रुपन्देही पुष ११।
नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल सेवाग्राहीसँग रकम लिएपछि पक्राउ परेका छन् ।
उनले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुसत्ररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
टोलीले ढकाललाई सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट आज नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
काठमाडौं पुस ११/
– इजरायलको आक्रमणबाट गाजा क्षेत्रमा पछिल्लो २४ घण्टामा मात्रै २४१ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ सर्वसाधारण मारिएका बताएको हो।
गाजामा अहिले पनि इजरायली सेनाको कारबाही जारी छ। प्यालिस्टिनी राष्ट्रपति महमूद अब्बासले जारी युद्धलाई आफ्ना नागरिकविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्।
इसराइली सेना के प्रमुख हर्जी हलेवीले हमासविरुद्धको कारबाही अझै केही मेहिनासम्म जारी रहने बताएका छन्। मध्य गाजामा स्थल अभियानको चर्चाका बीच इजरायले मंगलबार १०० भन्दा बढी केन्द्रहरुमा कारबाही गरिएको बताएका छन्।
इजरायलसँग सीमा जोडिएका गाजाका केही क्षेत्रमा बुधबार बिहान पनि ठूलो धमाकाको आवाज सुनिएको थियो।
प्यालिस्टिनी स्रोतहरुले बीबीसीलाई बताएअनुसार वेस्ट बैंकको नूर शम्स शरणार्थी शिविरमा इजरायलले रातभर ड्रोन हमला गरेको छ। उक्त हमलामा कम्तीमा ६ जना प्यालिस्टिनी मारिएका बताइएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ३८२ जना घाइते भएका बताएको छ। मन्त्रालयका अनुसार पछिल्लो ११ हप्तादेखि चलिरहेको यो युद्धमा मारिने प्यालिस्टिनीको संख्या २० हजार ९१५ पुगेको छ। मारिनेमा धेरैजसो महिला तथा बालबालिका छन्।
काठमाडौँ पुष ११ ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ तीव्र गतिमा फैलिइरहेको छ । अहिलेसम्म यो भेरियन्टबाट १०९ जना संक्रमित भइसकेका छन् ।
११ पुस, काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले अस्पतालमा अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क तिर्नुपर्ने गरी बोर्डले कार्यविधि बनाएको छ ।
बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ (१) र दफा ४१ दिएको अधिकार प्रयोग गरी सहभुक्तानी (को–पेमेन्ट) कार्यविधि जारी गरेको जनाएको छ । उक्त कार्यवधि बोर्डबाट पारित भएको तीन महिनाभित्र लागू हुने बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए ।
कार्यविधि लागू भएपछि स्वास्थ्य बीमा गरेको व्यक्ति उपचार गर्न अस्पताल जाँदा लागेको खर्चको १० प्रतिशत आफ्नै खल्तीबाट व्यहोर्नुपर्छ ।
अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा दश प्रतिशत सह–भुक्तानीको व्यवस्था लागू हुनेछ ।
तर आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले तथा सरकारले निःशुल्क निदान तथा उपचार गर्ने भनी तोकेका सरुवा रोगहरुमा सह–भुक्तानीको व्यवस्था लागू हुँदैन ।
‘बीमितमा जसरी पनि एक लाख रुपैयाँ सक्नुपर्छ भन्ने मानसिकता छ । ६ महिनामा गर्नुपर्ने परीक्षण एक–दुई महिनामै गर्ने गरेको पाइयो’, डा. लोहनीले अनलाइनखबरसँग भने, ‘आफू बिरामी नभई बीमा रकम बचेमा त्यो प्रिमियम अरूलाई सहयोग हुन्छ भन्ने बुझाइ पनि भएन ।’
बीमितहरुले आफ्नो सुविधा बराबरको रकम सक्न अनावश्यक परीक्षण गराउन चिकित्सकलाई दबाब दिने प्रचलन बढ्न थालेपछि १० प्रतिशत बीमितले नै व्यहोर्ने व्यवस्था लागू गर्न लागिएको डा. लोहनीको भनाइ छ ।
खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व लगायत जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रम, महामारी, सामूहिक भवितव्य, दुर्घटना, सर्पदंश, कुकुरको टोकाई, योग, पोषण शिक्षा, मनोसामाजिक परामर्श जस्ता सेवामा पनि सह–भुक्तानीको व्यवस्था लागू हुने छैन ।
प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्या सम्मका सरकारी अस्पतालमा पनि सहभुक्तानीको व्यवस्था लागु हुने छैन । संघीय अस्पताल, २५ शय्या माथिका प्रादेशिक अस्पताल, निजी वा सामुदायिक अस्पतालमा भने सहभुक्तानीको व्यवस्था लागु हुनेछ ।
अति गरिब, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपांगताको रातो कार्ड पाएको व्यक्ति एचआइभी एड्स संक्रमित जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि पनि को–पेमेन्ट लागू हुने छैन ।
अध्यक्ष डा. लोहनीका अनुसार बीमितले बिरामी नभए पनि बीमा मार्फत पाइने एक लाख रुपैयाँको सुविधा थैली उपयोग गर्न होलबडी परीक्षण, सिटीस्क्यान, भिडियो एक्सरे लगायतका परीक्षण गर्ने प्रचलन बढ्दै गएको छ । त्यस्ता अनावश्यक परीक्षणलाई रोक्न बीमितले पनि तिर्ने नियम बनाइएको हो ।
अब बीमितले ५ हजार रुपैयाँ तिरेर सिटीस्क्यान गराउन चाहे बीमा थैलीबाट ४५ सय काटिन्छ भने ५ सय रुपैयाँ बीमितले तिर्नुपर्छ । ‘यो व्यवस्था लागू गर्दा अनावश्यक परीक्षण रोकिनुका साथै राज्यको स्रोतमा हुने हानीलाई रोक्न सकिन्छ’, डा. लोहनीले भने ।
