२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाण्डौ मंसिर १७,/    

– नेपालमा केरामा देखा परेको पानामा रोगको नयाँ प्रजाति टीआर-फोरको सङक्रमण नियन्त्रण हुन सकेको छैन । कृषि वैज्ञानिकहरुको एक टोलीले गरेको अनुसन्धानमा गएको भदौ पहिलो हप्ता कैलालीमा पानामा रोगको टीआर-फोर नामक हानिकारक प्रजाति देखा परेको पुष्टि गरेको थियो ।

त्यसबेला कैलालीको टीकापुरमा देखिएको रोग एक महिनापछि नवलपरासीमा पनि देखिएको थियो । नवलपरासीमा कैलालीबाट रोग सरेको नभइ भारतबाट सरेको अनुमान गरिएको छ । तर अहिलेसम्म रोगको सङक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन सकेको छैन ।

नार्कको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काका अनुसार पानामा रोगलाई तत्कालै नियन्त्रण  गर्न  नसकिए पनि यसलाई फैलिनबाट जोगाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । तत्काल रोग रोकथाम तथा नियन्त्रणका प्रयास नभए केरा व्यवसाय नै जोखिममा पर्ने विज्ञले चेतावनी दिएका छन् ।

देशका अरु ठाउँमा पनि केरामा सङक्रमण देखिन थालेको र नमुना सङ्कलन गरी अनुसन्धानको काम भैरहेको नार्कका बाली रोग विज्ञ डा खड्काले बताउनुभएको छ । कैलालीमा यो रोग देखिनेवित्तिकै चनाखो बन्न विज्ञले स्थानीय सरकार र किसानलाई सुझाएका थिए ।

तर त्यसअनुसार आवश्यक काम नभएको पाइएको छ । नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । यो प्रजातिमा नयाँ रोग लागे केराको पुराना पातको फेद कुहिने र धेरै फैलिएपछि बोट ढल्ने हुन्छ । यो रोग गानो र माटो तथा संक्रमित क्षेत्रबाट अर्को ठाउँमा हुने ओसार पसारबाट फैलने विज्ञले बताएका छन् ।

सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको औजार, गाडीको चक्का, मानिसको ओहोरदोहोरबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन बाली रोग वैज्ञानिक खड्काको आग्रह छ । नार्कले अन्य संघसंस्था तथा पालिकासँग मिलेर रोग नियन्त्रणको प्रयास, बगैँचाको सरसफाइलगायतका काम गरिरहेको छ । पानामा रोगको पछिल्लो अवस्था र जाेखिमबारे छिट्टै थप जानकारी गराउने तयारी पनि भैरहेको नार्कले जनाएको छ ।

 

 

 

काठमाडौँ  मंसिर १७,/       

— रुसी सेनामा भर्ती भएका तीन नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि उनीहरूको शव स्वदेश आउने/नआउनेमा अनिश्चित देखिएको छ । यसबारेमा परराष्ट्र मन्त्रालय समेत अन्योलमा देखिन्छ । मन्त्रालयका अधिकारीले मृतकका शव ल्याउनेबारे परिवारलाई प्रस्ट बताउन सकेका छैनन् ।

मस्कोस्थित नेपाली दूतावासको गत मंसिर ८ को पत्रअनुसार यहाँको कन्सुलर सेवा विभागले स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान र मेलुङ गाउँपालिका–६, दोलखाका राजकुमार कार्कीको रुस–युक्रेन युद्धमा मृत्यु भएको भन्दै परिवारलाई जानकारी गराएको थियो । उनीहरूको गत कात्तिक २९ मा मृत्यु भएको थियो ।

झन्डै तीन साता हुन लाग्दासमेत शव नेपाल आउँछ कि आउँदैन भन्नेमा परराष्ट्र मन्त्रालयले प्रस्ट रूपमा केही बताउन सकेको छैन । तर कन्सुलर विभागले भने ‘शव ल्याउन नपाइने’ भन्दै स्याङ्जा पुतलीबजार–५ वडा कार्यालयलाई जानकारी गराएपछि परिवारजनले प्रितमको कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

