काठमाण्डाै,मंसिर १८,/
– रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि भएकाे छ । परराष्ट्र मन्त्रालयले आज साेमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि गरेकाे हाे ।
ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाकाे पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।
नेपाल सरकारले ज्यान गुमाएकाहरूकाे शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेकाे छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।
रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेकाे पनि मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।
काठमाण्डाै मङ्सिर १८/
हत्यामा संलग्न रहेका चारजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फरक–फरक दुई घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सार्वजनिक गरेको हो।
त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन्।
त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको अभियोगमा मंसिर १५ गते ४० वर्षीय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
‘मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरू छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राति आफ्नै घरमा उनको शव भेटिएको थियो,’ एसपी मिश्रले भने ‘सूक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिची हत्या गरिएको खुलेको हो। हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनील नेपाली पनि पक्राउ परेका छन्। आर्थिक प्रलोभन देखाई बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुईजनालाई पक्राउ गरिएको हो।’
धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या
धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीबेँसी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ। धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते उनले हत्या गरेका थिए। हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राति नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताए।
‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक र रग्ताम्मे अवस्थामा भेटिएको थियो। शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिन्छ,’ एसपी मिश्रले भने। प्रतिवादी रामचन्द्र बयलकोटी र मृतक पवित्राबीच करिब ६ वर्षअघि विवाह भएको थियो।
विवाहपश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका बयलकोटी दम्पतीबीच त्यति वेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ। त्यही कारण हुन सक्ने एसपी मिश्रले बताए।
वीरगञ्ज मंसिर १८,/
– पर्साको पोखरिया नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गर्न लागेपछि त्यसको विरोध भएको छ। नगरपालिकाले छोटो अवधिको सूचना निकालेर गैरकानुनी तरिकाले कर्मचारी नियुक्ति गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन्।

नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरूले नै विरोध गरेका छन्। नगरपालिकाले कम्प्युटर अपरेटर, सुपरभाइजर, अनमी, अहेब, हेल्थ असिसटेन्ट, कविराज, स्टाफ नर्स, स्वयं शिक्षक/शिक्षिकालगायत पदमा ४२ जना कर्मचारी भर्ना गर्ने जनाएको छ।
नगरपालिकाले प्रकाशन गरेको सूचनामा परीक्षाका लागि मौखिक र अन्तर्वार्ता मात्रै दिनुपर्ने उल्लेख गरेको छ। यसरी बिना मापदण्डका आधारमा नगरपालिकाले एक हप्ताको समय दिनु तथा भएका कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था रहेका बेला आफ्ना आसेपासेलाई कर्मचारीको रुपमा भर्ना गर्न विज्ञापन गरिएको कांग्रेसका क्षेत्रीय सचिव सुरेन्दप्रसाद सिंहले बताए।

यसैगरी, नगरपालिकाको कर्मचारी भर्ना गर्ने मापदण्डसमेत नपुगेको तथा आफ्नो कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्न नगरपालिकाले मौखिक र अन्तर्वार्ता मात्रै लिएर भर्ना गर्न लागेकाले त्यसलाई रोक्नुपर्ने नेकपा माओवादी केन्द्र पोखरिया नगर कमिटीका अध्यक्ष पन्नलाल कुर्मीको भनाइ छ।
