ढाका, १२ पुस, –
बङ्गलादेशमा सन् २०२३ मा एचआईभी/एड्स सङ्क्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो सङ्ख्या बङ्गलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो। यसैबीच, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ । यस वर्ष संक्रमितमध्ये १ हजार ११८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको बताएको बताइएको छ । तथ्याङ्क प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ बिरामी पहिचान भएको बताउनु भएको छ । बङ्गलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । त्यस बेलादेखि हालसम्म १० हजार ९८४ सङ्क्रमितहरूको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।(रासस-सिन्ह्वा)
जलेश्वर(महोत्तरी), १२ पुस :
महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित पाटुमा मधेस प्रदेशकै सबैभन्दा ठूलो ताल निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा वर्षेनि हुने पानीको समस्यालाई मध्यनजर गर्दै मधेस प्रदेशको चुरे फेदमा पानी पुनर्भरण गर्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको बर्दिवासका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । बर्दिवास–३ स्थित पुछर पाटुमा रहेको रातो नदीको नदी उकास जग्गा दिनप्रतिदिन अतिक्रमण भइइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानीय सरकारले पर्यटकीय तालको गुरुयोजना अगाडि बढाएको नगर प्रमुख क्षेत्रीले बताउनुभयो । चुरे अतिक्रमणका कारण दिनदिनै पानीका मुहान सुकिरहेको जनगुनासो बढिरहेका बेला स्थानीय सरकारले ‘रिचार्ज’ पोखरी र ताल निर्माणमा ध्यान दिन थालेको स्थानीय रमेश खत्रीले बताउनुभयो । महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासमा बनाउन लागिएको मधेस प्रदेशकै सबैभन्दा ठूलो तालले स्थानीय सरकार चुरे संरक्षणमा संवेदनशील बन्दै गएको उहाँको बुझाइ छ । रातो नदीको नदी उकास जग्गालाई उपयोग गर्दै मधेसकै सबैभन्दा ठूलो ताल निर्माण भएपछि यस क्षेत्रमा पानीको समस्या समाधान हुने स्थानीय उमेश पोखरेलले बताउनुभयो । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानीयको आयआर्जनमा मात्र नभइ नगरको मुख्य आयस्रोत बन्न सक्ने बर्दिवास–३ का वडाध्यक्ष विराट विष्टले बताउनुभयो । ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्ने गरी ताल बनाउने योजना नगरपालिकाको छ । साथै बर्र्दिवास क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्घिसँग जोड्ने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बर्दिबासको उत्तर शिरैमा पर्ने पाटुमा रहेको रातो नदीको नदी उकास जग्गामध्य करिब ४० बिघा क्षेत्रफलमा ताल निर्माण गर्न लागेको हो । त्यो क्षेत्रफलका हिसाबले मधेस प्रदेशकै ठूलो ताल हुने जनाइएको छ । नगरपालिकाले आवश्यक कागजात र प्राविधिक कुरा मिलाइ सकेको तथा चाँडै ताल निर्माणको प्रक्रिया थालनी गरिने नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।(रासस)
काठमाडौँ, १२ पुस :
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीका नाममा गत मङ्गलबार गर्नुभएको सम्बोधनबमोजिम प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिएको छ, ६८ वटा दरबन्दी कटौती भएका छन्”, मन्त्री शर्माले भन्नुभयो । प्रधानमन्त्री कार्यालयअन्तर्गतका ती दरबन्दीमा रहेका कर्मचारी अब अन्यन्त्र पदस्थापना हुने उहाँले बताउनुभयो । “प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन सुरु भएको छ, अब हामी सबै निकायमा त्यो लागू गर्छौँ”, उहाँले भन्नुभयो । बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार छ सय ५० कायम गरेको छ । मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेकोे मन्त्री शर्माले जानकारी दिनुभयो । (रासस)
काठमाडौँ, १२ पुस :