अस्तु पनि डीएनए टेस्ट गरेर मात्र ल्याउनुपर्ने अवस्था रहेको खबर पाएपछि प्रितमका बुबा र १० वर्षका छोरा यतिबेला किरियामा बसेका छन् । कन्सुलर विभागले वडाध्यक्षमार्फत प्रितमको शव ल्याउन नपाइने जानकारी दिएको थियो । ‘प्रितमको शरीर क्षतविक्षत भएकाले शव ल्याउन नसकिने भन्दै विभागको फोन आयो,’ कार्यवाहक वडाध्यक्ष सन्तोष रेग्मीले भने, ‘शव ल्याउने अवस्था छैन भनियो । अस्तु पनि डीएनए टेस्ट गरेर मात्र ल्याउनुपर्ने अवस्था रहेको खबर पाएपछि मैले सोहीअनुसार परिवारलाई जानकारी दिएँ ।’

मस्कोस्थित नेपाली दूतावासले भने कन्सुलर विभागलाई पठाएको पत्रमा ‘शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न’ भनी उल्लेख गरेको छ । ‘रुसी सेनामा कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको छ,’ पत्रमा भनिएको छ, ‘शवको तत्काल व्यवस्थापनका लागि निजहरूको परिवार र दूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिनसमेत अनुरोध छ ।’

दूतावासले परिवारसँग खोजेको समन्वय शव पठाउन हो कि रुसमा नै अत्येष्टि गर्न खोजिएको भन्नेमा स्पष्ट छैन । यसअघि गत असार २९ मा रुसी सेनाबाट युद्धमा संलग्न गोरखाका सन्दीप थपलिया युक्रेनको बाखमुतमा मारिए पनि शव नेपाल भने पठाइएको थिएन । रुसले थपलियाको शव ‘नेपाल पठाउन नमिल्ने’ भन्दै रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको जानकारी परिवारलाई दिएको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारी शव ल्याउन पाउने/नपाउने भन्ने विषय द्विपक्षीय करारपत्रमा समेत निर्भर रहने बताउँछन् । ‘यो विषय निकै संवेदनशील छ । मृतकहरूको शव ल्याउन परराष्ट्र मन्त्रालयको प्रयत्न जारी छ,’ ती अधिकारीले कान्तिपुरसँग भने । रुसले युद्धमा मारिएका आफ्ना सैनिकको एकै ठाउँमा राजकीय सम्मानको साथ अत्येष्टि गर्ने व्यवस्था गरेको छ । त्यही नीतिअनुसार गोरखाका थपलियाको शव पनि परिवारलाई नपठाइएको ती अधिकारीले जनाए ।

रुस–युक्रेन युद्धमा मारिएका इलामका गंगाराज मोक्तानको परिवार भने शव आउने प्रतीक्षामा छ । सेक्युरिटी गार्डको काम गर्न २०७६ देखि दुबईमा रहेका गंगाराज असोजको दोस्रो साता रुसी सेनामा भर्ना हुन पुगेका थिए । ‘दुबईबाट साथीहरू धमाधम रुस गइरहेका छन् । माल्टा जान भनी जोगाएको ७ लाख रुपैयाँ पनि फस्यो,’ पत्नी यांकिलालाई गंगाराजले अन्तिम पटक गत कात्तिक २६ मा भनेका थिए । उक्त संवादमा गंगाराजले रुस र युक्रेनको युद्धग्रस्त क्षेत्रमा एक साता बसेर फर्किएको बताएका थिए । त्यसपछि भने उनी सम्पर्कविहीन थिए । ‘अचानक उहाँ बितेको खबर आयो’, यांकिलाले भनिन्, ‘पैसा कमाएर सुख पाउने सपना अधुरै रह्यो । हाम्रो कर्ममा यस्तै हुन लेखेको रैछ ।’ ६८ वर्षे पिता कृष्णबहादुर छोराको शव ल्याउन वडाध्यक्षमार्फत पहल गरिरहेका छन् ।

