२०८३ श्रावण ३१
२०८३ श्रावण ३१

 

फागुन, ११ वीरगन्ज ।

वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो।

महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए। यादवका अनुसार, महानगरमा फागुन १३ गतेदेखि सुरु हुने उक्त अभियानअन्तर्गत पहिलोदिन वीरगन्ज महानगरपालिका वडा नम्बर ३ वीर्तास्थित त्रिजुद्ध माविको परिसरमा ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाएर अभियानको सुभारम्भ गरिनेछ।

त्यसपछि दोश्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने यादवले जानकारी गराए।

यो अभियानमा महानगरका ७४ हजार चार सय जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सह–संयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए। उनका अनुसार, दादुरा–रुबेला खोप अभियानअन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी दुई सय ९८ खोप केन्द्र स्थापना गरिनेछ। एउटा खोप केन्द्रमा न्युनतम दुई सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी पनि उनले गराए।

अभियानका क्रममा दादुरा–रुबेलाको खोप लगाउने क्रममा हुनसक्ने सम्भावित अवाञ्छित घटना व्यवस्थापनका लागि नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, डाक्टर शैलेश ठाकुर लगायत तीन जना चिकित्सकलाई जिम्मेवारी पनि दिइएको उनले बताए।

शुक्रबार वडाध्यक्षहरूसँगको अभिमूखीकरण कार्यक्रममा कुशवाहाले यो अभियानलाई सफल पार्न वडाध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे। कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत फागुन १३ गते वीरगन्जमहानगरसंगै पर्सा जिल्लाभरनै दादुरा–रुबेला खोप अभियान सुरु हुने जानकारी गराए। पहिलोचरणमा फागुन १३ देखि फागुन २१ गतेसम्म वीरगन्ज महानगरको वडा नम्बर ३ तथा जिल्लाको पोखररिया नगरपालिका, पर्सागढी नगरपालिका, जीराभवानी, सखुवाप्रसौनी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकामा यो खोप अभियान सञ्चालन गरिने उनले बताए।

दोश्रो चरणमा भने फागुन २७ गतेदेखि चैत ५ गतेसम्म वीरगन्ज महानगरका बाँकी ३१ वटा वडा, बहुदरमाई नगरपालिका, पकाहामैनपुर, ठोरी, छिपहरमाई, विन्दवासिनी, धोबिनी र कालिकामाई गाँउपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने जानकारी ठाकुरले गराए।

ठाकुरका अनुसार, दुई चरणको अभियानमा पर्सा जिल्लाभरिमा दुई लाख एक हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ। वडा नम्बर २२ का वडाध्यक्ष द्वारिका महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका ३२ वटै वडाका वडाध्यक्ष, महानगरको स्वास्थ्य महाशाखाका कर्मचारी, सञ्चारकर्मी लगायतको पनि सहभागीता थियो।

 

काठमाोडौं, ११ फागुन ।

कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालत, काठमाडौंको आदेश अनुसार रोशनकुमार शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो। प्रहरी वृत्त, कीर्तिपुरका अनुसार उनले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।

आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक-पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ।

छोरी नआएपछि प्रहरीसँग सहयोग लिएर खोजतलास गर्दा उनलाई त्यहाँ फेला पारेको आमाले बताएकी छन्।  रोशनका साथी रितिकविरुद्ध समेत उनले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ।

न्यूज करखाना।

 

सुरुचि भण्डारी/,बारा, ११ फागुन ।

तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष वित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गावापत जग्गाधनीलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयले गरेको आन्दोलन शुक्रबार पनि जारी छ।

सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटक-पटक अनुरोध गर्दासमेत रकम पाउन नसकेका उनीहरूको कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा बिहीबारबाट आन्दोलन र रिले अनशन सुरु गरीएको थियो।

सरकारको ध्यानाकर्षण गराउँदै चरणवद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले बिहीबार तामागढीमा सडक अवरुद्ध पारेका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत तामागढीबाट हुलाकी सडक प्रवेश गर्ने स्थानमा मुआब्जा नपाएका स्थानीयले यातायातमा अवरोध पुर्‍याएका हुन्। सयौंको संख्यामा रहेका स्थानीय हुलाकी सडक हुँदै मुख्य राजमार्गमा प्रवेश गर्न सक्ने देखेपछि तामागढी क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलित स्थानीयलाई पूर्वपश्चिम राजमार्ग प्रवेश गर्न रोक लगाएका थिए।

सडक अवरुद्ध पारेका उनीहरूले माग पुरा नभएसम्म अनिश्चित कालिन रिले अनसन समेत सुरु गरेका छन्। करिव ६५ देखि ७० विघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुअब्जा रकम नपाएका हुन्।

सबै मन्त्रालय, प्रशासन गुहार्दा पनि कसैले सुनुवाई नगरेको तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले बताए। ‘योजना सम्पन्न भएको तिन वर्ष पुग्न लागिसक्दा पनि मुआब्जा वापतको रकम नपाएपछि हामीले बाध्य भएर आन्दोलन गर्नु परेको हो, सरकारले नै निर्धारण गरेको मुआब्जा वापतको रकम माग गर्न पटकपटक विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्रीलाई समेत जानकारी र ज्ञापनपत्र बुझएका थियौं। तर, हामी गरिबको समस्यामा सरकारले कुनै चासो नदिएका कारण हामी आन्दोलीत भएका हौँ,’ अध्यक्ष अन्सारीले भने। मन्त्रालय जाँदा आउँदा नै तीन लाख खर्च भइसकेको छ। तर, हाम्रो माग तफ कसैको ध्यान भएको नपाएपछि दवावमूलक आन्दोलनसँगै रिले अनसन सुरु गरेको बताए।

२० लाख प्रतिकठ्ठा मुआब्जा दिन मुआब्जा मूल्यांकन निर्धारण समितिले दर कायम पनि गरेको थियो। मुआब्जा पाउने जग्गाधनीले सम्बद्ध निकाय धाउँदाधाउँदै तीन वर्ष बिताइसकेको तर अहिलेसम्म मुअब्जा नपाएको अर्का अगुवा रामबावु शाहले बताए।

उता मुआब्जा निर्धारण समितिका पदाधिकारी ओम खड्काले मुआब्जाको लागि जिल्लामा गर्नुपर्ने सबै काम पूरा भई माथि पत्राचार गरिसकिएको बताए। सरकारले रकम निकासा नदिएर वितरण रोकिएको उनको भनाई छ।

स्थानीयले मुआब्जा नपाएपछि बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले संसद पटक-पटक उक्त विषयमा आवाज उठाउँदै आएका छन्। मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुआब्जाको विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभा सदस्य मैनालीले भने पीडित जग्गाधनीलाई मुअब्जा बापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भएको बताए। उनले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सरोकारवाला निकायसँग कुरा भइरहेको बताए।

गत असोज २ मा अर्थ मन्त्रालयले पहिलो चरणमा १५ करोडको व्यवस्था मिलाई मुआब्जा वितरण गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयलाई पत्र लेखे पनि बजेट नभएको भन्दै फर्काउने गरेको उनीहरूको भनाई छ। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजित बजेटबाटै १५ करोड रुपैयाँ उपलब्ध गराउन भने पनि वास्ता नगरेको  र स्थानीय जग्गाधनीले प्रतिकठ्ठा २० लाखको दरले हुन आउने १ करोड ५२ लाख रुपैयाँका दरले सम्बन्धित जग्गाधनिलाई उपलब्द गराउनु पर्ने उनीहरूको माग रहेको छ।

संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो। ३९.७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो। साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ।

न्युज कारखाना

 

फागुन, ११ वीरगन्ज । 

पर्साको धोबिनी गाउँपालिकास्थित लंगडीका दुई जना बेसहारा दिदीबहिनीको पीडादायी अवस्थालाई मध्यनगर गर्दै सामाजिक क्षेत्रमा सक्रिय सानो पाइला संस्थाले लालनपालनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ। केहीदिन पहिलामात्र एउटी सहारा रहेकी हजुर आमासमेतको मृत्यु भएपछि बेसहारा भएका उनीहरूको सम्पूर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संस्थापक एवम् पूर्वसञ्चालक समाजसेवी कन्चन झाले जानकारी दिए।

बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा ठाकुरलाई हजुरआमा कहाँ बस्दै आएका हुन् र सानोदेखि हेरचाह तथा पालनपोषण गर्दै आएकी हजुरआमाको समेत हालसालै मृत्युपछि उनीहरूको जीवनमा अर्को दुःख थपिएको थियो। पर्साको धोबिनी गाउँपालिका लङ्गडीमा बस्ने उनीहरूलाई खानसमेत गाह्रो भइरहेको बेला सानो उमेरमै प्रियंका आफ्नो हजुरआमाको क्रियामा बसिरहेकी छन्।

हजुरआमाको क्रियाको काम सोमबार समाप्त हुनेछ। सोमबार क्रिया समाप्त हुने बित्तिकै वीरगन्जस्थित सानो पाइलाको सानो घरमा दुवै बहिनीलाई ल्याइने बताइएको छ।

यस्तै उनीहरूको सहयोगको लागि पहिलेदेखि आह्वान गरिएकोले अब सम्पूर्ण सामान, पैसालगायतको कलेक्सन तुरुन्तै रोकिदिन सानु पाइलाले आग्नुरह गरेको छ।

