काठमाडौं, २१ फागुन ।
सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले पर्ख र हेरको नीति अबलम्बन गर्ने भएको छ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य ताडेर एमाले, रास्वपा लगायत दलसँग नयाँ सत्ता समीकरण गरेसँगै एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवाहारका आधारमा निर्णय लिने निर्णय गरेको हो।
आज अध्यक्ष माधवकुमार नेपालको निवासमा बसेको सचिवालयको आकस्मिक बैठकले नयाँ गठन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रष्ट भएपछि मात्रै ठोस निर्णय लिने जनाएको छ। समाजवादीले तत्कालका लागि एमालेसहितको गठबन्धनप्रति मध्यमार्गी धारणा सार्वजनिक गरेको छ।
बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरी अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ समीकरणको उदेश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भैसकेको छैन । तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण(दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ।’
माओवादी केन्द्र समाजवादीलाई पनि नयाँ गठबन्धनमा सहभागी गराएर जानुपर्ने पक्षमा छ।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ ।
एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।
सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे पछि हाइटी सरकारले आइतबार ७२ घण्टाको आपतकाल घोषणा गरेको हो । जेल ब्रेकमा कम्तिमा १२ जनाको मृत्यु भएको थियो र करिब ३,७०० कैदीहरू भागेका थिए।
गिरोहका नेताहरूले विदेश भ्रमण गरेका प्रधानमन्त्री एरियल हेनरीलाई जबरजस्ती राजीनामा चाहेको बताएका छन्। उसलाई हटाउने समूहहरूले पोर्ट ओ प्रिन्सको लगभग ८० प्रतिशत भाग नियन्त्रण गर्छन्। गिरोह हिंसाले हाइटीलाई वर्षौंदेखि ग्रस्त बनाएको छ।
वास्तवमा गत फ्रेवुअरी २९ मा देशमा रहेका आपराधिक गिरोहका सदस्यले धेरै सरकारी संस्थामा आक्रमण गरेका थिए । उनीहरुले जेलमा आक्रमण गरेपछि लगभग ४ हजार कैदी भागेका थिए ।
यी हतियारधारीहरूले देशका धेरै ठाउँमा पसल र घरमा आगजनी र तोडफोड गरिरहेका छन् । हिंसामा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिंसाको कारण प्रधानमन्त्री एरियल हेनरीको विदेश भ्रमण रहेको बताइएको छ । यसबाट असन्तुष्ट अपराधी गिरोहका मानिसहरुले उनको राजिनामाको माग गरिरहेका छन् ।
बीबीसीका अनुसार प्रधानमन्त्री एरियल हेनरीले केन्याको भ्रमण गरेपछि हाइटीमा हिंसा सुरु भएको हो । वास्तवमा केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा तैनाथ गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री नैरोबी गएका थिए । त्यसपछि हाइटीका सबै आपराधिक गिरोहले एकताबद्ध भएर प्रधानमन्त्रीलाई पदबाट हटाउन हिंसा गर्न थालेका हुन ।
हाइटी प्रहरीले आपराधिक गिरोहसँग आवद्ध अपराधीलाई पक्राउ गर्न सेनासँग सहयोग मागेको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२ मार्चमा दुईवटा कारागारमा आक्रमण भएको थियो । यहाँबाट ४ हजार कैदी भागे । कतिपयलाई प्रहरीले मारेको छ । देशमा जारी हिंसामा हालसम्म १२ सर्वसाधारणको मृत्यु भइसकेको छ । फरार कैदीहरूमा २०२१ मा हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या गर्ने कैदी पनि समावेश रहेको जनाइएको छ ।न्युज करखाना
काठमाडौं, २१ फागुन ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासमा पुगेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री प्रचण्डले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् गठनको तयारीबारे पनि प्रधानमन्त्री प्रचण्डले जानकारी गराउने छन् । न्युज करखाना
काठमाडौं, २१ फागुन ।
नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो ।
वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधव नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ । न्युज करखाना
काठमाडौं, २१ फागुन ।
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस बिज्ञ शेखर अधिकारीले जानकारी दिए ।
आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख घिमिरेले राजनीतिक दलसँग सम्बाद गरे पछि बैठक स्थगितकाे अवस्थामा पुगेका हुन । न्युज करखाना
काठमाडौँ, २१ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुलाई सोमबार नै शपथ ग्रहण गराउने भएका छन् ।
राष्ट्रपति कार्यालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका ५ बजे नयाँ मन्त्री शपथ गराउने जानकारी गराएका छन् ।
सोमबार ३ जना मन्त्रीले शपथ लिने तयारी छ । मन्त्रीहरुको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयले थालेको छ ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । न्युज कारखाना
