२०८३ भाद्र ३
२०८३ भाद्र ३

काठमाडौँ, १९ पुस :

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशङ्कर आज बिहान काठमाडौँ आउनुभएको हो ।(रासस)

गोदार (धनुषा), १९ पुस :

जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।

जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभयो । जानकी मन्दिरको अगुवाइमा विशेष यात्रासहित भार लिएर यहाँबाट यात्रा प्रारम्भ भएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भार त्यसतर्फ पठाइएको हो । भारमा विभिन्न प्रकारका आभूषण, भाँडा, कपडाका साथै मीठाइलगायतका भार बाँसबाट बनाइएका विशेष चङ्गेरमा सजाइएका छन् ।

राममन्दिरको प्राण प्रतिष्ठा (उद्घाटन) लाई नयाँ गृह प्रवेशका रूपमा लिई ‘घरबासक भार’ लिएर जनकपुरधामबाट करिब तीन सय जनाको टोली त्यहाँ प्रस्थान गरेको सहमहन्थ दासको भनाइ छ ।

जनकपुरधामबाट जलेश्वर नाथ, मलङ्गवा, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्ने र पुस २१ गते अयोध्यामा श्रीराम जन्मभूमि राममन्दिर ट्रष्टलाई भार हस्तान्तरण गरिने छ ।

यस कार्यले नेपाल–भारतबीच त्रेतायुगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने विश्वास गरिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख एवं भारयात्रा मूल समारोह समितिका संरक्षक मनोजकुमार साहले बताउनुभयो ।

सहमहन्त दासले पनि यस कार्यले नेपाल भारतबीच सदियौँदेखि कायम सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धनका लागि विश्वभर सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गर्नुभयो । यसअघि निर्माणाधीन राममन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको थियो । विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको जल अयोध्या पठाइएको थियो ।

अयोध्यामा मन्दिर निर्माण सुरू भएपछि गत वर्ष नेपालको कालीगण्डकी नदी किनारबाट दुईवटा शिलासमेत अयोध्या पठाइएकाे थियाे । (रासस)

काठमाडौँ, १९ पुस :

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुग्नुभएको छ । उहाँ भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो ।

संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री डा जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले उहाँ र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्कर भोलि पुस २० गते नै स्वदेश फर्कनुहुनेछ । (रासस)

काठमाडौँ, १९ पुस :

नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो ।

फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो । (रासस)

तेहरान, १८ पुस (रासस/एएफपी) :

इरानमा बुधबार रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको सन् २०२० मा भएको हत्याको वार्षिकी मनाउने भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी टेलिभिजनले बताएको छ ।

“विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ”, टेलिभिजनले भनेको छ । विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो ।

केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो । विस्फोटको कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार विस्फोटमा ३० जना घाइते भएका छन् ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गर्नुभएको थियो । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । उहाँ बगदाद विमानस्थलको ठिक बाहिर अमेरिकी ड्रोन हमलामा मारिनुभएको थियो । उहाँ इरानमा सम्मानित व्यक्ति हुनुहुन्थ्यो ।

जनकपुरधाम, १८ पुस :

कानुनप्रदत्त जिम्मेवारी र पदीय दायित्व सबैले पूर्ण पालना गर्नसकेमा मात्रै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनेमा सरोकारवालाले जोड दिनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँले आज जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया’ मा सरोकारवालाले कानुनको अभावले नभई त्यसको पालना नगर्ने प्रवृत्ति बढेकाले समस्या भइरहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सेवाप्रवाहको दायित्व बोकेका जनप्रतिनिधि, कर्मचारी र सम्बद्ध सबै पक्षले कानुनको अक्षरशः पालना गरेमा धेरै समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले प्रशासनिक उल्झनबाट उम्किनका लागि नीतिगत निर्णय गर्ने र गराउने प्रवृत्ति बढिरहेको भन्दै त्यसलाई रोक्न विषयविज्ञ कर्मचारीको बढी भूमिका हुनेसमेत बताउनुभयो ।

“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि कार्यकारी अधिकार प्रयोगकर्तालगायत जिम्मेवारीमा रहेकाले कानुनको पूर्णपालनामा ध्यान दिन सके धेरै समस्या समाधान हुनसक्छ । त्यसमा पनि निर्णय कार्यान्वयन गर्ने कर्मचारीले कानुन प्रतिकूल हुने विषयलाई तर्कसहित गर्नुहुन्न र गर्न सकिँदैन भन्न सकेमा भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त बनाउन सकिन्छ । त्यसका लागि म ध्यानाकर्षणसमेत गराउन चाहन्छु”, प्रमुख आयुक्त राईले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अख्तियारले चाल्ने हरेक कदममा प्रदेश सरकारको सहयोग हुने भन्दै अख्तियारले पनि उजुरी समयमै टुङ्ग्याएर जनप्रतिनिधिलाई काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी विगतका कमजोरीबाट पाठ सिक्दै आफू नेतृत्वको सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुसार अगाडि बढिरहेकाले योजना तथा कार्यक्रम कार्यान्वयनसँग जोडिएका सबै पक्षलाई सरकारको नीतिअनुसार जिम्मेवारीपूर्वक काम गर्न पनि मुख्यमन्त्री यादवले आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरेले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीलगायत सबै पक्षको साझा प्रयासबाट अनियमिततालाई नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले सुशासनको प्रत्याभूतिका लागि सार्वजनिक सेवाप्रवाह गर्ने दायित्व बोकेका प्रदेश मातहतका सबै निकायले इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेसमेत बताउनुभयो ।

आयोगको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले कार्यालयले गरिरहेका कामकारबाही र आयोगका सहसचिव लक्ष्मीप्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी कानुनी व्यवस्थालगायत विषयवस्तुबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।(रासस)

काठमाडौँ, १८ पुस :

वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन् ।

अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक रु एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटकपटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी कतार पठाइदिन्छु भन्दै रु दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ । निजले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक रु ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन् ।

यसैबीच, स्लोभेनिया पठाइदिने बहानामा रु दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ । सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ । (रासस)

काठमाडौँ, १८ पुस :

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ । (रासस)

वीरगञ्ज (पर्सा), १८ पुस :

जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा अन्य वन जङ्गलबाट आउने जनावरले दिनहुँ गहुँबाली तथा तरकारी नष्ट गर्न थालेपछि उनीहरु बालीनाली जोगाउन राति जाग्राम बस्न बाध्य भएका हुन् ।

पर्साको जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका विभिन्न गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालुलगायतका जङ्गली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउनका लागि जाग्राम बस्न बाध्य भएको ठोरीका रञ्जित श्रेष्ठले बताउनुभयो । राष्ट्रिय वनमा घेरवार नहुँदा दिनहुँ जङ्गली जनावरले बालीनली नष्ट गर्ने गरेको उहाँको भनाइ छ ।

जङ्गली जनावरबाट बालीनाली जोगाउन मचान बनाएर राति निगरानी गर्दैआएको जिराभवानीका शङ्कर महतो बताउनुहुन्छ । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटाका पड्काउने, टिन ठटाउने र होहल्ला गर्ने गरेको उहाँले बताउनुभयो । बर्सेनि जङ्गली जनावरले बालीनालीमा क्षति पुर्याउने गरेपनि आफूहरूको समस्या समाधानका लागि स्थानीय सरकार, डिभिजन वन कार्यालयले कुनै सुनुवाइ नगरेको किसानको गुनासो छ ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएकाले समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो । बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ । (रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।