२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १५ गते । 

रौतहट जिल्लाको गुजरा नगरपालिका–९ सिमराभवानीपुरबाट हराएका ३ वर्षीय बालक आर्यन राम मृत अवस्थामा भेटिएका छन् । उनी शनिबार दिउँसो घरबाट निस्किएपछि बेपत्ता भएका थिए । स्थानीय विजय रामका छोरा रहेका आर्यनको खोजीका लागि आमाले प्रहरीमा निवेदन दिएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य तीव्र पारिएको थियो । खोजतलासको क्रममा आइतबार बिहान गुजरा–८ मा रहेको आर्यनको घरदेखि करिब ७ सय मिटर पश्चिमतर्फको इनारमा उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपा लाबुङ्गले जानकारी दिइन् । खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । हाल घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १५ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ मा कुटपिटको घटनामा एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरूडाका अनुसार, साउन १ गते मोबाइल चोरीको आशंकामा स्थानीय केही व्यक्तिहरूद्वारा कुटपिटमा परेका ३० वर्षीय नसिब बैँठाको भदौ ११ गते उपचारका क्रममा ज्यान गएको हो । गम्भीर घाइते भएका बैँठालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको थियो भने पछि थप उपचारका लागि उनलाई बिरगन्जस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतककी आमा सुनैना देवी बैँठाले दिएको जाहेरीका आधारमा घटनामा संलग्नमध्ये एक जना, गर्भुदयाल सरभङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिए । डिएसपी कार्कीका अनुसार घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशंका छ र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, १४ भदौ ।
नेकपा (माओवादी केन्द्र्र) निकटको किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव दिनेश किराती पार्टी परित्याग गरि आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

काठमाडौंको कोटेश्वरमा आज (शनिबार) बसेको आजपाको बागमती प्रदेश कमिटीको बिस्तारित बैठकका बीचमा किरातीले माओवादी परित्याग गरि आजपामा प्रवेश गरेका हुन् ।

आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किरातीलाई आजपामा प्रवेश गराउदै उनको राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरे । टिका, माला लगाएर पार्टी प्रवेश गराउँदै अध्यक्ष साहले पार्टीमा उचित जिम्मेवारी दिने बताए ।

आजपा प्रवेश गर्दै दिनेश किरातीले किरातलाई जोडनुभन्दा टुक्रयाउने काम माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको आरोप लगाए । कोशी प्रदेशलाई किरात प्रदेश नामकरण नगरी माओवादी र नेतृत्वले षडयन्त्र गरेको उनले बताए ।

उत्पीडित समुदायको प्रत्येक्ष केन्द्रसंग भूईमान्छेसंगको अधिकारको सुरक्षित गर्नका लागि आफू आजपामा प्रवेश गरेको उनले बताए । अरु दल भन्दा आदीबासी जनजाती, किरातीहरुको सम्बन्ध प्रत्यक्ष पार्टीको नेतृत्वसंग टेबल गर्ने गरी दस्ताबेज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै किराती पार्टीमा प्रवेश गरेको आजपा नेता सुभाष साहले जनाएका छन् ।

काठमाडौं, भदौ १४।

नेपाल ईँटा उद्योग महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन २०८२ अन्तर्गत राम बिनोद साहले महासंघको महासचिव पदमा सपथ ग्रहण गरेका छन् । कलंकी–१४, काठमाडौंमा आयोजित विशेष समारोहमा उनले “इमानदारी तथा गोपनीयताको शपथ” ग्रहण गरेका हुन् ।

शपथ ग्रहणपछि उनले यस अवसरलाई सम्भव बनाउन सहयोग गर्ने सबै उद्योगी, व्यवसायी, पदाधिकारी, सदस्य, पत्रकार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। साहले भने, “तपाईंहरूको साथ, माया र विश्वासले आजको दिन सम्भव भएको हो।”

महासचिवको जिम्मेवारी सम्हाल्दै उनले पारदर्शिता र इमानदारीलाई प्राथमिकता दिँदै महासंघको हितमा काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

राम बिनोद साह विगत लामो समयदेखि ईँटा उद्योगसँग आबद्ध रहँदै आएको र उद्योग क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहँदै आएका एक सक्रिय उद्योगी हुन् ।

महाधिवेशनमा देशभरबाट सहभागी भएका प्रतिनिधिहरूको व्यापक समर्थन प्राप्त गर्दै उनले महासचिव पदमा निर्वाचित भएका हुन् ।

