बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २६ गते ।
राैतहटकाे कटहरियामा नेपाली कांग्रेस नगर समिति कटहरियाको आयोजनामा आज एक शान्तिपूर्ण जुलुस सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले संविधानको रक्षा र राष्ट्रपतिलाई सार्वजनिक गर्ने माग सहितको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले “राष्ट्रपतिलाई सार्वजनिक गर”, “संविधानको रक्षा गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । जुलुस नगर क्षेत्रका विभिन्न भागमा पुग्दै शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको थियो ।

शान्ति जुलुसमा राैतहट निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश जयसवाल, कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश साह, कांग्रेसका महासमिति सदस्य वाल्मीकि यादव, विभिन्न वडाका अध्यक्ष पदका उम्मेदवारहरू लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेसका यूवा नेता एवम् कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनाेज जयसवालका अनुसार पार्टीको केन्द्रीय सर्कुलर अनुसार हामीले आज शान्तिपूर्ण प्रदर्शन गरेका हाैं । संविधानकाे रक्षा गर्नु हामी सबैकाे दायित्व रहेको उनकाे भनाइ छ ।
कार्यक्रममार्फत सहभागीहरूले संविधानको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि जनमत अभिव्यक्त गरेका थिए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २७ गते ।
रौतहट जिल्लामा हालको सुरक्षा अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, रौतहटले आजदेखि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बिनोद कुमार खड्काको हस्ताक्षरमा जारी आदेशअनुसार, आज विहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिएको हो भने साँझ ७ बजेदेखि कर्फ्यू आदेश लागु हुनेछ ।
निषेधाज्ञाको विवरण अनुसार जिल्लामा २०८२ साल भदौ २७ गते विहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका क्रममा सार्वजनिक स्थलमा भेला, जुलुस, सभा, प्रदर्शन, पोष्टर टाँस्ने वा लेख्ने कार्य, तथा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाइने छ।

कर्फ्यू आदेश अनुसार निषेधाज्ञा पछि २०८२ भदौ २७ गते साँझ ७:०० बजेदेखि भोलिपल्ट २०८२ भदौ २८ गते विहान ६:०० बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ । कर्फ्यू अवधिमा सर्वसाधारणलाई आवतजावत गर्न अनुमति नहुनेछ । कुनै पनि प्रकारका सभा, जुलुस, समुह बनाएर हिँड्न, प्रदर्शन वा घेराउ गर्न पूर्ण रुपमा निषेध गरिएको छ ।
अत्यावश्यक कामको लागि छुट्टै समय दिइएको छ । यद्यपि, आज साँझ ५:०० बजेदेखि ७:०० बजेसम्मको दुई घण्टा अवधि अत्यावश्यक कार्यका लागि नागरिकलाई आवतजावतको अनुमति दिइएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र संभावित झडप वा अस्थिरता रोक्न उक्त आदेश जारी गरिएको स्पष्ट पारेको छ । आदेशको उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ २६ गते ।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको निजी सम्पत्तिमा बुधबार युवाकाे समूहद्वारा आगजनी गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ५ सन्तपुर चाैक स्थित रहेको खातुनको औषधी पसलमा जेनजीसहितका केही व्यक्तिहरूले आगो लगाएको बताइएको छ । आगलागीबाट पसल पूर्णरूपमा नष्ट भएको छ भने करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

घटनाको पुष्टि गर्दै प्रदेश सांसद प्रत्यासी मोहम्मद सेराजले आगजनीबाट ठुलो मात्रामा क्षति भएको जानकारी दिएका छन् । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरू माथि कार्यवाही गर्न माग गरेका छन् ।
यसअघि पनि फतुवा बिजयपुर नगरपालिकाभित्र आगजनीका घटना भइसकेका छन् । स्थानीय स्रोतका अनुसार हालैको समयमा नगरपालिकामा राजनीतिक तथा व्यक्तिगत कारणले तनावको स्थिति देखिएको थियो ।

