महोत्तरी मंसिर १७,/
: मटिहानी नगरपालिकाले आइतबार ४० जना अपांगलाई कम्बल वितरण गरेको छ।
नगरपालिकाले अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा नगरका ४० जना अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको हो।
अपांगता भएका व्यक्तिलाई सहयोग गर्नका लागि नगरपालिका हरपल तयार रहेको मेयर हरिप्रसाद मण्डलले बताए।
काठमाडौँ १७ मंसिर।
प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ ।
निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
असअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ ।
काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु¥याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।
दैलेख,मंसिर १७,
— प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताएका छन् ।
एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को चौथो दिन कर्णाली प्रदेशको राकम कर्णालीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने तत्त्व, जनताको हित नचाहने देशद्रोही भएको बताए ।
देशलाई दुनियाँको आकर्षक गन्तव्य बनाउन सकिन्छ भन्ने पनि केपी शर्मा ओलीको भनाइ छ । एमालेले दुर्गम ठाउँहरूको विकास, हिमाल, पहाड, तराई र मधेशका सबै पेसा व्यवसायहरूको समृद्धि गर्ने, कृषिको आधुनिककीकरण गर्ने, देशलाई औधोगिकीकरणतर्फ लग्ने, व्यापार सन्तुलन गर्ने नीति लिएको बताउँदै नेपालका सारा जनतालाई शिक्षित बनाउने, निरोगी नेपालको परिकल्पना एमाले र यसको नेतृत्वले लिएको उनको भनाइ थियो ।
दुनियाँका मानिसलाई एक पटक प्राकृतिक सुन्दरता, विकासको मोडेल, समृद्धिको नमुना हेर्न नेपाल आउने अवस्था बनाउन एमाले सक्षम रहेको ओलीको भनाइ थियो । अध्यक्ष ओलीले दैलेखको राकम कर्णालीमा एक सय सैयाको अस्पताल खोल्ने आफ्नो सपना पूरा भएको बताए ।
ओलीले स्मार्ट सिटीको योजना अगाडि सार्ने क्रममा सरकारबाट हट्नुपरेको बताए । एमालेको सरकारले स्मार्ट सिटी बनाउने घोषणा गरेपछि यसको महत्त्व थप बढेको उनको भनाइ थियो । पछिल्लो समय राजनीतिक रुपमा अस्थिरता निम्तिएको उनले बताए। आफूले सरकारको नेतृत्व लिएको बेला बेरोजगार, विभेदको अन्त्य भएको उनको दाबी थियो ।
अहिले एमालेले सरकारको व्यवहार जाँच्न पदयात्रा सुरु गरेको ओलीको भनाइ थियो । एमालेले सत्ताको तर्फबाट जनतालाई लोकतान्त्रिक व्यवहार भएको छ कि छैन भन्ने कुरा हेर्न गाउँ-गाउँमा कार्यक्रम गरिरहेको उनले बताए । जनता, शिक्षक, विद्यार्थी, सेना, प्रहरी, सशस्त्र प्रहरीका समस्या, विद्यालयका शिक्षक, कृषकका समस्या बुझेर आगामी दिनमा तीनै तहका सरकारमा नीति निर्माण गर्ने रणनीति महत्त्वका हिसाबले पनि आफू यो अभियानमा आएका उनले बताए ।
२०८४ मा एमाले नेतृत्वमा एकल सरकार बन्ने पनि ओलीले बताए । एमालेको नेतृत्व नहुँदा नेपालको भूमि चुँडिन बेर नलाग्ने, भूमि मिचिने डर रहेको, कुशासन बढेर जाने उनले दाबी गरे ।
बाँके,मंसिर १७,/
– बाँकेको कोहलपुरबाट साढे १२ किलोभन्दा धेरै चरेस र २ किलोभन्दा धेरै अफिमसहित दम्पती पक्राउ परेका छन् ।
लागुऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर–८ पिपिरीबाट ४० वर्षका रेवन्त राना र उनकी श्रीमती ३३ वर्षकी कविता थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । उनीहरूको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस र दुई किलो एक सय १६ ग्राम अफिम बरामद भएको डीएसपी डाँगीले बताउनुभयाे ।
रेवन्त यसअघि पनि २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर गरेको थियो । साथै इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ साल असार ३ गते लागुऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुबई मंसिर १७,
जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८) सम्मेलनमा झन्डै १०० राष्ट्रले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाको उपयोगलाई तेब्बर पार्ने प्रतिज्ञा गर्नुका साथै जीवाश्म इन्धनको उपयोगलाई नियन्त्रण गर्ने वाचा गरेका छन्। सम्मेलनमा साउदी तेल उत्पादक कम्पनी अरामको सहित विश्वका ५० तेल कम्पनीले यस ग्रहलाई तताउने जीवाश्म इन्धनको उपयोगलाई सन् २०५० सम्ममा रोक्ने प्रतिज्ञा गरेका हुन्।
यस प्रतिज्ञाले खनिज इन्धनको उत्पादन गर्दा हुने उत्सर्जनलाई मात्र समेटेको तर खनिज इन्धनको उपयोग नियन्त्रणलाई नसमेटेको हुँदा जलवायु परिवर्तनको समस्या समाधानमा यस कदमले कुनै अर्थ नराख्ने जलवायु अभियन्ताको तर्क छ। तर कोप-२८ मा नवीकरणीय ऊर्जालाई तेब्बर बनाउने वाचा गरेका मुलुकले ढिलोमा सन् २०५० सम्म विश्व ऊर्जा प्रणालीबाट जीवाश्म इन्धनलाई पूर्णत: हटाउने प्रतिज्ञा पनि गरेका छन्।
यूरोपेली संघ र कोप-२८ को आयोजक यूएईले यस प्रतिज्ञालाई कोपको अन्तिम सम्झौतामा समावेश गर्नुपर्ने आवाज पनि उठाएका छन्। जसले गर्दा यो सहमतिमा सम्मेलनमा सहभागी झन्डै २०० मुलुकले हस्ताक्षर गर्नुपर्ने हुन्छ।
जलवायु अभियन्ताले सम्मेलनमा भएको यस प्रतिज्ञाको समर्थन गरेका छन्। साथै, उनीहरूले तेल कम्पनीहरूको यो प्रतिबद्धता ‘देखावटी’ कदम भएको टिप्पणी पनि गरेका छन्।
क्लाइमेट एनालिटिक्सका प्रमुख कार्यकारीका रूपमा कार्यरत प्राध्यापक हेरले सम्मेलनमा भएको यो प्रतिबद्धताप्रति संशय व्यक्त गरेका छन्। “मलाई त यसमा शंकै छ,” लामो समयदेखि जलवायु परिवर्तनको मुद्दामा सक्रिय प्राध्यापक हेर भन्छन्।
उनी तेल र ग्यासको उत्पादन नै रोक्नुपर्ने तर्क गर्छन्। “तेल र ग्यासको मुख्य चुनौती भनेको यसको उत्पादन नै छोड्नु हो। गाँठी कुरा नै यही हो, अरू त सबै तपसिलका कुरा हुन्,” संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदनहरूमा सहलेखकको भूमिका निर्वाह गरेका प्राध्यापक हेर भन्छन्।
जीवाश्म इन्धन उद्योगले वाचा गरेको सन् २०५० को समयसीमाभन्दा २० वर्षअघि अर्थात् सन् २०३० सम्ममा नै उत्सर्जनलाई घटाउनुपर्ने तर्क इन्टरन्याशनल इनर्जी एजेन्सीका प्रतिनिधि फेथ विरोलको छ। “यो त दुबईमा आफ्नो अनुहार लुकाउन गरिएको फुस्रो प्रयास मात्र हो,” विरोल प्रश्न गर्छन्, “के उनीहरू यो मार्गचित्रमा विश्व समुदायसँग सहकार्य गरेर जान्छन् त? कि आफ्नै व्यापारिक योजना नै अघि बढाइरहन्छन्?”
