काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज पहिलो अभ्यास खेल खेल्दै छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत पहिलो खेल आज हुदै छ । यो खेल आज बिहान १०: १५ बजेदेखि शुरु हुदै छ ।
नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो ।
नेपालले पहिलो खेल आज सेप्टेम्बर ३ मा, दोस्रो खेल सेप्टेम्बर ४ मा र तेस्रो खेल सेप्टेम्बर ६ मा खेल्ने भएको छ ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ । न्युज कारखाना
काठमाडौं । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ ।
समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो ।
समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।न्युज कारखाना
आजको राशिफल बि.सं.२०८१ भदौ १८ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर ०३ नेपाल सम्बत ११४४ गुंलागा आमै, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण औंसी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, सिद्ध योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४३ बजे, सूर्यास्त साँझ ०५: २१ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २८ मिनेट देखि १२ बजेर ०२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भ्रामरीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रियै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । आशा देखाउने वा आश्वासन दिनेले धोका दिनेछन्, आफ्ना सुरमा काम गर्ने वेला हो, कुनै लफडा वा झमेलामा फँस्ने सम्भावना रहेको छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कालभैरवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । आजका लागि शुभअङ्क ९, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ आदित्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
महत्त्वपूणर् काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कात्यायनी भगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)न्युज कारखाना
काठमाडौँ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाको लडाकु विमान र युद्धपोत आफ्नो सिमानामा घुमिरहेको बताएको छ ।
ताइवानको रक्षा मन्त्रालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म १८ वटा लडाकु विमान, आठ युद्धपोत र चिनियाँ सेनाका अन्य दुईवटा जहाज ताइवान सीमा नजिक रहेको जनाएको छ । तीमध्ये १५ वटा विमानले ताइवानको सीमा नाघेर ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेका थिए ।
चिनियाँ घुसपैठको जवाफमा ताइवानले पनि आफ्ना लडाकु विमान र युद्धपोतहरू तटीय सीमामा तैनाथ गरेको छ । साथै, क्षेप्यास्त्र प्रणाली पनि तैनाथ गरिएको छ र स्थितिलाई नजिकबाट नियालिरहेको छ । जसका कारण दुई देशबीच तनाव बढेको छ । चिनियाँ सेनाले पछिल्ला महिनाहरूमा धेरै पटक ताइवानको सीमामा घुसपैठ गर्ने प्रयास गरेको छ। सेप्टेम्बर २०२० पछि मात्र चीनले आफ्नो ग्रे जोन रणनीति प्रयोग गरिरहेको छ। यस अन्तर्गत चिनियाँ लडाकु विमान र युद्धपोतहरू ताइवानको सिमानामा घुमिरहेका छन् ।
ताइवानको आरोप- चीनको आक्रमण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि खतरा हो ।
गत हप्ता पनि चीनले ताइवानको सीमामा घुसपैठ गरेको थियो, त्यसपछि ताइवानको विदेश मन्त्रालयले चीनको आलोचना गर्दै अरु देशको सार्वभौमसत्ता र क्षेत्रीय शान्तिको हनन गरेको आरोप लगाएको थियो । चीनका विमानहरूले हालै जापानको हवाई क्षेत्र पनि उल्लङ्घन गरेका छन् ।
ताइवानले पूर्वी चीन सागरमा चीनले निरन्तर युद्धाभ्यास गरेर यथास्थिति परिवर्तन गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । ताइवानले चीनको आक्रमण सम्पूर्ण हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षाका लागि ठूलो खतरा भएको बताएको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनलाई दृष्टिगत गर्दै परिचालन कमिटी गठन गरेको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । उक्त परिचालन कमिटीमा पार्टीका उपाध्यक्षहरू, उपमहासचिव, सचिव रहेका छन् । आगामी मंसिरमा सम्पन्न हुने उपनिर्वाचनका निम्ति एकीकृत समाजवादीले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
त्यस्तै एकीकृत समाजवादीले कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष खतिवडा, मधेशको संयोजकमा धर्मनाथ प्रसाद साह, बागमतीको संयोजकमा डा.गंगालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणी चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश खतिवडा र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी दिएको छ ।
भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी चयन गरिएको हो । उपाध्यक्ष खतिवडाका अनुसार आवश्यक छलफल भइसकेको छ र परिपत्र जारी गर्ने काम बाँकी रहेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिए । उनले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यताविपरीतका विषय हुने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गरे ।
भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी थिए ।न्युज कारखाना
पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकारमा गएको हो ।
गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र एमालेले ४ मन्त्रालय लिएका छन् । यस अघि ७ मन्त्रालय रहेकोमा एमालेलाई सहभागी बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रलय फुटाएर ७ बाट ९ बनाएका थिए ।
एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका छन् ।
यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ । मुख्यमन्त्री पाण्डेले मनाङे र फणिन्द्र देवकोटाले संकटको बेला सहयोग गरेको भन्दै कांग्रेसको कोटाबाटै मन्त्री कायम राखेका छन् ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सो दलका डा. टकराज गुरुङले आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, फडिन्द्र देवकोटा जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।न्युज कारखाना
रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपाली लाई अबैध हतियार सहित पक्राउ गरेको छ ।
तस्करहरुको समूहले गएराती रौतहटबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ल्याइरहेको बिशेष सूचनाको आधारमा एसएसबीको ७१औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले अबैध हतियार सहित नेपाली नागरिकलाई पिठवा गाउँ छेउ बगैंचामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० बर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताएका छन् ।
यादवले कमरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद गरि आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको कमान्डेन्ट कुमारले जानकारी दिएका छन् ।
पक्राउ परेका यादव समेतको तस्कर गिरोहले नेपालको बिभिन्न स्थान बाट लागुऔषध गाँजा भारतीय क्षेत्रमा तस्करीको माध्यमले पुर्याउने गरेको एसएसबीको ठहर रहेको छ।जिल्ला प्रहरी कार्यालय मोतीहारिका प्रमुख एसपी कान्तेश कुमार मिश्रले घटनाको पुष्टी गरेका छन्। अनुमण्डल पुलिस पदाधिकारी अशोक कुमार, सहायक कमान्डेन्ट विश्वास केएम, थानाध्यक्ष अभय कुमार सहितको टोलीले पक्राउ गरेको आरोपी सिकिन्दर यादव हाल नियन्त्रणमा रहेको तथा अदालत बाट म्याद थमाई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले पनि सिकिन्दर यादव अबैध हतियारसहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टी गरेका छन ।न्युज कारखाना
काठमाडौँ । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन् । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरुको रिहाईका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ ।
हातमा इजरायली झण्डा बोकेर तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए । उनीहरूले प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्ने काम नगरेको आरोप लगाएका छन् ।
गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौं मानिसलाई बन्धक बनाएको थियो ।
आइतबार शान्तिपूर्ण रुपमा आन्दोलन सुरु भएको हो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरुको रिहाईका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरुको माग छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो । शनिबार आइडीएफले उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारेको थियो ।
न्युज कारखाना
बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर- ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।
भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएका छन् ।
उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको झाडापाखाकै कारण मृत्यु भएको हो ।
फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
न्युज कारखाना