काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।
तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको, झाको भनाइ छ ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन । कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख पाइएन । यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) होइन, प्रतिवेदनमा उल्लेख छ । इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाण पत्र उत्पादित तेलमा प्रयोग गरिएको छ । यसो गर्न पाइँदैन । प्रतिवेदनले औँल्याएको छ ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ । सबै उत्पादनमा एउटै व्याच नम्बर राखिएको छ । उक्त ब्याचको उत्पादनहरुमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्याद भन्दा कम देखिएको छ ।
तेलको लेबलमा उल्लेख भएका तत्वहरु र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त भएन । लेबलमा उल्लेख फाइदाहरु (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शव्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औँल्याएको छ ।
इण्डष्ट्रीले उपलब्ध गराएको प्रयोगशाला प्रतिवेदनहरुमा क्रमिक रुपमा सुक्ष्म जीवाणु परिमाण (माइक्रो बायोलोजिकल लोड, टोटल प्लेट काउन्ट) बढ्दै गएको देखिन्छ । कपाल उमार्ने रसायनिक तत्व सम्बन्धी उत्पादकले स्वघोषणा गरेको ‘मिनोक्साइडिल’ उद्योगद्वारा प्रदान गरिएको परीक्षण प्रतिवेदनमा छैन । कच्चा पदार्थ तथा जडीबुटीहरु एक आपसमा मिश्रण गर्दा प्रयोग अवधि (३ वर्ष) सम्म कुनै हानीकारक तत्वमा परिणत नहुने प्रमाणित प्रतिवेदन, कच्चा पदार्थको समिश्रणले मानव स्वास्थ्यमा असर नपर्ने प्राविधिक तथा वैज्ञानिक पुष्टि हुने कुनै पनि विश्लेषण प्रतिवेदन कम्पनीले उपलब्ध गराएन ।
तेलको लेबलमा उल्लेख गरिएको उपभोग्य÷प्रयोग अवधि (३ वर्ष) के, कसरी र कुन आधारमा राखिएको पुष्टि हुने दस्तावेज प्राप्त भएन । तेलमा प्रयोग गरिएको जडीबुटीहरुको मात्रा यकिन गर्ने गुणस्तरीय विधि तथा कुनै पनि परीक्षण गरेको विश्लेषण प्रतिवेदन साथै उक्त जडीबुटीहरुको मानव स्वास्थ्यमा असर हुने-नहुने दस्तावेज इण्डष्ट्रीले उपलब्ध गराएन ।
यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ । न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल शुरु गरेका छन् ।
सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्ताव बारे केहीबेर अघि देखि देउवा निवास बुढानिलकण्ठमा छलफल शुरु भएको हो । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिए पछि निष्कर्षमा पुगेको थिएन ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल गर्न लागेका हुन् ।
पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ ।
महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते बोलाएको छ । न्युज कारखाना
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कांसकार रहनेछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची छ ।
त्यस्तै सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । न्युज कारखाना
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।
नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुदै छ ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए। अन्य अधिकृतहरू त्यसअघि नै अवकाशमा जान लागेका थिए। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको थियो।
अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।
पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन् । ८४ जना विजयी हुदा सबै भन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् । न्युज कारखाना
काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।
अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बीर सार्बजनिक भएपनि पहिचान भने खुल्न सकेको छैन् । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ ।
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो ।
नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ । न्युज कारखाना
काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका सीईओ पावेल डुरोभको गिरफ्तारी रहस्यमय हुदै गएको छ । मिडिया रिपोर्टका अनुसार उनकी २४ वर्षीया प्रेमिका युलिया भाभिलोभा डुरोभ पक्राउ परेदेखि बेपत्ता छिन् ।
अहिले डुरोभ युलियाको कारण पक्राउ परेको बताइएको छ । उनी डुरोभसँग निजी जेटमा अजरबैजानबाट पेरिस पुगेकी थिइन् । अचम्मको कुरा, फ्रान्समा डुरोभविरुद्ध १२ वटा मुद्दा दर्ता भएका थिए । यसपछि पनि उनी त्यहाँ गए ।
युलियाका कारण डुरोभलाई पक्राउ गरिएको सामाजिक सञ्जालमा दाबी गरिएको छ । वास्तवमा, जब दुवै पेरिस पुगे, युलियाले डुरोभको निजी जेटबाट धेरै इन्स्टा स्टोरीहरू पोस्ट गरे । यसका कारण प्रहरीले थाहा पाएर डुरोभलाई पक्राउ गरेको बताइएको छ ।
युलिया, डुरोभ जस्तै, रूसी मूलकी हुन् । आफूलाई क्रिप्टो ट्रेनर भन्ने युलिया दुई वर्षदेखि दुबईमा बस्दै आएकी थिइन् । चार महिनाअघि डुरोभको सम्पर्कमा आएकी युलिया रुसी, अङ्ग्रेजी, अरबी र स्पेनिस लगायतका भाषा जान्ने दाबी गरिएको छ । दुबै कजाकिस्तान, किर्गिस्तान र अजरबैजान लगायत धेरै ठाउँमा सँगै देखिएका थिए । उनका केही तस्विरहरु सामाजिक सञ्जालमा पनि आएका छन् । डुरोभको गिरफ्तारी पछि युलियाको कुनै पत्ता लागेको छैन ।
जसका कारण डुरोभ हनिट्र्यापको सिकार भएको सामाजिक सञ्जालमा दाबी भइरहेको छ । उनलाई गिरफ्तार गर्नका लागि मात्र युलिया उनीसँग नजिक भइन् र उनलाई पेरिस लगिन् । यदि डुरोभ दोषी ठहरिएमा उनले २० वर्षको जेल सजाय भोग्नुपर्नेछ ।
डुरोभलाई शनिबार (२४ अगस्ट) बाल यौन दुर्व्यवहार सामग्री आदानप्रदान गर्ने माध्यमको रूपमा टेलिग्राम प्रयोग गरेको, लागुऔषध ओसारपसार र संगठित अपराध प्रवर्द्धन गर्ने र सूचना साझा गर्न असफल भएको आरोपमा पक्राउ गरिएको थियो ।
रुसका जुकरबर्ग भनिने डुरोभले २२ वर्षमा सामाजिक सञ्जाल एप बनाएका थिए
रुसी मूलका डुरोभले २०१३ मा आफ्नो भाइसँग टेलिग्राम स्थापना गरेका थिए । उनलाई रुसका जुकरबर्ग पनि भनिन्छ । रुसी सरकारले उनीसँग रुसी जनतासँग सम्बन्धित डाटा मागेको थियो जसका कारण उनले सन् २०१४ मा देश छोडेर सेन्ट किट्स एन्ड नेभिसको नागरिकता लिएका थिए ।
सुरुका केही वर्षहरूमा, डुरोभ धेरै देशहरूमा यात्रा गरे । तिनीहरूले २०१७ मा दुबईमा आफ्नो मुख्यालय स्थापना गरे । डुरोभले २०२१ मा फ्रान्सेली नागरिकता प्राप्त गरे, यद्यपि उनको गिरफ्तारी नभएसम्म युएई उनको निवासको आधार थियो ।
अल जजीराका अनुसार डुरोभसँग युएईको नागरिकता पनि छ, त्यसैले उनले यस विषयमा नजिकबाट नजर राखिरहेका छन् । युएईले फ्रान्सलाई सबै कन्सुलर सेवा उपलब्ध गराउन आग्रह गरेको छ ।