हनुमत यादव,रौतहट, भदौ १४ गते ।

नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको रौतहट जिल्ला समिति गठन गरिएको छ । समिति पुनर्गठन कार्यक्रम ने. अ. न. प्रचार प्रसार समिति रौतहट को आयोजनामा जिल्लाको सदरमुकाम गौर स्थित होटल जि मार्टमा गरीएको छ ।

यस संगठनमा आवद्ध जिल्लाका इन्जिनियर्सको हकहितको लागि हरदम तयार रहनको निमित्त १२५ सदस्य समिति गठन भएको छ । समितिका अध्यक्ष – राकेश यादव उपाध्यक्ष – अलोक साह, बलिराम साह, अरुण गुप्ता, करीना साह सचिव अनुरुध यादव सह सचिव दिव्य प्रकाश ठाकुर, अनिल साह, आर्यन दिपक राउत कोषाध्यक्ष रिता जयसवाल सह कोषाध्यक्ष तबरेज आलम जिल्ला सुचना संयोजक चन्द्रभुषण यादव जिल्ला प्रचार तथा प्रेस संयोजक लखिनद्र ठाकुर जिल्ला सल्लाहकार संयोजक ललन साह लगायत १२५ सदस्य समिति चुनिएको छ ।

कार्यक्रम ने. अ. न. को मधेश प्रदेश अध्यक्ष तेजनारायण यादवको अध्यक्षतामा सफलता पुर्वक सफल भएको छ। नव गठित समितिका अध्यक्ष राकेश यादवले आफ्नो कुरा राख्दै सबै साथीको सहयोको अपेक्षा सहित संगठनको लागि कट्टीबद्ध रहने प्रद्तिब्दता गरे साथी एकबद्ध भए एक ढिका भए संगठन लाई मजबुती प्रदान गर्ने सोचका साथ अगाडि बढ्ने अठोट रहेको उनले बताए ।

प्रदेश अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष रहेको यादवले आफ्नो कुरा राख्दै भने की यो संगठन स्थापनाको मात्र ५ वर्ष भएको छ तर यो संगठनको कार्य प्रगति देखेर अन्य संगठनका व्यक्तीहरु विचलिए भएको जिकिर गरे ।

यस संगठनका सदस्य तथा पद अधिकारी कुनै पार्टी बाट संचालित नभई निष्पक्ष रुपमा अगाडि बढिरहेको बताए । साथै यस संगठनमा जुडिएको इन्जिनियर कहीले पनी पदको लागि काम नगरेको मात्र एक सच्चा सदस्यको रुपमा निःस्वार्थ रुपमा काम गर्दै आइरहेको उनले भने ।

दिपेन्द्र रजक,राैतहट,भदौ १४ गते । 
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर-४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठा आरोपका कारण कुटपिटमा परेर एक जना २८ वर्षिय दलित युवक नसिब बैठाको मृत्यु भएको छ ।

बैठाका भाईका अनुसार गत श्रावण १६ गते बेलुकीको समयमा बैठा गाउँमै रहेको एउटा पसलमा बसेर कुरा गरिरहेको अवस्थामा स्थानिय संजय यादव, विजय यादव,गर्भु गोसाइँ,शम्भु गोसाइँ,प्रभु गोसाइँ र लक्ष्मी गोसाइँको समुहले कुटपिट निर्मम तरिकाले गरी बैठाले मोबाइल चोरी गरेको स्विकार गर्न लगाएपनि उनले आफुले मोबाइल चोरी न गरेको बताए पछि,केही व्यक्तिले बैठालाई घरसम्म छोडेर फर्केका थिए।

तर फेरि पनि त्यसको भोली पल्ट अर्थात श्रावण १७ गतेका दिन संजय र विजय यादव लगायतका समुहले बैठाको घरमा गई, उलाइ समातेर आँखामा पटि बाँधी गाउँ भन्दा करिब ३०० मिटर टाढा लगी आपको रुखमा रसिले उल्टो बाध बाधेर साइकलको चैन,बेल्ट तथा हात,मुका समेतले मर्नासन हुने गरि निर्घात कुटपिट पछि प्रहरीलाई फोन गरी प्रहरीको जिम्मा लगाएका थिए।

