इस्लामबाद, २१ फागुन ।
पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् ।
सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबाट शिक्षक निकै रिसाए र बदला लिने नियतले एसिड प्रहार गरे । घटनामा विद्यार्थीका दुई आफन्त पनि जलेका छन् ।
जियो न्यूजका अनुसार घटना शनिबार भएको र आइतबार प्रहरीले यसबारे जानकारी गराएको थियो । कराँचीको पोश क्षेत्र निपा चौरङ्गीमा एउटा विद्यालय छ, अलिशा नामकी ती विद्यार्थी त्यहाँ पढ्छिन् । शनिबार कक्षामा शिक्षक इफ्तिखारसँग उनको झगडा भएको थियो ।
स्कुल सकिएपछि अलिशाका दुई मामा उनलाई लिन स्कुल आए । इफ्तिखार विद्यालयबाहिर एक ठाउँमा एसिड प्रहार गरी उभिएका थिए । उनले पहिले अलिशासँग झगडा गरेपछि उनीमाथि एसिड हाने । अलिशाका मामाले उनलाई रोक्न खोजे तर उनीहरू शिक्षकले हानेको एसिडबाट जल्न पुगे ।
घटना लगत्तै आरोपी इफ्तिखार पक्राउ परेका थिए । अलीशा हाल कराँचीको एक अस्पतालमा भर्ना छिन् । उनका काका नोमान र फैजान डिस्चार्ज भएका छन् ।
अलिशाका मामा नोमानले शिक्षक इफ्तिखार विरुद्ध उजुरी दिएका छन् । यसमा भनिएको छ, ‘मेरी भान्जी अलिशा उनको आईटी प्रमाणपत्र लिन स्कूल गइन्। यहाँ उनले कक्षामा गएर शिक्षक इफ्तिखारसँग यसबारे सोधिन् । केही समयपछि अर्का शिक्षक अरशद यहाँ आइपुगे । उनले अलिशासँग पनि दुर्व्यवहार गरेका थिए ।’
यसपछि अलिशाले घर गएर मामालाई यसबारे जानकारी गराइन् । केही समयपछि उनी मामासँग विद्यालय पुगिन् । दुवैले इफ्तिखारलाई सोधपुछ गर्दा उनी रिसाए । फर्कने क्रममा उनले अलिशा र उनका दुई मामामाथि एसिड प्रहार गरेका थिए । जसका कारण उनी जलेका हुन ।
गत महिना २२ जनवरीमा पनि २२ वर्षीया विद्यालय शिक्षिकामाथि एसिड प्रहार गरिएको थियो । यो घटना लाहोरको हो । उनीसँगै काम गर्ने एक शिक्षकले महिला शिक्षिकालाई विवाहको प्रस्ताव गरेका थिए तर महिला शिक्षिकाले त्यसलाई अस्वीकार गरिन् । यसबाट आक्रोशित भएर उनले उक्त घटना गराएका थिए।
उक्त घटनामा महिला शिक्षिका गम्भीर घाइते भएकी छन् भने उनी अहिले पनि लाहोरको एक निजी अस्पतालमा भर्ना छन् । अभियुक्त पक्राउ परेका छन् ।न्युज कारखाना
पेरिस, २१ फागुन ।
युरोपेली देशहरूले अवैध रूपमा आउने मानिसहरूलाई रोक्न कडा कारबाही गरिरहेका छन्। बेलायतले रुवाण्डा शरणार्थी प्रक्रिया सुरु गरेको छ। फ्रान्स यस मामिलामा थप कडा बनेको छ।
फ्रान्सले महिना शरणको नाममा अवैध रुपमा त्यहाँ बसोबास गरिरहेका २३ हजारलाई देश निकाला गरिने भएको छ । यसमा सिरिया, इराक, पाकिस्तान र मोरक्को, ट्युनिसिया, लिबिया, इजिप्ट जस्ता केही एसियाली र अफ्रिकी देशहरू सहित १० देशका मानिसहरू समावेश छन्।
यस कार्यलाई फ्रान्समा कट्टरपन्थीको वृद्धि र अगस्टमा हुने ओलम्पिक खेलको तयारीका रूपमा हेरिएको छ। गत वर्ष मात्र फ्रान्सले ३८ हजार मानिसलाई डिपोर्ट गरेको थियो । ती मानिसहरू अबैध रूपमा फ्रान्समा बस्दै आएका थिए र ती मध्ये अधिकांश घुसपैठकर्ता थिए ।
पछिल्लो समय फ्रान्समा कट्टरपन्थीसँग सम्बन्धित घटनाहरू भएका छन्। डिसेम्बरमा पेरिसमा एक जर्मन पर्यटकलाई आक्रमणकारीले छुरा प्रहार गरी हत्या गरेका थिए। आक्रमणकारी अफगानिस्तान र गाजामा मुस्लिमहरूको मृत्युलाई लिएर क्रोधित थिए। १३ अक्टोबरमा अरासको एक विद्यालयमा चक्कु प्रहारबाट एक शिक्षकको मृत्यु भएको थियो । जुनमा एक सिरियाली नागरिकले अल्पाइनमा चार बालबालिकालाई घाइते बनाएको जस्ता घटना तिब्र रूपमा बढीरहेको छ ।
यस वर्ष फ्रान्सले पनि पछिल्लो दशककै सबैभन्दा खराब दंगाको सामना गर्यो। यी घटनाहरू अवैध आप्रवासीहरूसँग पनि जोडिएका थिए। जसका कारण फ्रान्सले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । उसको घुसपैठ प्रतिको मनोवृत्ति यसबाट अनुमान लगाउन सकिन्छ कि यसले १२ घण्टा भित्रै फ्रान्सेली झण्डाको अपमान गर्ने ट्युनिसियाका धार्मिक नेता इमाम महजुब महजोबीलाई देश निकाला गरेको थियो।
घुसपैठलाइ रोक्न इमानुएल म्याक्रोन सरकारले आप्रवासन विधेयक पारित गरेको छ। म्याक्रोनले कानुन पास गरे पनि उदारवादी लोकतन्त्रको संरक्षक भएको मुलुकको छविमा आँच पु¥याएको भन्दै विपक्षीहरुले यसको विरोध गरिरहेका छन् ।
जनवरीमा घोषणा गरिएको कानूनलाई वामपन्थी विपक्षीहरूले जातिवादी भनेर आलोचना गरे तर अति दक्षिणपन्थी रिसेम्बल नेशनल संसदीय समूहका अध्यक्ष मारिन ले पेनले यसलाई ‘वैचारिक विजय’ भनेर स्वागत गरेका थिए । विज्ञहरूका अनुसार युरोपभर आप्रवासी नीतिलाई कडा बनाउन यो कानुन ल्याइएको हो।
राष्ट्रिय सभामा बहुमत नपुगेका कारण म्याक्रोनले अति दक्षिणपन्थी गुटबाट चुनौती सामना गरिरहेका छन् । विधेयक पारित गराउन उनी सरकार बाहिरका दलमा पनि भर परेका छन् । नयाँ कानून अन्तर्गत आप्रवासीलाइ आफ्ना परिवारका सदस्यहरूलाई फ्रान्स ल्याउन अझ गाह्रो हुने भएको छ ।
फ्रान्सले आप्रवासनमा ठूलो परिवर्तन गरिरहेको छ। यस अन्तर्गत मानव अधिकारको युरोपेली अदालतले घुसपैठ गर्नेहरूलाई उनीहरूको मुद्दाको सुनुवाइ अघि नै देश निकाला गर्न सक्छ। फ्रान्सले मानवअधिकार अदालतमा निर्वासनको अपील गर्नु अघि खतरा हुन सक्ने घुसपैठहरूलाई निष्कासन गर्न चाहेको फ्रान्सेली मिडियाले जनाएका छन ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।
ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न अा- आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन् । भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो ।
यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन् । प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन् भने विहिबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ । त्यसपछि शिर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन ।
गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ ।
जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गाेपनियताकाे सपथ लिदैँछन् ।
साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिदैँछन् ।
उता, हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।
यसअघि निर्वाचित भएका मध्ये एमालेबाट निर्वाचित भइ राष्ट्रियसभा अध्यक्षकाे जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
जसअनुसार हिजो पदावधी सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन भने कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालिन राष्ट्रपति बिधादेवी भण्डारीले मनोनीतमा परेकी डा.विमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
आज सत्तारूढ गठबन्धनको बैठक बस्दैँछ ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ८ बजे बोलाइएको छ ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।
हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।
ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाइ अर्थपुर्ण रूपमा हेरिएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेश गर्ने कार्यसुची रहेको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ.ब. २०८१ /८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युज कारखाना
आज मिति २०८० साल फागुन २१ गते तदअनुसार मार्च ४, सन् २०२४ सोमवार, कृष्ण पक्षको अष्टमी/नवमीतिथि, जेष्ठा नक्षत्र, बज्र योग, बृश्चिक राशिमा चन्द्रमा ।
अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म,
• काठमाण्डौमा सुर्योदय: बिहान ०६:२६
• सुर्यास्त: बेलुका ०६:०७ बजे
• मेषः स्पष्टताले धेरै उपयोगी बनाउनेछ, त्यसैले आफ्नो विचार व्यक्त गर्न नहिचकिचाउनु होस् । यथार्थवाद असफल हुनेछैन। आफ्नो दिमाग प्रयोग गर्ने काममा आफूलाई डुबाउन सजिलो पाउनु हुनेछ। प्रेम तथा परिवारको भविष्यका लागि केही स्वस्थ निर्णयहरू लिनुहुन्छ।
शुभ रङ तथा अंक : हरियो, ८
• वृषः उर्जाले तपाईलाई आन्तरिक संवाद र आदान प्रदानतर्फ धकेलिरहेको छ, जसले तपाईको हृदयलाई न्यानो पार्छ र तपाईको मनोबल बढ्नेछ । प्रेम तथा परिवारको आलोचनाहरूलाई अनुमोदन गर्नुहोस । क्षमताको लागी एक हतियार हुनेछ र तपाइँलाई अगाडि धकेल्नेछ।
शुभ रङः कालाे
अंक: ३
. मिथुनः वरपरका मानिसहरूबाट प्रशंसा कमाउनुहुनेछ र तपाईंको बाटोमा केही पनि खडा हुने छैन। आज विजय तपाईको पक्षमा हुनेछ । धेर्यता तथा हनुमानभक्त हुन आवश्यक छ । प्रेम तथा परिवारको लागि विश्वास र आत्मविश्वासले तपाईंलाई अगाडि बढाउँछ। आफ्नो विचार आदानप्रदानमा धकेल्न सक्षम बनाउँछ।
शुभ रङः राताे
अंक: ६
. कर्कटः आज दिन राम्रो छ । कामहरू हतारमा निर्णय नलिनु होला । साथि परिवारसँग प्रेम प्रगाढ हुनेछ । प्रेमी वा जीवनसाथिको स्वास्थ्यमा सामान्य समस्या देखिनसक्छ ।
शुभ रङः पहेंलो
अंक- ४
सिंहः समग्रमा आज दिन मध्यम छ । रिस्कको काममा सफलता हुन सक्छ । तर स्वास्थ्यमा ध्यान दिनुहोला । सवारी चलाउँदा सावधानी अपनाउनुहोला। प्रेममा सामान्य मतभेद हुनसक्छ । अर्को दिन पुन मिल्न हुने भएकोले बोल्न निर्णय आज नगर्दा राम्रो हुनेछ ।
शुभ रङः कालाे
अंक: ५
कन्याः धर्ममा मन जानेछ । भाग्यले आशा देखाउनेछ । परिवारको प्रेम मिल्नेछ । स्वास्थ्यमा सामान्य धन खर्च हुनेछ । आजको दिन राम्रो छ ।
शुभ रङः निलाे
अंक: ६
तुलाः काममा लापरवाह नगर्नु होला । स्वास्थ्यमा सुधार महसुस हुनेछ । साथिभाईको सहयोग मिल्नेछ । प्रेम तथा परिवारमा खर्च हुनेछ । समग्रमा दिन मध्यम छ ।
शुभ रङः सेताे
अंक: ९
वृश्चिकः आफ्नो वरपर कसैसँग अप्रत्याशित साझा आधार फेला पार्न जाँदै हुनुहुन्छ। अरूलाई न्याय गर्ने दिन छ । आफैंमा धेरै कठोर हुनुहुन्छ र थकान बेवास्ता नगर्नूहोला । प्रेम तथा परिवारको विषयमा गम्भीरतापूर्वक निर्णय लिन गाह्रो हुनेछ र वरपरका मानिसहरूले तपाईको प्रशंसा गर्नेछन्।
शूभ रङः पहेलाे
अंक: २
धनुः तपाईंको सम्बन्ध बिस्तारै विकास गर्ने क्षण हो। प्रगतिको लागि भाग्यले साथ दिनेछ । आफ्नो प्रेम तथा परिवारमा मनहरू जोड्नुहोस्, तपाईं सही मार्गमा हुनुहुनेछ ।
शुभ रङः हरियाे
अंक: १२
मकरः वरपरको सम्बन्धमा भएको विकासले आन्तरिक कल्याणको अनुभूति दिनेछ। मित्रबाट हृदयमा न्यानोपन पाउनु हुनेछ। कसरत लिन आवश्यक छ। यसका लागि केही समय छुट्याउनुहोस्। प्रेम तथा परिवार जटिलताहरूबाट बच्न निरन्तर सम्पर्कमा रहनूहोस।
शुभ रङः सेताे
अंक: ७
कुम्भः पूर्ण रूपमा खुसी हुनुहुन्छ र जीवन सन्तुलन स्थापना गर्दै हुनुहुन्छ। आज गरिएका कामहरू संघर्षमा साथ सफल हुनेछन् । विशेष गरी लगनशीलता हुन आवश्यक छ ।
शुभ रङः अाकासे निलाे
अंक: १०
मिनः दिमागमा भएको कुरा व्यक्त गर्न पूर्ण रूपमा स्वतन्त्र हुनु हुनेछ । यसले सकारात्मक परिणाम पाउनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । आफ्नो स्वास्थ्य आफैले जाँच गर्नुहोस् र रातो फल खानुहोस्। प्रेम तथा परिवारको लागि तपाई सामान्य भन्दा बढी लापरवाह हुनु हुनेछ, ध्यान दिनुहोला ।
शुभ रङः सुनाैंलाे
अंक: ४
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरिएको हुन्छ । जन्म कुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
(राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्, सल्लाह, सुझाव र परामर्शको लागि : ९७६६८९५२१३)
तपाईंको दिन राम्रो र सुखद होस् भन्ने आशाका साथ शुभकामना ।न्युज कारखाना
इस्लामबाद, २० फागुन ।
पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् ।
शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । पीएमएल-एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गरेका छन्।
प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गरे ।
आफ्नो जितको घोषणापछि शहबाजले जेठा भाइ नवाजलाई अँगालो हालेकाे पाकिस्तान समाचार संस्था ‘डान’ ले जनाएकाे छ । उसका अनुसार प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन् । १ मिनेट २४ घण्टाको भाषणमा शाहबाजले भने– ‘गाजामा प्यालेस्टाइन र भारतमा कश्मीरी माथि दमन भइरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय समुदाय मौन छ । हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ।’
यस अघि शाहबाजले भनेका थिए, ‘मेरो भाइ तीन पटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैंमा उदाहरण हो । नवाज शरीफले पाकिस्तानलाई खडा गरेका हुन् भन्नु गलत होइन । अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन।’
शाहबाज शरीफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गरेका छन । उनले भने, पीएमएल एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन्। यस संसदमा पाकिस्तानको डुङ्गा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन्। यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पर्छन्।’
शाहबाजले अगाडी भने, ‘मेरो जेठो भाइ नवाजले देशलाई हानि गर्ने बारे कहिल्यै सोचेका छैनन्। पुरानो शासन (इमरान खानको शासन) लाई उद्धृत गर्दै उनले भने, उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन्।’
प्रधानमन्त्री शरीफले थप भने– ‘यो नेतृत्व र त्यो नेतृत्वमा फरक छ । हामीले कहिल्यै बदलाको राजनीतिको बारेमा सोचेका छैनौं भन्ने कुराको सम्पूर्ण भेला साक्षी हो । हाम्रो शासनकालमा कुनै पनि भवन भत्किएको छैन । तर, वैशाख ९ गते सेनाको मुख्यालय र सरकारी भवनमा आक्रमण भएको दिन देशले देख्नु लज्जास्पद छ ।’
सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए ।न्युज कारखाना
महाेतरी, २० फागुन ।
महोत्तरीको रातु खोलामा भएको अवैध उत्त्खनन रोकिनुपर्ने माग राखेर सर्वोच्च अदालत पुगेका बर्दिवासका नागरिकको मागलाई अदालतले अनुमोदन गरेको छ ।
निवेदकहरुले पेश गरेको प्रमाणलाई आधार वनाएर आज सर्वोच्च अदालतले उत्त्खनन कार्यलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो ।
अधिबक्ताहरू पदम बहादुर श्रेष्ठ, राजु फुयाल, सुधनराज आचार्य , बिष्णु कुमार थोकर र सुदिप कुमार भुजेलले गरेको बहसमा न्यायाधिश आनन्दमोहन भट्टराईको इजलासले रातु नदीमा भएको उत्त्खननलाई अवैध भएको ठहर सहित तत्काल रोक्न आदेश जारी गर्दै १९ चैत्रमा विपक्षीहरुलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ ।
पर्यावरणलाई असर वनाउनेगरी मापदण्डको समेत धज्जी उडाएको भन्दै बर्दिवासका स्थानीय शंकर महतो, श्याम खडका, चेत कुमार थापा, परशुराम बस्नेत, निरज अधिकारी, रामजतन महतो र बिमलेश महतोले १७ फाल्गुनमा रिट दायर गरेका थिए ।
रिट निवेदकहरुले पेश गरेको प्रमाणलाई हेर्दा आईई रिपोर्ट र मापदण्डलाई अनुसरण नगरेको अदालतको निष्कर्ष छ ।
स्वच्छ र स्वस्थ वातावरण, स्वस्थ जिवन र मानवअधिकारको आधार रहेको सन्दर्भमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन हुदा वातावारनिय हानि हुन जाने र मानवअधिकारमा पार्ने प्रतिकुल असर र हालको दोहानवाट उक्त नदीमा क्षति पुग्न गएको अवस्थालाई दृष्टिगत गरी यस्तो कार्य तत्काल रोक्न आवस्यक देखिएकाले अन्तरिम आदेश जारी गर्नुपरेको अदालतले जनाएको छ ।
निवेदकको तर्फवाट बहस गर्ने अधिबक्ता पदम बहादुर श्रेष्ठले अदालतले आदेश जारी गरेसँगै उत्त्खनन तत्काल रोक्नुपर्ने वताए । ‘आजैवाट सर्वोच्च अदालतको आदेश कार्यान्वन हुने हुदा जस्ले उत्त्खनन गरेतापनि तुरुन्त बन्द गर्नुपर्छ ।’ उनले भने । ‘बर्दिवास लगायत नदीको तटिय क्षेत्रमा बस्ने मानिसहरुको लागी सर्वोच्चवाट ठुलो न्याय भएको छ ।’
उत्त्खनन, विक्रिवितरण र ओसारपसार आजैदेखि बन्द नगरे अदालतको मानहानि समेत हुन् सक्ने अधिबक्ता श्रेष्ठको भनाई छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महोतरी जिल्ला समन्वय समिति, महोतरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय महोतरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातादोवाटो ललितपुरलाई विपक्षी बनाइएको थियो ।न्युज कारखाना