काठमाडौं, १२ कात्तिक ।
राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विदेश पहलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने भनि अभिव्यक्ति दिएको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले आपत्ति जनाउँदै देउवाको अभिव्यक्ति गैरजिम्मेवार पूर्ण रहेको बताएका छन् ।
हरेक युवामा आफ्ना छोरा जयवीर देउवाको छवि देख्न नसक्नु शेरबहादुरको डरलाग्दो कमजोरी रहेको भन्दै उनले आफूहरुले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो देखिएकाले अब संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने बताएका छन् ।
‘देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहँुजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भए पनि ‘रहर पुगेपछि फर्कने’ भनि दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘ युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ। हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।’
दुबई, कतार, मलेसिया, सिंगापुरजस्ता देश बनाउन सक्ने संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने भन्दै उनले भनेका छन्, ‘दुबई, कतार, मलेसिया, सिंगापुर जस्ता देशहरु बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन्। आफ्नो देश बनाउनबाट तिनलाई कसले बञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२÷६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरुलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजुन् ।’
फेसबुकमा उनले लेखेका छन् :
देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहुँजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भए पनि “रहर पुगेपछि फर्कने” भनी दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ । सत्ता साझेदार दलको प्रमुख नेताले युवा पलायनको गम्भीर विषयमा हल्काफुल्का जवाफ दिनु अशोभनीय छ। युवा पलायन वर्तमानको मात्रै होइन, भावी नेपालका लागि समेत चिन्ताको विषय हो । अहिले नै गाउँ गाउँमा युवा रित्तिएका छन्, ५० लाखभन्दा बढी युवा विदेशीएका छन्, ति मध्ये केही युवा फर्केलान् तर अधिकांशको फर्कने टुंगो छैन ।
युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ। हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।
दुबई, कतार, मलेशिया, सिंगापुर जस्ता देशहरु बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन्। आफ्नो देश बनाउनबाट तिनलाई कसले बञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२÷६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरुलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजुन् ।
काठमाडौं, १२ कात्तिक ।
प्रतिनिधिसभा बैठक सुरू भएको छ । जारी बैठकमा शून्य र विशेष समयको कार्यक्र नराखिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन् ।
काठमाडौं, १२ कात्तिक ।
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ २ सय ८८ किलोमिटर छ ।
प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हेटौंडा–ढल्केबर खण्डतर्फ ४ किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ । तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रीत गरिएको छ ।
पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर निर्माण गर्नु पर्छ । यसमध्ये ७ सय ५७ वटा टावरको जग हालिएको छ । ७ सय ५० वटा टावर खडा गरिएको छ । स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै जारी राखेको अवरोधका कारण बाँकी ३५ वटा टावरको काम नै सुरु हुन सकेको छ ।
प्रसारण लाइनको मार्गधिकारमा पर्ने स्थानीयले ठाउँ ठाउँमा अवरोध गर्दा तार तान्ने कामसमेत प्रभावित छ । ढल्केबर–इनरुवा खण्डमा अहिले तार तान्ने काम भइरहेको छ । यसका लागि पाँच वटा टोली परिचालन गरिएको छ । उक्त काम आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यस वर्षको हिउँदका केही महिना मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वको विद्युत् माग धान्नका लागि भारतबाट थप विद्युत् आयात र वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दवावमा नेपाल विद्युत प्राधिकरण रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले बिहीबार सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा भइरहेको तार तान्ने कामको अनुगमन गरेको छ । टोलीमा अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसकिएमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा आउनसक्ने सम्भावित विद्युत् आपूर्तिको समस्या अवगत गराउन र भइरहेका कामबारे जानकारी दिन उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत सहभागी गराइएको थियो ।
कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो भने ठूलो विपत् आउनसक्ने बताए । ‘प्रसारण लाइन निर्माणमा ठाउँ ठाउँमा अवरोध छ, अहिले पाँच टोलीले तार तान्ने काम गरिरहेको छ, थप टोली थपेर कामलाई तिब्रता दिन स्थानीयको अवरोधले समस्या छ, खुलाउनका लागि भइरहेका प्रयास असफल बनिरहेका छन्’, घिसिङले भने, ‘४०० केभी लाइन अति नै जरुरी छ, ४००/२२० केभी क्षमताका तीन वटै सबस्टेसन तयार छन्, यो लाइन बनाउन सकेनौं भने पूर्व क्षेत्रको विद्युत् माग धान्न थप आपूर्ति कठिन छ भने देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गर्न सक्दैनौं जसले गर्दा विद्युत् खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था आउन सक्छ ।’ उनले यस्तो अवस्था आउन नदिन स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, स्थानीय बासिन्दासहित सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
हेटौंडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटौडा–११ स्थित थानाभर्याङमा २ वटा र जियाजोर क्षेत्रमा ८ वटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङमास सबस्टेसनमा लाइन छिराउन २ वटा टावर निर्माण गर्नु पर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुने छन् ।
स्थानीय अवरोध खुलाई निर्माणका लागि प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन । प्रसारण लाइन मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर र सुनसरी गरी १० जिल्लामा पर्दछ ।
प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत अल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले निर्माण प्रभावित भइरहेको छ । ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ को माघमा ठेक्का सम्झौता भएको थियो ।
हेटौंडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारण लाइन विद्ययमान १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ बायाँ २३/२३ मिटर हुने छ । आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रुखहरु काट्नु पर्ने र ३० हेक्टर निजी कृषि योग्य जमिम अधिग्रहण गर्नु पर्ने छ । मार्गधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचनाहरु प्रभावित हुने छन् ।
१७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार परियोजना अन्तर्गत सुरु गरिएको हो । विश्व बैंकको ऋण बन्द भएपछि बाँकी काम नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको छ ।
काठमाडौं, १२ कात्तिक ।
चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन दशैं बिदा अघिको बिहीबार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा बन्द भएको नेप्से आइतबार प्रि-ओपन सेसनमा ०.२५ अंक घटेर १९०३.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १० स्टकको २ लाख ६८ हजार ९०७ रुपैयाँबराबरको १ हजार २५५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
हेमन्त केसी,सुर्खेत, १२ कात्तिक ।
मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ। मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको जानकारी दिए।
छायाँनाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो। कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझ नै कतारबाट हिँडेका थिए। उनी काठमाडौंबाट नेपालगञ्ज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान ११ बजे घर पुगेका थिए।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र छोरा ११ वर्षीय मनोज, छोरी ८ वर्षीया अप्सरा र छोरा ८ महिनाका रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।
मृतक श्रीदेवी छोराछोरीसहित ७ गते नै दशैँको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टीका लगाएर उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्। सोही राति सामूहिक हत्या गरिएको बताइएको छ।
घटना ८ गते बुधबार साँझ नै घटे पनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो। गाउँलेले बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए। शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए। माइतीले फर्किसकेको बताएपछि उनीहरूले घरको ताला फोडेका थिए।
घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ।
काठमाडौं, १२ कात्तिक।
भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले गत ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३०सम्मका लागि नविकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत, वितरित र अन्य नविकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ ।
भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनीहरु र खरिदकर्ताहरुका लागि अनिवार्य जलविद्युत खरिद (एचपिओ)को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाई पनि नविकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था गरेको हो ।
यसअघि यस्तो एचपिओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युत्मा मात्र व्यवस्था थियो ।भारतले नविकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४–२५मा २९.९१ प्रतिशत र २०२९–३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य भेट्नु पर्ने छ ।
यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४–२५मा ०.३८ र सन् २०२९–३०सम्ममा बढाएर १.३३ प्रतिशतको लक्ष्य भेट्नु पर्ने छ । यसका लागि ३१ मार्च २०२४पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत्लाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपिओको हिस्सा पुर्याउनै पर्ने र नपुर्याउने वितरण कम्पनीहरु तथा विद्युत् खरिदकर्ताहरुलाई जरिवाना हुने व्यवस्था गरिएको छ ।
अन्य नविकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ अघि सञ्चालनमा आएका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाईसमेत गणना गर्न सकिने व्यवस्था छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत खरिदको नयाँ व्यवस्था व्यवहारिक रुपमा लागू भए नेपाल, भारत र भुटानलाई फाइदा पुग्ने बताए ।
‘आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाई पनि एचपिओमा समावेशको व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएकोमा अहिले यसलाई समेटिएको छ,यसले भारतका विद्युत् वितरण कम्पनीहरु तथा खरिदकर्ताहरुलाई जलविद्युत आयोजनाहरुको विद्युत् खरिद गर्न सजिलो हुने छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यो व्यवस्था व्यवाहारिक रुपमा कार्यान्वयन भएमा नेपालको जलविद्युत्ले भारतमा राम्रो बजार पाउनेछ ।’
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।
काठमाडौं, १२ कात्तिक ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा आयोजित रात्रीभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नजाने भएका छन् ।
गए राती काठमाडौं आएका महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेको रात्री भोजमा थाप नजाने भएका हुन ।
‘संक्रमणकालिन न्यायका लागि यो सरकार गम्भिर छैन, उसैको निम्तोमा नेपाल आएको छ, त्यसमाथी हमास–इजरायल युद्धमा लाखौं निर्दोष मारिएका छन्, राष्ट्र संघ भनेको त ग्लोबल गर्भमेन्ट पनि हो, त्यसको नेतृत्वमा रहेको प्रमुख ब्यक्ति त्यताको मुद्धा छाडेर नेपाल आउनुको कुनै औचित्य देख्दिन्,’ थापाले भने, ‘त्यसैले प्रयोजन बिहिन भ्रमणमा आएका महासचिवको सम्मानमा आयोजित रात्रीभोजमा नजाने निर्णय लिएको छु ।’ उनका अनुसार महत्वपुर्ण मुद्धा छाडेर राष्ट्र संघका प्रमुख यसरी कुनै उपलब्धी हुन नसक्ने र औचित्यहिन भ्रमणमा आउनुले उनी विश्व शान्ति प्रति संबेदनशिल नदेखिएको सन्देश गएको छ ।
महासचिव गुटेरेसको सम्मान प्रधानमन्त्री प्रचण्डले आज बेलुकी सोल्टी होटेलमा रात्रीभोजको आयोजना गरेका छन् ।
हेटौंडा, १२ कार्तिक ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ ।
बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा परी मोटरसाइकलका चालक बाग्मती गाउँपालिका–६ ठाडीखोलाका स्थायी बासिन्दा २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको छ । सो मोटरसाइकल दुर्घटनामा घाइते भएका अर्का २२ वर्षीय प्रदीप लोप्चन भने उपचारपछि घर फर्किएका छन् ।
सो दुर्घटनामा घाइते भए उपचारका लागि काठमाण्डौ लगिएको थियो । तर, उपचारको क्रममा न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
काठमाडौं, १२ कार्तिक ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण ‘प्रयोजन बिहिन’ भएको बताएका छन ।
चार दिने नेपाल भ्रमणको क्रममा गए राती १ बजे नेपाल आएका महासचिव गुटेरेसको भ्रमणलाई अध्यक्ष थापाले ‘प्रयोजन बिहिन’ भएको टिप्पणी गरेका हुन । उनले यस भ्रमण आश्चर्यजनकसमेत रहेकाे जनाएका छन् ।

‘अतिथीलाई स्वागत छ तर…’ भन्दै महासचिव गुटरेसले हमास–इजरायल युद्धमा ध्यान नदिएको उनको आरोप रहेको छ । ‘ईजरायल–गाजा युद्धमा प्रत्येक दिन सयौं व्यक्तिहरुले ज्यान गुमाईरहेका छन्, नाकाबन्दीले लाखौंको जीवन कष्टकर भैरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला संक्रमणकालीन न्यायको उपेक्षा गर्ने सरकारको निम्तोमा संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको ‘प्रयोजन विहिन’ नेपाल भ्रमण आश्चर्यजनक छ।’
महासचिव गुटेरेसले आज देखी नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटबार्ता गर्दैछन् ।
चार दिने नेपाल भ्रमणको क्रममा दुई दिन नाम्चे, पोखरा, अन्नपुर्ण बेस क्याम्प, लुम्बिनी पुग्ने महासचिव गुटेरेसले मंगलबार भने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कजाकिस्तान, १२ कार्तिक ।
कजाकिस्तानको ग्लोबल स्टिल कम्पनी आर्सेलर मित्तलको खानीमा शनिबार भएको आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
त्यसपछि सरकारले कम्पनीसँगको लगानी सहकार्य अन्त्य गर्न आदेश दिनुपरेको थियो । आपतकालीन अवस्था मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिबार अपराह्न ४ बजेसम्म कोस्टयेन्को खानीमा ३२ जनाको शव फेला परेको र १८ जना अझै बेपत्ता रहेको जानकारी दिएको छ ।
यो कम्पनी लक्जेम्बर्गमा आधारित स्टिल निर्माताको स्थानीय एकाई हो, जसको बारेमा कजाकिस्तानका अध्यक्ष कासिम जोमार्ट तोकायेभले भने कि स्टील विशाल आर्सेलर मित्तल हाम्रो इतिहासको सबैभन्दा खराब कम्पनी हो। टोकाइभले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन ।
उनले अक्टुबर २९ मा राष्ट्रिय शोक दिवस मनाउन पनि निर्देशन दिएका छन् । यति मात्र होइन, राष्ट्रपतिले आफ्नो मन्त्रिपरिषद्लाई आर्सेलर मित्तल टेमिर्ताउसँगको लगानी सहयोग रोक्न आदेशसमेत दिएका छन् ।
दुर्घटनापछि खानी सञ्चालकले मिथेन विष्फोटपछि खानीबाट २५२ जनामध्ये २०६ जनालाई बाहिर निकालेको र १८ जना गम्भीर घाइते भएकालाई उपचारका लागि भर्ना गरिएको बताए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार दिउँसो ३ बजेसम्म १८ जनाको खोजी हुन सकेको छैन ।
कजाकिस्तानको आर्सेलर मित्तल साइटमा दुई महिनामा यो दोस्रो घटना हो। यसअघि गत अगस्टमा पनि सोही क्षेत्रमा खानीमा दुर्घटना हुँदा पाँच जना कामदारको मृत्यु भएको थियो । कजाकिस्तानका राष्ट्रपतिले घटना लगत्तै एक विज्ञप्ति जारी गर्दै आर्सेलर मित्तलसँगको लगानी सहयोग अन्त्य गर्न सरकारलाई आदेश दिइएको बताए।
यो दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन । सरकारी आपतकालिन मन्त्री सिरिम शारिपखानोभले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।