काठमाडौं, २ कात्तिक ।
चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको चलचित्र विधेयकको मस्यौदाले फिल्म उद्योगको हित नगर्ने फिल्मकर्मीले बताएका छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाप्रति उनीहरुले आपत्ति पनि प्रकट गरे ।
चलचित्र पत्रकार संघले काठमाडौंमा आयोजना गरेको चियापान तथा चलचित्र विधेयकको संवाद कार्यक्रममा बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटाले प्रस्तावित मस्यौदा संविधानविपरित रहेको बताए । उनले यसका व्यवस्था, अक्षर र भावना पूर्णतः संविधान विपरित रहेको बताउदै यसलाई सच्याएरअघि बढ्नुपर्ने धारणा राखे । उनले जिल्ला–जिल्लामा फिल्म सेन्सर बोर्ड गठन गर्ने प्रस्तावप्रति पनि आपत्ति प्रकट गरे ।
विधेयकका मस्यौदाकार तथा फिल्म निर्माता आकाश अधिकारीले २०२६ सालको ऐनभन्दा अहिलेको विधेयकलाई प्रगतिशिल र समयसापेक्ष बनाउन आफूहरुले प्रयत्न गरेको बताए । उनले घरेलु फिल्मको संरचनागत सुधारदेखि अन्तर्राष्ट्रियकरणसम्मका चासोलाई विधेयकले समेट्ने बताए ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मस्यौदालाई लिएर भएको असन्तुष्टिलाई टुंग्याउन चलचित्र संघसंस्थासँग परामर्श भइरहेको बताए । उनले चाँडै नै छलफलबाट निष्कर्स निकाल्ने बताए । प्रस्तावित विधेयकले संचार मन्त्रालयका कर्मचारीको नियन्त्रण झनै कसिलो गराउने र यसले चलचित्र विकास बोर्डको स्वायत्तता खोस्ने उनको धारणा रहेको थियो ।
कार्यक्रममा उपस्थित संचार र अर्थ मन्त्रालयका प्रतिनिधि भने यसबारे बोल्न अनुमति नभएको भन्दै केही बोल्न चाहेनन् । पत्रकार विष्णु शर्माले विधेयकबारेको छलफलको सहजीकरण गरेका थिए । चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरीको सभापतित्व र महासचिव रघुनाथ सापकोटाले संचालन गरेको कार्यक्रममा संघका अधयक्ष समीर बलामीले स्वागत मन्त्व्य राखेका थिए ।
कार्यक्रममा फिल्म निर्माता आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ,चलचित्र संघका पुर्व अध्यक्ष प्रदीप उदय,निर्देशक ऋषि लामिछाने, सेन्सर बोर्डको सदस्य ऋषि राज आचार्य, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,कलाकार संघका अध्यक्ष मोहन निरौला,वितरक करण श्रेष्ठ,निर्देशक नवल नेपाल लगायत थुप्रै ब्यक्तिको उपस्थिती रहेको थियो ।
दाङ, २ कात्तिक ।
तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरुले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित सोही उपमहानगरपालिका-१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कैलाली, २ कात्तिक ।
धनगढी उपमहानगरपालिका-४ सहिद गेटस्थित जुमेरा होटलबाट ७ फिट ६ ईन्च लम्बाई, १ फिट १० ईन्च चौडाई भएको बाघको छाला १ थान र अवैध लागूऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बैतडी मेलौली नगरपालिका-३ बस्ने २४ वर्षीय करन चन्द, बाजुरा गौमुल गाउँपालिका-१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेम राज जैशी रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला र लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं, २ कात्तिक ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।
टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा ग¥यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।
काठमाडौं, २ कात्तिक ।
सरकारले हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त रहेका जनाएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले हृदयघात भएपछि चीनक बेइजिङको अस्पतालमा उपचाररत मन्त्री श्रेष्ठको अवस्था खतरामुक्त रहेको जानकारी दिइन् ।
शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा रहेका र डिस्चार्ज हुन दुई-चार दिन समय लाग्न सक्नेछ ।
ललितपुर, २ कात्तिक ।
महालक्ष्मी नगरपालिका-४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, २ असोज ।
भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयरसहित २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट ४ लाख ८७ हजार ९१० कित्ता सेयर बाँकी रहेको थियो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।
काठमाडौं, २ कात्तिक ।
चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर बन्द भएको छ । प्रि–ओपन सेसनमा १९०८.६६ विन्दुमा पुगेको बन्द हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंक बढेको छ।
बिहीबार प्रि–ओपन सेसनमा ११ स्टकको २०० कित्ता सेयर किनबेच हुँदा १ लाख १ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
काठमाडौं, २ कात्तिक ।
नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।
साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो । साउन,भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रति युनिट क्रमश ः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रति युनिट १० रुपैयाँ २७ पैसा छ । विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताए । ‘करिब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसँग प्रस्ताव गरेका थियौं, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौं,’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चाडपर्व सुरु भइसकेको छ, यसअवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घट्छ, भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युतगृहहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं ।’
नयाँदिल्ली, २ कार्तिक ।
कांग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो।
कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)का राज्य प्रवक्ता मोहम्मद फरहान हुन्।
उनका अनुसार कुकुरको ‘नूरी’ नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूकाे धार्मिक भावनामा चोट पुगेको बताएका छन् । ‘नूरी’ शब्द विशेषगरी मुस्लिम धर्मसँग जोडिएको र इस्लाम धर्ममा पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनका वकिलका अनुसार कुरान माजिद सुरा नूर आयत ३५ मा पनि ‘नूरी’ शब्द उल्लेख गरिएको छ । उनले मुस्लिम युवतीहरुको नाम पनि ‘नूरी’ रहने गरेको बताए ।
फरहानका अनुसार राहुललाई कुकुरको नाम परिवर्तन गरेर माफी माग्न भनेका थिए तर उनले त्यसो गरेनन र धार्मिक भावनामा चोट पुरयाए । त्यसपछि अदालत जान बाध्य भएकाे हाे । उनले भनेका छन् कि यसो गरेर राहुल गान्धीले मुस्लिम समुदायका केटीहरू र विशेष गरी माेहम्मद पैगम्बरको अपमान गरेका छन्। इस्लाम धर्मको आगमनदेखि अहिलेसम्म कुनै पनि मुस्लिम परिवारले जनावरको नाम ‘नूरी’ राखेका छैनन् ।
अदालतले फरहानलाई नोभेम्बर ८ मा उनको बयान रेकर्ड गर्न बोलाएको छ। उनकाे उजुरीलाई विचार गरेपछि अदालतले राहुल गान्धीलाई पनि बोलाउन सक्ने बताए ।
खासमा राहुल गान्धीले हालै आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेका थिए, जसमा उनले भनेका थिए कि जब उनी गोवा भ्रमणमा थिए, त्यहाँको एक परिवारले उनलाई एउटा कुकुर उपहार दिएको थियो। उनले यो कुकुरलाई दिल्ली ल्याए र त्यसपछि उनले यो कुकुर आफ्नी आमालाई उपहार दिए। भिडियोमा उनले ‘म तिमीलाई (सोनिया गान्धी) मेरो परिवारको नयाँ सदस्य, जसको नाम नूरी हो, सँग परिचय गराउन चाहन्छु’ भनेको सुन्न सकिन्छ।
त्यसपछि राहुलले यो कुकुर उनले आफ्नी आमालाई दिन्छन। यो भिडियो सार्बजनिक भए पछि अदालत पुगेका हुन ।