२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, ३० असोज ।

काठमाडौंको गैरीगाउँस्थित भ्याली बाबा स्पलायर्स सिल गरिएको छ। काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले नाममा ठगी गरेको पाइएको हो।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि सिल गरिएको बताइएको छ।

धनगढी, ३० असोज ।

कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ।

जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । बसमा सामान्य क्षती भए पनि सवार यात्रु सकुशल रहेको बताइएको छ।

गोरखा, ३० असोज ।

उत्तरी गोरखाको मनासलु क्षेत्र पुगेका तीन पर्यटक बिरामी परेका छन्। बिरामी भएका तीन जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

मंगलबार एयर डाइनेस्टीको हेलिकप्टरमार्फत उनीहरुलाई उद्धार गरी काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।

सिरानचोक गाउँपालिका-३ हर्मीका बसन्त घिमिरे, चितवन भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको उद्धार गरिएको बताइएको छ।

मनासलु क्षेत्रको पदयात्रामा रहेका उनीहरु चुमनुव्री गाउँपालिका–१ साम्दो पुगेपछि लेक लागेर बिरामी भएका थिए।

काठमाडौं, ३० असोज ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा बोल्दै मन्त्री डा. महतले भने, ‘नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गरिसकेका छन्।’

युवाहरूलाई यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ भन्ने लागेको भए त्यो भ्रममा नपर्न आग्रह गरेका छन्। मन्त्री डा. महतले भने, ‘यहाँ अवसर छ, अरु देश भौतिक रुपमा पूर्ण विकसित भइसकेका छन्। त्यहाँ गइसकेपछि एउटा संयन्त्रको पूर्जाका रुपमा फिट हुने हो। तर यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण सुष्म चाहिन्छ।’

हाइड्रोपावरमा नेपालले नेटवर्क बनाइसकेको उनको दाबी छ। ‘अहिले निजी क्षेत्रबाट ३ सय मेगावट जलविद्युत उत्पादन भइरहेको छ। सयौं आयोजनामा हजारौं नेपालीले लगानी गरिरहेका छन्। माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ। हामीले ऋण सहुलियत दरमा मागेका छौं,’ उनी भन्छन्।

आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा जलविद्युत बन्ने मन्त्री महतले बताए। ‘यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौं, अब यसमा गैरआवासीय नेपाली साथीहरु जोडिनुपर्छ’ उहाँले भन्नुभयो, ‘हामी बुढिगण्डकी जलासययुक्त आयोजनालाई हामी अगाडि बढाउन चाहन्छौं,’ उनले भने।

लगानीको दोस्रो सम्भावना सूचना प्रविधि क्षेत्रमा रहेको उनले बताए। ‘बेलायतमा वार्षिक ५० मिलियन सफ्टवेयर निर्यात हुँदो रहेछ। बेलायत मात्र होइन, अन्य देशमा पनि सफ्टवेयर निर्यात भइरहेको छ। सफ्टवेयर निर्यातबाट असीमित आम्दानी गर्न सकिन्छ,’ उनी भन्छन्।

जे चलिरहेको छ, त्यसैले चल्छ भन्ने हाम्रो मानसिकता छ, यसलाई तोड्न केही समय लाग्ने बताउनु हुँदैन मन्त्री डा. महतले भने, ‘अर्को क्षेत्र भनेको पर्यटन हो। यसले पनि आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ। मध्यपूर्वलगायत कोरिया गएकाहरु फर्किदा सानो पूँजीसँगै ज्ञान पनि लिएर फर्किएका छन्। उनीहरुले यही सानो व्यवसाय सुरु गरिसकेका छन्। हामीले उत्पादनलाई सुरक्षा दिने नीति लिएका छौं। अनुदार र करको सुरक्षा सरकारले गर्छ। यसबाट उत्पादन बढाउने सरकारको योजना छ।’

नेपालमा धेरै नकरात्मक भावना फैलिएको उनले बताए। अब सकारात्मक भावना फैलाउनु पर्ने उनको भनाइ छ। ‘नकारात्मक कुरा गर्दा सामाजिक सञ्जालमा त्यसको फ्लोइङ बढी हुन्छ। यो देशमा केही हुन्न, यिनीहरुले केही गर्दैनन्, यिनीहरु बिगार्न मात्र आएका हुन्। खराब मात्र गर्छन् भन्ने भावना फैलाइएको छ। सबै क्षेत्रमा राम्रा मान्छे पनि छन्,’ मन्त्री डा. महतले भने, ‘सबै चोरै हुन्, सबै फटाह हुन् भनेर एउटै बास्केटमा नहालौं। जो इमान्दारपूर्वक काम गरिरहेको छ, उसलाई प्रोत्साहन गरौं। सकारात्मक सन्देश फैलाउन एनआरएनए सही प्लेटफर्म हो। तपाईंहरुले भन्नुभएको सन्देश नेपालमा बसेका आफन्त, नातागोता र साथीभाइदेखि लिएर छिमेकीसम्म सन्देश पुग्छ।’

भक्तपुर, ३० असोज ।

संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघन थालेको भन्दै रोष प्रकट गरेका छन्।

सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही नहुँंदा भएको बताए। ‘पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै हो’, उनले भने, ‘ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सवैसवैमा भ्रष्टाचार भएको बाहिर आएकै हो।’

भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उनले पुनः दोह्याए। संविधानमै शंशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजाए दिनुपर्ने पार्टीको धारणा रहेको उनले दोहर्या‍ए।

फरक प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरवारमा पठाएर केही नुहने बताए। परराष्टमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उनले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उभो लाग्न नसक्ने दाबी गरे।

उनले इजराइल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निदोर्ष नेपालीको निधनको जिम्मेबारी सरकारले लिनुपर्ने जिकिर पनि गरे। ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषि नेपाल सरकार रहेको उनको जिकिर थियो।

 

 

काठमाडाैं, ३० असाेज । 

ओखलढुंगा र झापाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् ।  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाकाे खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई  प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

उता ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका-५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई प्रहरीले पक्राउ गरेको छ । ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

हेमन्त केसी सुर्खेत, ३० असाेज ।

चाडपर्व नजिकिँदै गएपछि सल्यानमा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा ५० हजार बराबरको म्याद गुज्रेका गुणस्तरहीन वस्तु जफल गरी नष्ट गरिएको छ।

जिल्लाको शारदा नगरपालिकाका प्रमुख व्यापारिक क्षेत्रहरू श्रीनगर, खलंगा, बरला, साहुटोल, पीपलनेटा, दुलधारा पोखरा र मार्केमा बजार अनुगमन गर्दा झन्डै ५० हजार बराबरको गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको शारदा नगरपालिका उपमेयर सुस्मिता सापकोटाले जानकारी दिइन्।

 

किराना पसल, खाद्यान्न पसल, मदिरा पसल, सप्लायर्स लगायतको अनुगमनका क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरीतका विभिन्न सामग्री नष्ट गरिएको उनको भनाइ छ।

 

चाडपर्वका वेला व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, महँगी नियन्त्रण र गुणस्तर कायम गर्न नगरपालिकाले अनुगमन गरेको निमित्त प्रमृख प्रशासकीय अधिकृत लीलाधर बबालले बताए। उनले भने, ‘व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी नहोस् भन्नका लागि अनुगमन गरेका हौँ।’

 

नगरले नियमित अनुगमन गर्दै आइरहेको बताउँदै चाडपर्वमा किनमेलका लागि भीडभाड बढी हुने भएकाले म्याद गुज्रेका र अखाद्य वस्तु मिलाएर आउने भएकाले त्यसको नियन्त्रणका लागि अनुगमन प्रभावकारी बनाउने योजनानुसार चाडपर्व अनुगमनलाई तीव्रता दिइएको बबालले बताए।

काठमाडौं, ३० असोज ।

चालु साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

साताको पहिलो दिन आइतबार साार्वजनिक विदा परेको थियो भने सोमबार २३.१६ अंकले घटेको सेयर बजार मंगलबार १३.१८ अंकले बढेको हो । मंगलबार ०.७१ प्रतिशतले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ ।
मंगलबार ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ ।

यसदिन व्यापार, निर्जीवन बिमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।

हेमन्त केसीसुर्खेत, ३० असाेज । 

भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । वेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य ब्यापक बनाइएको थियो ।

उनि सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलमा भिरबाट लडेर करिव १५० मिटर तल खसी मृत अबस्थामा भेटिएको स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए । उक्त खवर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वको  टोली घटनास्थलमा पुगेको  थियो ।

उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

काठमाडौं, ३० असोज ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशन सुरु भएको छ । काठमाडौँको सोल्टी होटेलमा महाधिवेशन सुरु भएको हो । आगामी शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

आगामी नेतृत्वका लागि चुनावी मैदानमा सदस्यहरु उत्रिएका छन् । जसमध्ये एक हुन् रोबिन शेरचन । उनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

उनका यी हुन् एजेण्डा :

– एनआरएनएको गरिमा उच्च कायम राख्दै जनमैत्री, प्रविधिमैत्री, सर्वसुलभ पहुँच र परिणाममुखी बनाउनका लागि हालको पद्धतिलाई रूपान्तरण गरी प्रभावकारी कार्य योजनाका साथ अगाडि बढिनेछ ।

– नेपालमा भित्रिने रेमिटेन्स रकम अधिकांश उपभोग्य बस्तुमा खर्च हुने ड्डगरेको छ । यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने ।

– लगानीको सुरक्षाको ग्यारेन्टी हुने गरी ठुला मात्र नभई साना तथा मझौला आय भएका गैर आवासीय नेपालीलाई पनि विभिन्न ड्ड आयोजनाहरुमा सहभागी गराई लगानी अभिवृद्धि गर्ने कार्य प्रारम्भ गरिने ।

–परदेशमा श्रम गरिरहेका, विभिन्न किसिमका कठिनाइ भोगिरहेका पीडित गैर आवासीय नेपालीहरूका लागि एउटा सामूहिक अक्षय कोषको स्थापना गरी राहत महसुस हुने गरी कार्य प्रारम्भ गरिनेछ ।

–एनआरएनएको घेराभन्दा बाहिर रहेको बौद्धिक, सीपयुक्त, युवा, दोस्रो पुस्ता लगायतको जनशक्तिलाई संस्थाको परिधिभित्र ल्याई सक्षम जनशक्ति र उच्च प्रविधिलाई नेपालमा भित्र्याउने अवसर सृजना गरी राष्ट्रको अर्थतन्त्र र विकासलाई सहयोग पु¥याउने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।