हेमन्त केसी, सुर्खेत, २ कार्तिक ।
राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिममा एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेको पाइएकाे छ ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षिय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको, दशिप्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन् । उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।
अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्-श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुबै जना २९ गते बिहान १० बजेवाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो । लोकबहादुरले भावनाको घाँटिमा धारिलो चक्कु प्रयोग हत्या गरेको डिएसपी भट्टराईले बताए । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ ।
मृतकको श्रीमान् र हत्या आरोपीको श्रीमति हाल बैदशिक रोजगारीमा रहेको बताईन्छ । प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिबादीको मोबाईल समेत बरामद गरेको छ ।
प्रतिवादी कारागार मुक्त भए यता २५ दिनमा १२४ पटक दुई जना बिचमा मोबाईलमा कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको कुरा खुल्न आएको प्रहरीले उल्लेख गरेको छ ।
मृतक भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी थिईन् । सानीभेरी ९ सिम्लीमा रहेको हत्या आरोपी लोकबहादुरको होटेलमा म्यादी प्रहरीले खाना खाने गरेका थिए । प्रहरीका अनुसार त्यतिबेलै देखि दुबैजना नजिक भएर अनैतिक सम्बन्धमा गाँसिएको पाईन्छ ।
हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए । उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाईएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए । अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए ।
२०८० माघ १९ गते कैदमुक्त हुुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकि कैद मिनाहा गरिएको थियो ।
कैदभुक्तान गर्न ३ महिना २३ दिन बाँकि रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् । प्रहरीले लोकबहादुर बिरुद्ध कर्तव्य ज्यान मुद्धा शीर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
सुरेश चन्द्र रिजाल काठमाडौ, २ कार्तिक ।
नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछ । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्ल पक्षका तिथिहरुलाई गुप्त नवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । विशेषगरी आश्विन शुक्ल पक्षमा पर्ने शारदीय नवरात्त्रको शास्त्रमा अधिक महत्व बताईएको छ ।
यस बर्ष साउन महिनामा मलमास परेकाले ढिलागरि २८ असोज आइतबारबाट नवरात्र प्रारम्भ भएको हो ।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानी पूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गा सप्तशतीको देव्या कवचमा बताइएको छ ।
नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यपार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यसदिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यपार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यसदिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।
काठमाडौं, २ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी र बामगती प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
धनगढी, १ कार्तिक ।
धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।
उनीहरूको साथबाट प्लाष्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ।
लागूऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पोशाकको टोलीले संयुक्त रूपमा अप्रेशन गरेको हो।
सो क्रममा मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार चन्द पनि होटलको कोठामा उनीहरू सँगै भेटिएका थिए।
तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बैतडी, १ कार्तिक ।
बैतडीमा जिप र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। महाकाली राजमार्ग अन्तर्गत जिल्लाको दोगडाकेदार गाउँपालिका–३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुर्घटना भएको हो। खोचलेकबाट सतबाँझतर्फ आइरहेको म १ ज १४४ नम्बरको बोलेरो जिप र धनगढीबाट दार्चुलातर्फ गइरहेको बा १२ च २६१८ नम्बरको कार बुधबार साँझ एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनाबाट सवारी साधनमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। जिपमा सवार ५ जना र कारमा सवार ४ जना गरी सबै ९ जना यात्रुहरु सकुशल रहेका उनले बताए।
हुम्ला, १ कार्तिक ।
बेलीब्रिज जोड्ने क्रममा चिप्लिएर एक जना कामदारको मृत्यु भएको छ। हुम्लाको सरिसल्लास्थित निर्माणाधीन बेलीब्रिजका नटबोल्ड कस्ने क्रममा चिप्लिएर मंगलबार मध्याह्न १२ बजेतिर बारा जिल्ला कोलबी नगरपालिका-६ सनबार गाउँ घर भएका २० वर्षीय सुरेश चौधरी घाइते भएका थिए।
उनलाई उपचारका लागि बाजुराको कोल्टी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले बताए।
नटबोल्ड कसिरहेको बेला पुलको ड्यामबाट चिप्लिएर टाउको र ढाडमा चोट लागेका चौधरीलाई स्थानीयले उद्धार गरी सरिसल्लामा भएको हिमाल हेल्थ पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी अस्पताल बाजुरा रिफर गरिएको थियो।
हुम्ला सदरमुकाम सिमकोट जोड्ने कर्णाली कोरिडोर सडकअन्तर्गत सर्केगाड र चंखेली गाउँपालिकाको सरिसल्लामा तत्कालका लागि बेलीब्रिज जडान गरी आगामी फागुन महिनाभित्र सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ पुल जडानको काम द्रुतगतिमा भइरहेको छ।
राैतहट,०१ गते कार्तिक ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा हाकिम हाजिर गराउने विषयलाई लिएर स्थानियहरुले बिरोध जनाएका छन् । आज बुधबार बेलुका हाकिम सुरेन्द्र प्रधानलाई फतुवा विजयपुर नगरपालिकामा हाजिर हुन्न नदिने भन्दै टायर बालेर बिरोध जनाएकाे स्थानीय अबरारूल हकले जानकारी गराउनु भयो । राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्टको टोलीले फतुवा बिजयपुर नगरपालिकाको सबै वडा अध्यक्ष ,कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरुसँग समन्वय गराउन खोज्दा पनि स्थानियहरुले अस्विकार गर्दै विजयपुर बजारकाे चौकमा टायर बालि स्थानीयहरूले बिरोध गरेका खबर छ ।
आरके श्रीवास्तव,रौतहट, ०१ कार्तिक ।
राैतहटकाे कटहरिया नगरपालिका द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजन गरिएको थियोे । कार्यक्रममा बाेल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले हिन्दूहरूको महान आस्थाको पर्व चलिरहेको बडा दशै र केही दिनपछि आउने तिहार, दिपावली र छठ पर्व शुभकामना व्यक्त गर्नु भएको थियोे ।

कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल र विशिष्ट अतिथी उप प्रमुख रिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत गाैरीशंकर कुमार सिंह रह्नु भएको थियोे । शुभकामना आदानप्रदान कार्यक्रममा वडा अध्यक्षहरू समिश बिक्रम शाह,सर्फलाल गुप्ता,जयराम साह,कार्यपालिका सदस्य मनाेज जयसवाल लगायत शिक्षक ,सुरक्षाकर्मि,कर्मचारी हरुको सहभागीता रहेको थियो ।
रौतहट, ०१ कार्तिक ।
नेपाली काँग्रेस पार्टी गौर नगर कमिटी द्वारा नेपालीहरूको महान चाडपर्व बडा दशै, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभा हलमा शुभकामना आदनप्रदान कार्यक्रममा रौतहट जिल्लाकै सबभन्दा पुरानो जेष्ठ पालिकाको रूपमा चिनिएको गौर नपाका मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीको नगर सभापति युवा नेता मोहन कुमार यादवले समाजलाई शान्तिपूर्ण वातावरण, समृद्ध समाज र सबै समुदायसँग समाजिक सद्भाव बनाएर राख्ने उदेश्यले नै चाडपर्व बर्षमा एक पल्ट आउने गर्छ तर हामी सबैलाई सन्देश दिएर जान्छ भने बताए । पर्व त्यौहारको समाजमा विभिन्न किसिमको अप्रिय घटना घट्ने गर्छ त्यस्ता क्रियाकलापलाई हामी सबै समुदायले मिलेर निराकरण गर्नुपर्छ ।चाडपर्वको समयमा गाउँघर र बजार क्षेत्र भित्र बढी फोहर मैला, होहल्ला, जाड रक्सि, लागु पदार्थको कारोबार र जुवातास खेल्ने घटना भइरहन्छ त्यसबाट सचेत भई स्वच्छ समाज निर्माण र आफै सरसफाइ अभियानमा प्रत्येक नागरिकले लाग्नुपर्छ भने उनले आग्रह गरे । समाजमा कानुन विपरीत क्रियाकलाप कसैले पर्व त्यौहारको बेला नगर्न सुझाव दिएका हुन । हिन्दूहरूको महान आस्थाको पर्व बडा दशै अहिले चलिरहेको छ भने केही दिनपछि तिहार, दिपावली र छठ पर्व समेत आउने भएको हुनाले सबैले यश पर्वलाई समाजिक रूपमा हाँसी खुशी मिलेर मनाउन मेयर प्रत्यासी यादवले अनुरोध गरे । रौतहट जिल्ला भित्र सक्रिय रूपमा विगत लामो समय देखि आफ्नो कलम चलाएर जिल्लाको विभिन्न स्तरमा पुगेर समाचारको माध्यमले परिवर्तन गर्न र गराउने भुमिका खेलिरहेको क्रियाशील पत्रकारहरूलाई महासंघले नयाँ सदस्यताबाट बञ्चित बनाएको प्रति मेयर प्रत्यासी यादवले दुख पोखेका छन । महासंघको गलत कदमकाे बिरोधमा नेपाली काँग्रेस पार्टीको केन्द्रीय नेतृत्वहरूसँग यस बारे आफूले आवाज उठाउन र सम्बन्धित निकायमा नयाँ सदस्यता दिन बारे सकेसम्मको पहल समेत गर्न उनले बताए छन् । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मुस्लिम संघ मधेश प्रदेश कोषाध्यक्ष सर्फराज तैयब, नेपाली काँग्रेस रौतहट क्षेत्र नं १ प्रतिनिधिसभा सचिव संजय कुमार यादव, प्रदेशसभा (क) सभापति अवधकिशोर साह, जिल्ला सदस्य गुलरेज अहमद उर्फ जियाउल, युवा नेता शेख मनिर आलम र समाजसेवी लोकेन्द्र यादव उर्फ बबलु लगायतका सहभागीता रहेको थियो ।
पाँचथर, १ कार्तिक ।
पाँचथरमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेको को१ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका-७ टाहारीमा दुर्घटना भएको हो।
दुर्घटनामा याङवरक-३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक-७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ। अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो।
ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।