त्यस्तै ऋणले थिचिएपछि रुसी सेनामा पुगेका दोलखास्थित मेलुङ गाउँपालिका–६ सुनुवारपानीका राजकुमार रोक्काको शव कहिले आउला भनेर परिवारमा त्यत्तिकै छटपटी छ । उनी गत असोज १७ मा भिजिट भिसामा रुस पुगेका थिए । रुस पुगेका राजकुमारले दाजुबाहेक घरका कसैलाई पनि रुसी सेनामा भर्ती भएको बारेमा बताएका थिएनन् । ‘ऋणको भारीले भाइ त गुमाइसक्यौं । अब शव ल्याउन पनि निकै कठिन छ भन्छन् । घरमा १६ महिनाकी सुत्केरी बुहारी बेहोस छे,’ जेठा दाजु सुमनकुमारले दुःखेसो गरे, ‘भिजिट भिसामा गएको मान्छे कसरी सेनामा भर्ती भयो, पत्तै पाएनौं । एकाएक तालिमका क्रममा मृत्यु भयो भनेर खबर आयो ।’ शव ल्याइदिन आग्रह गरेको भन्दै सुमनकुमारले थपे, ‘भाइको शव आउँछ कि आउँदैन, केही भन्नै सकिएन ।’ वैदेशिक रोजगार बोर्डले पनि भिजिट भिसामा गएका नेपालीको मृत्यु भएमा शव ल्याउन लाग्ने खर्च बेहोर्दैन ।

राजकुमारका जेठा छोरा राजधानीकै एक विद्यालयमा पढिरहेका छन् । उनकी श्रीमती र १६ महिनाकी छोरीलाई भने हेरचाहका लागि दसैंअघि गाउँ ल्याइएको थियो । गाउँमा सहयोगी र मिलनसार राजकुमारको मृत्युको खबरले गाउँ नै स्तब्ध बनेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले बताए । रुस–युक्रेन युद्धपछि रुसी सेनामा सहजै भर्ना पाउने हल्लाले उनी त्यहाँ गएको एक आफन्तको भनाइ छ । प्रितमले पनि परिवारलाई रुसी सेनामा भर्ती भएको जानकारी दिएका थिएनन् । उनले आफू अफगानिस्तानमा रहेको बताएका थिए । नेपाली सेनाबाट अवकाश लिएका कार्की एक वर्षमा अफगानिस्तानमा सुरक्षागार्डको काम गरी बिदामा आएका बताएका थिए । ‘दुई महिना बिदामा बसेर अफगानिस्तान जान्छु भनेर घरबाट हिँडेका थिए,’ काका डोलबहादुरले भने । प्रितमका १० र ५ वर्षका दुई छोरा छन् ।

 

काठमाडाैं  मंसिर १७,/

भारत र अस्ट्रेलियाबीच जारी टी-२० सिरिजको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । दुई देशबीचको खेल बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा नेपाली समयानुसार साँझ सवा ७ बजे शुरू हुनेछ ।

यसअघि नै सिरिजमा कब्जा जमाइसकेको भारतसँग अस्ट्रेलियाविरुद्ध पहिलोपटक एकै टी-२० सिरिजमा चार जीत खेल जित्ने मौका छ । भारतले यसअघि अस्ट्रेलियाविरुद्ध एकै सिरिजमा तीनभन्दा बढी खेल जितेको छैन ।

तर, एम चिन्नास्वामी स्टेडियममा खेलिएका टी-२० खेलमध्ये अस्ट्रेलियाले एक खेल पनि हारेको छैन ।

 

काठमाडौं,मंसिर १७,/             

– सरकारले यस वर्ष किसानको धानको न्यूनतम समर्थन मूल्य समयमै तोकिदिएको छ भने किसानको धान पनि समयमै खरिद गर्न थालेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु गरिसकेको छ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यो वर्ष कम्पनीले ५० हजार २०० मेट्रिक टन धान खरिद गर्दैछ।  ‘यो वर्ष कम्पनीले ५० हजार २०० मेट्रिक टन  धान खरिद गर्ने लक्ष्य राखेको छ। जसका लागि १ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याइएको छ,’ उनले भनिन्।

गत वर्ष भने कम्पनीले ढिला मात्रै धान खरिद सुरु गरेको थियो। कम्पनीले गत वर्ष धान खरिदका लागि ९८ करोड ९१ बजेट छुट्याएको थियो। ३० हजार २०० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहे पनि गत वर्ष कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न सकेन।

कम्पनीले गत वर्षो छुट्याइएको कुल बजेटमध्ये ४१ करोड १९ लाख रुपैयाँ बराबरको १३ हजार ४ सय मेट्रिक टन धान खरिद गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन्।