तर इलाका प्रहरी कार्यालय कटहरियामा पञ्चायती हुदा बैठा निर्दोष साबित भएको थियोे,अर्थात बैठाले मोबाइल चोरी गरेको पुष्टि भएन। त्यसपछि प्रहरीले बैठालाई निर्दोष भन्दै छोडेको थियो। तर कुटपिटका कारण बैठाको शारिरिक अवस्था एकदमै कमजोर भएपछी अर्थात उ हिडडुल गर्न न सक्ने भएपछि बैठाका भाइले बैठालाई उपचारका निम्ति बिरगंज स्थित स्पोर्ट् अस्पताल मा लगी उपचार गराएका थिए, र सोही उपचार कै क्रममा बैठाको मृत्युु भयो।

बैठाका भाईले मृत्यु पश्चात् आफुहरुले न्याय तथा छतिपुर्ति न पनउन्जेलसम्म बैठाका शवलाई न जलाउने अडान लिएपनि गाउँघरकै ठुलाबडा का दवाबमा शव जलाउन बाध्य भएको बताए। र पछि इलाका प्रहरी कार्यालय कटहरियामा मुदा दिए पनि हालसम्म प्रहरीले आफुहरुलाई कुनै वास्ता नै न गरिरहेको र यता गाउँ घरमा केहीव्यक्तिले मुदा मिल्न दवाब समेत दिरहेको बताए।

जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष डा.राजीव झाले स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिएका छन् ।
रामुपाको धनुषा जिल्ला समितिको विस्तारित बैठकमा सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष डा.झाले यस्तो धारणा राखेका हुन् ।
उनले माओवाद, माक्र्सवाद, लेनिनवाद जस्ता आयातित विचारधाराले नेपाललाई गरिबीको दलदलमा धकेलेको आरोप लगाउँदै स्वदेशी विचारधारा मात्र देशलाई धनी बनाउन र विश्व सामु चिनाउन सक्षम हुने धारणा राखे ।
त्यसैगरी पार्टीका प्रवक्ता रमण पाण्डेयले मधेशी, आदिवासी, जनजाति सबैलाई एकजुट हुन आग्रह गरे । साथै हिन्दी भाषालाई नेपाली सरह मान्यता दिनुपर्ने माग समेत गरे ।


रामुपाका जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई आउँदो निर्वाचनमा वैकल्पिक शक्ति बनाउन आफु जिल्लाको अध्यक्षको हैसियतमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लामा दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति लगायत सबै समुदायलाई समेट्दै सम्मान दिलाउने प्रतिबद्धता जनाए ।
अनुशासन समितिका अध्यक्ष संजय सिंहले कुनै पनि संगठनको सफलताका लागि अनुशासन अपरिहार्य हुने बताउँदै मधेश आन्दोलनका शहीदलाई सम्मान गर्नु पर्ने बताए ।
केन्द्रीय सचिव संजय चौधरीले नेपालको राज्यसत्ता अहिलेसम्म एकल चरित्रको भएको उल्लेख गर्दै ३१ प्रतिशत मधेशी, ३८ प्रतिशत जनजाति र ३१ प्रतिशत खसआर्यको जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गर्दै राज्यलाई समावेशी बनाउनुपर्नेमा जोड दिए ।
स्वागत मन्तव्य जिससको पूर्व उपसभापति दीपक झाले राखेका थिए । बैठकलाई निष्कर्षमा पु¥याउँदै जिल्लाको आगामी राजनीतिक अभियानलाई प्रभावकारी बनाउन व्यापक एकता र संगठन विस्तार गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा राम जीवन साह, विजय यादव, विजय राय, सरगुन पासमान, शिव शंंकर राउत लागायतले मन्तव्य राखेका थिए ।
धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं धनुषा जिल्ला प्रभारी डा. राजीव झाको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा केन्द्रीय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
बैठकले जिल्ला कार्यसमिति लाई हाललाई ५१ सदस्यीय बनाउँदै विस्तार गर्ने निर्णय गरेको छ। साथै, युवा समिति जिल्ला संयोजकमा किशन साहलाई मनोनयन गरिएको छ।
एक साताभित्र जिल्लाको पदाधिकारीलाई पूर्णता दिन र सो प्रक्रियामा जिल्लास्थित केन्द्रीय कार्यकारिणी सदस्यहरूको सल्लाहमा एक सप्ताहभित्र मनोनयन गर्ने जिल्ला अध्यक्ष राजेश चौधरी राजुलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

काठमाडौं, १३ भदौ ।
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायीहरु, उखु किसान र शिक्षकहरु एक सातादेखि आन्दोलनरत हुँदापनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यी आन्दोलनप्रति सरकारको कुनै गम्भीरता नदेखिएको भन्दै आलोचना गरेका हुन् ।

‘कवाड व्यवसायी, उखु किसान झण्डै एक सातादेखि आन्दोलनमा छन् । तर, सरकारलाई दुख्दैन, सरकारलाई छोएको छैन । सरकार बेखबरजस्तो छ । म सोध्न चाहन्छु–के सरकारको संवेदना मरेकै हो ? के अदालतको आदेश पालना हुन्छ कि हुँदैन ?’ आजपा अध्यक्ष साहले सरकारलाई प्रश्न गरे ।

उनले अदालतले स्टे अर्डर दिएर कवाड व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भनेको तर अदालतको आदेशको समेत अवज्ञा गर्दै कवाड व्यवसायीहरुमाथि कुटपिट र आक्रामण गरिएको बताए । कवाड व्यवसायीहरुमाथि भएको ज्यादती र डोजर आतंक गर्नेहरुमाथि कानून लाग्नुपर्छ कि पर्दैन भनेरपनि साहले प्रश्न गरे ।

‘यो सरकारले शान्ति, सुरक्षा गर्न सक्छ कि सक्दैन भनेर म सोध्न चाहन्छु । यत्रो पीडितहरुले शान्ति, सुरक्षा, क्षतिपूर्ति र अपराधीहरुलाई कारबाहीको माग गरेर आन्दोलन गर्दापनि, अदालतको आदेशको सम्मानको खातिर आन्दोलित बन्दा सरकार यसरी गैरजिम्मेवार बन्न मिल्दैन । मेरो आग्रह छ कि सरकार जिम्मेवार बनोस । आम नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु सरकारको हो,’ साहले भने ।

उनले कवाडहरुले काठमाडौंलाई नै स्मार्ट सिटी बनाउन भूमिका खेलेको तर्क गरे । काठमाडौंमा काम नलाग्ने चिजहरुलाई निकालेर फ्याक्ट्रीमा पुर्याउने काम गरेको भन्दै कवाड व्यवसायीहरुले काठमाडौंलाई सफा बनाउने काम गरेको साहको तर्क छ ।

उनले कवाड व्यवसायीहरुलाई देशभित्र र देशबाहिरको भनेर रंगभेदी कुरा गरिएकोमा पनि आपत्ति जनाए । उनले कवाड व्यवसायीहरुले आफ्नो पुँजी, जवानी र सिंगो जीवन लगाएको भन्दै उनीहरुमाथि निषेध गरिएको कुरा आफूलाई स्विकार्य नभएको चेतावनी दिए ।

महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले बिगत पाँच दिनदेखी आन्दोलन गर्दैआएका छन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने माग गर्दै कबाड व्यवसायी आन्दोलनरत छन् ।

भदौ १२, काठमाडौं ।

एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौं र यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो ।” उक्त अवसरमा हिमालयन जाभाका संस्थापक गगन प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राख्नुभयो । “यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौं”, उहाँले भन्नुभयो ।

यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ । जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्नेछ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ ।

सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीको Gallery by Himalayan Java आउटलेटहरु सञ्चालन गर्दै आइरहेको छ ।

यस लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसरको सम्भावना बढाउने विश्वास लिइएको छ । यसका साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।

काठमाडौं, भदौ १३ । 

उखु किसान आन्दोलन पाँचौँ दिन पनि निरन्तर जारी रहेको छ । सरकारले उखु किसानलाई दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झारेको यस वर्षदेखि अनुदान रकम हटाएको विरोधमा किसानहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

रौतहटका उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले सरकार माग पूरा नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । उहाँले किसानहरूको लामो समयदेखिको श्रम र लगानीप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै बक्यौता अनुदान कटौती गर्नु अन्यायपूर्ण निर्णय भएको बताउनुभयो ।

चार दिनदेखि जारी आन्दोलनमा आज पनि किसानहरू माइक, प्लेकार्ड र नाराबाजीसहित सहभागी भएका छन् । उनीहरूको प्रमुख माग बक्यौता अनुदान पुनः ७० रुपैयाँ कायम गर्नुपर्ने र उखु मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने रहेका छन् ।

उखु किसानको आन्दोलनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन् । उनीहरू माइतीघर मण्डलामा पुगेर किसानका मागहरू जायज रहेको भन्दै सरकारलाई चाँडो समाधान खोज्न आग्रह गरिरहेका छन् ।

किसानहरूले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिँदै सरकारसँग वार्ताको तयारी भए पनि ठोस प्रस्ताव नआउँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।