कोप-२८ को सम्मेलनमा आयोजकको हैसियतले बोल्दै सुल्तान अल जाबरले सम्मेलनमा गरिएको प्रतिबद्धताले ‘धेरै क्षेत्रका धेरै राष्ट्रले हालसम्मकै अधिक प्रतिबद्धता जनाएका’ र ती सबै तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने अभियानमा आबद्ध भएको बताएका छन्। विश्वका सबै राष्ट्रले पृथ्वीको तापमानलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता सन् २०१५ को पेरिसमा आयोजित सम्मेलनमा नै गरेका थिए।
पृथ्वीको तापक्रम बढाउने काम कोइला, पेट्रोल, डिजेल जस्ता खनिज इन्धनको उपयोगको कारण भइरहेको ज्ञात हुँदाहुँदै पनि शक्तिशाली मुलुकका नेताहरू अझै पनि खनिज इन्धनको उपयोग रोक्ने विषयमा एकमत छैनन्। यद्यपि जाबेरले दुबईमा भएको प्रतिबद्धता त्यसतर्फको ‘पहिलो महान् कदम’ भएको टिप्पणी गरेका छन्।
“धेरै तेल कम्पनीले ‘नेट जिरो- २०५०’ को लक्ष्य राखेका छन्। तर उनीहरूले त्योभन्दा धेरै गर्न सक्छन् र उनीहरूले त्यसो गर्नु पनि पर्नेछ,” उनी भन्छन्, “हामीले सबै उद्योगलाई १.५ सेन्टिग्रेडको लक्ष्य हासिल गर्न र अरू सशक्त लक्ष्य प्राप्त गर्न महत्त्वाकांक्षी योजना तय गर्नुपरेको छ।”
नेट जिरोको लक्ष्य हासिल गर्नु वायुमण्डलमा हरितगृह ग्यासहरूको वृद्धिलाई रोक्नु हो। विश्वमा हुने कुल उत्सर्जनको ४० प्रतिशत अंश तेल कम्पनीबाट हुने भएकाले उनीहरूले सन् २०५० मा नेट जिरोमा जाने वाचा गरेका कारण कार्बन घटाउने घोषणाले जलवायु अनुकूलनका कार्य गतिशील हुने तर्क यूएईको छ।
यस सन्दर्भमा अन्तर्राष्ट्रिय पर्यावरण कानून केन्द्रका अध्यक्ष क्यारोल मफेटको भनाइ घतलाग्दो छ। “कार्बनमा आधारित तेल र ग्यासलाई डि-कार्बोनाइज गर्ने एक मात्र तरीका यसलाई छिटो, पूर्ण र सधैंका लागि उत्पादन बन्द गर्नु हो। यस बाहेक अरू सबै कुरा झुक्याउने र छक्याउने बहाना मात्र हुन्,” उनी भन्छन्।
सम्मेलनमा विश्वको एक ठूलो तेल उत्पादकका रूपमा रहेको यूएईको राज्यनियन्त्रित तेल उद्योग सहित ५० वटा तेल उत्पादक कम्पनीले सन् २०३० सम्म तेल र ग्यास उत्पादन गर्ने क्रममा सिर्जना हुने ग्रह तताउने मिथेन ग्यासलाई पूर्ण रूपमा बन्द गर्ने प्रतिज्ञा पनि गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वले जीवाश्म इन्धनलाई पूर्णत बन्द गर्दै तापक्रमलाई औद्योगिक युगभन्दा अघिको अवस्थामा पुर्याउन कटिबद्ध हुनुपर्ने बताएका छन्।
जलवायु परिवर्तनको असरले जोखिममा परेको मार्शल टापुका जलवायुदूत टिना स्टिगे स्वच्छ ऊर्जामा ध्यान दिनुपर्ने बताउँछिन्। उनी भन्छिन्, “हामीले स्वच्छ ऊर्जालाई द्रुत गतिमा अघि बढाउनुपर्छ। त्यसैले पनि हामीले नवीकरणीय ऊर्जालाई तेब्बर पार्ने आह्वान गर्नुपरेको हो। तर यी सबै समाधानका आधा अंश मात्र हुन्।” ती मुलुक जसले जीवाश्म इन्धनलाई विस्तार गरिरहेका छन्, उनीहरूबाट यस्तो खालको वाचा पूरा हुने आशा गर्न नसकिने उनको तर्क छ।
कोप-२८ को आयोजक यूएई पनि विश्वको प्रमुख तेल उत्पादक हो। दुबई सम्मेलनको अध्यक्षता गरिरहेका सुल्तान अहमद अल जाबेर यूएईका उद्योग तथा प्रविधिमन्त्री मात्रै नभई अबुधावी राष्ट्रिय तेल कम्पनीका प्रमुख कार्यकारी पनि हुन्।
यद्यपि सम्मेलनमा हालसम्म जेजति प्रतिबद्धता जनाइएका छन्, ती आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्। अबको प्रतीक्षा अन्तिम निर्णय गर्दा कुन कुन विषयलाई समावेश गरिनेछ र त्यसलाई हासिल गर्न कस्तो रणनीति तय गरिनेछ भन्ने हो।
(बीबीसीमा प्रकाशित रिपोर्टको महेश्वर आचार्यले भावानुवाद गरेका हुन्।)
https://www.himalkhabar.com/news/139123
इस्लामावाद, १७ मङ्सिर ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा प्रहरीले गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा उच्च प्रोफाइलसहित १४ आतङ्ककारीलाई पक्राउ गरेको प्रहरीको आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले जनाएको छ ।