‘यो वर्ष एक साता अघिदेखि धान खरिद खरिद सुरु भएको छ। पश्चिमको महेन्द्रनगर धनगढी र राजापुर गरी ४ क्षेत्रबाट खरिद सुरु भइरहेको,’ उनले भनिन्।

सो क्षेत्रमा करिब ३३ हजार क्विन्टल धान खरिद भइसकेको उनी बताउँछिन्। यी क्षेत्रमध्ये सबैभन्दा बढी धनगढीमा १ हजार २०४ टन, राजापुरमा १ हजार ४२ टन, महेन्द्रनगरमा २०९ र नेपालगन्जमा ९० टन खरिद भएको उनको भनाइ छ। यस्तै नेपालका अन्य क्षेत्रमा पनि छिट्टै खरिद गरिने उनले बताइन्।

मन्त्रालयले खरिद निर्देशन दिन ढिलाइ गर्दा धान खरिदमा समस्या
गत वर्षहरुमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले खरिद प्रक्रियाको निर्देशन दिन ढिलाइ गर्दा धान खरिदमा समस्या आएको उनी बताउँछिन्। यो वर्ष मन्त्रालयले छिट्टै निर्देशन दिनाले समयमै खरिद प्रक्रिया सुरु भएको उनको भनाइ छ।

‘हामीले खरिद प्रक्रिया सुरु गर्नु अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट निर्देशन प्राप्त गर्नुपर्ने हुन्छ। निर्देशन प्राप्त भइसकेपछि खरिद सुरु गर्ने हो। यो वर्ष समयमै खरिद गर्न निर्देशन प्राप्त भयो। यो धान खरिद गर्न जरुरी पनि छ,’ उनले भनिन्।

दुर्गम जिल्लामा खाद्यान्न आपूर्ती गर्नेदेखि लिएर स्टक राख्ने र कम्पनीको बजार व्यवस्थित गर्न चामल आवश्यकता पर्छ। ‘कम्पनीको पहिलो प्राथमिकता भनेको धान खरिद नै हो। धानले पुगेन भने मात्रै चामल खरिदमा जाने अवस्था रहन्छ,’ सूचना अधिकारी सुवेदीले भनिन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग अहिले चामलको मौज्दात कम रहेको छ। चामल किन्न २ पटक टेन्डर समेत आह्वान भएको थियो। तर मागअनुसार आपूर्तिका लागि टेन्डर परेन।

‘यो वर्ष चामल मौज्दात कम छ। त्यसैले किसानले बिक्री गर्ने सिजम धान खरिद थालेका छौँ। यो वर्ष धान किन्ने लक्ष्य र बजेट पनि बढाएका छौँ। खाद्यले जिल्लामा रहेको कार्यालयमा धान किनिरहेको छ। तर सीमित क्षेत्रमा मात्रै कार्यालय हुँदा किसानको पहुँच पुगेको छैन,’ उनले भनिन्।

कम्पनी अहिलेकै संरचनाअनुसार गाउँ–गाउँमा पुग्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै प्रवक्ता सुवेदी पालिकाहरुले सहयोग गरे भने गाउँमै गएर धान किन सकिने बताउँछिन्।

‘स्थानीय तहले गोदाम बनाएर सहजीकरण गरिदिएको भए हुन्थ्यो। खाद्य गाउँगाउँ नै पुग्न सक्दैन, यसका लागि संयन्त्र पनि छैन। पालिकाहरुले सहजीकरण गरिदिए त्यहाँसम्म गएर धान किन्न सकिन्छ,’ सुवेदी भन्छिन्।

समयमै मूल्य तोकिदिँदा खरिद गर्न सहज
अघिल्ला वर्षहरुमा धानको न्यूनतम समर्थ मूल्य तोक्न ढिलाइ हुने र किसानलाई बिक्री गर्न समस्या आउने गरेको थियो। तर यस वर्ष सरकारले धान रोपाइँको सिजनमै मूल्य तोकिदिँदा किसानलाई बिक्री गर्न र कम्पनीलाई खरिद गर्न सजिलो भएको बताउँछिन्।

चालु आर्थिक वर्ष (२०८०/०८१) का लागि सरकारले धानको मूल्य असारको अन्तिम सातातिर तोकेको थियो। जसअनुसार मोटा धान प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ। यस्तै मध्यम धान प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको छ।