पोखरिया नगरपालिकामा कर्मचारी चाहिने भए नियमअनुसार भर्ना प्रक्रियामा जानुपर्ने रास्वपाका पर्सा जिल्ला संयोजक दिलीप कुर्मीले बताए।
पोखरिया नगरपालिकाले बितेको ७ र १० गते दुई वटा बिज्ञापन गरेर करारमा कर्मचारी भर्ना गर्न लागेको छ। यता नगरपालिकाले कर्मचारी भर्ना प्रक्रिया नरोकेपछि उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता भएकोमा अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितलाई बिपक्षी बनाएर दर्ता भएको रिटको सुनुवाइ गर्दै न्यायाधीश राजेशकुमार काफलेको इजलासले सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
यसैबीच, अदालतको डण्डा चलेपछि नगरपालिकाको निम्ति प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले कर्मचारी भर्ना प्रक्रिया हालका लागि स्थगन गरेका छन्।
श्रविास्तवले सोमबार सूचना निकालेर करार सेवा तत्कालका लागि अर्को निर्णय वा सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराएका छन्।

काठमाडौं मंसिर १८,/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हल्ला र बढी राजनीतिककरण गरेर सीमानाको समस्या समाधान नहुने बताएका छन् । सोमवार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले हल्ला र अति राजनीतिककरणभन्दा आपसी वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको उल्लेख गरे ।
‘सीमामा देखिएका समस्याका बारेमा मैले भारत भ्रमणमा पनि कुरा उठाएको थिए । भारतीय प्रधानमन्त्री मोदीसँग यस विषयमा कुराकानी भएको छ । उहाँले पनि हल्ला गरेर सीमाको समस्या समाधान हुने विषय होइन भन्नुभएको छ,’ उनले भने, ‘बढी राजनीतिकरण गरेर सीमानाको विषय समाधान हुँदैन ।’
बंगलादेशसँगको सीमाको विवादलाई भारतले हल गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालले पनि आपसी वार्ताको माध्यमबाट सीमा विवाद मिलाउनुपर्ने बताएका हुन् ।
बागलुङ मंसिर १७, /
: बागलुङमा आफैं श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले बताए।
उनले शाहीको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको अवस्थामा श्रीमान् र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको ल्याएको बताए। ‘वडाअध्यक्ष नारायणप्रसाद पौडेलले इलाका प्रहरी कार्यालय बलेवामा खबर गरेपछि प्रहरी सँगै गम्भीर घाइते शाहीलाई अस्पताल ल्याइपुर्याएको थियो,’ डीएसपी केसीले भने,‘शाहीलाई धौलागिरि अस्पताल बागलुङले मृत घोषणा गरेको छ। प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छौं।’
श्रीमान् नेपालीले लडेर घाइते भएको बयान दिए पनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डीएसपी केसीले बताए। घटनाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ। सिंहलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डीएसपी केसीले जानकारी दिए।
धनुषा मंसिर १७/
धनुषामा एक महिलाको शव फेला परेको छ।
मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
उनका अनुसार आइतबार बेलुकी घाँस काट्न गएकी महिलाले शव देखेपछि गाउँमा आएर जानकारी गराएकी थिइन्।
‘उनले रातो साडी र हातमा रातो पहेँलो रंगको लहठी लगाएकी छन्। अनुहार सुन्निएर कालो देखिएको छ। यस क्षेत्रमा अहिलेसम्म कुनै महिला हराएको हामी कहाँ जानकारी आएको छैन,’ प्रहरी निरीक्षक साहले भने।
शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो। धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन।
काठमाडौं मंसिर १७,।
इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ‘७०० जनाले ज्यान गुमाएका’ छन् । अस्थायी युद्धविराम सकिएसँगै इजरायलले आक्रमणलाई थप सशक्त बनाएको छ ।
गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकले २४ घण्टामा इजरायली आक्रमणबाट ७०० भन्दा धेरै मारिएको बताएको अल्जजिराले जनाएको छ ।
यता इजरायली सेनाले दक्षिणी गाजातर्फको खान युनिसका बासिन्दालाई ठाउँ खाली गर्न भनेको छ ।
