काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा अनाधिकृत गतिबिधि नगर्न चेतावनी दिएका छन् ।
काठमाडौंमा जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले सकेसम्म पार्टीका गतिविधिमा सहयोग गर्न नसकेमा आफुले गरिरहेका काममा अवरोध नगर्न आग्रह गर्दै अनधिकृत गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
उनले आफु पार्टीको विधानले बाधिएको बताउदै बैशाख महिना भित्र क्रियाशील सदस्यता अध्यावधिक नगर्नेको सदस्यता नरहने स्पष्ट गरे ।
उनले सरकार मिलेर काम गर्ने वातावरण बनाउनुपर्ने बताउदै भने- ‘ताली एक हातले मात्र बज्दैन, दुई हातले बज्छ । हामी मिलेर काम गर्ने भनेका भन्यै छौँ । हामीलाई मिलाएर, सँगसँगै लिएर जाने हो कि होइन यो सरकारको काम हो ।’
थापाले विधिसम्मत काम नभएका ठाउँमा कांग्रेसले प्रश्न उठाउने बताउदै अब पार्टीलाई प्रतिपक्षको भूमिका निभाउन सक्ने बनाउन लागेको बताए ।
उनले पार्टी बाहिर अनावश्यक सदस्यताको बारेमा कोलाहल नगर्न र आफ्नो वडा इकाइमा गएर क्रियाशील अध्यावधिक गर्न आग्रह गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे÷नगरेको सम्बन्धमा अनुगमन र सहजिकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा उल्लेख भए अनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेका विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिमका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने भन्ने व्यवस्था छ ।
यस्तै, शिक्षा नियमावली, २०५९ मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा दश प्रतिशतमा नघटाई गरीब, आङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुरुप सम्पूर्ण विद्यालयहरुले तोकिए बमोजिम छात्रवृत्ति प्रदान गर्न निर्धारण गरिएको छनौट विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नमावली आईएमआईएसमा तत्काल अध्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको छ । साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने सुनिश्चित हुने गरी विद्यालयहरुले सार्वजनिक गर्ने तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे÷नगरेको अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अद्यावधिक गर्न लगाउने पत्रमा भनिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गर्दै आएको स्पष्ट पारेको छ।
निगमका अनुसार मार्च ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको प्रति लिटर २२१.३२ , डिजेलको २९४.९९, मट्टितेलको २४३.७० र हवाई इन्धनको आन्तरिक तर्फ प्रतिलिटर २५७८२ र एलपी ग्यासको प्रति सिलिन्डर २३४१.२५ लागत रहेको छ ।
निगमले पछिल्लो पटक मुल्य समायोजन गर्दा पेट्रोलमा प्रति लिटर २. ३२ डिजेलमा ८७.९९ र मट्टितेलमा ३६.७० घाटा रहेको छ । त्यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ घाटा रहेको निगमले जनाएको छ । निगमले यस अनुसार १५ दिन (पाक्षिक) मा ७ अर्ब ८१ करोड ६१ लाख घाटा हुने अवस्था रहेको जानकारी दिएको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि ढुवानी लागत, कर तथा विनिमय दरका कारण उपभोक्ता मूल्यमा तुरुन्तै समान अनुपातमा कमी गर्न कठिन हुने गरेको छ ।
आपूर्ति व्यवस्थापनलाई सहज बनाउन विभिन्न वैकल्पिक उपाय अपनाइएको जनाउँदै निगमले चाडपर्व नजिकिँदै गर्दा आपूर्तिमा कुनै समस्या नआउने दाबी गरेको छ । साथै अन्तर्राष्ट्रिय बजारअनुसार आगामी दिनमा मूल्य समायोजन गरिने पनि जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,रौतहट, २९ चैत ।
रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। मेयर साहको प्रवेशसँगै स्थानीय राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।
देवाहीगोनाहीमा आयोजित भव्य कार्यक्रमबीच मेयर साहसहित वडा नं. ४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नं. ९ का अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरू सामूहिक रूपमा आजपामा प्रवेश गरेका हुन्। आम जनता पार्टीका सचिवालय सदस्य रामशरण यादवका अनुसार अझै अन्य जनप्रतिनिधि र कार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेका छन्।
कार्यक्रममा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नवप्रवेशी नेता तथा जनप्रतिनिधिहरूलाई खादा तथा अबिर लगाएर स्वागत गर्दै पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। उनले जनताको अपेक्षा अनुसार काम गर्न र वैकल्पिक राजनीतिक शक्तिको रूपमा आजपालाई स्थापित गर्ने प्रतिबद्धता जनाए।
पछिल्लो समय अध्यक्ष साह विभिन्न नगर तथा गाउँस्तरमा सक्रिय रूपमा जनभेटघाट गर्दै आएका छन्। फतुवा विजयपुर, कटहरिया, मौलापुर लगायतका स्थानहरूमा नेता–कार्यकर्तासँग छलफल गर्दै जनताको समस्या र सुझाव संकलन गरिरहेका उनी आज देवाहीगोनाहीमा पनि व्यापक भेटघाट तथा अन्तरक्रियामा सहभागी भएका थिए।
स्थानीय स्तरमा प्रभावशाली जनप्रतिनिधिहरूको आजपामा प्रवेशसँगै रौतहटको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आउने आकलन गरिएको छ।
आरके श्रीवास्तव,रौतहट,२९ गते चैत ।
रौतहट क्षेत्र नं. ३ रास्वपाबाट नव निर्वाचित सांसद रविन्द्र पटेल धिरजले आज कटहरिया स्थित विवाह भवनमा स्थानीय जनतासँग आत्मीय भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
कार्यक्रममा उहाँले ठूलो संख्यामा उपस्थित जन्ताजनार्धनसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको थियो । सहभागीहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा रोजगारीका विषयमा आफ्ना धारणा राखेका थिए ।
सांसद पटेलले जनताका हरेक आवाजलाई नीति तथा योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका कार्यलाई तीव्रता दिने बताउनुभयो । उहाँले स्थानीय तहसँग सहकार्य गर्दै दिगो विकासका कार्यक्रमहरू अघि बढाउने स्पष्ट पार्नुभयो ।
भेटघाट कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै विकासप्रति साझा सहकार्यको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन् ।
आरके श्रीवास्तव, रौतहट, २९ गते चैत ।
रौतहटको सन्तपुर क्षेत्रमा खानेपानी संकट गम्भीर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले विद्युत महसुल समयमै भुक्तानी नभएको कारण सन्तपुर खानेपानी सरसफाइ आयोजनाको विद्युत लाइन काटेपछि शुद्ध खानेपानीको हाहाकार सिर्जना भएको हो ।

फतुवा विजयपुर–५, सन्तपुर दोस्तियामा सञ्चालित उक्त खानेपानी आयोजनाको विद्युत लाइन काटिएको करिब पाँच दिन बितिसक्दा पनि समस्या समाधान हुन सकेको छैन । विद्युत आपूर्ति बन्द भएसँगै पानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ, जसका कारण वडा भरिका स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन् ।

स्थानीयका अनुसार दैनिक उपभोगका लागि आवश्यक शुद्ध खानेपानी नपाउँदा जीवनयापन कष्टकर बनेको छ । “पाँच दिनदेखि पानीको निकै समस्या भइरहेको छ, तर अहिलेसम्म कसैले चासो देखाएको छैन,” स्थानीय मदन राय यादवले गुनासो व्यक्त गर्नुभयो ।

यस्तै, स्थानीय शेष मोमताज आलमले खानेपानी जस्तो आधारभूत सेवामा अवरोध हुनु अत्यन्तै गम्भीर विषय भएको बताउँदै तत्काल समाधानको माग गर्नुभयो । अर्का स्थानीय मुकेश कुमार पटेलले सम्बन्धित निकायको लापरबाहीका कारण सर्वसाधारणले दुःख पाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

त्यस्तै, संजय यादवले पानीको अभावले दैनिक जीवन नै अस्तव्यस्त भएको उल्लेख गर्दै विद्युत लाइन तुरुन्त पुनः सञ्चालन गर्न आग्रह गर्नुभयो ।

यता, सम्बन्धित निकाय तथा राजनीतिककर्मीहरूले समस्या समाधानमा आवश्यक पहल नगरेको भन्दै स्थानीयले चर्को असन्तुष्टि जनाएका छन् । उनीहरूले तत्काल विद्युत लाइन पुनः सञ्चालन गरी खानेपानी सेवा सुचारु गर्न माग गरेका छन् ।
स्थानीयवासीले यस समस्यालाई गम्भीर रूपमा लिएर सम्बन्धित निकायले शीघ्र ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आरके श्रीवास्तव,रौतहट,२९ गते चैत ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–३ बलुआ टोलमा लामो समयदेखि अपेक्षित नाला निर्माण कार्य अन्ततः सुरु भएको छ । वर्षौंदेखि विकास निर्माणमा उपेक्षित हुँदै आएको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका थिए, तर यसपटक स्थानीय पहल र नगरपालिकाको सहकार्यले सकारात्मक सुरुवात भएको छ ।

स्थानीय युवा समाजसेवी शेष सेराज लगायत स्थानीय युवाहरूको टिमकाे सक्रिय पहलमा नगरप्रमुख सन्तलाल चौधरीले १८ लाख रुपैयाँ बजेट विनियोजन गरी गाउँका दुई स्थानमा नाला निर्माण कार्य अघि बढाइएको हो ।
सेराजका अनुसार, “पहिला पनि स्थानीय सरकारले प्रयास नगरेको होइन, तर विभिन्न कारणले काम अघि बढ्न सकेन । यसपटक भने स्थानीय बासिन्दा आफैं सक्रिय भएर सडक खाली गरेपछि नाला निर्माण सम्भव भएको हो । ” उनले नगरप्रमुख चौधरीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप विकासको अपेक्षा पनि गरेका छन् ।