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिनुभयो । “अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ”, उहाँले भन्नुभयो, “प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।” गत मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको शेयर खरिद बिक्रीका विषयमा अध्ययनका लागि पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले एनसेलको हालै भएको भनिएको शेयर खरिद बिक्री र हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारबाहीको विस्तृत अध्ययन गरी त्यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्चार नियमन र सञ्चालन सम्बन्धमा सुझावसहितको अध्ययन प्रतिवेदन बुझाउने छ । समितिले तत्काल चाल्नुपर्ने कदम तथा दूरसञ्चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका लागि पनि राय सुझावसहित ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले निर्देशन दिएको थियो । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार ऐन, २०५३ र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बीच एकरुपता नहुँदा अस्पष्टता देखिएको बताउनुभयो । उहाँले एनसेलले शेयर खरिद बिक्रीका लागि प्राधिकरणसँग स्वीकृति नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल बाहिर नै कारोबार भए पनि प्राधिकरणसँग स्वीकृति लिनुपर्छ । प्राधिकरणको विनियमावली, २०७६ को व्यवस्थाबमोजिम शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिइ प्राधिकरणको स्वीकृतिपश्चात् मात्र कारोबार गर्नुपर्ने देखिन्छ, जुन ऐनसेलको हकमा भएको देखिँदैन ।” कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार टोकबहादुर विष्टले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो । समितिको बैठकमा समिति सदस्य सुमना श्रेष्ठ, छविलाल विश्वकर्मा, दीपा शर्मा, तोसिमा कार्की र बद्री पाण्डेलगायतले अन्तरसमिति समन्वय विना एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छुट्टाछुट्टै बैठक एवं निर्देशन जारी गरेकोप्रति असहमति जनाउनुभयो । उहाँहरुले नियमनकारी निकाय हुँदाहँुदै छुट्टै समितिको गठन गरी छानबिन गर्नाले दोहोरोपनको समस्या सिर्जना हुनसक्ने भन्दै मन्त्रीसमक्ष जिज्ञासा राख्नुभयो । एनसेलको ८० प्रतिशत स्वामित्व(शेयर) हस्तान्तरण सम्बन्धमा यसअघि नै सार्वजनिक लेखासमिति, अर्थसमिति र राज्यव्यवस्था तथा सुशासन समितिले छलफल गरेको थियो । मलेसियन टेलिकम कम्पनी एक्जियटा गु्रपले आफ्नो स्वामित्वको ८० प्रतिशत बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीसँगको शेयर बिक्रीका विषयमा नियमनकारी निकायले समयमा नै जानकार नभएकोप्रति समितिका सदस्यले आशङ्का व्यक्त गरेका थिए । (रासस)
काठमाडौँ, १२ पुस : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गर्नुभयो । साथै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्याइआएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैगरी आजै राष्ट्रपति पौडेलसमक्ष थाइल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय नवनियुक्त राजदूत धनबहादुर वलीले पद तथा गोपनीयताको शपथ लिनुुभयो । उक्त अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । (रासस)
बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा रहेका बाल बन्दीहरुले सुधार गृहभित्र रहेको घाँसे जमिन र खाली जमिनलाई हातले नै खनेर लगाएको आलुलाई गाडमेल गर्दै । तस्बिर ः रुपनी जिएम÷रासस
रुपन्देही पुष १२ ।
किसानका लागि माटो परीक्षण अत्यन्तै जरुरी विषय हो । कुन माटोमा कुन खेती लगाएर प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा किसानहरूले जान्न नपाएका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन तर यो विषयमा किसान सचेत अझै हुन सकेका छैनन् ।
