२०८३ भाद्र ४
२०८३ भाद्र ४

विराटनगर, २९ असोज 

कोशी प्रदेशसभाको चौथो अधिवेशनको तेस्रो बैठक आगामी कात्तिक १ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ । अर्को सूचना जारी नभएसम्म असोज २० गते स्थगन भएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । रासस

भादगाउँ, २९ असोजः

भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् । केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् । धान खेती हुने क्षेत्रहरु मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपोडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसानलाई भ्याई नभ्याई छ । भक्तपुर नगरका नपुखु क्षेत्र, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छ । यहाँका किसानले खुमल–६, खुमल–११, स्थानीय जातको ताइचिन र मन्सुलीका साथै डिवाई हाइब्रिड धान लगाउँदै आएका छन् । बढी फल्ने भएपछि किसान हाइब्रिड धानतर्फ आकर्षित भएका हुन् । यो धान एक रोपनी खेतमा १२ देखि १४ मुरीसम्म फल्छ । भक्तपुर देशकै औसतमा उच्च धान फल्ने जिल्ला भए पनि बढ्दो आवादीका कारण खेतीयोग्य जमिन घटेसँगै धान खेती पनि घट्दै गएको छ । हाल जिल्लामा दस हजार दुई सय ४० हेक्टर खेतीयोग्य जमिन छ । तीमध्ये तीन हजार नौ सय २४ हेक्टर जमिनमा धानखेती गरिने र वार्षिक १९ हजार सातसय मेट्रिकटन धान उत्पादन हुने जिल्ला कृषि कार्यालयले जनाएको छ । रासस

काठमाडौँ, २९ असोज :

यस वर्षको मनसुन आइतबार (असोज २८) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जेठ ३१ (जुन १४) मा भित्रिएको थियो । यस वर्षको मनसुन एक सय २४ दिन जति नेपालमा रहेको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको छ । यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जाँदा कमजोर बन्दै जाने उहाँको भनाइ थियो । पश्चिमी भूभागमा गएराति पनि वर्षा भएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा असिनासमेत पर्दा बालीनालीमा क्षति पु¥याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यय वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । काठमाडौँको वायुको तापक्रम १९ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता ६ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्डिग्रेडको बीचमा रहने सम्भावना रहेको र दिउँसोतिर काठमाडौँमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।” आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । रासस

ढोरपाटन (बागलुङ), २९ असोज :

रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उहाँलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उहाँ बागलुङको गलकोट आई पुग्नुभएको थियो । हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताउनुभयो । व्यापारमा निस्केको दुई हप्तामा उहाँले नौवटा मात्रै भेडा व्यापार गर्नुभयो । एक सय ५० भेडा लिएर बजार आउनुभएका बुढा मगर व्यापार नभएपछि चिन्तित हुनुभएको हो । परिवार र दसैँ खर्च चलाउनका लागि यो सिजनमा बजार झर्नु भएका उहाँ व्यापार नहुँदा घर खर्च कसरी चलाउने भन्ने पीरले सताइरहेको छ । अघिल्लो वर्षको तुनामा यस वर्ष भेडाको मूल्य केही बढेको छ । बुढा मगरले साबिककै मूल्यमा बिक्री गर्दा पनि भेडा व्यापार निकै कम भएको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्षहरुमा घटस्थापनाको दिनसम्म बजार ल्याएका आधाभन्दा बढी व्यापार हुने गरेकामा यस पटक निकै कम भएका छन् । हरेक वर्ष पर्वतको कुश्मा र डिमुवासम्म पुगेर फर्किने गरेको भन्दै यस वर्ष व्यापार नहुँदा पोखरासम्म पुग्ने योजना रहेको बुढा मगरले बताउनुभयो । मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आउनुभएका तिलुलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ । वर्षभरि लेकबेँसी गरेर उत्पादन गरेको भेडाले बजार नपाउँदा निकै दुःख लागेको उहाँले बताउनुभयो । पोहोर साल एउटा भेडालाई रू २८ हजारदेखि ४८ हजारसम्म पार्ने गरेको भन्दै यस वर्ष रू ५२ हजारसम्म पुगेको मगरको भनाइ थियो । पाहोर सालकै मूल्यमा व्यापार नभएपछि केही रकम घटाएर बिक्री गर्नु परेको उहाँले बताउनुभयो । पहिले–पहिले बाटोमा भेडा आए भने व्यापारी बथानमै छिरेर मन परेको भेडा किन्ने गरेका भन्दै यसपालि घरै अगाडि लगेर किन्न आग्रह गर्दा पनि व्यापार नभएको तिलुले गुनासो गर्नुभयो । पहिलेको तुलनामा यस वर्ष बजार पनि सुनसान पाएको उहाँले बताउनुभयो । “यसपालि दसैँ ढिला आयो । ७ गतेको दिन टीका रैछ, ५ गते त घर फर्किसक्नुपर्छ । मेरो अरू केही व्यवसाय छैन । वर्षभरि यिनै भेडा पाल्छु । दसैँ त हामीजस्ता गोठालाको लागि व्यापार गर्ने ठूलो पर्व जस्तै हो । तर यस वर्ष पहिलाको जस्तो व्यापार भएन् । धेरैले पैसा छैन भेडा राख्न सकिँदैन भन्छन्”, बुढा मगरले भन्नुभयो, “बजारमा पहिलेको जस्तो चहलपहल पनि देखिएन । किन हो खै ? आर्थिक मन्दी भन्छन् । मैले भेडा पाल्न थालेको ३७/३८ वर्ष भयो अहिलेसम्म यस्तो अवस्था कहिले पनि आएको थिएन ।” उहाँले रू २८ हजार पर्नेलाई रू २३ हजार र रू ५२ हजार पर्ने भेडालाई रू ४०/४५ हजारमा दिँदा पनि कसैले किन्न नमानेको गुनासो पोख्नुभयो । भेडा व्यापार नभएपछि परिवार चलाउनै समस्या हुने उमगरको भनाइ छ । ५ गतेसम्म व्यापार नभए गाडीमा हालेर गाउँ फर्किने योजना रहेको उहाँले सुनाउनुभयो । बुढा मगरको जस्तै मुस्ताङबाट आउने भेडाच्याङ्ग्रा पनि अघिल्लो वर्षको तुलनामा कम बिक्री भएको व्यापारीहरुले बताउने गरेका छन् । उपल्लो मुस्ताङदेखि भेडाच्याङ्ग्रा लिएर आउनुभएका प्रकाश गुरुङले यस वर्ष निकै कम व्यापार भएको बताउनुभयो । असोज पहिलो साता नै भेडाच्याङ्ग्रा खरिदका लागि मुस्ताङ पुगेको पाँच सयको हाराहारीमा ल्याए पनि अहिलेसम्म ७० वटा मात्रै बिक्री भएको उहाँको भनाइ थियो । बागलुङ, पर्वत, पोखरा, तनहुँ हुँदै काठमाडाैँसम्म पुर्‍याउने योजना रहेको भन्दै आर्थिक मन्दीले व्यापार कम भएको गुरुङले बताउनुभयो । अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी भेडाच्याङ्ग्रा बजार ल्याउने गरेकामा यस वर्ष घटाएको उहाँले सुनाउनुभयो । “बजारमा सबै सामान महँगिएर आकाशिएको छ । भेडाच्याङ्ग्राको मूल्य पनि स्वाभाविक रुपमा बढ्ने नै भयो । पहिलेपहिले जति राम्रो व्यापार हुन्थ्यो अहिले छैन”, गुरुङले भन्नुभयो, “यसले गर्दा हामी जस्ता व्यापारी मर्कामा परेका छौँ । गोठमै पुगेर खरिद गरी ल्याउने गरेकामा अहिले किसानले गोठमै महँगोमा बेच्नु हुन्छ । हामीहरुले बजारसम्म ल्याउँदा थोरैमात्र नाफा राखेर बेच्दा पनि बिक्री गर्न मुस्किल पर्छ ।” स्थानीय प्रेमप्रसाद शर्माले बजारमा अन्य सामान बिक्री नहुँदा यस वर्ष भेडाच्याङ्ग्रा किनेर दसैँ बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो । पहिलेको तुलनामा बजारमा हुने खाद्यान्न तथा फेन्सी सामानको मूल्य आकाशिएको र व्यापार कम हुँदा पोहोरपरार सालको जस्तो हर्षोल्लास नभएको उहाँको भनाइ थियो । महँगी र घट्दो व्यापारका कारण सामान्य परिवारले भेडाच्याङ्ग्रा किनेर दसैँ मनाउने अवस्था नरहेको उहाँले बताउनुभयो । “तीन/चार वर्षअगाडि त बजारमा किनेमेल गर्ने मान्छेको भीड हुन्थ्यो । अहिले बजार सुनसान छ । बजारका सामान व्यापार भए पो किसानका भेडाच्याङ्ग्रा व्यापार हुन्छन्”, शर्माले भन्नुभयो, “बजार सुनसान भएपछि कसरी भेडच्याङ्गा किनमेल हुन्छ?, आर्थिक मन्दीले धेरैतिर समस्या पुर्‍याएको छ । रासस

