कलैया, २० माघ
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन फेक र रियलबीचको लडाई भएकाले जनताले फेकुहरुलाई हराउनैपर्ने बताएका छन् ।
बाराको बारागढी गाउँपालिकाको खोपवा बजारमा आज निर्वाचन परिचलान कमिटीको विशेष प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले फेक र झुठा कुरा गर्ने नेतालाई जनताले आम निर्वाचनमा बहिष्कार गर्नुपर्ने बताए ।
‘अहिलेको चुनाव फेक र रियलको लडाईं हो, जनताले फेकुहरुलाई हराउनैपर्छ । अहिले फेक नेता र तीनका फेक एजेण्डाको चर्चा गरिँदैछ, यो देशको लागि सर्वाधिक घातक कुरा हो । सोसल मिडियामा स्टन्ट गर्ने, फेक आईडीबाट झुठो प्रचार गर्नेहरुको दबदबा छ, यसलाई चिर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरेर बिजयी बनाउने र फेकुहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए ।
रास्वपा नेता समेत रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई लक्षित गर्दै साहले भने, ‘देशकै ठूलो र धनी महानगरको नेतृत्व गर्दापनि विकासको मोडेल दिन नसक्ने बालेनजीले अहिले प्रधानमन्त्री बन्ने सपना देखेर नक्कली कुरा गर्दैछन् । यस्ता नक्कलीहरुलाई आम जनताले निर्वाचनबाटै बहिष्कार गर्नुपर्छ ।’
काठमाडौं महानगर मेयर हुँदा काठमाडौको मुहार फेर्न नसक्नेले देश बदल्छौं भनेर धाक नलगाउन चेतावनी दिदै आजपा अध्यक्ष साहले यिनीहरु नयाँ नभई टेस्टेड असफल फिगर भएको टिप्पणी गरे ।
काठमाडौं महानगरले जनतासंग करमाथि कर लिएको तर सेवा सुविधा दिने काम नगरेको बालेनको विगत सम्झिदै आजपा अध्यक्ष साहले भने, ‘काठमाडौं महानगरले जनतासँग लिने काम गर्यो, करमाथि कर थुपार्ने काम गर्यो, बदलामा केही पनि सुविधा दिएन । संघीय राजधानी भएको महानगरमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था बेहाल र दयनीय अवस्थामा छ । गरिव उपचार नपाएर मर्ने अवस्था छ, त्यो विभेद हटाउन सकेन ।’
उनले बालेनलाई रौतहटको मौलापुर नगरपालिकामा भएको विकासको मोडेल हेर्न अनुरोध समेत गरे । ‘बालेनलाई म मौलापूरको विकासको मोडेल हेर्न अनुरोध गर्दछु । मौलापुरले लिँदैन, खाली दिने काम गर्छ । यहाँ शिक्षा, स्वास्थ्य, पानी, विजुली सबै फ्रि छ । यहाँ नगरप्रहरी होईन, नगर शिक्षक, नगर डाक्टर राखिएको छ । मौलापुरमा दलित, सुकुम्बासीलाई पक्कीघर बनाएर दिएकोछ । तर काठमाडौंमा भगाउने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने ।
यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पराजित हुने मानसिकताका कारण चुनावको मुखमा संसद् पुनःस्थापनााको भ्रम फैलाइरहेको आरोप उनले लगाए । चुनावको विकल्प नभएको बताउदै उनले चुनावबाट कोही भाग्न नहुने बताए ।
‘चुनावको मुखैमा आईपुग्दा पनि संसद् पूनःस्थापनाको भ्रम फैलाईनु पराजित मानसिकता हो, निर्वाचनमा श्रेष्ठता देखाउन चूनौति दिन्छु । एमालेको पराजित मानसिकताको कारण चुनावको मुखमा यस्तो हल्ला फैलाईएको छ,’ साहले भने ।
कार्यक्रममा बारा क्षेत्र नं. १ का उम्मेदवार बिजय यादवलगायतको विशेष सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,२० गते माघ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।

सोही क्रममा उम्मेदवार चौधरीले गुजरा नगरपालिका वडा नम्बर १ अन्तर्गतका मनहर्वा, रंगपुर र कोठियार गाउँ तथा देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनले मतदाताका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए ।
मतदातासँगको संवादमा चौधरीले- “जनताले अनुभूति गर्ने खालको विकास र सुशासन मेरो मुख्य एजेन्डा हो,” उनले भने, “रौतहट–३ का जनताको भरोसामा खरा उत्रिने प्रतिबद्धता व्यक्त गर्दछु।”

स्थानीय बासिन्दाहरूले लामो समयदेखि प्रतिनिधित्वको अभाव महसुस गरेको भन्दै यसपटक परिवर्तनको अपेक्षा गरेका छन् । भेटघाट कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
जसपा नेपालका उम्मेदवार चौधरीले आगामी दिनमा पनि क्षेत्रका विभिन्न गाउँ–बस्तीमा पुगेर मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते माघ ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–सरूअठाका प्रथम गाउँपालिका अध्यक्ष तथा नेकपा नेता, प्रखर वक्ता श्रीप्रसाद मुखिया बिनको गएराति असामयिक निधन भएको छ । स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा हृदयघातका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको निधनले यमुनामाई गाउँपालिका मात्र नभई सम्पूर्ण रौतहट जिल्ला र राजनीतिक क्षेत्रले एक अनुभवी, कर्मठ तथा जनउत्तरदायी नेतृत्व गुमाएको छ । जनप्रतिनिधिका रूपमा उहाँ सधैं जनताको आवाज बुलन्द रूपमा उठाउँदै स्थानीय विकास, सुशासन र सामाजिक न्यायका पक्षमा सक्रिय रहनुहुन्थ्यो । उहाँका योगदानहरू जनतामाझ सदैव स्मरणीय रहने स्थानीयवासीहरूले बताएका छन् ।
स्वर्गीय मुखिया बिनको निधनप्रति विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी तथा समर्थकहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। दिवंगत आत्माको चिरशान्तिको कामनासहित ईश्वरले परिवारलाई यो अपूरणीय क्षति सहन सक्ने धैर्य प्रदान गरून् भन्ने प्रार्थना गरिएको छ ।
हनुमत कुमार यादव,गाैर,१९ गते माघ ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडवलवामा सञ्चालित नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालयले विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आफ्नो ६६औँ स्थापना दिवस तथा वार्षिकोत्सव भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ।
वि.सं. २०१७ माघ १९ गते प्राथमिक विद्यालयको रूपमा स्थापना भएको यस विद्यालयले सप्ताहव्यापी कार्यक्रममार्फत वार्षिकोत्सव मनाएको हो। समारोहको अवसरमा खेलकुद प्रतियोगिता, कविता वाचन, कला तथा सांस्कृतिक प्रस्तुति लगायतका गतिविधि सञ्चालन गरिएका थिए ।

विद्यालय प्रांगणमा आयोजित मुख्य समारोहमा प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य रम्भा देवी यादवले नेमधारी चौधरी र बसुदेवी चौधरीले गाउँका छोरी–बुहारीलाई शिक्षित बनाउने उद्देश्यले आफ्नो सम्पत्ति दान गरी स्थापना गरेको विद्यालय आज जिल्लामै शिक्षाको क्षेत्रमा दोस्रो स्थान हासिल गरेकोमा खुशी व्यक्त गरिन्। उनले विद्यालयमा केटाभन्दा छोरीहरूको सहभागिता बढी देखिनु समाज शिक्षातर्फ उन्मुख हुँदै गएको सकारात्मक संकेत भएको उल्लेख गरिन्। विगतमा छोरी घरको काममा सीमित रहने र छोरा मात्रै विद्यालय जाने सोच अहिले परिवर्तन भएको बताउँदै यसलाई समाजको उपलब्धि भएको धारणा राखिन् ।

त्यस्तै, राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाउ कुमार यादवले वर्तमान समयमा शिक्षा सबैका लागि अपरिहार्य रहेको बताउँदै अभिभावकलाई आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन आग्रह गरे। शिक्षा प्राप्त भए घरपरिवार र समाज दुवै शिक्षित र सचेत बन्ने उनको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा रौतहटका सभापति राजकिशोर प्रसाद यादवले आफ्ना पूर्वजले छाप्रोबाट सुरु गरेको विद्यालय आज नमुना विद्यालयको रूपमा विकसित भई भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा फड्को मारेको देख्दा गर्व लागेको बताए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविशंकर प्रसाद यादवले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक तथा भौतिक विकासका आधारमा विद्यालय जिल्लामा दोस्रो र देशभर चौथो स्थान हासिल गर्न सफल भएको जानकारी गराए। सो अवसरमा ३२ वर्षदेखि निरन्तर सेवा पुर्याउँदै आएका वरिष्ठ शिक्षक जितेन्द्र प्रसाद यादवलाई दीर्घ सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो। साथै अन्य शिक्षक, शिक्षिका र कर्मचारीलाई समेत सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवको सभापतित्वमा सम्पन्न समारोहमा विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। टेकनाथ खतिवडाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले बाजागाजा तथा विभिन्न भेषभूषासहित मार्चपास प्रदर्शन गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व अध्यक्ष, सेवा निवृत्त प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
आरके श्रीवास्तव,राैतहट,२० गते माघ ।
कटहरिया । रौतहट जिल्लाको कटहरिया बजारमा अवस्थित माही मेमोरियल पब्लिक स्कुलले बालबालिकाको प्रारम्भिक शिक्षालाई लक्षित गर्दै पिजी कक्षा (प्ले ग्रुप) सञ्चालनमा ल्याएको छ । विद्यालयका फाउन्डर राजाबाबु साहका अनुसार सरस्वती पूजाको शुभ अवसर पारेर औपचारिक रूपमा उक्त कक्षाको शुभारम्भ गरिएको हो ।

नवसञ्चालित पिजी कक्षामा साना बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई ध्यानमा राखी आधुनिक र बालमैत्री शिक्षण पद्धति अपनाइएको छ । कक्षामा टिभीमार्फत शैक्षिक गेम देखाइने, डिजिटल स्लेटको प्रयोग गरिने तथा विभिन्न खेलकुद सामग्रीको व्यवस्था गरिएको छ, जसले बालबालिकालाई खेल्दै सिक्ने वातावरण प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।
विद्यालय व्यवस्थापनका अनुसार पिजी कक्षामा अनुभवी तथा मायालु शिक्षक–शिक्षिकामार्फत बालबालिकालाई सुरक्षित, रमाइलो र सिकाइमैत्री वातावरणमा राखिनेछ । अभिभावकको बढ्दो अपेक्षा र बालबालिकाको गुणस्तरीय प्रारम्भिक शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै यो कक्षा सञ्चालनमा ल्याइएको फाउन्डर साहले बताउनुभयो ।

स्थानीय अभिभावकहरूले पनि अत्याधुनिक सुविधा सहितको पिजी कक्षा सञ्चालनमा आएकोमा खुशी व्यक्त गरेका छन् । माही मेमोरियल पब्लिक स्कुलले यस पहलबाट बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,१९ गते माघ ।
रौतहट–२ का कांग्रेस उम्मेदवार डा. फिरदोस आलमद्वारा सामाजिक सञ्जालको अराजक गतिविधिप्रति खेद
रौतहट क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको अराजक, उत्तेजक तथा गालीगलौजपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
डा. आलमले सामाजिक सञ्जाल फेसबुक तथा टिकटकजस्ता प्लेटफर्म प्रयोग गरी समाजमा द्वेष फैलाउने, जनतालाई उत्तेजित बनाउने, अश्लील तथा उच्छृंखल सामग्री पोस्ट गर्ने कार्यप्रति खेद प्रकट गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
उनले दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय दिनुपर्नेमा जोड दिँदै सामाजिक सद्भाव, शान्ति र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न राज्य संयन्त्र जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताएका छन् ।
डा. आलमले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा गलत सन्देश जाने भन्दै सबै नागरिकलाई जिम्मेवार र मर्यादित अभिव्यक्ति प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,१८ गते माघ ।
राैतहटकाे गुजरा नगरपालिका अन्तर्गत सिमराभवानीपुर बजारमा ६४९ औँ शिरोमणि गुरु श्री रविदास जन्मोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ । चमार कल्याण समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा उत्साह, श्रद्धा र सामुदायिक एकताको अनुपम दृश्य देखिएको थियो ।

हवन–जापबाट सुरु भएको कार्यक्रम नगर परिक्रमा सहित अघि बढेको थियो । परिक्रमाका क्रममा गुरु रविदासको जयजयकार गर्दै सहभागीहरूले सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा चमार समाजका अगुवा, बुद्धिजीवी, युवाहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

समारोहको अध्यक्षता चमार कल्याण समाज नेपालका उपाध्यक्ष पुनीत रामले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी तथा विशिष्ट अतिथि चन्द्रपुर अस्पतालका संचालक सुबास चौधरी रहेका थिए ।

वक्ताहरूले १५ औँ शताब्दीका महान सन्त गुरु रविदासको जीवन, दर्शन र समाज सुधारमा उहाँले पुर्याउनुभएको योगदानमाथि प्रकाश पारे । जातीय विभेद, छुवाछुत र अन्यायविरुद्ध आवाज उठाउँदै मानव समानता, श्रमको सम्मान र प्रेमको मार्ग देखाउने गुरु रविदासको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ थियो । “मन चंगा तो कठौती में गंगा” जस्ता वाणीले समाजलाई सकारात्मक सोच र आत्मशुद्धितर्फ प्रेरित गर्ने उल्लेख गरियो ।

अध्यक्षीय मन्तव्यमा पुनीत रामले गुरु रविदासको शिक्षाले समुदायलाई आत्मसम्मान, एकता र चेतनाको मार्गमा अघि बढ्न प्रेरणा दिएको बताए ।
प्रमुख अतिथि सन्तलाल प्रसाद चौधरीले विभेदरहित समाज निर्माणमा गुरु रविदासको सन्देश महत्वपूर्ण रहेको भन्दै मानवताको मूल्य आत्मसात गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि सुबास चौधरीले गुरु रविदासका विचारले नयाँ पुस्तालाई सही दिशा दिने उल्लेख गर्दै शिक्षित, सचेत र एकताबद्ध समाज निर्माण आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान र सामुदायिक अन्तरक्रियाले समारोहलाई थप अर्थपूर्ण बनाएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा अतिथिहरू लाई सम्मान पनि गरिएको थियोे ।
फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,१७ गते माघ ।
रौतहट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कटहरिया नगरपालिका अन्तर्गत २२५ सदस्यीय नगर स्तरीय निर्वाचन परिचालन समिति भव्य रूपमा गठन गरिएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको उक्त समितिको अध्यक्षतामा मेयर प्रत्यासी नसरूदिन अंसारी चयन भएका छन् भने सह–संयोजकको जिम्मेवारी भूपेन्द्र महतोले पाएका छन् ।

समिति गठन कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समितिले निर्वाचन अवधिभर पार्टीको नीति, कार्यक्रम तथा उम्मेदवारहरूको पक्षमा संगठित रूपमा प्रचार–प्रसार तथा परिचालनको कार्य गर्ने जनाइएको छ ।
यसैबीच, रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि पुनम यादवले उम्मेदवारी दर्ता गरिसकेको जानकारी पनि कार्यक्रममा दिइएको छ । पार्टीले क्षेत्रीय तथा नगर स्तरमा संगठनलाई थप सशक्त बनाउँदै निर्वाचनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार (माघ १८) बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
“इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०।१२, डिजेलमा रु. ४।६६ र एलपी ग्यासमा सिलिन्डर रु. ४५।४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ । सभार बाह्रखरी
धनकुटा, १७ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्ता लम्ब्याउन चाहने सुशीला कार्कीहरु र जेनजी आन्दोलनबाट बढारिएका ओलीहरु चुनाव हार्ने डरले निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले देश र जनता निर्वाचनमा होमिएको अवस्थामा कसैले पनि संसद् ब्युँताउने वा अहिलेको सत्ता लम्ब्याउने षड्यन्त्र गरे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।
आज (शनिबार) धनकुटामा आयोजित पार्टीको निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् । उनले सुशीला कार्कीहरु जेनजी आन्दोलनको अपहरणकारी भएको र आकस्मिक सत्तारोहण गरेको भन्दै उनीहरु नियन्त्रित अस्थिरताको पक्षमा रहेको आरोप लगाए । जेनजी आन्दोलनमा दमन गरेर र युवाहरुको हत्या गरेका ओलीहरु चुनावबाट बढारिने भयले निर्वाचन भन्दापनि संसद् पूनःस्थापनातर्फ आँखा लगाएर बसेको भन्दै दुवै अतिवादीहरुको गतिविधि जनताले नजिकबाट नियाँलिरहेको बताए ।
देशले परिवर्तन र असलस् बदलाव चाहेको भन्दै त्यसको लागि निर्वाचनलाई संघर्षकै रुपमा आफ्नो दलले उपयोग गरेको बताए । उनले यो निर्वाचनमार्फत जनताले नक्कली नायकहरूलाई कहिल्यै पनि उठ्न नसक्नेगरि परास्त गर्नुपर्ने बताए । नयाँ र पूराना भन्नेहरुले नक्कली नायक खडा गरेको र जनतामा मिठो भ्रम बाँडेको भन्दै कोही पनि देशभक्त र विकासप्रेमी जनता झुक्किननहुने साहको मत छ ।
बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङले देशलाई दिशा दिन नसक्ने ठोकुवा गरे । उनले यही तीनै पात्र टेस्टेड क्यारेक्टर भएकोले अब नयाँ र विकल्प दिन्छौं भन्ने नाममा फेरि जनतालाई ठग्न आउन खोजेको भन्दै सचेत हुन आम जनतालाई अपिल गरे ।
अहिले रास्वपामा प्रवेश गरेर प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेन पनि नयाँ नभएको र काठमाडौं महानगरमा तीन वर्षभन्दा लामो समय नेतृत्व प्रदान गर्दा असफल भएको बताए । उनले देशकै सबभन्दा जेठो र ठूलो महानगरलाई बालेनले सही तवरले नेतृत्व प्रदान नगर्दा काठमाडौंको विकास नभएको आरोप लगाए । २५ अर्बभन्दा बढि बजेट भएको महानरले पुँजीगत खर्च ५० प्रतिशत पनि पुर्याउन नसक्नु आँफैमा मेयरको असफलता भएको साहको टिप्पणी छ । महानगरले यहाँको शिक्षा र स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्याउन नसकेको र जनतासँग भारी मात्रामा कर लिएर सुविधा नदिएको भन्दै साहले आलोचना गरे ।
उनले भने,‘काठमाडौं महानगरले जनतासँग करमाथि कर थुपरेको छ, तर बदलामा महानगरवासीलाई केही पनि सुविधा दिन सकेको छैन । वर्षौ २५ अर्बको बजेट आउँछ, तर पुँजीगत खर्च एकदमै न्यून छ । आज युवा र स्वतन्त्र मान्छेले मेयर जित्दा पनि काठमाडौंको मुहार फेरिएन ।’ उनले जनतासँगको सम्बन्ध नै विच्छेद गरेर ‘खोपीको देउता’ भएर बसेको भन्दै साहले उनले महानगरको नेतृत्वमा हुँदा जनताको हितको लागि काम नगरेको आरोप लगाए ।
उनले आजपा गठन गरेदेखि नै आफूले जनताको आवाज बोकेको र सडक–संघर्ष गरेको स्मरण गराए । उनले यो पटकको निर्वाचनमा भ्रष्टाचारीलाई कारबाही गर्नको लागि पनि पूराना र नयाँ दुवैतर्फबाट ठगहरुलाई पराजित गर्नुपर्ने बताए । धनकुटाको गौरव उठाउनको लागि पनि यसपटकको निर्वाचनमा सही व्यक्ति संसद्मा पुग्नुपर्ने उनको सुझाव छ । ‘यो जिल्ला राष्ट्रिय राजनीतिमा ख्याँतिकमाएको जिल्ला हो, यहाँबाट सुर्यबहादुर थापा प्रधानमन्त्री हुनुभयो, जिल्लाको विकासको कुरा तपाईंहरुलाई थाहा होला, अब नायक होईन, सेवक रोज्नुहोस ।’