न्यूज करखाना।

 

काठमाडौं, ११ फागुन ।

केपी ओली कपको दोस्रो संस्करण शुक्रबारबाट सुरू भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी छन् ।

 

राष्ट्रिय युवा संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।  उद्घाटनमा प्रमुख अतिथि भण्डारीले मोबाइलमार्फत् पानस बालेकी थिइन् भने ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो ।

सो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

 

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन् ।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ ।

फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

न्यूज करखाना

 

हेटौँडा, ११ फागुन ।

बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले यही १५ फागुन अपरान्ह ३ बजे बैठक बस्नेगरी प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका हुन् ।

 

‘बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको तेह्रौं अधिवेशन संवत् २०८० साल फागुन १५ गते मंगलबार दिनको ३ः०० बजे आह्वान गरेको छु,’ प्रदेश प्रमुख शर्माले आह्वानमा भनेका छन् ।

न्यूज करखाना

 

काठमाडौ, ११ फागुन, ।

मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन।

ज्ञानेन्द्र खड्का

गणेश लामासँग ११-१२ वर्षअगाडि काठमाडौंको दरबारमार्गमा कोही साथीद्वारा भेटेको थिएँ। त्यहीबेला पनि नेपालमा यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ भनेर विभिन्न योजनाहरू सुनाएका थिए।

मैले गणेश लामाको सात पुस्ताको समेत कुनै पनि जग्गा लिएको छैन र एक रुपैयाँको कारोबार पनि छैन।

गणेश लामाको एक रुपैयाँ खानुपर्ने मान्छे पनि हैन र गणेश लामाको पैसा खान सक्ने र खाएर नतिर्ने हिम्मत भएको नेपालमा को होला र?

अपहरण गरेर २० करोडको कागज गरिसकेपछि मैले हिम्मत गरेर जाहेरी दिएपछि र प्रेस विज्ञप्तिपछि अत्तालिएर उनले प्रेस मिट गरेका हुन्। यसको कुनै तुक छैन। मुद्दालाई कमजोर बनाउन खोजिएला, भ्रामक कुरा गरेर आलटाल गर्न खोज्लान् तर सम्पूर्ण नेपालीहरूले राम्ररी बुझिसकेको छन्, गणेश लामा को हो र उन्को धन्न्दा के हो? हुँदा-हुँदा राजनीतिक द्वन्द्व भनेर विषयान्तर पनि गर्न खोज्लान्।

मैले भोगेको र मैले पाएको धम्की, त्रास मलाई नै थाहा छ। राज्यले उक्त घटनालाई सिरियस्ली अनुसन्धान गरेर अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। यो देशमा न्याय मरेको छैन। अपहरण गर्ने, फिरौती लिने, करकापमा कागज गर्ने अनि आफ्नो अपराध ढाकछोप गर्न खोज्नु अर्को अपराध हो।

गणेश लामाले के भन्छन्, के गर्छन् भन्ने कुरामा कुनै तुक छैन। कानुनी प्रक्रियामा गएर आफू सही वा गलत साबित गरून्! म र मेरो परिवारलाई जीवनभर खुकुरीको धारमा राखेर जाहेरी दिने र प्रेस विज्ञप्ति निकाल्ने आँट गरेको छु। नेपाल सरकार, प्रहरी प्रशासन, मिडियाकर्मी र आम जनमानसमा यस्तो जघन्य अपराधलाई निर्मुल पार्नको लागि अपिल गर्दछु।

गणेश लामा ‘मोस्ट वान्टेड’ भएको बेला थाइल्यान्डको मेरो होटलमा मलाई लाग्छ एक महिनाजति बसेका थिए होला। तर होटलको रुमको पैसा पनि तिरेका छैनन्। होटलमा लगानी गर्ने वा नेपालमा एक रुपैयाँ लगानी गर्ने कुरा त परै जाओस्। यस्तो जघन्य मुद्दालाई विषयान्तर गर्न यस्तो कुराहरू दुई हप्तादेखि नै गर्दै आएका हुन्। प्रहरी कार्यालयमा समेत गएर ठ्याक्कै यसैगरी भनिएको रहेछ। गणेश लामासँग पैसा खाने मेरो त्यत्रो हिम्मत छैन र अर्को कुरा १० वर्षदेखि भागेर हिँडेको भन्ने आरोप छ। जबकि, म विगत तीन वर्षदेखि नेपालमै मिडियामा इन्टरभ्यू दिएर खुलमखुल्ला व्यापार गर्दै आएको छु।