घोराही (दाङ), २९ असोज :

घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उहाँको दैनिकी बनेको छ । रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताउनुभएका ४५ वर्षे केसीले विसं २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लाग्नुभएको हो । “मलेसियामा तीन वर्ष काम गरे, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिन, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पशुपालनबाट हाल मासिक रु दुई लाख आम्दानी भइरहेको छ । उहाँ आफ्नो फार्ममा उत्पादित ३० लिटर र बाँकी गाउँमा उत्पादन भएको दूध सङ्कलन गरी बिक्री गर्नुहुन्छ । विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उहाँको बुझाइ छ । “विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ”, केसीले भन्नुभयो । उहाँले हाल चारजना स्थानीयलाई रोजगारी पनि दिनुभएको छ । उहाँ मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म स्थापना गरी पशुपालन गरिरहनुभएको छ । उहाँको फार्ममा १८ वटा भैँसी र तिनका पाडापाडी छन् । केही दूध डेरी पसल र होटलमा दिनुहुन्छ भने बाँकी घरघर लगेर बिक्री गर्नुहुन्छ । “हरेक दिन बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, र बिहान साढे नौ बजेसम्म दूध बेचिसक्छु”, उहाँले भन्नुभयो, “घरबाट निस्कनु अघि भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र उनीहरुका लागि आहारा तयार पारिसक्छु ।” केसीले पशुका लागि घाँस पनि आफै लगाउनुभएको छ भने पराल र भुस पनि आफ्नै जग्गामा उत्पादन गर्नुहुन्छ । रासस

काठमाडौँ, २९ असोज :

राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गर्नुभएको हो । राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ । रासस

वालिङ (स्याङ्जा), २९ असोज :

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ । सहकारी आफैँले प्लान्ट स्थापना गरी व्यावसायिकरुपमा गँड्यौलापालन थालेको हो । सहकारीले गाउँका कृषकलाई पनि गँड्यौलापालनमा प्रेरित गरी अभियानमा सहभागी गराउँदै आएको सहकारीका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो । वालिङ बजारमा रहेको खेलमैदान नजिकैको जग्गा भाडामा लिएर गँड्यौलाको मल व्यावसायिकरुपमा उत्पादन गर्न थालिएको उहाँले बताउनुभयो । “गाउँगाउँमा किसानलाई निःशुल्क गँड्यौलाका साथै गँड्यौला पाल्नका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “तालिमपश्चात् सिकेको सीपलाई सदुपयोग गर्दै अहिले गाउँगाउँमा गँड्यौलापालन भइरहेको छ ।” सहकारीले प्लान्टबाट उत्पादन भएको गँड्यौला र मल दैनिक स्थानीय कृषि हाटबजारमा बिक्री गर्दै आइरहेको छ । सहकारीले आफूले उत्पादन गरेको मलका साथै किसानले उत्पादन गरेको गँड्यौलाको मल खरिद गर्ने र प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको उहाँले बताउनुभयो । गुरुङका अनुसार सहकारीमार्फत किसानलाई निःशुल्क गँड्यौला, गँड्यौला पाल्ने भाँडो तथा आवश्यक तालिम दिएपछि व्यवसायिक गँड्यौलापालनतर्फ किसानको आकर्षण बढेको हो । सहकारीले किसानसँग प्रतिकेजी रू २० मा खरिद गरेर प्रशोधन गरी प्रतिकेजी रू ३५ मा बिक्री गरिरहेको सहकारीका उपाध्यक्ष एवं गँड्यौला मल प्रवर्द्धन कार्यक्रमका संयोजक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । जैविक मलको तुलनामा बिरुवालाई हुर्कन, बढ्न र आफ्नो जीवनचक्र पूरा गर्नका लागि नभई नहुने १६ किसिमका तत्वहरु यस मलमा पाइने उहाँले दाबी गर्नुभयो । नगरपालिकाले रू २० लाख र सहकारीले रू १० लाख लगानी गरी गँड्यौला पाल्नका लागि प्लान्ट निर्माण गरिएको सुवेदीले जानकारी दिनुभयो । “सुरुका दिनमा नयाँ भएकाले पनि केही किसानले मात्र गँड्यौलापालन गर्नुभयो”, उहाँले भन्नुभयो, “अहिले प्लान्ट स्थापना गरी ठूलो परिमाणमा गँड्यौला तथा मल उत्पादन गरेसँगै अन्य किसान पनि आकर्षित हुँदै जानुभएको छ ।” उहाँका अनुसार प्लान्टका बारेमा बुझ्न तथा अवलोकन गर्न धेरै सङ्घसंस्था तथा व्यक्तिहरु आउने गरेका छन् । गँड्यौलाको मललाई रासायनिक मलको विकल्पका रुपमा प्रयोग गर्न थालिएकाले बजारमा यसको माग अत्यधिक रहेको सहकारीले जनाएको छ । किसानले उत्पादन गरेको मल सहकारीमार्फत नै बिक्री हुने गरेकाले बजारीकरणको समस्या नभएको किसानहरु बताउँछन् । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो संस्थाको आर्थिक सहयोग तथा सहकारीद्वारा सञ्चालित ‘हरित पुनः उत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको सहकारीका प्रबन्धक खेमराज लामिछानेले बताउनुभयो । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै लगिने भन्दै सहकारीले गँड्यौलाको मल प्रवर्द्धनात्मक अभियानसँगै रैथाने बाली संरक्षणका लागि काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । रासस

