२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौं २० मंसिर।

नवलपरासी पश्चिम,रामग्राम नगरपालिका-४ केरवानीबाट नियन्त्रित लागूऔषध बुप्रोनोर्फिन १ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९८ एम्पुल, फालङगर १ सय ९८ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्रामसहित पाल्हिनन्दन गाउँपालिका-४ लोहरौली बस्ने २१ वर्षीय सागर गुप्तालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु ६४ प ३७८७ नम्बरको मोटरसाइकलमा सवार सागरलाई पक्राउ गरेको हो । मोटरसाइकल रोक्न खोज्दा फरार भएका चालकसहित २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

अर्घाखाँची,शितगंगा नगरपालिका–४ भेडामारेबाट अबैध लागूऔषध गाँजा १ किलो ५  सय ग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु वुद्धभूमी नगरपालिका-१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन विक र कपिलवस्तु नगरपालिका–९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनलाई ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक धर्व समेतलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

काभ्रे मंसिर २०,     

— अवैध रुपमा ल्याइएको ३३ बोरा (आन्दाजी १६५० किलो) चिनी प्रहरीले बरामद गरेको छ । बुधबार बिहान ८:३० बजेतिर जिल्लाको रोशी गाउँपालिका-९ मंगलटारमा प्रहरीले सवारी जाँच गर्ने क्रममा संखुवासभाको खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा–प्र–०३–००१ख१९६६ नम्बरको बसको हुट र डिकीमा उक्त परिमाणको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी चौकी मंगलटारका इन्जार्च प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमान्डमा खटिएको टोलीले सवारी चेक गर्ने क्रममा उक्त परिमाणमा चिनी बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बस र चालकलाई नियन्त्रण लिइएको छ । बरामद भएको चिनी थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ ।

 

काठमाडौं मंसिर २०।

प्रहरीले तस्करीको आशंकामा न्युरोडको २ वटा सुन पसलबाट करिब ७ केजी सुन बरामद गरेको छ । ओम पर्ल गोल्ड प्राली र कैलाश ज्वेलर्सबाट ७ केजी १८५ दशमलब ३३५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पसलमा रहेको सुनको बिल बिजक देखाउन नसकेपछि प्रहरीले सञ्चालक ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले पसलबाट ३९ लाख ५० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ । उनी हुन्डी कारोबारी पनि भएको प्रहरीको दाबी छ ।

 

इस्लामाबाद मंसिर २०,  

– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि आफ्नी श्रीमती बुशरा बीबीसंग अवैध सम्बन्ध राखेको आरोप लागेको छ ।

इमरानले बुशरा बीबीसंग त्यो बेला सम्बन्ध बनाएका थिए, जब दुबैको विवाह भएको थिएन अर्थात दुबैबीच अवैध सम्बन्ध थियो ।

बुशरा बीबीका पूर्व श्रीमान् खावर फरीद मनेकाको घरको सुरक्षा गार्डले अदालतमा दर्ता गराएको वयानमा यो कुराको दावी गरेका हुन् ।

ती गार्डले आफू इमरान खान र बुशरा बीबीको अवैध सम्बन्धको प्रत्यक्षदर्शी भएकोसमेत बताएका छन् । इमरान विवाह अगाडि बुशराको घरमा आउँथे र दुबै जना लामो समय कोठामा बिताउँथे, जसको ती सुरक्षा गार्ड एक मात्र प्रत्यक्षदर्शी थिए ।

खावर फरीद मानेकाको घरका सुरक्षा गार्ड मुहम्मद लतीफले इस्लामाबादका सिभिल जज कुदर तुल्लाहको अदालतमा उक्त वयान दिएका हुन् ।

लतीफले आफ्नो वयानमा भनेका छन् – ‘इमरान खान घर आउँथे र दुबै एक साथ कोठामा जान्थे । खावर फरीदको निर्देशन अनुसार म यदि उनीहरुको कोठामा पस्न खोजे भने दुबैले मलाई गाली गरेर त्यहाँबाट भगाउँथे । जसरी दुबैले कोठामा जुन प्रकारले समय बिताउँथे, त्यसबाट आफूलाई दुबैबीच अवैध सम्बन्ध छ भन्ने विश्वास भएको थियो ।’