यसैबीच, प्रदेश सरकारबाट सडक ढलानको काम समेत यसै वर्ष सुरु हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् । स्थानीय नैमुदिन मियाँले नाला निर्माण सुरु हुनु सकारात्मक भए पनि समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । अर्का स्थानीय जहुर मियाँले नाला निर्माणले गाउँको स्वरूप नै बदल्ने विश्वास व्यक्त गरे भने जाहिर हुसेनले ढिलै भए पनि स्थानीय सरकारले गाउँमा ध्यान दिएको भन्दै खुशी व्यक्त गरे ।
यता, जेन–जी उमेर समूहका युवाहरूले नाला निर्माणसँगै सडक ढलानको कामलाई पनि प्राथमिकतामा राख्न माग गरेका छन् । उनीहरूले समग्र पूर्वाधार विकासले मात्रै गाउँको दिगो सुधार सम्भव हुने बताएका छन् ।
स्थानीयको सक्रियता र सरकारको सहयोग मिल्दा बलुआ टोलमा सुरु भएको यो नाला निर्माण कार्यले अब समग्र विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,मधेस,२७ गते चैत ।
सप्तरी । मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले कृषि शिक्षालाई समयअनुकूल, व्यवहारिक र गुणस्तरीय बनाउनुपर्नेमा विशेष जोड दिनुभएको छ ।

आज मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसहित मन्त्री तिवारीले सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा विश्वविद्यालयको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापन अवस्थाबारे विस्तृत जानकारी लिइएको थियो ।

अनुगमनपछि मन्त्री तिवारीले कृषि क्षेत्रको दिगो विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षा प्रणालीलाई अझ व्यवहारिक बनाउनुपर्ने बताउनुभयो । “कृषि शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै गुणस्तरीय बनाउनु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो ।
उहाँले विश्वविद्यालय प्रशासन, शिक्षक तथा सम्बन्धित सरोकारवालाहरूलाई विद्यार्थीहरूलाई उत्कृष्ट र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न सक्रिय र जिम्मेवार ढंगले काम गर्न आग्रह गर्नुभयो । साथै, मधेश प्रदेश सरकार कृषि तथा शिक्षाको समग्र विकासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

यस अवसरमा मुख्यमन्त्री यादवले प्रदेश सरकार शिक्षा र कृषि क्षेत्रको सुदृढीकरणमा प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै आवश्यक नीति तथा स्रोत व्यवस्थापनमा सरकार सधैं तत्पर रहने धारणा व्यक्त गर्नुभयो ।
अनुगमन टोलीले विश्वविद्यालयको सुधारका लागि आवश्यक सुझाव तथा निर्देशनसमेत दिएको थियो ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक हाजिर जमानीमा छुट्ने भएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार दुबैलाई हाजिरी जमानीमा छोड्ने तयारी भएको हो ।ओली र लेखकविरुद्ध जिल्ला अदालत काठमाडौंले तेस्रोपटक ५ दिनको लागि लिएको म्याद आज सकिन लागेकाले दुवैलाई रिहा गरिन लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर रिहाईको प्रक्रिया अगाडी बढाएको छ ।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न परमादेश आदेश जारी गरेका थिए । सर्वोच्चले अहिले थप गरेको म्याद भित्र नै अनुसन्धान टुंगाउन र अनुसन्धान नसकिएमा ओली र लेखकलाई रिहा गरेर अनुसन्धान जारी राख्न आदेश दिएको थियो ।गत भदौ २३ र २४ को आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,रौतहट,चैत २५ गते ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका–५ मिठुअवास्थित श्री राधा कृष्ण माध्यमिक विद्यालयमा ६ कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । उक्त भवन च्वाईस नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको हो । निर्माण सम्पन्न भवनको नगर प्रमुख बैजनाथ प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद यादव तथा संस्थाका प्रमुख प्रदिक शर्मा लगायतको उपस्थितिमा एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
यसैबीच, सोही वडामा अत्याधुनिक सुविधा सम्पन्न ८ कोठे दुई तले बर्थिङ सेन्टर भवन निर्माणका लागि पनि आजै शिलान्यास गरिएको छ। स्थानीय स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यसहित उक्त भवन निर्माण गर्न लागिएको जनाइएको छ । स्थानीय तह र सहकार्य संस्थाहरूको संयुक्त पहलमा भइरहेको यस्ता पूर्वाधार विकासका कामले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । साथै, समुदायको समग्र विकासका लागि यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर अघि बढाइने जनाइएको छ ।