कर्णाली ।
नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।
यसअघि सोमबार केन्द्रमा सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले कर्णालीमा राजनीतिक अन्योलता बढेको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।
कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ । माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोडदिदै रणनिति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।
त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि संबिधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।
मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरित विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका विश्वासको मत दिने सम्भावना रहेको देखिदैन ।
४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ । न्युज कारखाना
काठमाडौँ ।
संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र राष्ट्रिय महिला आयोगको सदस्य पदपूर्तिका लागि निवेदन आह्वान गरेको छ ।
मंगलबार सूचना जारी गर्दै संबैधानिक परिषदको सचिवालय समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि निवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषदको सचिवालयले अनुरोध गरेको छ ।
इच्छुक आवेदकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेभसाइत www.opmcm.gov.np को सूचना तथा समाचार खण्डभित्र उपलब्ध फर्म भरी विद्युतीय प्रतिसहित बुझाउन वा संबैधानिक परिषदको सचिवालयको इमेल- sambaidhanik@opmcm.gov.np मा पठाउन आग्रह गरेको छ ।
न्युज कारखाना
काठमाडौँ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिने सूचना प्रकाशित गरेको हो ।
उजुरी दिने व्यक्तिले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।
उजुरी गर्न चाहनेले संघीय संसद सचिवालयको नम्बर ०१-४२००२७७ मा सम्पर्क गर्न सकिने छ भने इमेल ठेगाना parl_hearing@parliament.gov.np मा पनि उजुरी दिन सकिने जनाइएको छ ।
यसअघि सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । त्यस्तै आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । न्युज कारखाना
हेटौडा ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सोमबार मात्र विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । आलेले मन्त्री बनाउने शर्तमा मुख्यमन्त्रीलाई आलेले विश्वासको मत दिएकी थिइन् ।
उनी गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् ।
योसँगै बागमती प्रदेशमा मन्त्रीको सङ्ख्या ८ पुगेको छ । प्रदेशको १२ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ४, एमालेका एक, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । न्युज कारखाना
काठमाडौँ ।
टर्कीको प्रमुख विपक्षी दलले इस्तानबुल र अंकारामा स्थानीय चुनावमा ठुलो जित हासिल गरेको छ । यी परिणामहरू देशका राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो झटका लागेको विश्लेषण गरिएको छ ।
गत वर्ष तेस्रो पटक राष्ट्रपतीय चुनाव जितेका एर्दोगानले स्थानीय चुनावमा पनि राम्रो प्रदर्शन गर्ने आशा राखेका थिए । इस्तानबुल मेयरको चुनावमा एर्दोगान आफैंले अभियानको जिम्मेवारी लिएका थिए । यही सहरमा हुर्केका उनी यहाँको मेयर पनि भइसकेका छन् ।
तर २०१९ मा पहिलो पटक यस सहरको मेयर बनेका एकराम इमामोग्लुले धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका उम्मेदवारका रूपमा ठूलो जित हासिल गरेका छन् ।
एर्दोगानले चुनावी अभियानका क्रममा १ करोड ५० लाख जनसंख्या भएको यो सहरलाई रूपान्तरण गर्ने वाचा गरेका थिए । तर एर्दोगानको एके पार्टीका उम्मेदवारले करिब १० लाख मतले हार बेहोरेको थियो । २१ वर्षअघि सत्तामा आएका एर्दोगानका लागि यो पहिलो पराजय हो ।
टर्कीको राजधानी अंकारामा मेयर पदका लागि विपक्षी दलका उम्मेदवारले आधा मतगणनापछि मात्रै आफ्नो जित घोषणा गरेका थिए । उनका समर्थकहरूले शहरको सडकमा झण्डा फहराउँदै र कारका हर्न बजाउँदै हिडेका थिए ।