इमरान खानको बुशरासंगको विवाहविरुद्ध खावर फरीद मानेकाले अदालतमा निवेदन दिएका हुन् । खावरले आफ्नो निवेदनमा पाकिस्तान तहरीके इन्साफ पार्टीका अध्यक्ष इमरान खान र उनकी श्रीमती बुशराविरुद्ध गैर इस्लामिक विवाह गरेकोमा सजाय माग गरेका छन् ।

खावर भन्छन् – ‘दुबैले विवाह अगाडि नै एक–अर्कासंग अवैध सम्बन्ध राखेका थिए ।’

खावरले बुशरासंग २०१७ काृे नोभेम्बर महिनामा सम्बन्ध विच्छेद गरे भने त्यसको डेढ महिनापछि बुशराले इमरानसंग विवाह गरिन् । अर्थात बुशराले दोस्रो विवाहका लागि इस्लामिक रीतिरिवाज अनुसार एक सम्बन्ध विच्छेद गरेकी महिलाका लागि आवश्यक हुने समय पनि पुरा गरिनन् । इमरानले आफ्नी श्रीमतीसंग झुठो तरिकाले विवाह गरेर आफ्नो वैवाहिक जीवन बर्बाद गरेको खावरले बताएका छन् ।

 

 

मोरङ,मंसिर १८,

मोरङको विराटनगरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।

विराटनगरस्थित सातघुम्तीमा रहेको एउटा कवाडी गोदाममा आज (बुधवार) दिउँसो आगलागी हुँदा विराटनगर-७ का ३० वर्षीय दिपक मण्डलको घटनास्थलमै र अर्का एकजनाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

शरीरको पूरै भाग जलेकाले मृतकको पहिचान हुन नसकेको उनले बताए। आगलागीमा परेका अन्य ४ जना सिकिस्त छन्।

 

 

२० मंसिर, काठमाडौं ।

नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाभित्र क्यासिनो प्रवेश गराउन विभिन्न व्यक्तिलाई आधार कार्ड बनाइदिएको आरोपमा गोव्न्दि खड्का, नविन राई र विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, उपत्यकाभित्र भएका क्यासिनोहरुमा हुने विभिन्न अपराधिक क्रियाकलापमाथि सुक्ष्म निगरानी गर्दा नेपाली नागरिक पनि प्रवेश गरेको पाइएपछि अनुसन्धान थालिएको थियो ।

त्यसक्रममा खड्काले आधार कार्ड बनाइदिने गरेको खुलेपछि उनीसहित थप दुई सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले बनाएको छ ।

 

नेपाल र चीनको युवा खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रस्ताव राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिमण्डलसमक्ष राखेका छन् । सदस्यसचिव घिसिङ र राजदूतावासका काउन्सिल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलबीच मंगलबार भेटवार्ता भएको थियो । यसै भेटवार्ताकै क्रममा घिसिङले मैत्रीपूर्ण फुटबल आयोजनाको प्रस्ताव राखेको राखेपले जनाएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा हुने महोत्सवमा दुई देशबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा छलफल भएको छ । नेपालको यू– २१ पुरुष फुटबल टोली तथा चीनको चोङ चीन प्रान्तको व्यावसायिक फुटबल क्लबसँगै फुटबल टिमको यू– २१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ ।

चिनियाँ पक्षले फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । साथै, टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ । सदस्यसचिवले टोलीको प्रस्तावमा आफू सकारात्मक रहेको बताउँदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम चिनियाँ राजदूतावासको आयोजनामा हुन लागेको हो ।

 

 

काठमाडौं मंसिर २०,/    

– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरु ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गरिने बताएका छन्।

महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरुमा अनधिकृत व्यक्तिहरुबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको गुनासो आइरहेको बालेनले उल्लेख गरेका छन्।

यस्तै, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख राख्ने नगरिएको, गुड फार्मेसी प्राक्टिस (जीपीपी)अनुसार औषधि पसल व्यवस्थापन नगरिएको भन्ने गुनासो आएको पनि बालेनको भनाइ छ।

नागरिकको गुनासोपछि अनुगमन गर्दा औषधि बिक्री वितरणमा धेरै कमजोरीहरु देखिएको बालेनले उल्लेख गरेका छन्। कमजोरीहरु सुधार गरी, प्रचलित कानुन तथा नियमहरुको पालना गरी औषधि बिक्री वितरण गर्न मंसिर २९ गतेसम्मको अल्टिमेटमा दिइएको पनि बालेनले जनाएका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा त्यस्ता औषधि पसलहरु बन्द गर्ने सम्मको कारबाही गरिने चेतावनी दिएका छन्।

बालेनले सामाजिक सञ्जालमा लेखेको सन्देश: 
हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौँ। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ। तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ। 

काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ। 

यसका साथै नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुनअनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिइ सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ। काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ, यसमा हामी गम्भीर छौँ। त्यसैले हामीले यही महिना (मंसिर)को २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौँ।

अतः माथि उल्लेख भए अनुसारको समयभित्र काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भइ काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्ने सम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौँ। 

यदि यस्तो भए गरेको पाइएमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को  निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्कमार्फत् महानगरपालिकालाई जानकारी दिन समेत अनुरोध गर्न चाहन्छौँ।

 

 

 

 

म्याड्रिड मंसिर २०,          

मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक जानकारी जान्न हामी मानिसहरूको इच्छा हुन्छ । तर, यसका पछाडि धेरै रोचक जानकारीहरू बाहिर आएका छन् कि मानिस पहिले बाँदरको रुपमा थिए, त्यसपछि क्रमशः परिवर्तन हुँदै गयो र अन्ततः आजको मानिसको रूप धारण गर्‍यौं ।

त्यसैगरी, पहिलो पटक मानिसको दाहसंस्कार कहाँ भयो र पहिलो पटक हत्या कहिले भयो भन्ने जान्नको चाहना पनि छ । आज हामी तपाईलाई यी रोचक कुराहरूबारे जानकारी दिनेछौं।

स्पेनमा पहिलो पटक मानिसको हत्या भएको प्रमाण भेटिएको छ । अन्वेषकहरूका अनुसार ४.३ लाख वर्ष पहिले स्पेनमा पहिलो मानव हत्याको प्रमाण भेटिएको थियो । यति मात्र होइन, यो समयमा पहिलो पटक मानिसको अन्तिम संस्कार गरिएको पनि जनविश्वास छ ।

यो अनुसन्धान अमेरिकाको बिङह्यामटन विश्वविद्यालयका मानवशास्त्री रोल्फ क्वामले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूसँग मिलेर गरेका हुन् । यो अनुसन्धान उत्तरी स्पेनको सिमा डे लस ह्युसोसको पुरातात्विक स्थलमा गरिएको थियो।

‘खोपडीमा भेटिएका घातक घाउहरूको अध्ययनले पुरातात्विक रेकर्डमा दाहसंस्कारको प्रारम्भिक प्रमाण प्रदान गर्दछ,’ अनुसन्धानकर्ताहरूले भने।

बिङह्यामटन विश्वविद्यालयका मानवशास्त्री रोल्फ क्वामले उत्तरी स्पेनको सिमा डे लोस ह्युसोसको पुरातात्विक स्थलमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूको टोलीसँग यो अनुसन्धान गरेका थिए। जहाँ शोषण भएको थियो, यो साइट भूमिगत गुफामा फेला परेको थियो र लगभग चार लाख घण हजार वर्ष पुरानो कम्तिमा २८ व्यक्तिहरूको कंकाल अवशेषहरू समावेश गरि अध्ययन गरिएको थियो।

 

धुलिखेल मंसिर २०,।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एकजनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका  ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन २३५ दशमलव नौ ग्राम, एक हजार ९०१ दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको छ। रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।