स्थानीय सरकारमै कृषिको इकाई पुगे पनि अझै पूर्ण रूपमा किसानहरूलाई त्यसो सचेतना पुग्नै सकेको छैन । अहिले लुम्बिनी प्रदेशको कृषि निर्देशनालयले विभिन्न स्थानमा निःशुल्क माटो शिविर सञ्चालन गरेको हुन्छ तर किसानको सहभागिता अत्यन्तै कम रहेको त्यहाँ रहेका प्राविधिकहरू बताउँछन् ।

बुटवलमा जारी रहेको लुम्बिनी एक्स्पोमा माटो प्रयोगशालामा यसको व्यवस्था गरिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला, खजुरा बाँकेबाट पुस ९ गतेदेखि १३ गतेसम्म निःशुल्क माटो परीक्षण प्रयोगशाला सञ्चालन गरिएको हो ।
किसानबाट संकलन गरिएको माटोको अवस्थाको विषयमा परीक्षण गरी निःशुल्क रूपमा किसानलाई प्रदान गर्ने सेवा राखिए पनि सूचनाको अभाव र किसानकै कम चासोले त्यो प्रभावकारी हुन सकेको छैन । बुधवारसम्म १२६ किसानको मात्रै माटो परीक्षणका लागि आएको प्राविधिकले बताएका छन् ।
किसानले ल्याएको माटोको नमुना परीक्षण गरेर माटोमा अम्लीय अवस्था वा क्षारीय अवस्था वा कुन प्रकारको माटो छ, सुधारको लागि गर्नुपर्ने कामसहित माटो अनुसार वीउविजन लगाउने सल्लाह सुझाव दिने गरी यो व्यवस्था गरिएको कृषि पेभिलियन संयोजक मेघराज पौडेल बताउँछन् । पुस ५ गतेबाट सुरु भएको मेलामा कृषितर्फको लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको छ । यहाँ प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको विवरण, त्यहाँबाट उत्पादित विभिन्न पुस्तक तथा सामग्रीहरू, छेवैमा उत्पादित भिडियो डकुमेन्ट्रीसमेत प्रसारण गरिएको छ ।
छेवैमा कृषि विकास निर्देशनालयको स्टल छ । कृषि अधिकृतस्तरका एक जना कर्मचारी र कार्यालय सहयोग गरी २ जना स्टलमा बसेका छन् । किसानले केही कुराको जिज्ञासा राखेमा अधिकृतस्तरका कर्मचारीहरूले विषय बस्तुबारेको ज्ञान प्रदान गर्दछन् भने जुन विषयमा किसानले जिज्ञासा राखेका हुन त्यो कार्यालय, विषय विज्ञको फोन नम्बर समेत उपलब्ध गराउँछन् । किसानलाई यसको सूचना पुराउन सबै स्थानीय तहलाई जिम्मेवारी दिए पनि धेरैले ल्याएकै छैनन् ।
माटो परीक्षणका लागि अहिलेसम्म धेरै रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट आएका छन् । कृषि पेभेलियनमा जिल्लागत रूपमा उत्पादन गरिएका सामग्रीहरूको प्रदर्शनी, कक्ष स्थापना गरिएको छ । यसको सबै चाँजोपाँजो प्रदेशको कृषि मन्त्रालयले गरेको हो । तराईको उत्पादनदेखि पूर्वी रुकुम हिमाली जिल्लासम्मको उत्पादनको प्रदर्शनी राखिएको कृषि विकास निर्देशनालय बुटवलका प्रमुख रामप्रसाद पाण्डे बताउँछन् ।
मेला आयोजक संस्थासँगको सहकार्यमा किसानहरूको लागि जानकारीमूलक, किसानको उत्पादन प्रवर्द्धनको लागि यस्तो प्रकृतिको प्रदर्शन गरिएको उनको भनाई रहेको छ । प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका मातहतका कार्यालयबाट पनि आ–आफ्ना कार्यालयको कार्यगत जानकारी सहितको डेमो समेत प्रदर्शन गरेको छ ।
कुखुरा विकास फार्मबाट उन्नत जातको कुखुराको समेत त्यहाँ प्रदर्शनी गरिएको हो । कृषितर्फ बाली विशेषतर्फ पाल्पाको सुन्तलादेखि गुल्मीको सुन्तला, जुनार, किबीसमेत बिक्रीको लागि राखिएको हो । रुकुमपूर्वको हिमाली जिल्लाबाट त्यहाँ उत्पादित राडीपाखीको बिक्रीसँगै डेमो अहिले दर्शकको आकर्षण बनेको छ ।
प्रदेशमा रहेका संघीय कार्यालय मत्स्य संरक्षण तथा प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासहित प्रदेशको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रवर्द्धनमा देशकै प्रख्यात छपियाको माछाको समेत परिकारसहित विक्रीस्थल छ । एक्स्पोमा कृषि यान्त्रीकरण प्रदर्शनी छ ।
छुट्टै स्थानमा सुपरसिडर, रिपर, लगायतका यन्त्र तथा उपकरणहरूको प्रदर्शन गरिएको छ । अन्य बेलामा उपकरण मात्रै राखिने गरिएकोमा यो पटक भने उपकरणको नाम, काम, लगायतको विशेषता समेत उल्लेख गरी विवरण राखिएकाले धेरैलाई सहज भएको कृषि उपसमितिका सदस्य बाबुराम खनाल बताउँछन् ।