टर्कीको चौथो ठूलो सहर बुर्सा र बालिकेसिरमा विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले जित हासिल गरेको छ । यसबाहेक, पार्टीले इज्मिर, अडाना र अन्टाल्यामा आफ्नो शक्ति कायम राखेको छ ।
राष्ट्रपति एर्दोगानले चुनावको नतिजा अपेक्षित नभएको तर आफ्नो पार्टीका लागि यो टर्निङ प्वाइन्ट साबित हुने आशा व्यक्त गरेका छन् । उनले आफ्ना समर्थकहरूलाई आफूले सधैं जनमतलाई समर्थन गर्ने र यसपटक पनि मतदाताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गरेको बताए ।
शक्तिशाली एर्दोआन
रेसेप तैयप एर्दोगान एक शक्तिशाली राष्ट्रपति हुन् । उसले आफ्नो हैसियतमा शक्तिको सबै शक्ति समाहित गरेको छ । प्रधानमन्त्रीसँग विशेष अधिकार छैन । तर सहरहरूमा निर्वाचित मेयरहरूसँग विशेष अधिकार हुन्छ ।
चुनावी अभियानका क्रममा एर्दोगानले यो आफ्नो अन्तिम अभियान भएको बताएका थिए । राष्ट्रपतिको रूपमा उनको अन्तिम कार्यकाल २०२८ मा समाप्त हुँदैछ । तर एर्दोगानका आलोचकहरूले यदि उनले यी चुनाव जितेको भए संविधान संशोधन गरेर फेरि राष्ट्रपतिको चुनाव लड्ने दाबी गर्छन् । यो नाटकीय पराजय पछि उनले संबिधान संशोधनको बाटोमा जान असफल हुन सक्ने समेत विश्लेषण गरिएको छ ।
टर्कीका राजनीतिक टिप्पणीकारहरुले सीएचपीले एर्दोगानलाई आफ्नो राजनीतिक करियरको सबैभन्दा ठूलो झट्का दियेक ओविश्लेशन गरिरहेका छन् । यो पार्टीको सन् १९७७ पछिको सबैभन्दा ठूलो जित हो ।
चुनावी नतिजाहरू सिएचपी अध्यक्ष अजगुर ओजेलको लागि ठूलो जीत हो । सिएचपीका इमामग्लु र मन्सुर याभासलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि सम्भावित उम्मेदवार मानिन्छ ।
इमामोग्लुका समर्थकहरूले ‘सबै ठिक हुनेछ’ भन्ने नारा लगाएका थिए । पाँच वर्षअघि एर्दोगानको पार्टीलाई हराएपछि इमामोग्लुले आफ्ना समर्थकहरूलाई यो नारा दिएका थिए ।
टर्कीको ८५ मिलियन जनसङ्ख्याको पाँचौँ भाग इस्तानबुलमा बस्छन् । इस्तानबुलमा शासन गर्नेले नै टर्कीको अर्थतन्त्र पनि नियन्त्रण हुन्छ भन्ने विश्वास छ । पाँच वर्षअघि इमामग्लुले इस्तानबुलमा एके पार्टीलाई हराएर मेयरको चुनाव जितेका थिए । तर गत वर्षको राष्ट्रपतिको निर्वाचनमा विपक्षी विखण्डन भयो र पार्टी पराजित भयो ।
तर टर्किएको सत्तारुढ एके पार्टी देशको कमजोर अर्थतन्त्रसँग संघर्ष गरिरहेको छ । अहिले टर्कीमा मुद्रास्फीति दर ६७ प्रतिशत र ब्याजदर ५० प्रतिशत छ ।
अहिले टर्कीको पश्चिमी, दक्षिणी र उत्तरी भाग विपक्षी दल सीएचपीको नियन्त्रणमा छ । देशको दक्षिणपूर्वी भागमा कुर्दिश डेम पार्टीको वर्चस्व छ । तर केन्द्रीय टर्कीमा, एर्दोगानको एके पार्टीको शासन छ । २०२३ मा भयानक भूकम्प गएका क्षेत्रहरूमा पनि एर्दोगानको अवस्था राम्रो छ। न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
बैंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो भने चेन्नई र कोलकोताविरुद्ध हार बेहोरेको थियो । त्यसैगरी लखनउले राजस्थान रोयल्सविरुद्ध हार बेहोरेको थियो भने पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो ।
यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै पछिल्लो पञ्जाव किंग्सविरुद्धको खेलमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादवमाथि सबैको नजर हुने छ । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका छन् । यस खेलमा पनि उनीमाथि सबैको नजर हुने छ ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो । न्युज कारखाना
काठमाडौँ ।
नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ । गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।
नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।
त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ ।
नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् । न्युज कारखाना
बुटवल, २० चैत ।
बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ ।
सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु उठान गरिदिनुपर्ने बताए । ‘बुटवल उपमहानगरको विकास र समृद्धि नै हामी सबैको चाहाना हो,’ उनले भने, ‘हामीले काम गर्दैगर्दा भए गरेका कमजोरी औल्याइदिएर संचार जगतले हामीलाई सहयोग गरोस भन्ने हामी चाहान्छौं ।’0
बुटवललाई सुन्दर, सफा र हरियाली बनाउने योजना सहित बुटवल उपमहानगरपालिका अगाडि बढेको उल्लेख गर्दै उनले भने, “बुटवलको बजार व्यवस्थित गराउने उद्देश्यले सडक व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा विकास गर्न, हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन लगायत बिभिन्न अवधारणा सहित हामीले काम गरेको छौं ।’
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको मिसन र आचारसंहितामा रही समाचार सम्प्रेषण गर्न अनुरोध गरे । उनले भने, ‘पत्रकारिता कुनै दल वा नेताको पछि लाग्नु हुँदैन, आफु नजिकैको नेता वा दलका गलत गतिविधिलाईसमेत जनता सामु पुर्याउनुपर्ने दायित्वबाट पत्रकारिता विमुख हुनुहुदैन ।’ पत्रकारले गरिब सर्वहारको पक्षमा कलम चलाउनु पर्नेमा कपिपेस्टका कारण पत्रकारिता पेशा नै धरापमा परेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले पत्रकारिताको मर्म र मर्यादालाई ख्याल गनुपर्नेमा जोड दिए । क्षमता अभिवृद्धि तालिमले पत्रकारको क्षमता विकास गर्दै समाजले पत्याउने पत्रकार उत्पादन गर्नु अहिले आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसी, प्रदेश अध्यक्ष मानसिंह विक, अग्रज पत्रकार मदनलाल पौडेल लगायतले बोलेका थिए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित तालिम ७ दिनसम्म संचालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष बिष्णु पोखरेल जानकारी दिए । तालिममा विभिन्न संचार माध्यममा आवद्ध ३० जना पत्रकार सहभागी छ । न्युज कारखाना
मुम्बइ, २० चैत ।
गत मार्च २९ मा तब्बु, करीना कपुर खान र कृति सेनन अभिनित फिल्म ‘क्रु’ थिएटरमा आएको थियो ।
रिलिज भएदेखि नै फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मको सङ्कलनमा दर्शकबाट आएको सकारात्मक सन्देशको प्रभाव पनि देखिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले भने कि ‘क्रु’ अझै हिट हुने बाटोमा छ। फिल्मले पहिलो हप्तामा ३२.६० करोड कमाएको थियो । ‘क्रू’ ले देशमा मात्रै ठोस आम्दानी गर्दैन । वास्तवमा, यसले विदेशी बजारमा पनि उत्तिकै पैसा कमाईरहेको छ।
कोइमोईमा प्रकाशित रिपोर्टका अनुसार फिल्मको पहिलो दिनको विदेशी कमाईले ऋतिक रोशनको ‘फाइटर’लाई पछाडि छोडेको छ ।
प्रतिवेदनमा दिइएको जानकारी अनुसार ‘क्रू’ ले पहिलो दिन विदेशी बजारमा १.१७ मिलियन डलर कलेक्सन गरेको छ । यो भारतीय रुपैयाँमा करिब ९ करोड ७५ लाख रुपैयाँ हो । यो संख्यामा अमेरिकी बजारले ६ लाख डलर, अष्ट्रेलियाको बजारले १ लाख १५ हजार डलर, न्युजिल्यान्डको बजारले ३० हजार र इंग्ल्यान्डको बजारले ९० हजार डलर ल्याएको छ । अर्कोतर्फ ‘फाइटर’ले पहिलो दिन ११ लाख डलर कमाएको थियो । यो भारतीय रुपैयाँमा ९ करोड १७ लाख हो । ‘फाइटर’ एरियल एक्शन फिल्म थियो । र ‘क्रु’ एक कमेडी डकैती फिल्म हो।
बक्स अफिसमा एक्सन फिल्मले बढी नाफा कमाउने चलन छ । तर ‘क्रु’ को कमाईले यो प्रवृत्तिलाई पनि परिवर्तन गर्यो।
‘क्रू’ ले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । तर यसको सङ्ग्रह र ‘फाइटर’ बीचको भिन्नताको ठूलो कारण छ । ‘फाइटर’ को कथा सन् २०१९ को पुलवामा हमलामा आधारित छ। फिल्मको मुख्य खलनायक एक पाकिस्तानी आतंकवादी थिए। फिल्मको अन्त्यमा ऋतिकको क्यारेक्टरले उनलाई पिट्ने क्रममा कश्मीरको पनि कुरा गर्छ । फिल्मको यही पक्षका कारण खाडी मुलुकमा प्रतिबन्ध लगाइएको थियो । ‘क्रू’ ले त्यस्तो कुनै प्रतिबन्धको सामना गर्नुपरेको छैन। खाडी क्षेत्रका ‘क्रू’ ले पहिलो दिन २ लाख ५५ हजार डलर थपेका छन् । प्रतिबन्धका कारण ‘फाइटर’ ले त्यहाँ पैसा कमाउन सकेन ।