काठमाडाैं, २१ फागुन ।
देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन् । झापाकाे कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित गौरीगंज गाउँपालिका-२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा हेमरमले गौरीगंज गाउँपालिका-२ बस्ने २६ वर्षीय सम टुडुको प्र.१-०१-००१ ह ९९१० नम्बरको अटोमा उक्त पदार्थ राखी ल्याएको र अन्य समयमा समेत अटोमा लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको खुलेपछि टुडुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१२ स्थित पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिल बहादुर कठरीया रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवनकाे भरतपुर महानगरपालिका-१० चौबिसकोठी चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो र स्रोत नखुलेको नगद २ लाख १६ हजार ५ सय रूपैयाँसहित कालिकोट पचालझरना गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव बमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । न्युज कारखाना
रौतहट २१ फागुन।
रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाउँमा ठगी धन्दा सुरुगरेको आरोप लगाएका छन्।
गृह नगर रौतहटको मौलापुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले गौरका केही जनप्रतिनिधिको छोरा भतिजाहरुले गौरमा क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी धन्दा सुरु गरेको आराेप लगाएका हुन्।

‘नेपाल क्रिकेट संघ क्यानको आयोजनामा प्रतियोगिता हुने भए नेपाल सरकारले सम्पूर्ण व्यवस्था गर्छ, होईन भने आफ्नै मनले गरिएको प्रतियोगिता ठगीबाहेक अरु केही हुन सक्दैन’ उनले भने ।
खेलाडी छनौटको नाउँमा प्रत्येक पालिका, बिभिन्न संघ संस्था र व्यापारीहरुबाट पैसा संकलन गरी खेलाडी छनौटको नाउँमा उनीहरुले गरिखाने भाँडो बनाएको पूर्व मन्त्री प्रभु साहको दाबी छ। यदी खेलाडी छनौट गर्ने राष्ट्रिय कार्यक्रम हो भने त्यो अन्य जिल्लामा पनि हुन्थ्यो तर रौतहटमा मात्र किन त्यो पनि चन्दा उठाएर उनले प्रश्न गरे ।
एउटा जनकपुर उप महानगरपालिकाले प्रदेश स्तरको टुर्नामेन्ट गराउन सक्ने तर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,गौर नगर प्रमुख शम्भु साह, जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव एउटा जिल्ला स्तरको क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गराउन नसक्ने नेता साहकाे प्रश्न छ ।
‘खेलकुद मन्त्रालयमा बर्षको कम्तीमा १० अर्ब रुपैयाँ बजेट बिनियोजन हुने गर्दछ , त्यो हिसाबले एउटा जिल्लामा करोडौं रुपैयाँ आउनुपर्ने हो तर रौतहटमा खेलकुद मंत्रालय अथवा क्यानबाट कहिलै रकम आएको सुन्नु भएको छ, अर्थात हामीसंँग बेईमानी हुँदै आएको छ,’ उनले भने ।
क्रिकेट संघ रौतहट जिल्लाको १७ पालिकाबाट तीन तीन लाख रुपैयाँ चन्दा लिएर खेलाडी छनौट गर्ने भन्दै आगामी २६ गतेदेखि गौरमा जिल्लास्तरीय क्रिकेट टुर्नामेन्टको आयोजना गर्दैछ।
मौलापुर नगरपालिकाले भने चन्दा सहयोग दिएको छैन। संघीय संसद प्रभु साहले स्थानीय निकाय नहुँदा आफूले व्यक्तिगत लगानीमा मौलापुरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा, नाच प्रतियोगिता र अहिले मौलापुर नगरपालिकाले एक्लो लगानीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गर्दै छ।
तर, सदरमुकाममा जिल्ला स्तरको क्रिकेट प्रतियोगितामा गर्न सबै स्थानिय तह, संघसंस्था ब्यापारी बाट पैसा उठाउन ठगौतिको अलावा केही हुननसक्ने पूर्व मन्त्री प्रभु साहले दाबी गरेका छन्। पछिल्लो समय रौतहटको अधिकांश स्थानीय तहले मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना गरी लाखौँ कुम्ल्याउने गरेको आरोप लाग्दै आएको छ।न्युज कारखाना
काठमाडौँ, २१ फागुन ।
यसवर्षको प्रतिक्षित नेपाली फिल्म ‘महाजात्रा’ निर्माण समुह दर्शक भेट्न मोफसल यात्रामा निस्किएको छ । ट्रेलर सार्वजनिक दिन नै ‘महाकमेडी यात्रा’ अन्तर्गत फिल्मका निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउत लगायतको टोली पोखरा पुगेको छ । पहिलो चरण अन्तर्गत ‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ ।

यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा हुनेछ । भ्रमणमा फिल्म युनिटसँगै अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।
‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’, निर्माता खत्रीले बताए ।
निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।
यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । फिल्म चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै छ ।न्युज करखाना ा