५ सन्तानका पिता, १०० भन्दा बढी बालबालिकाका जैविक पिता डुरोभको कुल सम्पत्ति १५.५ बिलियन डलर रहेको अनुमान गरिएको छ । उनी अर्बपतिको सूचीमा १२०औं स्थानमा छन् । रिपोर्टमा डुरोव विवाहित नभएको तर विभिन्न महिलाबाट ५ सन्तान रहेको दाबी गरिएको छ । जो आफ्ना आमासँग बस्छन् ।
रुसी मिडिया वेबसाइटले दारिया बोन्डारेन्को उनको पहिलो पत्नी भएको दाबी गरेको छ, जसबाट उनका २ सन्तान छन् । दारिया र डुरोभको डिभोर्स भएको बताइएको छ ।
यसै वर्षको जुलाईमा एक रुसी महिला इरिना बोल्गरले आफू डुरोभका तीन सन्तानकी आमा भएको दाबी गरेकी थिइन् । उनका अनुसार उनी र उनका छोराछोरी स्विजरल्याण्डमा बस्छन् । यद्यपि, डुरोभले यसबारे टिप्पणी गरेक छैनन् ।
डुरोभले जुलाई २९ मा आफूसँग १०० भन्दा बढी जैविक सन्तान रहेको दाबी गरेर सबैलाई चकित पारेका थिए । उनले विगत १५ वर्षदेखि शुक्रकीट दान गर्दै आएको बताए ।
टेलिग्राममा एन्ड टु एन्ड इन्क्रिप्सन पूर्वनिर्धारित रूपमा सेट गरिएको छैन, यो सुविधा अन गर्नुपर्छ । टेलिग्राम च्याटहरू पहुँच गर्न सकिन्छ । यो सुविधा व्हाट्सएपमा पूर्वनिर्धारित रूपमा सेट गरिएको छ ।
टेलिग्रामका विश्वभर एक अर्ब प्रयोगकर्ता छन् । यो केवल ३० कर्मचारीहरुद्वारा संचालित छ । डुरोभले टेलिग्रामलाई एक-व्यक्ति शो जस्तै चलाउने गरेको बताइएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको शिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउदा प्रष्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरेपनि अन्तत: पदाधिकारीको चयन मतदानबाट गरिएको छ ।
यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरेपनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढला भन्ने प्रश्न उठेको छ । पार्टीमा प्रभाविशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालकै सक्रियतामा उपाध्यक्षमा हराइएको छ ।
नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चीट नै बाँडेर भोट मागेका थिए । सो सूचीमा झाँक्रीको नाम थिएन । नेपालको राजनीतिमा युवा र प्रभाशाली नेतृको पहिचान बनाएकी झाँक्रीनै एकीकृत समाजवादीको पदाधिकारीमा नअटाउने अवस्था आउनुले अब यो पार्टी कता जादै छ भन्ने संकेतको रुपमा बुझ्नुपर्ने विश्लेषण शुरु भएको छ ।
मिडिया र सामाजिक सञ्जालमा अब झाँक्री एकीकृत समाजवादीमा रहनुको कुनै औचित्य नरहेको टिप्पणी भइरहेको छ । अझ धेरैले उनलाई एमालेमा फर्किन सुझाव समेत दिएका छन् । तर झाँक्री स्वयंले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
एकीकृत समाजवादीले जसरी आफ्नो महाधिवेसन गर्यो र अहिले जसरी पदाधिकारीको चयन गर्यो यसले उसको राजनीतिक भविष्यमा नै ठुलो प्रश्न उठाएको छ । सानो पार्टी अथवा राष्ट्रिय पार्टी समेत हुन नसकेको पार्टीमा यो तहको गुटबन्दीले पार्टीको अवस्था राम्रो नहुने संकेत गरेको छ । अझ अध्यक्ष स्वयंनै राष्ट्रिय स्तरको युवा नेतालाई पराजित गर्न र पार्टीको मुख्य धाराबाट बाहिर लैजान सक्रिय हुनुले अझ संसय पैदा भएको छ ।
योसँगै एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन् । त्यस्तै उपाध्यक्षहरु डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी र जयन्ती राई रहेका छन् ।
त्यस्तै महासचिव घनश्याम भुसाल, उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन् ।
न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू_भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना