२०८३ भाद्र ४
२०८३ भाद्र ४

हेमन्त केसी,जाजरकोट , २२ कात्तिक /

राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे ।

 

सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहत भन्दा अगाडी गाउँ पुगेका हुन् ।

 

अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षती प्रति दुखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्बसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले हाती आयो , हाती आयो सुस्सा भनेझैँ भएको बताएका छन् । बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्र विन्दु रहेको थियो । केही काम गरौँला भनेर आशा लिएर आएका छौँ , हाम्रो भरोसा मान्नुहोस भन्दै आसपासनको पोको सुनाएर फेरी राष्ट्रपति पौडेल काठमाडौँ हुइकिए ।

 

त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकाम स्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए । उनले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

 

जाजरकोट अस्पतालमा बिरामी भेटन गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका १ कि सीतली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन । उनले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन समेत राष्ट्रपतिसँग आग्रह गरेकी थिइन् । भूकम्पका कारण अर्का मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेको नलगाडका बीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउदै राष्ट्रपतिसँग गुनासो गरे । अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझन नसकेको उनले राष्ट्रपतिलाई सुनाए ।

राष्ट्रपति पौडेलले बीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त परे । तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म बीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन् । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्ट समेत हटाएको थियो ।

 

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हाल सम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताए । १ हजार ३०० कम्मल , ४०० थान म्याटिस  बारेकोट पठाएको उनले बताए ।

 

त्यस्तै हिजाे देखि कुशे गाउँपालिकामा पनि हवाइ मार्गबाट केही सामग्री पठाएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबार मात्र पठाउने कार्ययोजना रहेको छ । जिल्ला स्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन् ।

 

राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । यो भन्दा अगाडी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वाला , स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत , उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहेका छन् । उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन् । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेत जाजरकोटमै रहेका छन् । मन्त्री देखि राष्ट्रपति सम्म जिल्लामा आउने र जाने भीड लागेपनि भूकम्प पीडित सम्म अझैँ राहत सामग्री पुग्न नसक्दा समस्य उत्पन्न भएको छ ।

 

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले लेखेका छन् , ‘बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर । सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज । ’ उनले थप लेखेका छन् , भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो ।

 

 

 

काठमाडाैं, २२ कार्तिक ।

जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

 

राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताएका छन् । उनले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताए । उनले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयं सेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

 

यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत  सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फवाट  भूकम्प पीडित घरपरिवारहरुको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।

 

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो ।

 

यसअघि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो ।

 

राहत सामाग्री वितरणको संघका अध्यक्ष डा. केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी,  महिला उपाध्यक्ष  रोजिना प्रधान, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सीना, अभिमन्यू बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

 

राैतहट,कार्तिक २१ गते ।

रौतहटमा बिरामीकाे मृत्यु पछि हस्पिटल बन्द गरी सञ्चालक र चिकित्सक फरार भएका छन् । उक्त हस्पिटलकाे चिकित्सकको लापरवाहीका कारण जिल्लाको गरुडा नगरपालिका–८ विर्तामा सञ्चालित ईमरजेन्सी जन सेवा हस्पिटलमा पाठेघर (बच्चादानी) को अप्रेशन गराउन गएकी चन्द्रपुर नगरपालिका–७ बनबौहरिका इब्राहिम सिद्धिकीका ३० वर्षिया श्रीमति नुरजहान खातुनको अप्रेशन गर्ने क्रममै मृत्यु भएको छ । अप्रेशनमा हस्पिटलले चरम लापरवाही गरेका कारण बिरामी खातुनको मृत्यु भएको मृत्कका आफन्तहरुले आरोप लगाएका छन् ।

एक्कासी पाठेघरमा समस्या आएपछि अप्रेशन गराउन सोमवार दिउँसो महिला खातुनलाई साे हस्पिटल पुर्याइएकाे थियो । मृतक महिलाका श्रीमान इब्राहिम सिद्धिकीका अनुसार खातुनलाई सोमवार राति ८ बजेको समयमा चिकित्सकले अप्रेशन गर्न लगेका थिए । तर अप्रेशनमा चिकित्सकले चरम लापरवाही गरेका कारण आफना श्रीमति खातुनको सोमवार राति २ बजेको समयमा मृत्यु भएको उनले आरोप लगाए ।

खातुनको राति २ बजे नै मृत्यु भइसकेको भएपनि चिकित्सकले बिरामीलाई यहाँ ठिक हुँदैन आइसीयूमा राख्नुपर्छ भनी करिव ३ बजेको समयमा विरगंजको मेट्रोसिटी हस्पिटलको लागि रेफर गरेको उनले बताए । आफना श्रीमतीको जन सेवा हस्पिटलमा नै मृत्यु भइसकेको कुरा हस्पिटलका चिकित्सकलाई राम्ररी थाहा भएको बताउँदै मृतकका श्रीमान सिद्धिकीले खातुनको मृत्यु भएको कुरा लुकाउन उनिहरुले अन्यत्र रेफरको बाहाना गरेको उनले बताए ।

खातुनलाई विरगंजको मेट्रोसिटी हस्पिटल लग्ने बित्तिकै चिकित्सकले मृत घोष्णा गरेका थिए । अप्रेशन गर्न योग्य नै नरहेको चिकित्सकले बलजबरजस्ती अप्रेशन गर्न खोज्दा खातुनको मृत्यु भएको उनको आरोप छ । उपचारमा संलग्न चिकित्सकको सर्टिफिकेट, एनएमसी नम्बर इत्यादि कागजात चेकजाँच गर्नुपर्ने र अप्रेशन गर्न अनुमति प्राप्त नगरेको ठहर भए हदैसम्मको कार्यवाही गर्नुपर्ने पीडित पक्षको माग छ ।

उपचारमा चिकित्सकले सावधानी नअपनाएको र गम्भीर लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृत्कका आफन्तले मंगलवार विहान जन सेवा हस्पिटल घेराउ गरी विरोध प्रदर्शन गरेका थिए । दोषी चिकित्सक र हस्पिटल सञ्चालकलाई पक्राउ गरी उनिहरुमाथी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्नुपर्ने, उचित क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग गर्दै मृतकका आफन्तहरुले शव राखेर मंगलवार विहान हस्पिटल अगाडि प्रदर्शन गरेका थिए । प्रहरीले दोषी हस्पिटल सञ्चालक र चिकित्सकलाई कानुनी कार्यवाही गर्ने सहमति जनाएपछि पीडित परिवारले शव उठाएका थिए ।

यता बिरामी खातुनको मृत्यु भएपछि ईमरजेन्सी जन सेवा हस्पिटलका सञ्चालक जिंगडिया निवासी राजेन्द्र महतो र चिकित्सकहरुले मंगलवार विहानदेखी हस्पिटल बन्द गरेर फरार भएका छन् । फरार भएका सञ्चालक महतो र चिकित्सकको खोजीकार्य भइरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

 

काठमाडौं, २२ कार्तिक ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी  प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रामेछाप, २१ कात्तिक ।

ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको नवनिर्मित कार्यालय तथा व्यारेक भवनहरू उद्‍घाटन भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले  दुवै भवनहरूको उद्‌घाटन गरेका हुन् ।

 

बागमती प्रदेश सरकारको बजेटबाट उक्त नवनिर्मित ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको कार्यालय तथा व्यारेक भवनहरूको निर्माण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समिति रामेछापका उप-प्रमुख, खाँडादेवी र सूनापाती गाउँपालिकाका अध्यक्षहरू, बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं, २१ कात्तिक ।

बुढानिलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ (नमस्ते) रेष्टुरेन्ट एण्ड स्नोकर हाउसमा जुवातास (ओखर) खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जनालाई नगद २३ हजार ६ सय ८० रुपैयाँ र ८ दाना ओखरसहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।

प्युठान, २१ कात्तिक ।

ऐरावती गाउँपालिका-२ स्थित प्रहरी चौकी बरौला प्युठानको नाममा स्थानीय तीन जना जग्गादाताबाट नि:शुल्क प्राप्त ५ रोपनी ३ आना १ पैसा १ दाम जग्गा हस्तान्तरण गरिएको छ ।

 

ऐरावती गाउँपालिका-४ बस्ने ५४ वर्षीय रेशम बहादुर जिसीबाट २ रोपनी, ४७ वर्षीय दामोदर ज्ञवालीबाट २ रोपनी र ४६ वर्षीय दुर्गा बहादुर जिसीबाट १ रोपनी ३ आना १ पैसा १ दाम जग्गाको धनीपूर्जा जिल्ला प्रहरी कार्यालय प्युठानमा आयोजित कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

 

कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले समाजकै बिचमा प्रहरी कार्यालय रहेमा सेवा प्रवाहमा चुस्तता आउने धारणा व्यक्त गरे ।  जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्‍वर थापाले प्रहरी चौकीलाई जग्गा प्रदान गरेकोमा जग्गादाता र परिवारजनलाई धन्यवाद ब्यक्त गर्नुका साथै खादा ओढाई सम्मान गरिएकाे थियो । साथै जग्गा दाताहरुको तर्फबाट दुर्गा बहादुर जिसीले समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बनाउन जग्गा दान गर्न उत्साहित भएको र यसबाट भावि सन्ततिहरु समेत लाभान्वित हुने अपेक्षा ब्यक्त गरेका थिए ।

 

काठमाडौं, २१ कात्तिक ।

सभामुख देवराज घिमिरेसँग बेलायती राजदूत रोब फेनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनैतिक सम्बन्ध, आर्थिक तथा साँस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरे ।

सभामुखले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए ।

‘आपसी सम्बन्धहरु हरेक दिन थप प्रगाढ हुँदै गएको प्रति म खुशी व्यक्त गर्दछु,’ सभामुखले भने, ‘नेपाल र बेलायत बीच लोकतन्त्र, संसदीय व्यवस्था, कानूनी शासन, मानव अधिकार साझा मूल्य–मान्यता रहेका छन् । यी विषयमा बेलायतको लामो र समृद्ध अभ्यास र इतिहास रहेको छ । नेपालको लागि बेलायती अभ्यास एवं अनुभव अनुकरणीय रहदैं आएको छ ।’

सभामुख घिमिरेले राजनैतिक स्थायित्वसँगै नेपालले विकास, समृद्धि र सुशासनको पथमा गति लिएकोसमेत बताए ।

‘नेपाल सरकारको निकट भविष्यमा अति कम विकसित राज्यको सुचीबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य रहेको छ । नेपालको यस विकास प्रयासमा बेलायतको निरन्तर सहयोगको आवश्यकता रहेको छ,’ सभामुख घिमिरेको भनाइ थियो ।

२०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उदार भावनाका साथ नेपाललाई सामग्री र भ्याक्सिन उपलव्ध गराएकोमा सभामुखले बेलायत सरकारप्रति आभार व्यक्त गरे । उनले संसदीय मैत्री समूहमार्फत दुई देशबीच संसदीय आदान प्रदानमा जोड दिए ।

बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीब्रता दिने विश्वास व्यक्त गरे । उनले बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको जानकारी दिए ।

काठमाडौं, २१ कात्तिक ।

अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल सहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका-३ बस्ने ३८ वर्षीय गंगालाल बिक, काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-४ बस्ने ५० वर्षीय दिपक श्रेष्‍ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश डंगोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दिप ईटानी रहेका छन् ।

 

उनीहरूमध्ये सपना रायमाझी र गंगालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोईन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-६ नयाँ बस्तीबाट कात्तिक १५ गते, दिपक श्रेष्‍ठ र दिपेश डंगोल महर्जनलाई लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय मिलिग्राम, ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते तथा झरेन्द्र बहादुर ज्यु ठकुरी र सन्दिप ईटानीलाई लागूऔषध खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौं तार्केश्‍वर नगरपालिका-४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 कार्तिक २१,काठमाडौं ।

नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको हो ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए ।

यसअघि मंसिर १३ देखि १६ मा गर्ने निर्णय गरिएको थियो । पुनः मिति सार्दै मंसिर २९ देखि पुस २ सम्म गर्नेगरी तोकिएको थियो ।

जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।