मेरो घर धोलाहिटीमै छ, म खोज्दा नभेटिने मान्छे हो र लामाको पैसा खाएर भाग्न सक्ने? भ्रामक कुराहरू गरेर मुद्दालाई कमजोर बनाउने खेल मात्र हो, अरू केही पनि हैन। निज लामासँग मेरो कुनै व्यक्तिगत कारोबार पनि छैन। मैले मलाई परेको जघन्य अपराधको विरुद्धमा लड्ने आँट गरेको छु, म र मेरो परिवारको जीवन दाउमा राखेर कानुनी लडाइँ लड्दैछु। उनले गरेका सबै भ्रामक कुराहरूको पुष्टि गरून्। अदालतमा गएर सफाइ लिन सकुन्, म धन्यवाद दिन्छु।

म विशुद्ध आफ्नो व्यापार गरेर बसेको मान्छे। म सँग क्रिप्टो र बिट्क्वाइन छ भनेर अपहरण गरी ट्रान्सफर गर्ने एक मात्र उद्देश्य थियो। मेरो मोबाइल र ल्यापटपमा केही नभेटेपछि जबरजस्ती २० करोड छोराको नाममा कागज गराएका हुन्। बाँकी प्रहरी र अदालतको हातमा छ। उनले आफ्नो बचाउको लागि अरू पनि के-के गर्छन्, के के भ्रम छर्छन्, त्यो लामाको कुरा हो। यस्तो जघन्य अपराधमा माफी दिने छुट कसैलाई छैन।

वडा कार्यलयमा गएर हस्ताक्षर गरेको भनिएको छ, त्यसको अनुसन्धान हुनुपर्‍यो, करकापमा गरेको कागज एकल प्रमाणित गर्ने काठमाडौं महानगर वडा-१० को अध्यक्षलाई समेत कारबही गरिपाऊँ।

लोकान्तर र बाह्रखरीमा प्रकाशित समाचार पढिसकेपछि मैले केही भन्नैपर्छ जस्तो लागेर यो कुरा लेख्दैछु।

पहिलो कुरा, गणेश लामाको प्रेस मिट हेर्नुहोला। प्रेस मिटमा लामाले ‘हामी ३-४ घन्टा बस्यौं होला’ भनेका थिए। जबकि, लोकान्तरको समाचारमा ‘करिब ७ घन्टा बसेको पाएका छौं’ भनेर अनुसन्धान अधिकारीको भनाइ भन्दै लेखिएको छ।

दोस्रो कुरा, म हितैसी साथीको नाता वा दाजुभाइको नाता लिएर लामासँग भेट्न गएको थिइनँ। वा त्यसरी बसेको पनि हैन। मलाई बकाइदा मेरो गाडीबाट जबरजस्ती झर्न लगाई उनीहरू आएको गाडीमा चढाएर लन्डन होटल पुर्‍याइएको हो। मेरो इच्छाविपरीत मलाई त्यहाँ पुर्‍याइएको थियो र त्यसपछि पनि कोठाभित्र छिरिसकेपछि मेरो मोबाइल र ल्यापटप दुबै उनीहरूले खोसेका थिए।

मलाई धम्क्याउँदै, मेरो मोबाइल र ल्यापटप खोलेर हेरेका समेत थिए। त्यो बीचमा मेरो नम्बरमा आएका महत्वपूर्ण फोन कलहरू मैले उठाउन पाएको छैन। मलाई उनीहरूले जबरजस्ती सञ्चारमाध्यमबाट टाढा राखे र मलाई मानसिक तनाव दिने उद्देश्यले धम्क्याइरहे। यो अपहरण नभएर के हो?

बाह्रखरीमा प्रकाशित समाचार अनुसार ‘फुटेजमा लामा र खड्का दुई जना मात्रै होटलमा पुगेको देखिएको छ’ लेखिएको छ। तर, हामीसँगै लामाले डिएसपी सा’ब भनेर बोलाउने गरेका सहदेव पनि थिए। त्यो बीचमा वकिल पनि हामी बसेको कोठामा छिरेका छन् र त्यसैबीचमा मेरो ल्यापटपमा खोजीनिती गर्नको लागि एक जना अर्को मानिस पनि पुगेका छन्। सिसिटिभीमा यो सबै नदेखिएकै हो र? अनि फोटोसमेत आएको छ। फोटो खिचिएको मोबाइल र मोबाइल धनी व्यक्ति खोजिने हो भने त्यहाँ अर्को व्यक्ति को थिए भनेर थाहा हुँदैन र?

बाह्रखरीमै लेखिएको छ, ‘त्यसबाहेक उनीहरूले बनाएको लेनदेनको कागजबारे पुष्टिका लागि दुबै जना वडा कार्यालसमेत पुगेको खुलेको छ।’ प्रहरीले वडा कार्यालयको सिसिटिभी फुटेज चेक गरोस्। म वडा कार्यालय पुगेकै छैन।

र, अन्तिम कुरा, लामाले जुन जग्गाको कुरा गरेका छन्। त्यस विषयमा भन्नुपर्दा मैले आजसम्म गणेश लामा वा लामाको परिवार कसैसँग पनि जग्गाको कुनै कारोबार गरेको छैन।

त्यो फोटो मलाई बन्धक बनाएर राखेको होटलको रुमको हो। सहदेव बेडमा बसिराखेका थिए, सायद सहदेवले खिचेको हुनुपर्छ। किनकि, होटलको रूममा सिसिटिभी क्यामेरा राखेको हुँदैन र राख्न पनि पाउँदैन। लन्डन होटलको पहिलो तलाको कर्नरको रुममा गएर हेरियो भने यो रुम देख्न पाइन्छ। र, यो न्युज अनुसार प्रहरीले फाइल नै बन्द गरिएको र मिलापत्र गर्न पठाइएको भन्ने छ, त्यो जानकारी छैन। कानुनी सलाहकारहरूसित छलफल गरेर म खन्डन गर्नेछु।

यसरी न्युज निकालेर जघन्य अपराधलाई ढाकछोप गर्न लागेको महसुस गरेको छु।

मैले प्रष्ट भनेको छु – बिहान ७ बजेदेखि मलाई निगरानीमा राखेर भोकभोकै कुरेकोले फ्राइड राइस र म:म मगाएर खाएका छन्। बिहानै ७ बजेदेखि कति बेला घरबाट निस्किन्छ भनेर निगरानी गर्दै बसेको भनेका थिए र मलाई लगभग दिउँसो १ बजे मात्र धोलाहिटीबाट उठाएका थिए।

जस्तो धम्की आउँदा पनि आँट गरेर जाहेरी दिएको छु।

(याे लेखमा स्वयं लेखक खड्काकाे नितान्त निजी विचार रहेकाे छ ।-सं.)

न्यूज करखाना

महोत्तरी, ११ फागुन ।
महोत्तरीका पालिकाहरूमा मेयर र उपमेयरको  जिम्मेवारी र अधिकार क्षेत्रको विषयमा वेलावेलामा प्रश्न उठ्ने गर्दछ ।संविधानले निदृष्ट गरेका काम, कर्तव्य र अधिकारका विषयमा जानकार बन्न नसक्दा मेयरले उपमेयरका जिम्मेवारी हस्तक्षेप गर्ने र उपमेयरले मेयरका अधिकार क्षेत्र हस्तक्षेप गर्ने जस्ता कार्यहरू चर्चाको विषय बन्ने गरेको छ ।

 

अझ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार स्पष्ट विभाजन गरिदिएको छ । यसमध्ये उपमेयरले मुख्यतः  न्यायिक समितिको संयोजक भई कार्य गर्ने, प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने जस्ता रहेका छन् ।

तर, गौशाला नगरपालिकामा भने उपमेयर रेणु कुमारी महतोले प्राप्त जिम्मेवारीहरूलाई कार्यान्वयन गर्न खोज्दा मेयर दिपेन्द्र महतोले छेक्ने र विफल बनाउने भूमिका खेलेको आरोप छ ।

 

योजना तथा कार्यक्रमको अनुगमनमा कडाइ गर्दा मेयरको निशानामा

राजनीतिक पृष्ठभूमिमा नै हुर्किएकी उपमेयर महतोका बुबा सर्लाही बरहथवा नगरपालिकाका पूर्व मेयर हुन् । बुबा मेयरमा निर्वाचित भएदेखि जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारको खोजी गर्न लागेकी महतो गौशालामा आफैँ उपमेयरमा निर्वाचित भइन् ।

 

पहिला त उनले उपभोक्ता समिति, ठेकेदारहरूले गरेको कामको निगरानी बढाइन् । अनुगमनको क्रममा भएका कामहरू निकै कमसल र गुणस्तरहीन भएको पहिचान गरेपछि भुक्तानी रोक्न सिफारिस गर्ने प्रक्रियाअगाडि बढाएकी थिइन् ।

 

‘विकास निर्माणका कामहरूमा निगरानी बढाउन थालेपछि यो टाउको दुखाई ठेकेदारको मात्र बनेन,’ उनले भनिन्, ‘स्वयं मेयर  दिपेन्द्रले नै आपत्ति जनाउनुभयोे, मलाई रोक्ने प्रयास भयो ।’

 

स्थानीय सरकार संचालन ऐन २०७४ मा उपमेयरले अनुगमन गरेपछि यदि चित्त नबुझेको खण्डमा भुक्तानी रोक्न सकिनेसमेत उल्लेख छ ।  निर्वाचित भएदेखि नै विकासका कामहरूको अनुगमनमा लागेकी उपमेयरले दर्जनाँै कामहरू गुणस्तरहीन भएको पहिचान गरिन् ।

 

यही विषय नै मेयरको मुख्य असन्तुष्टि बन्यो । त्यसपछि उपमेयरले प्रमाणित नगरेका कतिपय विकास निर्माणका कामहरूको भुक्तानी धमाधम हुन थाल्यो ।

 

कर्मचारीहरूको समेत असहयोग

गुणस्तरहिन कामहरूको पहिचान गरेपछि भुक्तानी रोक्न योजना शाखालाई उपमेयर रेणुले निर्देशन दिए पनि मेयरको आडमा भुक्तानी भएको छ ।पटकपटक लिखित, मौखिक निर्देशन दिए पनि कर्मचारीहरूले अटेर गरेपछि उपमेयरले सुरुमा फाइल नै नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् ।

 

यही विषयमा कर्मचारीहरूले मेयरको उक्साहटमा लागेर हातपात गरेको आरोप समेत लगाए । उनिहरूले कारबाहीको माग गर्दै उपमेयरविरुद्ध सामूहिक विज्ञप्तिसमेत निकालेका थिए ।

 

‘तर, मैले त्यसको बेवास्ता गर्दै आफ्नो काम, कर्तव्य र अधिकारलाई निरन्तरता दिइरहेँ,’ उपमेयर रेणुले भनिन्, ‘उनीहरूले तोड्न खोजे, मैले रोक्न खोजे ।’  यदपी केही कर्मचारीहरूले भने उपमेयरविरुद्ध विज्ञप्ति निकाल्नु बाध्यता रहेको प्रतिक्रिया दिएका थिए ।

 

उपमेयरलाई सशंकित बनाउने प्रयास

उपमेयर महतोले आफ्ना अधिकार क्षेत्रमा आक्रामक ढंगले लाग्न थालेपछि कमिसनको प्रतिशत लिने कर्मचारीदेखि जनप्रतिनिधिहरूको टाउको दुखाई बनेको स्थानीय बताउँछन् ।

परिणामस्वरूप उनलाई एक्ल्याउने, मनोबल कमजोर बनाउने र मेयरको स्वार्थअनुसार काम गर्न बाध्य बनाउने चलखेल सुरु भयो । यही क्रममा उनी चढेको गाडीलाई पछ्याउने, आक्रमण प्रयाससमेत हुन थाल्यो । मेयर समर्थक केही समूहको उपमेयरलक्षित हुलहुज्जत बढ्न थालेपछि उनले मेयरबाटै आफ्नो ज्यानको असुरक्षा भएको भन्दै पत्रकार सम्मेलन गरेर उपमेयर रेणुले सार्वजनिक रुपमा जानकारी गराएकी थिइन् ।

गत जेठमा पत्रकार सम्मेलन गर्दै उपमेयर रेणुले अधिकारको बेवास्ता गरी मेयर डा. दिपेन्द्र महतोले आफूखुसी गर्न खोज्ने र आफू अनुकूल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियमविपरीत काम गर्न दबाब दिएको बताएकी थिइन् ।

सम्पूर्ण अधिकारलाई बाइपास गर्दै मेयरले गरेको अनैतिक कार्यमा संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि सांघातिक आक्रमणमा समेत उत्रिएको उपमेयर रेणुको आरोप छ । उनलाई सोही समयमा कार्यकक्षमा नै मेयरका नाता पर्ने व्यक्तिहरूले हातपातको प्रयास समेत गरेका थिए ।

 

अदालतको सहारा

नगरप्रमुख दिपेन्द्र महतोले उपमेयर विना नै धमाधम निर्णय गर्न थालेपछि उनले अदालतको सहारा लिन सुरु गरिन् । यसअघिको नगरसभामा नगरप्रमुख महतोले मनोमानी ढंगले निर्णय गरेको भन्दै अदालतमा पुगेकी उपमेयर कै पक्षमा फैसला भएपछि नगरप्रमुख थप आक्रामक बनेका थिए ।नगरसभा कार्यान्वयन नगर्न जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आफूलाई थप सुरक्षाको चुनौती बढेको उपमेयर रेणु बताउँछिन् ।

 

उपमेयरको चालक मेयरको निशानामा

एकदिन उपमेयर जनकपुर जाँदै थिइन् । एक्कासि लालगढमा पुगेपछी उनको गाडी ट्राफिक प्रहरीले रोके । जनताको कामले नै जनकपुर जान लागेकी उपमेयरलाई ट्राफिक प्रहरीहरूले विना कारण झन्डै १ घण्टा त्यहीँ रोके ।

