित्वमा आएका धार्मिकस्थल मानिन्छन् । कास्कीकोट दरबारस्थित गुप्तकालीका मन्दिरमा दसँैको अवसरमा विश्व शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव सुरु भएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिनुभयो । गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरिएको जानकारी दिँदै उहाँले परापूर्व कालदेखि दसँैंमा नवरात्रभर पूजाका लागि पूजारी दरबारमा बस्ने प्रचलन रहेको बताउनुभयो । विश्व शान्तिको कामना गर्दै भारद्वारी चौतारामा जम्मा भई मन्दिरमा विधिवत् घटस्थापना गरिएको सचिव त्रिपाठीको भनाइ थियो । नवदुर्गा अवधिभर चण्डी पाठ, दुर्गा कवज आदि हुने यस मन्दिरमा फूलपातीका बेला पोखराको रामघाटबाट लगिएको फूलको डोली विधिवत् मन्दिर प्रवेश गराएर तान्त्रिक पूजा गरिन्छ । अष्टमीका दिन मध्यरातमा कालरात्रिको पूजा र नवमीमा पञ्चबलि दिने पदिने गरिन्छ । फूलपातीकै दिन कुँवर जातीको लोपोन्मुख सैन्य अभ्यास सरुङ खेलसमेत प्रदर्शन गरिने कार्यक्रम छ । नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिनु यहाँको अर्को विशिष्टता हो । विजया दशमीका दिनमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फूलपत्रसहित पूजा विसर्जन गर्ने प्रचलन छ । कास्कीकै भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा पनि विधिवत् रुपमा घटस्थापना गरिएको कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो । मन्दिरमा परापूर्वकालदेखि नवरात्र अवधिभर घटस्थापना गरी दैनिक दुर्गा सप्तशति पाठ, फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजा गरी विजयादशमीका दिन सामूहिक टिकाप्रसाद ग्रहण गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो । नेपालका बाइसेचौबिसे राजाका पालादेखि नै अस्तित्वमा रहेको कोटभैरवलाई बरकोटका ‘काला जटा भैरव’का रुपमा प्राचीनकालदेखि पूजा गरिँदै आएको पाइन्छ । कोटभैरव मन्दिरमा पूजाआजा गरेमा मनले चिताएको पुग्ने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी भाकल तथा सामान्य पूजाका लागि आउने गर्दछन् । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १६ किलोमिटरको पक्की बाटो हुँदै पुग्न सकिने भएकोले पछिल्ला वर्षमा सार्वजनिक सवारीसाधन एवम् निजी सवारीसाधन लिएर दर्शनार्थी पूजाआजाका लागि कोटभैरव मन्दिर आउने गरेको कोषाध्यक्ष महतले जानकारी दिनुभयो । रासस

काठमाडौँ, २९ असोज :

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गर्नुभएको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ । “मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ”, विज्ञप्तिमा भनिएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष २०७९ जेठ २२ गतेदेखि असोज ३० गतेसम्म कुल एक सय ८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १ सय ५७ जना घाइते भएको थिए । “चट्याङ्को घटनाको सङ्ख्या अघिल्लो वर्ष विपद्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको सङ्ख्यामा प्रथम थियो भने यसवर्ष बढ्दो क्रममा देखिन्छ”, विज्ञप्तिमा भनिएको छ, “चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ । रासस

काठमाडौैँ, २९ असोज :

आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइनेछ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन् । रू पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइनेछ । रासस

काठमाडौँ, २९ असोज :

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद कानुनको परिपालना र सार्वजनिक निकायको खरिद तत्परता बढाउन पहल शुरु गरेको छ । सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारिता ल्याउन सकेमा यसले बजेटको कार्यान्वयन प्रभावकारी हुने, पुँजीगत खर्च बढाउने र ठूला आयोजना तोकिएकै समयमा सम्पन्न हुनसक्ने कार्यालयका सचिव डा दामोदर रेग्मीले बताउनुभयो । “यसका लागि सबै सार्वजनिक निकायले व्यवहारोपयोगी खरिद योजना निर्माण गर्ने र तदनुरुप खरिद तत्परता देखाउनु पर्नेछ । खरिद योजना निर्माण नगर्ने र तदनुरुप खरिद तत्परता नदेखाउने प्रवृत्ति रोक्न कार्यालयले थप पहल गर्ने छ”, उहाँले भन्नुभयो । सबै सार्वजनिक निकायले अनिवार्यरुपमा खरिद योजना बनाउनु पर्ने र सो खरिद योजनालाई अनिवार्यरुपमा विद्युतीय खरिद प्रणालीमा प्रविष्ट गर्नुपर्ने तथा उक्त कार्ययोजना अनुरुप खरिद प्रक्रिया अगाडि बढाउनु पर्नेछ । अब सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायले खरिद योजना बनाए वा नबनाएको, सोको विवरण विद्युतीय खरिद प्रणालीमा प्रविष्ट गरे नगरेको र सो अनुरुप खरिद कार्य गरे नगरेको अनुगमन विद्युतीय खरिद प्रणालीबाट गर्नेछ । यसका साथै त्यसका लागि खरिद इकाइ प्रमुख र कार्यालय प्रमुखसँग नियमितरुपमा प्रतिवेदन लिने समेत व्यवस्था गरिएको सचिव रेग्मीले बताउनुभयो । सार्वजनिक निकायको खरिद तत्परताको अवस्था मापन गरिने र यसमा खरिद इकाइको गठन, खरिद योजनाको निर्माण, खरिद योजना अनुरुपको समयमा काम भए नभएको तथा समयमा निर्णय गरिए नगरिएको विषयमा अन्तरनिकाय समन्वय गर्नुपर्ने छ । “म्याद थपलगायतका निर्णय समयमा गरे नगरेको, खरिद सम्झौता विद्युतीय खरिद प्रणालीमा राखेको वा नराखेको, समयमा भुक्तानी भए वा नभएको नमूनाको सोही अनुरुप मूल्याङ्कन हुने छ । साथै बोलपत्र कागजात अनुरुपका सर्तहरु राखेको वा नराखेको, समयमा सम्पन्न नभएका आयोजनको हकमा कानून बमोजिमको प्रक्रिया अपानाइएको वा नअपनाइएको लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिने छ । यसका लागि कार्यालय प्रमुखले खरिद इकाइका कर्मचारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयसँग समन्वय गरी आवश्यक तालिम र ‘प्रोक्युरमेन्ट क्लिनिक’मा सहभागी गराउने व्यवस्था मिलाउन सचिव रेग्मीले आग्रह गर्नुभयो । उक्त कार्यालयले हरित अर्थात दिगो खरिदमा समेत जोड दिइने उहाँको भनाइ छ । रासस

काठमाडौँ, २९ असोज :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताउनुभएको छ । रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आज यहाँ आयोजित ‘नीति मन्थन’ कार्यक्रममा उहाँले विषय केन्द्रित कटाक्ष गरे पनि परिवर्तनमा अन्य राजनीतिक दलका नेताको योगदानलाई अवमूल्यन नगरेको स्पष्ट पार्नुभयो । “यो परिवर्तनमा आफ्नो सिङ्गो जीवन राजनीतिमा बिताएका नेताप्रति कटाक्ष गरेको मात्र धेरैले सुन्नुभएको छ होला”, सभापति लामिछानेले भन्नुभयो, “विषय केन्द्रित कटाक्ष हुन सक्लान् तर समग्र मुलुकको परिवर्तनका लागि उहाँले गर्नुभएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना छैन । उहाँहरूको योगदानलाई उच्च सम्मान र कदर गर्दछौँ ।” नीति मन्थन कार्यक्रमबारे जानकारी दिँदै उहाँले विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा आबद्ध गराउने हुटहुटी नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञताले पनि दलीय छाप लगाउनुपर्ने परिस्थितिका बीच हामी उभिएका छौँ । तर हामी हाम्रो पार्टीको छाप लगाइदिने हैन, उहाँहरूको विज्ञतालाई समावेश गरेर मात्र अघि बढने निधो गरेका छौँ ।” सभापति लामिछानेले सुधारसहितको पार्टी दस्तावेज निर्माणमा लागिपरेको बताउनुभयो । “समाज यथास्थितिमा रहिरहन्छ भन्ने परिकल्पना गरेर राजनीतिक दलहरू खुल्दैनन्, विचार नीति बन्दैनन् । यो यस्तै रहिरन्छ भनेर हैन यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले अगाडिको बाटो तय गर्नुपर्ने हुन्छ । कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखीकन हामी परिपक्व हुने बाटोमा लागेका छौँ”, उहाँले भन्नुभयो । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।