रौतहट, २१ फागुन।
आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । दुई दशकअघि उत्खननबाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्यक्ष साहले सरकारसँग आग्रह गरेका हुन्।
सोमबार बिहान हाल जारी रहेको उत्खननको स्थलगत अनुगमन निरीक्षण पश्चात अध्यक्ष साहले त्यस्तो आग्रह गरेका हुन् । मौलापुरमा जारी पुरातात्विक उत्खननबाट दुनियाँलाई चकित पार्ने तथ्यहरु बाहिर आइरहेको उनले बताएका छन्।

उनले भने, ‘पुरातत्वविदका अनुसार यो नेपालमै अहिलेसम्म भेटिएको सबभन्दा पुरानो अवशेष हो । यस्तो अवशेष दुनियाँमा बिरलै पाइन्छ । यो कति पुरानो हो ? फोटोबाटै बुझन सक्नुहुन्छ । यो हाम्रो पुस्ताका लागि अनुपम उपहार हो । यसको संरक्षण र पुनर्निर्माण गर्न तथा यस पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन नेपाल सरकारसँग विशेष अनुरोध गर्दछु ।’
यसअघि मौलापुर नगरपालिका पतौरास्थित पुरातात्विक महादेव मन्दिर गुप्तकालको रहेको जिकिर सुरु भएको थियो। उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्व बिदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी सुरु भएको हो।
भारत बिहार सरकारका अवकास प्राप्त एकजना पुरातत्वविद विधा चौधरीले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्ष अघिको गुतकालको भएको दाबी गरेका थिए। केही महिनाअघि उनी मौलापुर पतौरास्थित पुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भइरहेको स्थानबाट निस्किरहेको इँटालाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।

चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए। यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भईरहेको उत्खननको स्थलगत निरीक्षणपछि त्यसको विस्तृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका थिए।
नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला एक जना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटेका थिए ।
सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरीएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविदसँग समन्वय गरी अध्ययन सुरू गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गिय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । पूर्व मन्त्री प्रभु साहको पहलमा पतौरा महादेव मन्दिरको बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन गरेको थियो। जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेका थिए ।
२०७६ सालमा पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्वबिदहरुले अध्ययन गरेका थिए। मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको थियो । बेलायती पुरातत्वविदले जमीन मुनि देख्ने एक्सरे मेसिनको सहायताले मन्दिरको ५० मीटर उत्तर सम्म जमीन मुनि संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले दुईजना अवकास प्राप्त पुरातत्वविद राखेको छ। २०६७ सालादेखिनै नेपालका पुरातत्वविद देवनाथ तिवारी र अर्का अवकास प्राप्त कर्मचारी उत्खननमा नियमित खट्दै आएको मेयर रिना कुमारी साहले बताएकी छन्। तिवारीका अनुसार पछिल्लो उत्खनन पूरा हुन अझै केहीदिन लाग्ने बताएका छन। हाल उत्खनन भईरहेको स्थानमा जमिन मुनि चौथो सताब्दीको ईट प्रयोग गरिएको पर्खाल र ढोकाको स्वरूप देखिएको छ। उत्खनन सकिएपछि पूर्ण रूपमा यकिन हुने उनको ठम्याई रहेको छ।
बिगतमा कर्नाटकालिन, सेनकालीन र हाल गुप्तकालिन भनिएको पुरातात्विक महादेव मन्दिर लाई नेपाल सरकारले १०० गन्तब्यको सूचीमा समावेस गरेको थियो। सोही मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनु मौलापुर नगरपालिकाले २०७६ सालदेखि प्रत्येक बर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ।
यसपटक पनि यही २२ गतेदेखि मधानी महोत्सव आयोजना गरिएको छ। महोत्सवमा बलिउड अभिनेता गोबिन्दादेखि नेपाली नायक पल शाह लगायत नेपाल र भारतका ३० जना कलाकारको प्रस्तुती हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।
चार दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईने महोत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता हुने आयोजनक मौलापुर नगरपालिकाले जनाएको छ । फागुन २३ गते ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी बिशेष पुजा, २५ गते सांस्कृतिक बिशेष कार्यक्रम र २६ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता राखिएको छ । जहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय पुजारी, खेलाडी, कलाकार लगायतको बिशेष सहभागिता हुँदै छ ।न्युज करखाना ा