१ घण्टापछि मेयरको चालक त्यही बाटो भए आए अनि उपमेयरलाई यति लामो समयसम्म रोकेछन् भन्दै सान्त्वना दिन थाले । उपमेयरलाई यो हर्कत मेयरको नै निर्देशनमा हो भन्ने शंका लाग्न थाल्यो ।

अर्कैलाई गरेको फोन अचानक उपमेयरको ड्राईभरलाई आयो र मेयरकै निर्देशनमा उपमेयरको गाडी रोकिएको उक्त आवाजवाट पुष्टि भयो । सोही रेकर्ड सुरक्षित गरेर ड्राईभरले उपमेयरलाई मात्र त्यो आवाज सुनाएनन् कानुनी प्रक्रियामा समेत पुष्टि गर्ने आधार बनेपछी उनी पनि मेयरको निशाना बनेका थिए ।

 

यहीबीचमा मेयरले अनुशासनको कारण देखाउँदै उपमेयरको चालकलाई निष्काशन गरे । पछि रोक्ने प्रहरीकाविरुद्ध कानुनी प्रक्रियाअगाडि बढाएपछि उनले समेत मेयरकै नाम लिएका थिए ।

 

चेतावनीकाे एक वर्षपछि उपमेयरको गाडीमा आगजानी

नगरप्रमुख दिपेन्द्र महतोले करिब एक बर्ष अगाडि भनेका थिए, ‘ड्राईभर मैले भनेको राख्नुस्, नत्र गाडीमा केही भयो भने हामी जिम्मेवारी हुने छैनौँ ।’

उपमेयर महतोले गाडी आगजानी भएपछि सवैभन्दा पहिला मेयरले भनेको कुरा सम्झिन् । विहान उठेर हेर्दा उनी चढ्ने  प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा दायाँतर्फको टायर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने पछाडि आधा भाग जलेको थियो ।

आफ्नै घरमा पार्किङ गरेर राखेको गाडी आगजनी भएपछि उपमेयर रेणुले पहिले मेयरले गरेका हर्कतहरू सम्झिन् । ‘मलाई मेयरले दिएको चेतावनी मात्र हैन गाडी पछ्याउनेदेखि सांघातिक आक्रमण यसैको शृङ्खला हो भन्ने लाग्यो ।’

मेयरप्रति उनी निकै सशंकित बनिन् । प्रहरीलाई खवर गरिन् ।  तर, दोषी अझै पक्राउ परेका छैनन् भने मेयरको निर्देशनमा अन्य जनप्रतिनिधिहरू उपमेयरलाई दोषी देखाउन थालेका छन् । अझ बनिबनाउ निर्णय कार्यापालिका वैठकमा प्रस्तुत गरि उपमेयरलाई गाडी आगजनी हुनुमा दोषी देखाइएको छ ।

 

कार्यापालिकाको बैठकमा उपमेयर नै दोषी रहेको निष्कर्ष

गत माघ २६ गते बसेको बैठकले उपमेयरले नै सुरक्षा सतर्कता नअपनाएको भन्दै सम्पूर्ण दोष लगाइएको छ  । घटना घटेको थाहा पाउनासाथ खोजतलास गर्ने प्रयास नगरिएको, रिस उठेको व्यक्तिलाई आरोप लगाइएको, व्यक्तिगतरुपमा आफैले ड्राईभर राखेको जस्ता आरोप लगाउदै गाडीको क्षतिपूर्ति र ममर्तसम्भार खर्च आफैँले बेहोर्नु पर्ने निर्णय गरिएको छ ।

दोषीलाई तत्काल खोजी गर्न पनि उपमेयरलाई बैठकबाट नै निर्देशन दिएको छ । तर, उपमेयर रेणुले सोही बैठकको निर्णय १०औँ बुँदामाथि आपत्ति जनाएकी छन् । घरमा नै राखेको ठाउँमा आगजानी गर्दा पनि दोषी उपमेयरलाई नै बनाएर मेयरले घटनालाई गुपचुप बनाउन खोजेको कतिपय स्थानीयको आरोप छ । स्थानीयले मेयरमाथि नै अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

 

माइन्युटको खाका तयार गरेपछि मात्र बैठक

स्थानीय सरकार संचालन ऐन २०७४ मा बैठकमा एजेन्डाहरू प्रस्तुत गरेर छलफल गरेपछि मात्र निर्णयको सहमति र असहमति लिने प्रचलन छ ।तर, नगरप्रमुख लगायत केही व्यक्तिहरू बसेर निर्णय र छलफलपछि मात्र हस्ताक्षर गर्न माइन्युट बैठकमा पेश गरिने उपमेयर रेणु  बताउँछिन् ।