भारतीय बजारमा तब्बु, करीना र कृतिको कमाईको कुरा गर्ने हो भने फिल्मले १०.२८ करोडको ओपनिङ गरेको थियो । फिल्मले भोलिपल्ट १०.८७ करोड र पहिलो आइतबार ११.४५ करोड कमाएको थियो। न्युज कारखाना
काठमाडौं, २० चैत ।
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ ले उत्कृष्ट चलचित्र पुरस्कार जीतेको छ ।
चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् ।
एक सटमा खिचिएको बाल मनोविज्ञानमा आधारित लघु चलचित्र ‘घुर्रा’ को लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् । चलचित्र ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
हरिवंश अवार्ड लिन स्वयं उपस्थित भएका थिए भने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र ‘छक्कापन्जा–४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले ‘छक्कापन्जा–४’ बाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराज गिरी छक्कापन्जा पाँचको स्कृप्टमा व्यस्त भएकोले कार्यक्रममा आउन नसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् ।
राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा ‘थिमु’, वातावरणीय चलचित्रमा ‘दिअर ईज नो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला चलचित्र ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरेको छ ।
लघु चलचित्र ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए । मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, मोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए ।
चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको ‘मुझे स्कुल नही जाना’ र लघु चलचित्रमा बेलायतको ‘नो फ्रिडम नो आर्ट’ ले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र ‘डियर सत्यजित’ बाट उत्कृष्ट निर्देशक अवार्ड पाए ।
उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ‘ईन्टरभलु’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीरु, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले अवार्ड प्राप्त गरेको छ ।
उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र ‘जुद्धो जोएर किशोर नायक’ बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र ‘जेन’बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफ एन वर्ल्ड गन टु’ बाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको ‘द समिट’ बाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘ईमाकुलेट’ र पाकिस्तानको ‘समटाईम्स ईभन द सोर ड्रन्स’ ले पाएको छ ।
विदेशबाट धेरैजसो विजेताहरु कार्यक्रममा स्वयं सहभागी भएरै अवार्ड लिएका थिए । चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भईरहँदा विकास बोर्डकै अध्यक्ष भुवन केसी भने अनुपस्थित रहेका थिए । चलचित्रलाई माया गरेर विदेशबाट धेरै चलचित्रकर्मीहरु नेपाल आइरहँदा चलचित्र विकास बोर्डकै अध्यक्षले बेवास्ता गरेको धेरै सहभागीहरूले गुनासो व्यक्त गरेका
थिए ।
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका थिए । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् । भारतका मुश्ताक अलि, जर्मनीका जान स्लेक, सर्बियाकी ल्जुबिन्का, पोल्यान्डकि म्याग्डालेना महोत्सवमा उपस्थित रहेका थिए । सबैले नेपालीमा बोल्ने प्रयास गरेर महोत्सवको माहोललाई तताएका थिए ।
तीन दिने महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियोे भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो । महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत भएको थियो । चलचित्र विकास बोर्डमा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिएकी थिईन् भने अन्तिम दिन भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास गरेका थिए । चलचित्र महोत्सवको समापन गर्दै महोत्सव निर्देशक सन्तोष सुवेदीले देश तथा विदेशबाट चलचित्र क्षेत्रलाई माया गरेर महोत्सवमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।न्युज कारखाना