आतङ्ककारीहरू उपस्थित रहेको जासुसी सूचनाका आधारमा प्रान्तका आठ सहरमा गरिएको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरिएको सिटिडीले शनिबार एक विज्ञप्तिमा जनाएको छ ।
विभागले मुलुकभमा पाँच सय ८८ कारबाही सुरु गरेको र यस क्रममा २५ हजार मानिससँग सोधपुछ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका आतङ्ककारीमा प्रतिबन्धित सङ्गठन तहरिक–ए–तालिबान पाकिस्तान ९टिटिपी० का कमान्डर पनि रहेका छन् । उनलाई अनुसन्धानका लागि अज्ञात स्थानमा लगिएको छ ।
प्रहरीले पक्राउ परेका आतङ्ककारीबाट विस्फोटक सामग्री, हतियार, गोलाबारुद र हाते ग्रिनेड बरामद गरेको छ । सिटिडीका अनुसार टिटिपीका उच्च प्रोफाइल लक्ष्यहरूले प्रान्तीय राजधानी लाहोरमा संवेदनशील प्रतिष्ठानहरूमा आक्रमण गर्ने योजना बनाइरहेका थिए । रासस
काठमाडौं
गत आर्थिक वर्ष ०७९/८० मा देशभरिका विपन्न परिवारका ४० हजार बिरामीले सरकारबाट स्वास्थ्य उपचार कोष सेवा लिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचारमा सहुलियत दिँदै आएको छ।
आव ०७९/८० मा विभिन्न किसिमका गम्भीर रोग लागेका विपन्न परिवारका बिरामीले उक्त सरकारबाट उपचार सहयोग पाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको (एचएमआईएस)को रिपोर्टअनुसार आव ०७९/८० देशभरका ४० हजार ४७ जना गम्भीर रोगका बिरामीले सरकारबाट उपचार सहयोग लिएका हुन्।
‘विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५’ अनुसार आर्थिक रूपले विपन्न नागरिकले दफा २ को खण्ड (ख) मा उल्लेख भए बमोजिमका रोगको उपचार नेपालभित्र गराउँदा उपदफा (४) बमोजिमको समितिको सिफारिसमा वा नेपाल सरकारले जारी गरेको गरिब परिवार परिचय पत्र बिरामीले अनुसूची–४ बमोजिमको उपचार सहुलियत रकम अस्पतालबाट प्राप्त गर्ने व्यवस्था रहेको छ।
स्वास्थ्य विभागका अनुसार आव ०७९/८० मा सबैभन्दा बढी २१ हजार ५५५ जना क्यान्सरका रोगीले यो सेवा लिएका छन्। मिर्गौला हेमोडायलासिससम्बन्धी ७ हजार ४४९ जना, मिर्गौला प्रत्यारोपणसम्बन्धी ४३२, मुटुरोगी ६ हजार ९३६ जना, हेड इन्जुरी भएका ७६१ जना, स्पाइनल इन्जुरी भएका १ हजार २३९ जना, पार्किन्सनका ७९ जना, अल्जाइमर्सका ३५ जना र सिकलसेलका १ हजार ५६१ जना बिरामीले सरकारबाट उपचार सहयोग लिएका छन्।
सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार आर्थिक रूपले विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गराउँदा मिर्गौला प्रत्यारोपणका लागि बढीमा ४ लाख रुपैयाँसम्म र अन्य रोगका लागि १ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग दिने व्यवस्था छ।
मिर्गौलाका बिरामीहरुले हप्ताको २ सेसन र त्योभन्दा बढी हेमोडाइलासिस गर्नुपर्ने बिरामीले प्रतिसेसन २५ हजार रुपैयाँ, अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रतिसेसन हेमोडाइलासिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलासिस प्रति प्याकेज ५०१ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिकामा छ।
विभिन्न प्रकारका मुटु रोगमा, विभिन्न प्रकारका क्यान्सर रोग, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले १ लाख रुपैयाँसम्म सहुलियत पाउँदै आएका छन्।
रुकुम,१७ मंसिर
– भूकम्पप्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम पुगेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष सो क्षेत्रका पत्रकारले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन् । नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाले यहाँका पत्रकारका लागि आवश्यक सहयोग माग गरी सो ज्ञापानपत्र बुझाएको हो ।
कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप विपदमा परेकाले यसको सामना गर्नका लागि सरकारका तर्फबाट सहयोग आवश्यक रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । शाखाका लक्ष्मण अध्यक्ष केसीका अनुसार मन्त्री शर्मासँग भूकम्पबाट क्षति पुगेका सञ्चारमाध्यमको भवन निर्माण र उपकरण खरिदमा सहयोग गर्न र भूकम्पप्रभावित पत्रकारहरुलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ ।
त्यसैगरी, भूकम्पप्रभावित क्षेत्रका सञ्चारमाध्यामहरुको नवीकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासङ्घले माग गरेको छ । महासङ्घ रुकुम पश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तथा सञ्चारमाध्यमको सबलीकरणका लागि विशेष प्याकेजको माग गरेको छभने प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई इन्टरनेट र विद्युत् सेवा निःशुल्क गरिदिने व्यवस्थाका लागि पनि माग गरेको छ ।
प्रभावित पत्रकारहरुका लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमाको निरन्तरता, जिल्लाका विज्ञापनहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि सो ज्ञापनपत्रमार्फत गरिएको छ ।
जिल्ला शाखा अध्यक्ष केसीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक राज्यले कडाइका साथ लागू गर्नुपर्ने र अनलाइन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनका लागि पहल गरिदिन माग गरेको जानकारी दिए ।
यस जिल्लामा आठवटा रेडियो, दुईवटा साप्ताहिक र एक मासिक पत्रिका तथा चारवटा अनलाइन मिडिया सञ्चालनमा रहेका छन् । यहाँ भूकम्पका कारण ३० जना पत्रकार प्रभावित भएका र एक रेडियो पूर्ण रुपमा क्षति भएको अध्यक्ष केसीले जानकारी गराएका छन् । मन्त्री शर्माले ज्ञापनपत्र बुझ्दै सबै माग सकारात्मक रहेकाले यी माग पूरा गर्न आफूले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सिमकोट,मंसिर १७,/
– हुम्लाका विद्यार्थीहरूले मोबाइलको लाइट बालेर अध्ययन गर्नुपर्ने बाध्यता भएको पाइएको छ।
जिल्लाको सिमकोट गाउँपालिका- ५ को बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयले सञ्चालन गरेको कोचिङ कक्षामा मोबाइलको लाइट बालेर अध्ययन गरिरहेका छन्।
हिल्दुम विद्युत वितरण केन्द्रले बेलुकाको समयमा लोडसेडिङ गर्ने गरेको कारण बेलुकाका कक्षाहरू यसरी पढ्नु परेको सोही विद्यालयमा अध्ययनरत कक्षा दशकी छात्रा प्रकृति भण्डारीले बताइन्।
विद्यालयले विद्यार्थीहरूका लागि अनिवार्य गणित र विज्ञान विषयको कोचिङ कक्षा सञ्चालन गरिरहेको छ। उज्यालोको अन्य विकल्प नभएपछि विद्यार्थीहरूले बोकेर ल्याएको मोबाइलको टर्च बालेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
उक्त कक्षामा पढाउने गणित विषयका शिक्षक धिरज रोकायाले आफूले पनि मोबाइलको टर्च बालेर ह्वाइट बाेर्डमा लेखिरहेकाे बताए।
परीक्षा आउनै लागेको कारण उक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोले उज्यालोको यसरी व्यवस्था गर्नु परिरहेको शिक्षकले बताए।
साँझ सात बजेसम्म विद्यार्थीहरूले माेबाइलकाे टर्च बाली अध्ययन गर्दै आएका छन्।
विद्यालयमा लोडसेडिङको समयमा अन्य विकल्प समेत नभएको कारण सबै विद्यार्थीहरूलाई मोवाइल बोकेर ल्याउन निर्देशन दिने गरिएको छ। यो समस्या बेलुका मात्र होइन, बिहानका कक्षामा पनि यस्तै हुने गरेको छ।
कोकिला भण्डारी ,धनकुटा, मङ्सिर १७ गते ।
प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।
सङ्खुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरी गढी गाउँपालिकाको कोल बोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख कृष्ण कोइरालाले बताउनुभयो ।
सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भई रहेको जनाएको छ । शनिवार साँझ खड्का सवार गाडी दुर्घटना भएको थियो । दुर्घटनामा उहाँ सहित दीपक लिम्बु, लभ कुमार श्रेष्ठ र चालक सहित पाँच जना सवार गाडी थिए । घाइते हुनेमा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देवेन्द्र कुसवहाको उपचार भई रहेको छ भने बाँकी सामान्य नै रहेका छन् ।