मोटा धानको मूल्यमा गत वर्ष (२०७९/०८०) को भन्दा यस वर्ष प्रतिक्विन्टल २३१ रुपैयाँ बढाएको छ भने मध्यम धानमा प्रतिक्विन्टल २३४ रुपैयाँ बढाएको छ।

गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ तोकेको थियो भने मध्यम धान प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको थियो।

कहाँ कति खरिद गर्ने?
यो वर्ष ५० हजार २ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीको बिर्तामोड शाखाले ३ हजार ५ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको सुवेदीले जानकारी दिइन्। विराटनगरमा ४ हजार, लाहानमा ३ हजार ५००, जनकपुरमा ३ हजार ५००, वीरगञ्जमा ५ हजार ५००, भैरहवामा २ हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेको सुवेदीले जानकारी दिइन्।

यस्तै, कम्पनीले नेपालगञ्जमा ७ हजार, राजापुरमा ९ हजार ५००, धनगढीमा ८ हजार र महेन्द्रनगरमा १ हजार ५०० र जुम्लामा २०० मेट्रिक टन धान खरिद गर्ने कम्पनीको लक्ष्य छ।

 

 

काठमाडौँ  मंसिर १७, /  

— प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) लाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालमा परेको नकारात्मक असरबारे स्पष्ट रूपमा आवाज उठाएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा कुनै संलग्नता नरहेको मुलुक र जनतामाथि अन्याय भइरहेको प्रस्ट पारेका हुन् । जलवायु उत्सर्जनमा शून्य योगदान रहेका नेपालजस्ता मुलुकहरूले जलवायु परिवर्तनको हानिकारक प्रभाव भोग्नुपरेको दाहालको भनाइ छ । ‘जलवायु परिवर्तनको डरलाग्दो असर नेपालजस्ता मुलुकमाथि परिरहेको छ,’ दाहालले भने, ‘विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको छ ।’

दाहालले नेपालमाथि भएको डरलाग्दो अन्यायका कारण यहाँका जनता पहिरो, बाढी, जंगलको डढेलो, हिमशृंखला पग्लिने, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएको बताएका हुन् । ‘यो सरासर अन्याय हो । यो अब रोकिनुपर्छ,’ उनले भने । दाहालले विकसित मुलुकहरूको गतिविधिका कारण वातावरणमा नकारात्मक प्रभाव परिरहेको र त्यसको असर जलवायुमा देखिएको प्रस्ट पारे । संसारमा २० ठूला अर्थतन्त्र मुलुक (जी–२०) ले विश्वको कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्दै आएको छ । जसको मार नेपाल जस्ता साना मुलुकहरूलाई परिरहेको छ ।

विकसित देशहरूले जलवायु परिवर्तनका सम्बन्धमा गरेका प्रतिबद्धताअनुसार काम नगरेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘आफ्ना प्रतिबद्धता पूरा गर्नका लागि विकसित मुलुकहरू अग्रसर हुनैपर्ने हुन्छ,’ उनले भने । दाहालले जलवायु परिवर्तनले हिमाललाई यातना दिइरहेको बताए । ‘विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपाल निकै प्रभावित भइरहेको छ । म यहाँ यस प्रकोपबाट पीडित मेरा निर्दोष नागरिकहरूका लागि जलवायु न्यायका लागि उपस्थित भएको छु ।’

दाहालले सन् २०४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए । जलविद्युत् क्षमतालाई स्वच्छ ऊर्जा उत्पादन गर्न प्रयोग गर्ने र ४५ प्रतिशत जंगलले ढाकेको जमिन कायम राख्न योजनाबद्ध रूपमा अगाडि बढेको दाहालको भनाइ छ । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको सम्बोधनका क्रममा पनि दाहालले उक्त प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री दाहालले सन् २०१५ मा भएको पेरिस सम्झौताप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको जनाए । सम्झौताअनुसार यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन विश्व समुदाय सहमत भएको थियो । उक्त सम्झौता कार्यान्वयनका लागि कार्बन उत्सर्जन कम गर्नुपर्ने हुन्छ । तर ठूला मुलुकहरूले आवश्यकताअनुसार कार्बन उत्सर्जन कटौती नगरेका कारण जलवायु परिवर्तनमा नकारात्मक असर परिरहेको छ ।

पेरिस सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न ढिला गर्न नहुनेमा पनि प्रधानमन्त्री दाहालले जोड दिएका छन् । ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो,’ दाहालले भने, ‘यसले पनि हिमालमा ठूलो असर पर्ने संकेत देखिइसकेको छ ।’ दाहालले कोप–२८ का दौरान स्थापना हुन लागेको जलवायुजन्य हानि–नोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने बताए । कोषबाट क्षतिपूर्ति माग गर्ने प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा दाहालले जोड दिए । कोषको उपभोग गर्न पाउनु नेपाल र नेपालीका लागि न्याय र अधिकारको विषय भएको उनले प्रस्ट पारे ।

नेपाललाई राष्ट्रसंघीय महासचिवको साथ

विश्वव्यापी कार्बन उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको प्रधानमन्त्री दाहालको सम्बोधनप्रति राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि साथ दिएका छन् । गुटेरेसको साथ पाएका दाहालले नेपाल र नेपालीमाथि अन्याय भइरहेको पटक–पटक दोहोर्‍याए । उच्चस्तरीय सत्रदेखि नेपालकै अध्यक्षतामा भएको सत्रमा पनि दाहालले नेपाल जलवायु परिवर्तनको सिकार भइरहेको बताएका हुन् ।

नेपालले अध्यक्षता गरेको सत्रमा बोलेका महासचिव गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताए । समस्या समाधान गर्न जिम्मेवार मुलुक र निकायहरू छिटोभन्दा छिटो लाग्नुपर्ने उनको सुझाव छ । ‘मैले आफैंले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु । अब यसमा ढिला भइसक्यो,’ उनले भने, ‘समस्या सम्बोधन गर्न सबै लाग्नुपर्छ ।’ अघिल्लो महिना नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष अवलोकन गर्न अन्नपूर्ण आधार शिविर पुगेका थिए ।

 

 

काठमाण्डौ मंसिर १७,/   

– आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाईंदै छ । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गतामैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।

दिवसका अवसरमा सरकारले आज अपाङ्गता भएकाहरुलाई सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ।

उहाँले नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने उल्लेख गर्नु भएको छ ।

 

जनकपुरधाम,मंसिर १७।

नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर २ को सभापतिमा नविन गोहिवार निर्वाचित भएका छन् ।

३५१ मत ल्याएर निर्वाचित भएका गोहिवार शेखर कोइराला समूहका छन् । उनलाई पूर्व सांसद दिनेश प्रसैलाले सभापतिका लागि उम्मेदवार बनाएका थिए ।

शेखर कोइराला समूहकै दाबी गर्ने भूपनारायण यादव ३१२ र संस्थापन पक्षका साधु गोइत मात्र १०० मत ल्याएका छन् ।

भूपनारायणलाई धनुषा २ बाटै निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र गोइतलाई पूर्व सांसद मुक्ता यादवले मैदानमा उतारेका थिए ।

शनिवार तामझामका साथ बिदेह नगरपालिकाका ६ तीनकौरियास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालयमा पार्टीको क्षेत्रीय सभापतिका लागि शनिवार मतदान भएको थियो ।

 

रौतहट,आइतबार, १७।

रौतहटको कटहरिया नगरपालिकाका बैधनाथ  प्रसाद  जयसवाल  ३५ सय किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।

पछिल्लो समय गरुडा बस्दै आएका ५० वर्षीय  जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको सङ्कल्प सहित धार्मिक यात्रामा निस्किएका हुन्।

साइकल यात्री जैसवाललाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै टीका तथा फुलमाला लगाई गेरु वस्त्र सँगै नगद ११ हजार ५१ रुपैयाँ दिएर बिदा गरेकी थिइन्।
त्यस्तै साइकल यात्री जैसवाललाई गरुडा स्थित सुन चाँदी व्यवसायी सङ्घका प्रदेश अध्यक्ष रामजी साह, कांग्रेस नेता रामाभरोसी यादव, समाजबादी नेता ब्रिजकिशोर यादव लगायतकाले सम्मान सहित बिदाइ गरेका थिए। साइकल बाट हुने धार्मिक यात्राले मानव मानवबिच सद्भाव बढेर साम्प्रदायिक विभेद अन्त्य गर्न सहयोग पुग्ने यात्री जैसवालले विश्वास लिएका छन्।

 

काठमाडौँ मंसिर १४,

     

 : सरकारले आमनागरिकलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न  ९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएको छैन।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले निःशुल्क गरेका सबै औषधि उपलब्ध हुन् नसकेका कारण लक्ष्यअनुसारको सेवा प्रदान गर्न नसकिएको उल्लेख छ।

जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०२२ ले पनि यो कार्यक्रम १.३ प्रतिशत मात्रै प्रगति भएको देखाएको थियो। सरकारले दुर्गम जिल्लाका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ घोषणा गरेको थियो।

उक्त कार्यक्रम गोरखा अस्पताल र डडेलधुरा अस्पतालमा मात्रै लागू भएको छ। यसैले उक्त कार्यक्रम पनि त्यति सफल भएको देखिदैन।

यस्तै सिकलसेल एनिमियाको निःशुल्क उपचार गर्ने घोषणा गरिएको कार्यक्रम १० वटा अस्पतालमा सेवा विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

आव २०७९।०८० को बजेटमा रूपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुलीमा, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेलुखुम ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरिएको थियो।

सैनामैना र राकमका लागि शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ। देवचुलीमा जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ भने बेलुखुम र लम्कीमा जग्गा व्यवस्थापन हुन सकेको छैन।

चालीस वर्ष माथिका नागरिकका लागि स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा शैक्षिक सत्र सुरु हुनुअघि सार्वजनिक विद्यालयका सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच कार्यक्रमअन्तर्गत २३४ विद्यालयका ४० हजार विद्यार्थीले यो सेवा लिएको उल्लेख छ।

त्यसैगरी सबै प्रदेशका संघीय अस्पतालमा क्याथ ल्याबसहितको आकस्मिक मुटुरोग सेवा सुरु गर्ने भनेर घोषणा गरिएको कार्यक्रममा भने लक्ष्यअनुसार हाल सुर्खेत, नारायणी र सेती अस्पतालमा रकम हस्तान्तरण मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।​

सुरक्षित मातृत्व कार्यक्रम सफल

नेपालमा सुरक्षित मातृत्वअन्तर्गत आव २०७९।०८० मा ३ लाख ८० हजार १३ जना आमाले प्रोत्साहन भत्ता पाएका छन्। अघिल्लो वर्ष ३७ हजार ९६ जना महिलाले प्रोत्साहन भत्ता पाएका थिए। यसरी आमाहरूले प्रोत्साहन भत्ता कार्यक्रम मन्त्रालयको कार्यक्रम सफल देखिएको छ।

यस्तै  आव २०७९।०८० को बजेटमा देशभर सुपर स्पेसियालिटी सेवा सहितको अस्पताल गराउने घोषणा गरिएको थियो। यो कार्यक्रम हाल लुम्बिनी प्रदेशको राजापुर र मधेशको सप्तरीमा शुरु गरिएको छ। राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सप्तरीमा चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मार्फत काम हुँदै आएको स्वास्थ्य मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।

यस्तै पाठेघरको मुखको क्यान्सर निःशुल्क स्क्रिनिङ पनि सफल हुँदै गएको उल्लेख छ। आव २०७९।०८० मा देशभर २ लाख ५ हजार २९१ महिलाको पाठेघरको मुखको निःशुल्क स्क्रिनिङ गरिएको जनाइएको छ।

यसका लागि जिल्ला र नगरपालिकाका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई लागि स्क्रिनिङका लागि प्रोटोकल र दिशानिर्देश गरिएको छ। साथै प्रत्येक प्रदेशका सात अस्पतालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सञ्चालन गरिएको छ।

आव २०७९।०८० को बजेटमा केन्द्रीय र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गर्ने घोषणा गरिएको थियो। यो कार्यक्रमअन्तर्गत हाल देशभरका ९४ सरकारी अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गरिएको छ।

 

काठमाडौं मंसिर १६,।

बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीकै पाटन नगरपालिका–३, गुजौडका २१ वर्षीय राजेश लुहार छन् ।

लुहारलाई शुक्रबार (हिजो) दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही मंसिर १० गते राति लुहारले ती किशोरीको बलात्कार गरेको आरोप छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।