उनले सबै जिल्लाका विशेष उत्पादन तथा त्यो बारे जान्ने प्रविधि तथा माटो निःशुल्क परीक्षणले किसानलाई सहज बनाउने भए पनि अझै धेरै किसान आउन नसकेको जनाए ।
आरके श्रीबास्ताव, रौतहट,११ गते पुस ।
रौतहट प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । चन्द्रपुर प्रहरीले घरेलु मदिरा बुधबार नष्ट गरेको हो ।
प्रहरीको गस्ती टोलीले लुकाइ छिपाई ल्याएको ५५ र ६० लिटर लिटर अबैध घरेलु तयारी मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको हो ।

ईप्रका चन्द्रनिगाहपुरका अनुसार विभिन्न स्थान बाट बरामद गरेको ५५र६० लिटर मदिरा स्थानीय जनप्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको रोहवरमा प्रहरीले नष्ट गरेको हो ।
ईप्रका चन्द्रनिगाहपुर कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट चन्द्रनिगाहपुर, तल्लोबजार रौतहटबाट प्रहरी सहायक निरिक्षक दिपेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुरबाट गौर जाने सबारी साधनहरू चेकजाँच गर्दा फेलापारेको थियोे ।
युक्रेन द्वन्द्वका कारण पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रूसले यूरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बुधबार बताउनुभएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन आक्रमणका लागि रूसी सेना पठाएपछि पश्चिमा देशहरूले रूसको समुद्री तेल आपूर्तिमा यूरोपेली सङ्घ (ईयू) सहितका मुलुकहले विभिन्न प्रतिबन्धहरू लगाएका थिए । “हामीले पहिले यूरोपमा कूल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौँ,” ऊर्जा नीतिका प्रमुख नोभाकले भन्नुभयो ।
“यो वर्ष यो सङ्ख्या कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने हाम्रो अनुमान छ,” नोभाकले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो । यूरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेको बेला मस्कोले चीनलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ । नोभाकले भन्नुभयो, “तेल निर्यातका लागि चीनको हिस्सा ४५–५० प्रतिशत पुगेको छ र भारत वर्तमान अवस्थामा हाम्रो मुख्य साझेदार बनेको छ ।
” भारतले पहिले करिब करिब कत्ति पनि माल प्राप्त गरेको थिएन तर अहिले एक प्रमुख खरीददार बनेको छ । “दुई वर्षको अवधिमा भारतलाई आपूर्तिको कूल हिस्सा करिब ४० प्रतिशत पुगेको छ,” नोभाकले भन्नुभयो । रिपोर्ट अनुसार भारतले रूसबाट छुट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई बिक्री गर्न सफल भएको छ । यद्यपि यी बिक्रीहरू वैध छन् ।
यो रूसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले यूरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने आलोचकहरूले बताएका छन् । मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि रूसले पनि आफ्नो प्राकृतिक ग्याँस निर्यातको लागि नयाँ बजारहरू फेला पार्नुपरेको छ, जसले नयाँ आपूर्तिकर्ताहरूको पनि खोजी गरेको छ ।
नोभाकले सन् २०२३ मा प्रतिबन्धका बावजुद रूसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताउनुभयो । नोभाकले रूसको तेल र ग्याँसबाट यस वर्ष करिब नौ ट्रिलियन रुबल (९८ अर्ब अमेरिकी डलर) आम्दानी हुने अपेक्षा गर्नुभएको छ ।
नोभाकका अनुसार तेल र ग्यास उद्योगले रूसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ, जसले रूसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ । नोभाकले रूस अन्य खरिदकर्ताका लागि खुला रहेको पनि बताउनुभएको छ । “विश्वमा खासगरी ल्याटिन अमेरिकी, अफ्रिकी र एशिया–प्रशान्त क्षेत्रका अन्य देश गरी धेरै मुलुकले रूसी तेल खरिद् गर्न चाहन्छन् ।”
रासस
काठमाडौँ, ११ पुस
: जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस