२०८३ आश्विन २०
२०८३ आश्विन २०

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ ।

यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको अनुमतिपत्र छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीबाट छपाइ सुरु गरेको हो । नयाँ प्रणालीबाट नयाँ अनुमतिपत्र लिने र पुरानो अनुमतिपत्र नवीकरण गर्ने प्रक्रिया छिटो र सहज हुने विभागले जनाएको छ ।

प्रणालीमा सेवाग्राहीको विवरण प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ । सुरक्षण मुद्रणले अनुमतिपत्र छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।

प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेश प्रदेशले अनुमतिपत्र छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबारदेखि छपाइ सुरु गरेको छ ।

प्रदेश सरकारले सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा अनुमतिपत्र छपाइ गरिने विभागले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २४२ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्।

लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ।त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ।

यसअघि धनुषाका ४३५४ परिवारले लालपुर्जा पाएका छन् । एभरेष्ट न्यूज एजेन्सी

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । साझा यातायातले आफ्ना दैनिक कार्यसञ्चालन, टिकटिङ तथा भाडा भुक्तानी प्रणाली पूर्ण रूपमा डिजिटल बनाएको छ ।

विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गतेदेखि नयाँ प्रणाली पूर्ण क्षमतामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले साझा यातायातले गत वैशाखदेखि नयाँ प्रणालीको परीक्षण तथा मूल्यांकन गर्दै विभिन्न प्राविधिक र व्यावहारिक परीक्षण सफल भएपछि प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको साझा यातायातले जनाएको छ ।

नयाँ व्यवस्थाअन्तर्गत साझा यातायातका सबै बसको प्रत्यक्ष गतिविधि, स्थान, यात्रुको चाप र चालक–सहचालकको कार्यसम्पादन एउटै केन्द्रीय नियन्त्रण कक्षबाट वास्तविक समयमा निगरानी गरिनेछ भने यसबाट बस व्यवस्थापन, समयतालिका तथा आकस्मिक अवस्थामा तत्काल समन्वय गर्न सहज हुने साझा यातायातले जनाएको छ ।

यात्रुले अब बसभित्रै नगदरहित रूपमा भाडा तिर्न सक्नेछन् । वित्तीय संस्थाले जारी गरेका बैंक कार्ड ट्याप गरेर तथा नेपालपे क्यूआरसहित विभिन्न क्यूआरमार्फत टिकटको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यात्रुले नयाँ कार्ड लिन वा छुट्टै एप डाउनलोड गर्नुपर्ने छैन ।

नियमित यात्रुलाई थप सहज बनाउन नेपालपेसँगको सहकार्यमा सार्वजनिक यातायातका लागि छुट्टै यात्रा कार्ड ल्याउने तयारीसमेत भइरहेको र उक्त कार्डबाट ट्याप गरेर केही सेकेन्डमै भाडा भुक्तानी गर्न सकिने बताइएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न प्रत्येक डिजिटल टिकटलाई स्वतः भाग्यशाली उपहार योजनामा समावेश गरिनेछर यात्रुले दैनिक, साप्ताहिक र मासिक रूपमा विभिन्न उपहार जित्न सक्ने तथा प्रविधिको प्रभावकारी कार्यान्वयनमा योगदान गर्ने चालक तथा सहचालकलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको साझा यातायातले जानकारी दिएको छ ।

साझा यातायातले नगदरहित कारोबार, पारदर्शी व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत यात्रुलाई सुरक्षित, भरपर्दो र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

धादिङ । पृथ्वी राजमार्गको ज्यामिरेघाटनजिक चौकीभीरमा पहिरो हटाइएपछि यातायात सुचारु भएको छ ।

चौकीभीरको सडकखण्डमा गएरातिदेखि पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। सडक योजनाले निर्माण व्यवसायीका मेसिन तथा उपकरण परिचालन गरी पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।

सडकमा निर्माण कार्यसमेत जारी रहेकाले तथा वर्षायाममा पहिरो र लेदो खस्ने जोखिम रहने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन सडक आयोजनाले आग्रह गरेको छ । यात्रा गर्दा लेन अनुशासन पालना गर्न र संयमित भएर सवारी चलाउनसमेत अनुरोध गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ११ बजे सम्म १ हजार ४०३ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्‍चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिहरूलाई राखिएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र काठमाडौँ उपत्यकामा २-२ जनाको मृत्यु भएको छ भने मधेश, बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १४८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा १८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा २५  जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, कर्णालीमा १२ जना र गण्डकीमा ११ जना घाइते भएका छन् ।  एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा-तास खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त टोलीले क्यासिनोमा जाँच गरेको थियो ।

जाँचका क्रममा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद साटेर हारजित हुने गरी जुवा–तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ लेखिएका ८ थान क्वाइन, १० हजार रुपैयाँ लेखिएका १९ थान क्वाइन, १ हजार रुपैयाँ लेखिएका ८८ थान क्वाइन, १ सय रुपैयाँ लेखिएका ५ थान क्वाइन र नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दुई दिनको म्याद थप अनुमति लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय चालक अजय थिङ घाइते भएका थिए।

उद्धार गरी प्रदेश अस्पताल दमौली पुर्‍याइएका थिङलाई चिकित्सकले बिहान ९ बजे मृत घोषणा गरेका थिए । ट्रकका सहचालकको घुँडामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की १५/१६ वर्षीया प्रेमकला पुन रहेका छन् ।

सानीभेरी–६ को कोटगाउँबाट सिम्ली जाँदै गरेको लु १ च ६०२९ नम्बरको जीप देउताखोलामा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको छ भने आठ जना मध्यमदेखि सामान्य घाइते भएका छन् । घाइतेलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमा सुर्खेत लागिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।