स्थानीय बासिन्दाहरूले यस्ता घटनाले शान्तिपूर्ण जनजीवनमा असर परेको भन्दै यस्तो कार्य गर्न नहुने जिकिर गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,भदौ २६ गते ।
जिल्ला प्रशासन कार्यालय, गौर रौतहटले एक महत्वपूर्ण सूचना जारी गर्दै कारागारबाट फरार भएका कैदीवन्दीहरूलाई तुरुन्त आत्मसमर्पण गर्न आग्रह गरेको छ ।
प्राप्त सूचनाअनुसार, मिति २०८२ भदौ २४ गते गौरस्थित कारागार कार्यालयमा भएको आन्दोलनको क्रममा केही कैदीवन्दीहरू फरार भएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालयले मिति २०८२/०५/२६ मा विज्ञप्ति प्रकाशित गर्दै फरार कैदीहरूलाई नजिकको प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न सूचित गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिनोद कुमार खड्का द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “फरार कैदीवन्दीलाई कसैले लुकाएको वा आश्रय दिएको पाइएमा प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गरिनेछ।
” प्रशासनले सर्वसाधारण नागरिकहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै कुनै व्यक्ति वा गतिविधि शंकास्पद लागेमा तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने र शान्ति सुव्यवस्था कायम राख्नका लागि प्रशासन गम्भीर बनेको जनाइएको छ ।
सर्लाही, भदौ २५ गते ।
बुधबार बिहान सर्लाही जिल्लाको गम्हरिया नजिक रहेको बंशल पेट्रोल पम्पमा आगलागी भएको दृश्य खिचिरहेका पत्रकारमाथि दुर्व्यवहार भएको घटनाले सम्पूर्ण पत्रकारिता क्षेत्र स्तब्ध बनेको छ ।
लोकतान्त्रिक पत्रकार संघ सर्लाहीका जिल्ला संयोजक तथा मेरो सान टिभीका पत्रकार राजिब साहमाथि केही अज्ञात व्यक्तिहरुले कुटपिट गर्दै मोबाइलबाट जबर्जस्ती फोटो तथा भिडियो डिलेट गराएका छन् । घटना उसबेला भएको हो जब पत्रकार साह समाचार संकलनको सिलसिलामा पेट्रोल पम्पमा लागेको आगोका दृश्यहरू खिचिरहेका थिए ।
सोही क्रममा उनीमाथि आक्रमण गरी हातपात गरिनुका साथै सञ्चार सामग्री डिलेट गराउन दबाव दिइएको थियो । लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले विज्ञप्ति जारी गर्दै सो घटनाको घोर भर्त्सना गरेका छन् । “नेपाल नयाँ युगमा प्रवेश गरिरहँदा प्रेस स्वतन्त्रता माथि भएको यस्तो आक्रमण असह्य छ । दोषीको तत्काल पहिचान गरी कडा कारबाही होस् भन्ने हाम्रो माग छ,” अध्यक्ष वर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् । संघले स्थानीय प्रशासनसँग घटनामा संलग्न दोषी व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेको छ । साथै, भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भनेर सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार हो भन्ने स्मरण गराउँदै पत्रकार संघले सम्पूर्ण पत्रकारलाई ऐक्यबद्ध भएर सशक्त प्रतिवाद गर्न आह्वान गरेको छ ।
आरके श्रीवास्तव,रौतहट, भदौ २६ गते ।
रौतहट जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका सबै सरकारी सेवा मिति २०८२ भदौ २७ गतेसम्मका लागि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड़का द्वारा हस्ताक्षरित सूचनामा सेवा बन्दको जानकारी दिइएको हो ।

सूचनामा भनिएको छ, “यस जिल्लाका सरकारी कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू मिति २०८२।०५।२७ गतेसम्मका लागि बन्द रहने व्यहोरा जानकारीको लागि सूचित गरिन्छ ।
यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।” यद्यपि सेवा बन्दको स्पष्ट कारण उल्लेख नगरिए पनि विशेष परिस्थितिलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाहरू भने यथावत रूपमा सञ्चालन हुने जानकारी दिएको छ । सेवाग्राहीहरूलाई यथासम्भव धैर्य रहन र प्रशासनको आधिकारिक सूचना हेरेर मात्र कार्यालयहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट, भदौ २६ गते ।
रौतहट जिल्लाको विभिन्न स्थानहरूमा जारी निषेधाज्ञा र कर्फ्यूका बाबजुद केही व्यक्तिहरूले आन्दोलनको नाममा तोडफोड, लुटपाट र अशान्ति मच्चाउने प्रयास गरिरहेको आशङ्का गरिएको छ ।

यसै सन्दर्भमा कटहरिया बजारमा सम्भावित अप्रिय घटनाहरूको पूर्वानुमान गर्दै आज बिहीबार एक सर्वपक्षीय बैठक सम्पन्न भएको छ । उक्त बैठकमा व्यापारी, समाजसेवी, युवा, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । बैठकमा सम्भावित घटनाको समीक्षा गर्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउने निर्णय लिइएको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले सबै नगरवासीलाई आ–आफ्नो स्थानबाट शान्ति कायम राख्न र सुरक्षामा सहयोग गर्न अपिल गरेका छन् । साथै, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा र अराजक गतिविधि रोक्न सबैलाई सचेत रहन अनुरोध गरिएको छ ।
“सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै सम्पत्ति हो । देश जोगाउन सबैको सक्रिय भूमिका आवश्यक छ,” प्रमुख पौडेलले भन्नुभयो । उहाँले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई समझाई बुझाई रोक्ने प्रयास गर्न र आवश्यक परेमा तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ ।
नगरवासीहरूलाई अनैतिक वा हिंसात्मक गतिविधि हुन नदिने, शान्ति र सुरक्षाको वातावरण कायम गर्न जिम्मेवारीपूर्वक व्यवहार गर्न पनि बैठकले अनुरोध गरेको छ ।
बैठकमा प्रमुख पाैडेलले अब गस्तीलाई तिव्रता दिने जसमा सबैजनाकाे सहयाेग आवश्यक रहेको बताएका थिए ।
काठमाडौं ।
नेपाली सेनाको सहजीकरणमा हुन लागेको वार्तामा अभिभावकत्व लिइदिनका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी प्रतिनिधिहरूले आग्रह गर्ने भएका छन्।
यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि सुशीला कार्कीलाई आग्रह गर्ने समझदारी बनेको हो।
उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्।
भर्चुअल बैठकहरू विभिन्न समूहमा भइरहेको र ती छलफलमा सुशीला कार्कीबारे कुरा उठेको छ।
अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति सुशीला कार्की नै हुने छलफलमा सहभागी जेनजीहरूले बताएका छन्।
सुशीला कार्कीले नमानेमात्रै वैकल्पिक नाममा जानुपर्ने उनीहरूको भनाइ छ।
गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्तिको जसले राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफलमा गर्न सक्ने व्यक्तिको हिसाबले कार्कीलाई रोजिएको भनिएको छ।
जेनजीहरूको ७ हजार ७१६ जनाले मतदात गर्दा ५० प्रतिशतभन्दा धेरै सुशीला कार्कीको पक्षमा देखिएका छन्। वर्णन