चितवन, २९ असोज 

चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल बन्द भएको १२ वर्षपछि तिनै होटलको झल्को दिने गरी सौराहामा सिद्धार्थ भिलासा बनबास रिसोर्ट सञ्चालनमा ल्याइएकोे छ । वरिपरी जङ्गललले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ । रिसोर्ट छिर्ने जोकोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ । सौराहाको बजारी क्षेत्रबाट केही पर खैरहनी नगरपालिका–१३ हर्नरीमा यो रिसोर्ट छ । वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएका संरक्षणकर्मी स्थानीयवासी वासु ढुङ्गानाले नौ वर्षअघि रिसोर्ट निर्माण सुरु गर्नुभएको थियो । बन्दै गर्दा संविधानसभा सदस्य एवं व्यवसायी उमेश श्रेष्ठ पनि जोडिनुभयो । यससँगै नेपालमा हस्पिटालिटी क्षेत्रमा ख्याती कमाएको सिद्धार्थ ग्रुपसमेत यसमा जोडिएर रिसोर्ट सञ्चालनमा ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भन्दा पहिला खुलेको टाइगर टप्ससहित सात वटा होटल विसं २०६८मा बन्द भएपछि खर्चालु पर्यटक यहाँ आउने क्रम घटेकामा यस होटलले त्यस्ता पर्यटकलाई भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ । सिद्धार्थ हस्पिटालिटीले आफ्नो लक्जरी ब्राण्ड सिद्धार्थ भिलासाको दोस्रो शाखाको रूपमा यो रिसोर्ट सञ्चालनमा ल्याएको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ग्रुपका होटल, रेष्टुरेन्ट, बेकरी क्याफे, होटल व्यवस्थापनजस्ता हस्पिटालिटी क्षेत्रमा ३० वटा शाखा सञ्चालनमा छन् । उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन यो होटल सहयोगी बन्ने बताउनुभयो । रिसोर्ट निर्माणमा रु ४५ करोड खर्च भएको जानकारी दिँदै बनबास चितवन प्रालिका अध्यक्ष वासु ढङ्गानाले रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बताउनुभयो । तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ । यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् । उहाँले भन्नुभयो “भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन् । सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ ।” रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि निर्माण गरिएको छ । पोखरीमा माछाका भुरा नियमित राखिन्छ । अध्यक्ष ढुङ्गानाले भन्नुभयो “त्यहाँ हुर्किएका माछा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट चरा आएर खान्छन् ।” रिसोर्ट परिसरमा विभिन्न प्रजातिका चराको बासस्थान देख्न सकिन्छ । विचरणका लागि पनि चरा टाढाटाढाबाट यहाँ आउने गर्दछन् । रिसोर्ट परिसरमा रोपिएका रुख पनि चराचुरुङ्गीले मन पराउने फलफलूलका बिरुवा रोपिएको छ । उहाँले भन्नुभयो “खुल्ला जङ्गलभित्र छुट्टाछुट्टै भिल्ला भएका कारण एक अर्का कसैलाई कुनै किसिमको असर गर्दैन ।” त्यसैले यसलाई बनबासा नामाकरण गरिएको उहाँले बताउनुभयो । रिसोर्टमा दुईवटा सभा कक्ष रहनाका साथै नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुराँ पनि छ । यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि चार सय डलरसम्म तिर्नुपर्छ । यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेज प्राप्त गर्न सक्छन् । आन्तरिक पर्यटक एक जोडीलाई रु दस हजारमा एक रात बसाइँ र ब्रेकफास्टको सुविधा रहेको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो । होटलका अर्का सञ्चालक श्रेष्ठले पर्यापर्यटनको क्षेत्रमा संरक्षणकर्मी ढुङ्गानाको यो अभियानलाई सफल बनाउन आफूहरु जोडिएको बताउनुभयो । एक व्यक्तिले गर्न नसक्ने काम समूहबाट सम्भव हुने भन्दै उहाँले बनबास समूहमै सञ्चालनमा ल्याइएको बताउनुभयो । नेपालमा पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै उहाँले देशभर सर्किट निर्माण गरेर होटल रेष्टुरेन्ट सञ्चालनमा ल्याउने अभियानमा आफू पनि जोडिएको उल्लेख गर्नुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा नेपालको पर्यटकीय महत्वको बारेमा व्यापक प्रचारप्रसार गरेर विदेशी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले नीतिमा परिवर्तन गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जनोड दिनुभयो। होटल आइतबार घटस्थापनाका दिन शुभारम्भ गरिएको थियो । रासस