आज बिहान मात्र इजरायली सेनाको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।
काठमाडौं,मंसिर १७,/ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आइतबार पनि छुटेका छैनन्।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीहरूलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो। उक्त आदेश जारी भएपनि उनीहरू छुटेका छैनन्।
केन्द्रीय कारागार जगन्नाथदेवलका जेलर ललित बस्नेतका अनुसार धरौटी बुझाएर तीन जना र साधारण तारेखमा एक जना प्रतिवादी छुट्ने प्रक्रियामा छन्।
प्रतिवादीहरू हरिभक्त महर्जन, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी र आशिष बुढाथोकीलाई छाड्न उच्चले आदेश दिएको थियो।
उच्चले हरिभक्तसँग १५ लाख, शमशेर र नरेन्द्रसँग १०-१० लाख रुपैयाँ धरौटी मागेको थियो। पुर्पक्षको लागि थुनामा रहेका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा राख्न उच्चले आदेश दिएको थियो।
उनीहरूले उक्त धरौटी बुझाएर कारागारमा आउँदा ढिला भएकाले प्रक्रिया पुर्याउने काम नसकिएको जेलर बस्नेतले बताए।
‘जिल्ला अदालतबाट ४ बजेतिर मात्रै फाइल आयो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागमा पठाउँदा ढिला भयो,’ उनले भने, ‘आज ढिला भयो। भोलि उहाँहरू छुट्ने सम्भावना हुन्छ। विभागले के भन्छ त्यसअनुसार हुन्छ।’
उच्च अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
राधा लुइटेलफिदिम, मङ्सिर १७ गते ।
रेडहर्स क्लब इलामलाई हराँउदै झापाको युनाइटेड फुटबल क्लब पाँचथरको फिदिममा जारी प्रथम वाइवाई किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
शनिबारदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको छ । मङ्सिर २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दूई हजार दूई सय २२ रुपियाँ पुरस्कार पाउनेछन् ।
यसैबीच मितेरी फुटबल क्लवबाट शनिवार आयोजक पाँचथर फुटबल क्लवसँग प्रतिश्पर्धा गरेका विदेशी खेलाडी पेपेलाई पाँचथर जिल्लामा आयोजना हुने कुनैपनि फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने गरी कारवाही गर्न सिफारिस गरिएको छ । खेलमा पराजित भएपछि आयोजक र रेफ्रलाई गाली गलौज गरेको भन्दै उहाँलाई प्रतिवन्ध गर्न सिफारिस गरेको हो ।
बारा,मंसिर १७/
बारा जिल्लाको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरिएको छ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्टेसनको उद्घाटन गरेका हुन्।
अब विमानस्थलमा ११ किलोलिटर (केएल) र १६ केएल गरी २७ केएलका दुइटा रिफ्युलर रहनेछन्।
रिफ्युलिङका लागि जनकपुरबाट सिमरा विमानस्थलसम्म हवाइ इन्धन बोक्ने ९ केएलको डिस्पेन्सर राखिएको छ। भण्डारण ट्यांक नहुन्जेल जनकपुरमा रहेको डिपोबाट इन्धन ल्याइनेछ।
चालु अर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार रिफ्युलिङ स्टेसन उद्घाटन गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। छिट्टै भरतपुर र जुम्लाको विमानस्थलमा रिफ्युलिङ स्टेसन राखिने उनको भनाइ छ।
यो विमानस्थलमा बुद्ध एयरलाइन्सका सात र यतिको दुई जहाजले दैनिक उडान तथा अवतरण गर्दै आएका छन्।
काठमाडौंबाट छोटो दूरीमा रहेको यो विमानस्थलमा रिफ्युलिङ सुरू भएसँगै आपतकालीन उडान तथा अवतरणमा सहज हुने उल्लेख गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंबाट नजिकको विमानस्थलमा रिफ्युलिङ सेवाले निकै फाइदा पुग्ने बताए। ‘यहाँ पहिल्यैदेखि रिफ्युलिङ स्टेसन खाँचो थियो। यसबाट राज्यको ठूलो रकम बचत हुनेछ,’ उनले भने।
अब काटमाडौंको तुलनामा सिमरामा ढुवानी खर्च समेत कम लाग्ने उल्लेख गरिएको छ। त्यस्तै जहाजहरू रिफ्युलिङका लागि काठमाडौं पुगिरहनु पर्ने अवस्था पनि नरहने हुँदा इन्धन बचत हुने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेम ठाकुरले बताए।
रिफ्युलिङ स्टेसनका कारण वायुसेवा कम्पनीहरू उत्साहित भएको उनको भनाइ छ। यसले राज्यलाई पनि करोडौं बचत हुने उनले उल्लेख गरे।