 

‘एजेन्डाहरू पारित गर्नुभन्दा पहिला सन्तुष्टि, असन्तुष्टि रहन सक्छन । तर, त्यो नगरिकन सिधै हस्ताक्षर गर्न पेपर अगाडि ल्याइन्छ,’ उनले भनिन्, ‘वास्तवमा लोकतान्त्रिक प्रक्रियामा यो जत्तिको निरकुंश के नै हुन सक्ला र ।’

 

के विषयमा छलफल हुँदै छ भन्ने समेत थाहा नदिइकन कार्यापालिकामा हस्ताक्षर गर्ने प्रक्रिया लोकतान्त्रिक नभएको भन्दै उनले मेयर दिपेन्द्रको अत्याचार बढ्दै गएको बताइन् ।

 

बैठक लाइभ गर्न माग

उपमेयर महतोले नगरपालिकामा हुने सम्पूर्ण निर्णय सार्वजनिक गर्न माग गरेकी छन् । जनतावाट निर्वाचित जनप्रतिनिधिहरूले गरेको निर्णय र छलफल जनताले सुन्न र हेर्न पाउने अधिकार रहेको उनको भनाइ छ ।

‘जनतालाई लुकाएर गर्नुपर्ने निर्णय नै के पो हुन्छ र । यसमा पार्दर्शी हुनुपर्छ,’ उनले भनिन्, ‘जनताको कार्यापालिकामा जनताले थाहा पाउनुपर्छ कि आफ्ना जनप्रतिनिधिहरूले के–के गरिरहेका छन् भनेर ।’

मेयर दिपेन्द्रले गर्ने रवैया मात्र हैन आफूहरूको समेत मुल्यांकन कार्यापालिका बैठकवाट नै जनताले गर्न सक्ने बताउँदै लाइभ गर्ने विषयलाई अस्वीकार गर्नु गलतलाई प्रश्रय दिइरहेको प्रमाणित हुने उपमेयर रेणु बबताउँछिन् । आफू यस्तै बेथितिविरुद्ध लडिरहेको उनको भनाइ छ ।

तर, नगरप्रमुख दिपेन्द्र महतोले उपमेयरले लगाएको सबै आरोप निराधार झुटो रहेको भन्दै खण्डन गर्छन् । सुशासनको लागि आफू लागिपरेको बताउदै उनले उपमेयर रेणु स्वयं बिफल बनाउने अभियानमा लागेको आरोप लगाए ।

आर्थिक समृद्धिका कामहरू अगाडि बढेको र आफ्नो कार्याकालमा महसुस हुनेगरी विकास गर्ने उनको दाबी छ । न्युज कारखाना

काठमाडौँ, ११ फागुन ।

नामिबियाले नेदरल्याण्डसलाई २०४ रनको लक्ष्य दिएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको हो ।

नामिबियाका लागि जान निकोलले सर्बाधिक ४९ रन बनाएका थिए भने मलान क्रुगेरले ३९ र जान फ्राइलिंकले ३४ रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्डसका बलर भिभियान किन्ग्माले सर्बाधिक ३ विकेट लिए भने आर्यन दत्तले रोएलोफ भान डेरले २-२ विकेट लिएका थिए ।न्युज कारखाना

हङकङ, ११ फागुन ।

हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो।

 

आउँदो १० मार्चमा जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाउन लागिएको एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले जानकारी दिइन्। कार्यक्रममा अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथि रहनेछिन्।

 

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङमा कार्यरत नेपालीहरूलाई विदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो । कार्यक्रमबारेमा बिहीवार एनआरएनए हङकङको कार्यालयमा एक कार्यक्रमको जानकारी गराइएको थियो।

 

डिस्ट्रिक्ट काउन्सिल मेम्बर अरुणा गुरुङको प्रमुख आतिथ्यमा भएको जानकारी सभामा एनआरएनएकी केन्द्रीय महिला सचिव राधिका गुरुङ (टीका) एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, महिला संयोजक कविता गुरुङलगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई सफल बनाउ हङकङस्थित अन्य सामाजिक संघ–संस्थाले पनि हातेमालो गर्ने भएका छन्। नमोबुद्ध धर्म सेन्टर, तमु ट्हो ह्युलको महिला विभाग, किरात राई चाम्लिङ खाम्बातिमको महिला विभाग, मिसेस नेपाल हङकङ टिम, मगर महिला संघ, हेभेन्ली पाथ र तामाङ घेदुङलगायतका संघ–संस्था सहआयोजकका रुपमा छन्।न्युज कारखाना

 

 

 

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।