पाटन (ललितपुर), २९ असोज :

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो । “लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई रु १० हजारका दरले जरिवाना र सचेत गराएका छौँ”, सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भन्नुभयो । अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराउनुभयो । रासस

काठमाडौं, २९ असोज :

नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ । सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रम कार्यान्वयन गर्न वार्षिक रुपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा व्याज/साँवा पुँजीकरण) र अन्य आवश्यक रकम÷सञ्चालनमार्फत प्राधिकरणलाई सहयोग गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको बताउनुभयो । प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ । प्राधिकरणको चुक्ता पुँजी करिब रु तीन खर्ब कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी करिब रु ६० अर्ब बराबरको प्राथमिक सेयर सर्वसाधारणलाई निश्कासनको प्रस्ताव गरिएको छ । प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य रु एक सय २५ कायम गर्ने र त्यसमा त्यती नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको छ । कार्यकारी निर्देशक घिसिङले संस्थाको क्रेडिट रेटिङ भइसकेकाले सरकारबाट स्वीकृति पाउनसाथ सेयर निश्कासनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनुभयो । “क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ, ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको छ, आन्तरिक माग धान्न हिउँदका केही महिनामा हुने विद्युत् आयात प्रतिस्थापन छिट्टै हुँदै छ भने हरेक वर्ष हुने विद्युत् निर्यात बृद्धि, आन्तरिक रुपमा हुने विद्युत् खपत बृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै जाने छ”, घिसिङले भन्नुभयो, “विद्युत् उत्पादनतर्फका आयोजनाहरु निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठूलो पूँजी आवश्यक पर्ने छ, यसका लागि संस्थाले कमाएको नाफा र सेयर निश्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना बनाएका छौँ ।” प्राधिकरणले स्वदेशी तथा विदेशी लगाीकर्ताहरुले निर्माण गर्ने जलविद्युत आयोजनाहरुसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गरिहेको छ । क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ । इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र सेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ । प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धाले प्राधिकरणलाई अल्कालीन रुपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने इक्रा नेपालले उल्लेख गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८०मा रु १२ अर्ब ३३ करोड खुद नाफाको प्रक्षेपण गरेको छ । प्रणालीको विद्युत् चुहावट १३ दशमलव ४६ प्रतिशत छ । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।