स्वास्थ्य संस्थाहरुले सुविधा थैलीमा भएको व्यवस्था अनुसार सेवाग्राहीलाई खर्च र सुविधाको थैली बारेमा स्पष्ट बुझाइ कुल खर्चको दश प्रतिशतले हुन आउने रकम सेवाग्राहीसंग लिनुपर्नेछ ।
सेवा प्रदायक स्वास्थ्य संस्थाले रकम भुक्तानी लिएपछि बाँकी ९० प्रतिशत सोधभर्ना लिनुपर्ने विवरण स्पष्ट रुपमा समावेश गरी बीमा बोर्डसँग नियमानुसार दाबी गर्नु पर्नेछ ।
रौतहट पुष ११ /
चितवनका दुई जना अपहरणमुक्त भएका छन्। गत पुस ७ गते रौतहटको चन्द्रपुरका लागि हिँडेका चितवनका कृष्ण थापा र दीपेन्द्र महत अपहरणमा परेका थिए। थापाले अपहरणमा परेपछि श्रीमतीलाई फेसबुक मेसेन्जरमा फोन गरेर आफूहरू जानकारी गराएका थिए। अपहरणकारीले ६ लाख फिरौती मागेको समेत उनले श्रीमतीलाई बताएका थिए।
सूचना पाएपछि भारतको सीमावर्ती इलाकामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले सीमा क्षेत्रमा खटिएका भारतीय प्रहरीसँग समन्वयसमेत गरेको थियो। भारतीय प्रहरीले नै उनीहरूलाई अपहरणमुक्त गरेको थियो।
भारतको सितामढी डुमरा थानाबाट खटिएको टोलीले थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। दुवै जनाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको उनले बताए।
अपहरणमा संलग्न ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मो. अकबर, मो. नइम, कौसर अली, मो. सदाव, मो. इरसाद र राम नरेश कुमार छन्। भारतको सितामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ।
बर्दिया पुस ११ /
पाँच दिनदेखि बेपत्ता रहेकी बर्दियाको बारबर्दिया नगरपालिका–१० की ५५ वर्षीय लक्ष्मी थारु मृत अवस्थामा भेटिएकी छिन् । प्रहरीका अनुसार मंगलबार स्थानीय तुलानाथ सामुदायिक वनमा उनको शव फेला परेको थियो । बुधबार उनका आफन्तले शव पहिचान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तिलकराम अर्यालले पुस ५ गते घरबाट हिडेकी उनको शव मंगलबार बनमा फेला परेको बताए ।
बुधबार आफन्तले शव पहिचान गरेपछि पोस्टमार्टम गरी प्रहरीले उनको शव परिवारको जिम्मा लगाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
विराटनगर पुस ११ /
: विराटनगर महानगरपालिका वडा नम्बर ६ केशलिया मार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।
मोरङ प्रहरीले बुधवार दिउँसो विराटनगरको केशलियाबाट सुनसरी देवानगंज-५ साहेबगंजका ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो।
प्रहरीले शंका लागेर सोधपुछ गर्ने क्रममा साहले रकमको कुनै पनि स्रोत भन्न नसकेपछि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।
पक्राउ परेका साहको साथबाट नगदसहित को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोबाइल नियन्त्रणमा लिइ थप अनुसन्धान गरी राजस्व कार्यालय इटहरी पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
मन्थली ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-७ हल्देमा बा.प्र ०२-०४३ प ४१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
११ पुस, धनगढी ।
सर्वोच्च अदालतले धनगढी उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
८ पुसमा कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपमहानगरपालिकासँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ ।
अवस्थीले उक्त कार्यविधि रोक्न अन्तरिम आदेश माग गरे पनि कारण देखाउ आदेशमात्र जारी भएको उपमहानगरपालिकाका कानुनी सल्लाहकार वीरबहादुर जेठाराले बताए ।
उनका अनुसार बाटोको म्याद बाहेक १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङ गर्दा १० मिटरको सडक अनिवार्य बनाउनुपर्ने लगायतका प्रावधान राखेर जग्गा प्लटिङसम्बन्धी कार्यविधि २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको थियो ।
उक्त कार्यविधिप्रति असहमति जनाउँदै बहुमत कार्यपालिका सदस्यले छुट्टै बैठक बसेर नगर प्रमुख गोपाल हमालले एकलौटी गरेको भन्दै अस्वीकार गर्ने निर्णय गरेका थिए ।
विवादकैबीच यो मुद्दा सर्वोच्च अदालतमा पुगेको हो । तर मेयर हमालले भने सबै कार्यपालिकाका सदस्यको सहमतिकै आधारमा कार्यविधि पारित गरिएको र नोट अफ डिसेन्ट कसैले पनि नलेखेको बताएका छन् ।
पुस, ११ गते
सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिब १२ बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।
पुरुष अचेत भएपछि महिलाले आत्तिँदै तल झरेर खबर गरेको होटलका सञ्चालक विजय यादवले बताए। उनले भने, ‘महिला आए लगत्तै हामी सवै जना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौँ, त्यहाँ पुगे लगत्तै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’
घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन ।
प्रहरीले मृतकको पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने बताउँदै अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको जनाएको छ ।